माधव नेपालको राजीनामा माग, पार्टी एकतामा विमति
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँगको एकताको प्रस्तावप्रति असहमति जनाएका छन् । सुकेधारामा बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा खनालले माओवादीसँग एकता गर्नुपर्ने प्रस्तावको खुला विरोध गर्दै यस्तो कदमले पार्टीको अस्तित्व र राजनीतिक सिद्धान्तमा नै प्रश्न उठाउने बताएका छन् । उनले भने, ‘यदि अहिले हाम्रो पार्टी माओवादी केन्द्रमा गाभिन्छ भने एमालेसँग गरेको विभाजनको औचित्य हराउँछ । यो हाम्रो राजनीतिक इतिहासको पुष्टि होइन, उल्टै एकता भनिएको यो कदम हाम्रा लागि आत्मघाती हुनेछ । खनालले सशस्त्र युद्धका क्रममा भएका विवादास्पद घटनाहरूको जिम्मेवारी समाजवादीले लिन नसक्ने स्पष्ट पारेका छन् । उनका अनुसार माओवादीसँगको एकता जनयुद्ध र त्यसपछिका घटनाप्रति मौन सहमति जनाएसरह हुनेछ । खनालले पार्टी अध्यक्ष माधव नेपालको राजीनामा समेत मागेका छन् । भ्रष्टाचार मुद्दा लागेर सांसद पद निलम्बन हुँदा पनि पार्टी नेतृत्व नछाडेको भन्दै उनले नेपालकाे आलोचना गरे । ‘मुद्दा लागेपछि त्यस बेलै संसदबाट निलम्बन हुनुभयो । अनि तपाईँ पार्टीमा चाहिँ किन पदमा बस्ने ? कम्युनिस्ट आन्दोलनको नेताले कस्तो मूल्य स्थापित गर्ने, त्यसको अगुवाइ तपाईँले गर्नुस् । तपाईंले नेतृत्व छाड्नुस्,’ खनालले भने । त्यस्तै, महासचिव घनश्याम भुसालले पनि माओवादीसँग तत्काल एकता गर्नु रणनीतिक गल्ती हुने बताएका छन्। । उनले भने, ‘हामीले एमालेबाट अलग भएर नयाँ राजनीतिक विकल्प निर्माण गर्ने प्रतिज्ञा गरेका थियौं । अहिलेको एकता त्यस उद्देश्यविपरीत हुनेछ ।’ अध्यक्ष माधवकुमार नेपालले भने वाम शक्तिहरूबीच एकता आवश्यक रहेको बताउँदै आएका छन् । उनका अनुसार वाम आन्दोलनलाई मजबुत बनाउन सहकार्य अपरिहार्य छ । बैठकमा अहिले नेताहरूबीच तीव्र छलफल जारी छ । खनाल र भुसालको विरोधपछि पार्टीभित्रको शक्ति सन्तुलन फेरि एकपटक परीक्षणमा परेको छ । बैठकले अन्ततः एकता सम्बन्धी प्रस्ताव पारित गर्ने वा अस्वीकार गर्ने निर्णय आज बेलुकीसम्म आउने अपेक्षा गरिएको छ । यसअघि अध्यक्ष नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालको बुधवार बिहान भएको भेटघाटमा कार्तिक १६ गते एकता घोषणा गर्ने सहमति भएको थियो । उक्त बैठकमा उपस्थित नेकपा एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार कार्तिक २१ गते निर्वाचन आयोगमा दल दर्ता गर्ने र कात्तिक २८ र २९ गते राष्ट्रिय सम्मेलन गर्ने आन्तरिक सहमति भएको थियो । खाजा खर्चमै केन्द्रीत रह्यो समाजवादीको बैठक, पाण्डेले एक लाख सहयोग गर्दा रामकुमारीको हजार
सेयर बजार चलाउन नियम र स्वतन्त्रता दुवै आवश्यक छ : नेप्से सीईओ चापागाईं
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले बजार चलाउनका लागि नियम र स्वतन्त्रता दुवै आवश्यक रहेको बताएका छन् । नेपाल सेयर बजार लगानीकर्ता संघको प्रथम वार्षिक साधारण सभालाई बिहीबार सम्बोधन गर्दै उनले सेयर बजारमा नियम धेरै भयो भने बजारमा उत्साह घट्ने र स्वतन्त्रता पनि बढी भयो भने बजारमा अराजकता आउने बताएका हुन् । बुद्धिमानी पूर्वक नियमन अपनाउनुपर्ने आजको आवश्यकता रहेको बताउँदै उनले लगानीकर्ताको हित र बजारको उर्जा पनि कायम राख्नेगरी नेप्सेले आफ्नो काम कारबाही अघि बढाउने प्रतिवद्धता जाहेर गरे । नेपाल स्टक एक्सचेन्ज सीईओ चापागाईंले पुँजीबजार केबल सेयर किनबेच गर्ने थलो मात्र नभएको बताउँदै यो देशको आर्थिक समृद्धिको आधार भएको पनि बताए । राष्ट्रको विकास, श्रम रोजगारी, उद्योग र लगानी यी सबै कुरा पुँजीबजारसँग जोडिएको उनको भनाइ छ । सीईओ चापागाईंले भने–‘आजको संसारमा पुँजीबजार केबल सेयर किनबेच गर्ने थलो मात्र होइन । यो देशको आर्थिक समृद्धिको आधार हो । राष्ट्रको विकास श्रम रोजगारी, उद्योग र लगानी यी सबै कुरा पुँजीबजारसँग जोडिएका छन् । बजार भाग्यले होइन, बजारले चल्छ । दीर्घकालिन सोच र ज्ञान र संयम सफल लगानीका आधार हुन् । नेपालमा कतिपयले बजारलाई छोटो अवधिको कारोबारका रुपमा हेर्छन् तर वास्तमा पुँजीबजार जनताको वचतलाई उत्पादनशील लगानीमा रुपान्तरण गर्ने माध्यम हो ।’ उनले बजारमा धेरै लगानीकर्ता आइरहेको बताउँदै सेयर बजारको बारेमा साक्षरताको कमी देखिएको समेत बताए । नेपाल सेयर बजार लगानीकर्ता संघले साक्षरताका लागि नेतृत्व लिन समेत उनले सुझाव दिए । कार्यक्रममा सेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशव श्रेष्ठले नेपालमा सेयर लगानीकर्ताहरु संगठित हुन जरुरी रहेकाले संघ स्थापना गरीएको बताए । उनका अनुसार लगानीकर्ताको आवाजलाई नीतिगत तहसम्मै पुर्याउन संघले महत्वपूर्ण भुमिका खेलेको छ । अध्यक्ष श्रेष्ठले भने–‘एउटा ठूलो तप्का ७० लाख सेयरका डिमाण्ट एकाउण्टवाला छन् । यो संख्या उल्लेख्य हो । नेपालको पुँजीबजारलाई चलायमान बनाउने कुरामा उनीको भूमिका असाध्यै महत्वपूर्ण हुन्छ । तर सेयर बजारका लगानीकर्ताहरु जति छरिएर रहेका छौं । यसले हाम्रो आवाज नीतिगत तहसम्म पुग्न सही तवरले पुर्याउन सकेका छौ की छैनौँ भनेर विश्लेषण गरेपछि यो संस्था खोलिएको हो ।’ कार्यक्रममा साधारण लगानीकर्ता संघका अध्यक्ष रितुजंग जिसीले राज्यले राम्रो प्लेटफर्म बनाइदिएर संसारभर सेयर बजारको कारोबार हुने गरेको बताउँदै नेपालमा लगानीकर्ताको हितका लागि राज्यले राम्रो काम नगरिदिदाँ आफूहरु संघ, संगठन बनाएर हिँड्नुपर्ने अवस्था आएको बताए । उनले सेयर बजारका एजेण्डाहरु बोकेर नियमक निकायमा जाँदा बेवास्ता गरिने गरिएको गुनासो समेत गरे ।
ट्रम्प-सी बीच भएको भेटवार्ताको कमाल : चीनको सेयर बजार एक दशकपछि उच्च स्तरमा
काठमाडौं । चीनका सेयरहरू बिहीबार एक दशकको उच्चतम अंकमा पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच ६ वर्षपछि पहिलोपटक भेट भएको छ जसले दुवै देशबीचको व्यापार युद्धमा शिथिलता आउने अपेक्षा जगाएको छ । शाङ्घाइ कम्पोजिट इन्डेक्स आज बिहानको कारोबारमा ०.२ प्रतिशत बढेर ४,०२५.७० मा पुगेको छ । यो सन् २०१५ पछिको सबैभन्दा उच्च स्तर हो । अमेरिका(चीन व्यापार विवादमा शिथिलताको अपेक्षाले यसलाई माथि पुर्याएको हो । लगानीकर्ताहरूले संसारका दुई ठूला अर्थतन्त्रबीच तनाव कम हुने प्रारम्भिक संकेत पाएका छन् । यद्यपि केही लगानीकर्ताहरू सतर्क पनि छन् । उनीहरूको विचारमा सायद यो शिथिलता अपेक्षाभन्दा धेरै ठूलो नहोला । चीनमा बैंकिङ, बीमा र मदिरा कम्पनीका सेयरहरूमा सबैभन्दा बढी वृद्धि देखिएको छ। हङकङको ह्याङ सेङ इन्डेक्स ०।६ प्रतिशतले बढेको छ । बुधबारको छुट्टीपछि यो पहिलोपटक खुल्यो । ट्रम्प एसियाली भ्रमणको अन्तिम चरणमा दक्षिण कोरियामा थिए । यो बैठक दक्षिण कोरियाको बुसान सहरमा भएको थियो । ट्रम्पको दोस्रो पटक राष्ट्रपति बन्नुपछि सी जिनपिङसँगको यो पहिलो भेट हो। यस बैठकको महत्त्व यस वर्ष चिनियाँ सेयर बजारमा ठूलो उछाल आएको कारणले पनि बढी छ । शाङ्घाई बेञ्चमार्क सूचकांक यस वर्ष लगभग २० प्रतिशतले बढेको छ। विश्लेषकहरू भन्छन् कि लगानीकर्ताहरू केवल सामान्य कुरा हेर्ने छैनन् । उनीहरू बैठकपछि आउने विवरणहरूलाई ध्यानपूर्वक हेर्नेछन् । यदि कुनै विशेष कुरा बाहिर आएन भने बजारको प्रतिक्रिया सायद त्यति तीव्र नहोला । अमेरिकी ट्यारिफको बाबजुद चीनको निर्यात अन्य देशहरूमा मजबुत रहन सफल भएको छ । ६ वर्षपछि ट्रम्प र सीबीच भेट : शक्ति सन्तुलन र आपसी निर्भरता पुनः परिभाषित गर्ने प्रयास
विश्व मस्तिष्कघात दिवसमा ग्राण्डी अस्पतालमा सचेतनामूलक हाजिरीजवाफ
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विश्व पक्षघात (मस्तिष्कघात) दिवसको अवसरमा सचेतनामूलक हाजिरीजवाफ प्रतियोगिता गरेको छ । ‘प्रत्येक मिनेट गणना’ भन्ने मूल नाराका कार्यक्रम गरेको अस्पतालले जनाएको छ । प्रतियोगितामा अस्पतालका डाक्टर, नर्स र कर्मचारीले सहभागिता जनाएका थिए । अस्पतालले मस्तिष्कघातको क्षेत्रमा सफल उपचार गरेबापत भर्खरै विश्व स्ट्रोक सङ्गठनबाट ‘एडभान्स स्ट्रोक सेन्टर’ को मान्यता समेत प्राप्त गरेको छ । ग्राण्डी अस्पताल ‘एडभान्स स्ट्रोक सेन्टर’ को मान्यता प्राप्त गर्ने नेपालको पहिलो अस्पताल हो । नेपालमा प्रत्येक १० मिनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको छ । नेपाल मस्तिष्कघात संघले गरेको अध्ययनमा प्रत्येक वर्ष नेपालमा मस्तिष्कघातका कारण ५० हजारदेखि ६० हजार मानिस प्रभावित हुने र १० मिनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको हो । नेपाल मस्तिष्कघात संघका निवर्तमान अध्यक्ष एवम् ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ न्युरोलोजिष्ट डा. राजु पौडेलले नेपालमा प्रत्येक १० मिनेटमा एकजनामा मस्तिष्कघात हुने गरेको बताए । एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको मस्तिष्कघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्त्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै मस्तिष्कघात भनिन्छ । डा. पौडेल भन्छन्, ‘समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनुका साथै व्यक्तिको मृत्यु समेत हुनसक्छ ।’ नेपालमा मस्तिष्कघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्न सन् २०१७ मा नेपाल पक्षघात (मस्तिष्कघात) सङ्घ स्थापना गरी विभिन्न कार्यक्रम गरिँदै आइरहेको छ । डा. पौडेलले मस्तिष्कघातको उपचारका लागि सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको बताए । उक्त संघले भर्खरै विश्वका एक दर्जन बढी मुलुकका ५०० बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थितिमा ‘हिमालय अन्तर्राष्ट्रिय मस्तिष्कघात सम्मेलन’ समेत आयोजना गरेको थियो । विश्वभर प्रत्येक वर्ष मस्तिष्कघातका कारण एक करोड २० लाख मानिस प्रभावित हुँदै आएका छन् । प्रभावितमध्ये ५० प्रतिशतको मस्तिष्कघातका कारण मृत्यु हुने गरेको छ । विश्वभर मस्तिष्कघात भएकामध्ये १० करोडभन्दा बढीले पुनर्जीवन पाएका छन् । ‘नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा मस्तिष्कघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिन जरुरी छ,’ उनी भन्छन्, ‘नेपालमा अहिले मस्तिष्कघात भएका मध्ये १५ देखि २० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ ।’ ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेले मस्तिष्कघात उपचारमा ग्राण्डी अस्पताल नेपालकै पहिलो अस्पतालको रुपमा विश्वस्तरीय मान्यता पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा यसको गुणस्तर कायम राखिराख्ने प्रतिवद्धता व्यक्त गरे ।
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
काठमाडौं । चीनले बिहीबार सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजनालाई तीव्ररूपमा अघि बढाइरहेको घोषणा गरेको छ । यो लक्ष्य चीनको दीर्घकालीन उद्देश्य अन्तरिक्ष अन्वेषणमा विश्व नेतृत्व हासिल गर्नेको महत्त्वपूर्ण हिस्सा हो । चाइना म्यान्ड स्पेस प्रोग्रामका प्रवक्ता झाङ जिङबोका अनुसार हाल चन्द्रमामा मानव अवतरणसम्बन्धी अनुसन्धान तथा विकासका सबै परियोजनाहरू सुचारु रूपमा अघि बढिरहेका छन् । उनले लङ मार्च–१० रकेट, चन्द्र अवतरण पोसाक र अन्वेषण सवारी निर्माणलाई यस दिशामा ‘फलदायी उपलब्धि’ का रूपमा वर्णन गरे । झाङले भने, 'सन् २०३० सम्ममा चन्द्रमामा व्यक्ति पठाउने हाम्रो लक्ष्य अटल र स्पष्ट छ ।' यो घोषणासँगै चीनले आफ्नो तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा पठाउन लागेको नयाँ अन्तरिक्ष यात्री टोलीको परिचय पनि गराएको छ । यो मिसन चीनको बढ्दो अन्तरिक्ष क्षमताको अर्को महत्त्वपूर्ण चरण हो । नयाँ चालक दलमा झाङ लु, वु फेइ र झाङ होङझाङ रहेका छन् । उनीहरू आगामी शुक्रबार राति ११ः४४ बजे जियुक्वान प्रक्षेपण केन्द्रबाट प्रस्थान गर्नेछन् । झाङ लुले यसअघि सेन्झाउ–१५ मिसनमा सहभागिता जनाइसकेका थिए भने वु फेइ र झाङ होङझाङका लागि यो पहिलो अन्तरिक्ष यात्रा हुनेछ । उनीहरूले तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा पुगेर करिब छ महिनासम्म अनुसन्धान गर्ने योजना छ । यो यात्रामा अन्तरिक्ष यात्रीहरूले दुई नर र दुई पोथीसहित चारवटा मुसा पनि साथ लैजानेछन् । यी जनावरहरूमा भारहीनता र सीमित वातावरणको प्रभाव अध्ययन गरिनेछ, जसले भविष्यको दीर्घकालीन अन्तरिक्ष यात्रामा जैविक अनुसन्धानका लागि मूल्यवान् जानकारी प्रदान गर्नेछ । चीनले सन् २०११ मा अमेरिकी प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट अलग भएपछि आफ्नै तियाङ्गोङ, अर्थात् ‘हेभनली प्यालेस’, नामक अन्तरिक्ष स्टेसन निर्माणको काम सुरु गरेको थियो । उक्त कार्यक्रम पिपुल्स लिबरेसन आर्मीको प्रत्यक्ष प्राविधिक समन्वयमा सञ्चालन भइरहेको छ, जसले अमेरिकामा राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता पैदा गरेको छ । तियाङ्गोङ अहिले पूर्णरूपमा सञ्चालनमा छ र चीनले यसलाई पृथ्वीको कक्षामा दीर्घकालीन वैज्ञानिक प्रयोगशाला बनाउने लक्ष्य लिएको छ । प्रत्येक नयाँ टोलीले त्यहाँ सूक्ष्म गुरुत्वाकर्षण, जैविक अनुकूलन र प्राविधिक परीक्षणमा अनुसन्धान गर्छ । विश्लेषकहरूका अनुसार चीनको सन् २०३० लक्ष्य विश्वका अन्य अन्तरिक्ष शक्तिहरू अमेरिका र रूससँगको प्रतिस्पर्धामा निर्णायक कदम हुनेछ । यदि सबै योजना सफल भए चीन सो समयसम्म चन्द्रमामा मानव अवतरण गराउने दोस्रो देशका रूपमा स्थापित हुनेछ । रासस
सुरक्षाकर्मीको साहसिक उद्धार अभियानले बचायो अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटक
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशीसहित ७२ जना पर्यटकहरूलाई सुरक्षाकर्मीहरूको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार गरेको छ । म्याग्दीदेखि मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गको ‘हिडन भ्याली’मा हिउँले बाटो पुरिएपछि समस्यामा परेका पर्यटक उद्धार गर्न मुस्ताङ तर्फबाट सुरक्षाकर्मी टोली परिचालन भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका पर्यटकहरु सोमबार रातीदेखिको वर्षा र हिमपातका कारण पैदलमार्ग पुरिएपछि फर्कन नसकेर समस्यामा परेका थिए । शसस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरबाट प्रहरी निरीक्षक बिनोद पौडेलको नेतृत्वमा गएको सात जना शसस्त्र, तीन जना जनपद प्रहरी र स्थानीय उद्धारकर्मी इन्द्रसिंह शेरचनको टोलीले पर्यटकको उद्धार गरेको हो । गुल्मपति प्रमुख प्रहरी नायव उपरीक्षक लिलाबहादुर भुजेलले १७ विदेशी सहित ७२ जना पर्यटकहरुलाई आधार शिविरबाट उद्धार गरेर बिहीबार बिहान हुमखोला झारिएको र उनिहरु सकुशल रहेका जानकारी दिए । ‘हिउँले पदमार्ग पुरिएपछि बाटो बिराएका २० जनालाई डोरीको सहायताले उद्धार गरिएको छ,’ उनले भने, ‘उद्धार टोलीले पदमार्गमा थुपिएको हिउँ पन्छाएर सबै पर्यटकलाई सुरक्षित ठाउँमा ल्याएको छ ।’ अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग खाली बनाएर सबै पर्यटकहरुलाई सकशुल सुरक्षित ठाउँमा ल्याइएको प्रनाउ भुजेलले जानकारी दिए । वर्षा, हिमपात र मौसम खराब भएपछि समुन्द्रि सतहदेखि चार हजार एक सय ९० मिटर उचाइको आधार शिविर भ्रमणमा गएका पर्यटकहरु बास बसेकै ठाउँमा रोकिएका थिए। हुमखोला, फुतफुते, साधीखर्क, गुफाँफाट, भुसकेत मेला र पञ्चकुण्डको होटलमा बसेका पर्यटकहरु सुरक्षाकर्मीहरुको सहायतामा फर्किएका छन् । मंगलबार दिनभर हिमपात भएको उक्त क्षेत्रमा बुधबार मौसम सफा भएको थियो भने बिहीबार बिहानदेखि पुन हिउँ पर्न थालेको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले हिमपात र बर्षाका कारण हुन सक्ने सम्भावित जोखिमको आँकलन गरेर सोमबार देखि कात्तिक १४ गतेसम्म अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको बताए । खोप्रालेक, घोडेपानी, पुनहिल, मोहरेडाडा लगायत क्षेत्रको भ्रमणमा नजान र सतर्कता अपनाउन प्रशासन तथा अन्नपूर्ण गाउँपालिकाले सार्वजनिक सूचना मार्फत अपिल गरेका छन् । यसैगरी म्याग्दीको धवलागिरी–४ मुदीमा पर्ने धौलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा समुन्द्री सतहदेखि पाँच हजार एक सय मिटर उचाईको ‘हिडन भ्याली’मा समस्यामा परेका तीन जना बेलायतका महिला पर्यटक र १२ जना नेपाली पथप्रर्दशक तथा मजदुरहरुको उद्दारका लागि सुरक्षाकर्मीको टोली परिचालन भएको छ । जोमसोम देखि बुधबार गएको नेपाली सेना, शसस्त्र र जनपद प्रहरीको तालिमप्राप्त सुरक्षाकर्मीहरुको टोली बिहिबार बिहान समुन्द्रि सतहदेखि तीन हजार सात सय मिटर उचाईमा अवस्थित मार्फाको आलुबारी पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुषालले बताए । ‘पर्यटकको टोली हिडन भ्यालीबाट धम्पुल लेकमा आइपुगेको जानकारी पाएका छौं,’ उनले भने, ुसुरक्षाकर्मीको टोलीले बाटो बनाउदै लेकतर्फ गइरहेको छ । मौसमले साथ दिएमा दिउँसोसम्म सुरक्षाकर्मी र पर्यटकको भेट हुने अनुमान गरेका छौं ।’ जोमसोमस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालयका सेनानी प्रशान्त बिष्टको नेतृत्वमा १५ तालिमप्राप्त सुरक्षाकर्मीहरु उद्धारमा परिचालन भएका हुन् ।
भारतमा २८३ मेगावाट विद्युत निर्यातको अनुमति नवीकरण, भोलिदेखि पुनः निर्यात हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यात लागि दिएको स्वीकृतिलाई नवीकरण गरिदिएको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत बिक्री गर्न स्वीकृत पाएका ४ आयोजनाको नवीकरण भएको हो । उक्त आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत आइएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको निर्यात गत मङ्गलबारबाट लागू हुने गरी करिब एक वर्षका लागि नवीकरण स्वीकृति भएको छ । यसैगरी, द्विपक्षीय सम्झौता बमोजिम हरियाणा राज्यलाई ४ आयोजनाबाट उत्पादित करिब १८० विद्युत बिक्री भइरहेको थियो । हरियाणा राज्यलाई बिक्री गर्न दिइएको अनुमति बिहीबार (आज) सकिने छ । प्राधिकरणले हरेक वर्ष जुन—अक्टोबरमा हरियाणालाई विद्युत बिक्री गर्दछ । प्राधिकरणले हरियाणालाई विद्युत बिक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत आइएक्समा पनि बिक्री अनुमति मागेको थियो । भारतको केन्द्रीय विद्युत प्राधिकरणले उक्त प्रस्तावलाई स्वीकृति दिएको हो । अब ४ आयोजनाबाट उत्पादित विद्युत् शुक्रबारबाट आइएक्समा समेत निरन्तर रुपमा बिक्री गर्न पाउने भएको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आइएसएको आठौं सभामा सहभागी हुन भारतको नयाँ दिल्ली भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरसँगका भेटमा विद्युत् निर्यात स्वीकृतिको प्रक्रियालाई सरलीकृत गरिदिन आग्रह गरेका थिए । उनले नेपालमा विद्युत उत्पादनको सबैभन्दा राम्रो समय अहिले भएकाले नवीकरणका लागि पठाइएको प्रस्तावलाई तत्काल स्वीकृति गरिदिन समेत आग्रह गरेका थिए ।
तीन करोड बढीको घरजग्गाको कारोबार गर्न लाइसेन्स लिन आह्वान
काठमाडौं । सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था कार्यान्वयनमा लगेको छ । बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारको इजाजतपत्र (लाइसेन्स)का लागि दरखास्त आह्वान गरेको हो । विभागले असोज २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र घोषणा गरेको जनाएको छ । सोही आधारमा अब एक पटकमा तीन करोड रूपैयाँभन्दा बढीको कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थाले ३० दिनभित्र अनलाइनमार्फत निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागकाअनुसार मालपोत नियमावली, २०३६ (आठौं संशोधन २०८२) को अनुसूची ८ मा उल्लिखित कागजात एवं प्रमाण स्क्यान गरी सोही अनुसूची बमोजिमको ढाँचामा निवेदन पेश गर्न भनिएको छ । इजाजत पत्र लिनको लागि मालपोत नियमावली, २०३६ को नियम २३ ट बमोजिम एक पटकमा पाँच करोड रूपैयाँसम्म कारोबार गर्ने व्यक्ति (फर्म, कम्पनी वा संस्था) को हकमा पाँच लाख रूपैयाँ दस्तुर बुझाउनुपर्नेछ । एक पटकमा पाँच करोड रुपैयाँ भन्दा घटी वा बढी जतिसुकै रकमको कारोबार गर्ने व्यक्ति (फर्म, कम्पनी वा संस्था) को हकमा दश लाख रूपैयाँ बुझाउनुपर्नेछ । घरजग्गा कारोबारीमा लाइसेन्स लिने व्यवस्थालाई व्यवसायीहरुले समेत स्वागत गर्दै आएका छन् ।