विकासन्युज

भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न ४ जना पक्राउ

काठमाडौं । देशैभर नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन भएपछि बुधबार बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म महाराजगस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन् । त्यसैगरी डिल्लीबजार–नारायणथान क्षेत्रमा शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपछि छाडेर भागेको नेपाली रु दुई लाख ३२ हजार ५०० र  दुई हजार ५०० डलर बरामद गरिएको सेनाले आज जनाएको छ । सेनाले विज्ञप्तिमार्फत सुरक्षाकर्मीबाट लुटिएका थप हतियार एक नालसहित हालसम्म जम्मा ३२ नाल बरामद भएको जनाएको छ । साथै डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीबन्दीमध्ये २६ जनालाई नियन्त्रणमा लिइएको तथा काठमाडौं डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीलाई रोकिएको छ ।  

दनदनी जलिरहेको छ हिलटन, अझै नियन्त्रणमा आएन (फोटोफिचर)

काठमाडौं । जेनजी आन्दोलनकारीहरुले पाँच तारे होटल हिलटनमा आगजनी गरेका छन् । काठमाडौंको नक्सालस्थित होटल हिलटनमा न्दोलनकारीहरुले मंगलबार आगजनी गरेका हुन् ।  आन्दोलनकारीहरुले मंगलबार लगाएकाे आगो २४ घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन । अहिले पनि होटल हिलटनमा दनदनी आगो लागिरहेको विकासन्युजका संवाददाताले जानकारी दिए ।  नेपाली सेनाले सुरक्षा दिइरहेको उक्त होटलमा के कति क्षति भएकाे छ एकिन तथ्याङ्क आउन सकेको छैन ।   ८ अर्ब ३५ करोड रुपैयाँमा बनेको हिलटन २०८१ साउनबाट सञ्चालनमा आएको हो । उक्त होटलका मुख्य लगानीकर्ता शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाल हुन् । हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ ।   

टेलिकमले भ्वाइस कल र इन्टरनेट सेवा तीन दिन नि:शुल्क दिने

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ । टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यो सुविधा हिजो रातिदेखि नै सक्रिय गरिएको हो । विषम परिस्थितिलाई ध्यानमा राख्दै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग सम्पर्क सहज बनाउनका लागि यो पहल गरिएको उनले बताए । ग्राहकहरूले निशुल्क डेटा सेवा लिन  स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गर्नुपर्नेछ भने भ्वाइस कल सुविधा लिन स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गर्न सकिने टेलिकमले जनाएको छ । यससम्बन्धी जानकारी सबै ग्राहकलाई एसएमएसमार्फत पठाइसकिएको पनि प्रवक्ताले जानकारी दिए । निशुल्क उपलब्ध गराइएको डेटा १ एमबीपीएस क्षमताको हुनेछ भने भ्वाइस कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र (अननेट) मात्र प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

जेनजी आन्दोलनको नाममा अराजकता, थापाथलीका विभिन्न शोरुममा तोडफोड र आगजनी, अर्बौंको क्षति

काठमाडौं । जेनजीको नाममा भएको आन्दोलनका क्रममा थापाथली क्षेत्रका विभिन्न कम्पनीका गाडीका शोरुमहरूमा व्यापक तोडफोडसँगै आगजनी गरिएको छ । जबकी कुनै पनि राजनीतिक दल वा विवादमा संलग्न नरहेका निजी कम्पनी तथा ब्राण्डहरूका शोरुममा आक्रमण गरिएको हो ।  प्रदर्शनकारीहरूले शोरुमको सिसा फुटाएरभित्र प्रवेश गरी बिक्रीका लागि राखिएका नयाँ गाडीहरूको सिसा र संरचना निर्ममतापूर्वक नष्ट गरेको कम्पनीहरुले बताएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका  भिडियोहरूमा शोरुमहरु तोडफोड गरेको देख्न सकिन्छ ।  यसैगरी केही प्रदर्शनकारीहरूले शोरुमको कार्यालयभित्र पसेर फर्निचर, कागजात, कम्प्युटर आदि जलाउने, लुटपाट गर्ने र आगजनी गर्ने कार्यमा समेत संलग्न भएको बताइएको छ ।  निजी सम्पत्तिमा गरिएको यस्तो व्यापक क्षतिले आन्दोलन अराजक लुटपाट र हिंसात्मक मोडमा प्रवेश गरेको संकेत दिएको छ ।  थापाथली क्षेत्रमा रहेको सिजी, हुण्डाई, महिन्द्रा, टाटालगायतका अन्तर्राष्ट्रिय ब्राण्डका शोरुमहरू पूर्ण रूपमा क्षतिग्रस्त छन् । यो घटनापछि थापाथली क्षेत्र अहिले उजाड र त्रासित देखिएको छ । व्यवसायीहरू आक्रोशित भएका छन् भने प्रतिक्रिया दिन नसक्ने अवस्थामा छन् ।  प्राप्त जानकारीअनुसार सुजुकी ब्रान्डका ११ वटा सवारीसाधनमा क्षति पुगेको छ । महिन्द्राका ३ वटा गाडी क्षतिग्रस्त भएका छन् भने १ वटा गाडीमा आगजनी गरिएको छ । सिप्रदी ट्रेडिङ (टाटा) का ४ वटा सवारीसाधनमा क्षति पुगेको छ । सिजी मोटर्स अन्तर्गतका १४ वटा गाडीमा क्षति पुगेको छ । यस्तै, हुण्डाई शोरूमको मुख्य गेटमा तोडफोड गरिएको छ । जेनजी आन्दोलनको नाममा मंगलबार गाडीका शोरुमहरू मात्र होइन, अर्बौं रुपैयाँ लगानीमा स्थापना गरिएका ठूला होटल, सुपरमार्केट, टेलिकम कम्पनी, विद्यालयहरूमा समेत आक्रमण गरिएको छ । यसले देशको पहिल्यै कमजोर रहेको व्यवसायिक वातावरणलाई थप अस्थिर बनाएको छ । 

अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

काठमाडौं । जेन-जी पुस्ताले देशव्यापी रुपमा गरेको प्रदर्शनका कारण मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित भएको छ ।  दुई दिनअघिको काठमाडौं केन्द्रित प्रदर्शन देशव्यापी फैलिएर सबैजसो क्षेत्र प्रभावित भएको देखिन्छ । विशेषगरी पहिलो दिन नयाँबानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा घाइते भएका विरामीको उपचार गर्न अस्पतालहरूलाई भ्याइनभ्याइ भएको अवस्था छ ।   मीनभवनस्थित सिभिल अस्पतालले विरामीको चाप अध्यधिक भएसँगै आकस्मिक सेवाबाहेकका अरु सेवा अहिले बन्द गरेको छ ।  अस्पतालका निर्देशक डा मोहनचन्द्र रेग्मीका अनुसार बिरामीका लागि खानालगायत अत्यवश्यक सेवा पुर्याउन कठिन भएको छ ।  ‘स्रोतसाधनको समस्या छ, जनशक्ति व्यवस्थापन पनि त्यत्तिकै चुनौतीपूर्ण छ । चिकित्सक तथा नर्सहरु ‘डबल ड्युटी’ गरेर भए पनि अहोरात्र खटिनुभएको छ, तर हाललाई ‘ओपिडी’ र ‘ओटी’ सेवा बन्द गरिएको छ”, उनले भने, “हिजोदेखि ड्युटीमा आएका आजमात्र घर फर्किँदै हुनुहुन्छ ।” हाल सो प्रदर्शनमा  घाइते ४६ जनाको उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालले पनि प्रदर्शनमा घाइतेहरूलाई उच्च प्राथमिकता दिइ उपचार गरिरहेको अस्पतालका निर्देशक डा सुवास आचार्यले जानकारी दिए ।   अत्यावश्यक र ‘रेफर’ भएर आएका बिरामीको भने उपचार रोकिएको छैन । ‘ओपिडी’ सेवा सञ्चालनमै छ, तर बिरामीहरू अस्पतालसम्म आइपुग्न सकेका छैनन् । 'डबल ड्युटीमा खटेर हामीले काम गरिरहेका छौँ । घर जाने अवस्था नभएकाले स्वास्थ्यकर्मीहरू अस्पतलामै रही काम गरिरहनुभएको छ', उनले भने, 'हाल ५३ जना घाइतेको यस अस्पतालमा उपचार भइरहेको छ ।' निर्देशक आचार्यका अनुसार ‘ओपिडी’ नियमित रूपमा सञ्चालन भइरहेको, आकिस्मक सेवामा चाप रहेको, मुख्य शल्यक्रिया भने हाललाई बन्द गरिएको र यातायात नियमित रूपमा चले भोलिबाट सबै सेवा सञ्चालन गरिने छ ।  'राष्ट्रिय ट्रमा सेन्टरमा हाल ४० जना घाइतेको उपचार भइरहेको छ । जसमा चार जनालाई शल्यक्रियापछि ‘आइसीयु’मा राखिएको छ । अहिले त अवस्था ठिकै छ । तर एउटा एम्बुलेन्स नै तोडफोड गरेका छन्', अस्पतालका निर्देशक डा बद्री रिजालले भने, 'चिकित्सक र नर्स ल्याउन भने केही समस्या छ । स्रोतसाधन अभावका बीच पनि उपचार सेवा रोकेका छैनौँ ।' परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पनि २४सै घण्टा सेवा सञ्चालनमा छ । जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सेवालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सो अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले भने, 'ओपिडी नियमित नै सञ्चालन छ, आकस्मिक सेवा चलिरहेकै छ । शुल्क लिएर दिइने सेवा (पेइड सर्भिस) बन्द गरिएको छ ।' रासस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । मंगलबारदेखि बन्द गरिएको विमानस्थल कहिले खुल्ने भन्नेबारे स्पष्ट नभएको विमानस्थल कार्यालयले जनाएको छ । विषम परिस्थितिका कारण अनिश्चितकालीन रूपमा सञ्चालन रोकिएको कार्यालयले जानकारी दिएको हो । यस सम्बन्धमा जारी सूचनामा अर्को सूचना नआएसम्म विमानस्थल बन्द नै रहने उल्लेख गरिएको छ । विमानस्थल बन्द भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका छन् । यात्रुहरूलाई आवश्यक जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरिएको छ ।

उच्छृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख बरामद

काठमाडौं । पछिल्लो विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले उच्छृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ परेका छन् ।  मङ्गलबार राति १० बजेदेखि आज बिहान १० बजसम्म देशका विभिन्न स्थानमा विध्वंसात्मक तथा अराजक गतिविधिमा संलग्न भएका उनीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको हो । सुरक्षा निकायले काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिबाट रु ३३ लाख ७० हजार बरामद गरिएको सेनाले जनाएको छ ।  काठमाडौंका विभिन्न स्थानबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका हतियार ३१ थान तथा म्यागजिन एवं गोलीगठ्ठा बरामद भएका छन् । सार्वजनिक तथा निजी सम्पत्तिमाथि प्रदर्शनकारीले लगाएको आगो तीनवटा बारुणयन्त्रको प्रयोग गरी नियन्त्रण गर्ने कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

आधारभूत सेवा प्रवाहका विषयमा छलफल हुँदै

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा सचिवहरूसँग छलफल गर्दै छन् । वर्तमान असहज परिस्थितिमा न्यूनतम आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा मुख्यसचिव अर्यालले सचिवहरूसँग भर्चुअल बैठक आयोजना गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।