‘अलपत्र विदेशीलाई सहयोग गरौँ’
काठमाडौं । नेपाली सेनाले अलपत्र परेका विदेशी नागरिकलाई सहयोग गर्न आह्वान गरेको छ । विदेशी नागरिकहरूसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य सङ्घसंस्थालाई उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय एवं सहजीकरण गर्न सेनाले आह्वान गरेको हो । विद्यमान जटिल परिस्थितिका कारण अलपत्र अवस्थामा उद्धारलगायत कुनै पनि सहयोगको प्रतीक्षामा रहेका सबै विदेशी नागरिकहरुलाई नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीहरूसँग सम्पर्क गर्न सेनाले एक सूचना जारी गरेर अनुरोध गरेको हो ।
सुदूरपश्चिममा बाजुरा बाहेक सबै जिल्ला कारागारका कैदीबन्दी फरार
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशका बाजुरा बाहेक सबै जिल्ला कारागारका कैदीबन्दी फरार भएका छन् । मंगलबार भएको जेनजी युवाको प्रदर्शनका क्रममा सुरक्षास्थिति नियन्त्रण बाहिर जाँदा प्रदर्शनकारीहरूले विभिन्न जिल्ला कारागारमा पुगेर कैदीबन्दीहरूलाई छुटाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बर विश्वकर्माका अनुसार कैलाली कारागारका करिब ७ सय कैदीसहित आठ वटा जिल्ला कारागारबाट करिब १ हजार ४ सय कैदीबन्दी फरार भएका हुन् । कञ्चनपुर कारागारमा रहेका ४ सय ७६ कैदीबन्दीमध्ये २२ जना भने भाग्न अस्वीकार गर्दै कारागारमै रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार तीमध्ये १३ पुरुष र ९ महिला कैदीले कानुनको उल्लङ्घन नगर्ने अडान राख्दै भाग्न अस्वीकार गरेका हुन् । यस्तै, बझाङ जिल्ला कारागारमा रहेका ८५ कैदीबन्दीमध्ये ६६ जना भागेका छन् भने बाँकी कैदीहरू कारागारमै रहेका छन् । भागेकामध्ये मंगलबार तीन र बुधबार दुई गरी पाँच जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । अन्य अधिकांश जिल्ला कारागारहरू पनि अहिले प्रायः खाली छन् ।
तनावग्रस्त अवस्थामा देशभरका कारागार : हजौरौं कैदी भागे, आगजनी र तोडफोड बढ्दै
काठमाडौं । जेनजीको दुई दिने आन्दोलनपछि देशभरका कारागार तनावग्रस्त बनेका छन् । मंगलबार ललितपुरमा रहेको नख्खु कारागरबाट सात सय बढी कैदी बन्दी कारागारबाट घर फर्किएपछि देशभरका अन्य कारागारका कैदीकन्दीले पनि आफूहरु पनि बाहिरि आउनु पर्ने माग राख्दै आगजनी तथा तोडफोड गरेका छन् । काठमाडौंमा रहेको डिल्लीबजार कारागारमा बिहानैदेखि तनावग्रस्त अवस्था छ । त्यहाँका कैदीबन्दीले बिहानैदेखि तोडफोड तथा आगजनी गरेका छन् । उनीहरुले आफूहरु पनि बाहिर आउन पाउनुपर्ने माग राख्दै आगजनी गरेका छन् । आगजनीपछि त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको छ । ठूलो संख्यामा सेना परिचालन भइरहेको छ । यस्तै, भक्तपुर कारागाबाट पनि कैदीबन्दी भागेको जानकारी प्राप्त भएको छ । विभिन्न कारागारका कैदीबन्दी आज भित्रै आन्दोलन गरिरहेको जानकारी प्राप्त भएको छ । मंगलबारमात्रै सुदूरपश्चिमका सबै जिल्लाका कारागारबाट कैदीबन्दी भागेका छन् । सुदूरपश्चिममा बाजुरा बाहेकका सबै कारागारबाट कैदीबन्दी भागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) डम्बर विश्वकर्माले ८ वटा कारागारबाट करिब १४०० कैदीबन्दी भागेको बताए । सबै जिल्ला कारागारका कैदीबन्दी भागेपछि कारागार नै खाली भएको उनले बताए । उनका अनुसार कञ्चनपुरबाट ४५० जना, बझाङबाट ६५ जना र कैलालीबाट सात सय जना र बैतडीबाट ६२ जना कैदी भागेका छन् । यस्तै, सुनसरीको झुम्का कारागारबाट १५ सय ७५ कैदी, रौतहटको गौर कारागारबाट २६० जना, चितवनबाट ७०० जना, रुकुम पश्चिमबाट ७२ जना, सोलुखुम्बुबाट ८६ जना, दाङ तुल्सिपुरबाट १२४ जना, जुम्लाबाट ३६ जना, म्याग्दीबाट ७६ जना, जलेश्वर कारागारबाट ५७६ जना र कास्कीबाट ७७३ जना कैदीबन्दी भागेको सूचना प्राप्त भएको छ । केन्द्रीय कारागार सुन्धाराबाट पनि कैदीबन्दी भागेको बताइएको छ ।
लुटिएका हतियार तत्काल फिर्ता गर्न सेनाको अनुरोध
काठमाडौं । नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार तथा गोलीगट्ठा सुरक्षा निकायलाई अविलम्ब फिर्ता गर्न अनुरोध गरेको छ । सैनिक तथा जनसम्पर्क निर्देशनालयले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनको क्रममा लुटिएका हातहतियार, गोलीगट्ठा तथा सुरक्षा सामग्री सुरक्षा निकायलाई बुझाउन अनुरोध गरेको हो । हतियारको दुरूपयोग भएमा जनधनको क्षति समेत हुनसक्ने जनाउँदै सेनाले कसैसँग फेला पारेमा कानुन अनुसार कारबाही हुने चेतावनी दिएको छ । साथै विज्ञप्तिमा सुरक्षा निकायका पोशाकहरू पनि अनाधिकृत रूपमा प्रयोग नगर्न अनुरोध गरिएको छ ।
बीमा कम्पनीहरूलाई घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन प्राधिकरणको अनुरोध
काठमाडौं । नेपाल बीमा प्राधिकरणले हाल देशमा उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई आग्रह गरेको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्म घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई आग्रह गरेको हो । सूचनामा भनिएको छ, 'हाल देशमा उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपालभर रहेका बीमा कम्पनीहरु तथा तिनका शाखा र उपशाखा कार्यालयबाट सम्पादन हुँदै आइरहेका कार्यलाई सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्मका लागि घरबाटै कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।’ प्राधिकरणले आफ्ना कर्मचारी तथा भौतिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नका लागि सुरक्षा निकायहरुको आदेश पूर्ण रुपमा पालना गर्न तथा कुनै पनि अवाञ्छित गतिविधि देखा परेमा तत्काल सम्बन्धित सुरक्षा निकायलाई खबर गर्नसमेत प्राधिकरणले अनुरोध गरेको छ ।
पर्यटक आवागमन सहज बनाउन होटल संघ नेपालको आह्वान
काठमाडौं । होटल संघ नेपालले देशभर जारी निषेधाज्ञा र विमानस्थल बन्द भएपछि अनिश्चित बनेको पर्यटक यात्रुलाई सहज बनाउन सम्बन्धित निकायलाई प्राथमिकताका साथ पहल गर्न आह्वान गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । संघले युवाहरुको बलिदानबाट सुरु भएको नयाँ भविष्यको संक्रमणकालमा देश र जनताको हितमा हुने सबै प्रयास सफल होस् भन्ने शुभकामना पनि व्यक्त गरेको छ । विज्ञप्तिमा उल्लेख भए अनुसार, चाडपर्व र पर्यटकीय सिजन सुरु हुने समयमै निषेधाज्ञा र अन्य अवरोधका कारण नेपाल आउने पर्यटकबाट अत्यधिक र अप्रत्याशित क्यान्सिलेसन भइरहेको छ । यस्तो अवस्थामा आवागमनको समस्या छिटो व्यवस्थापन गर्न सकेमा पर्यटन क्षेत्रलाई केही हदसम्म सहज बनाउन सकिने संघको भनाइ छ । संघले होटललगायतका निजी तथा सार्वजनिक सम्पत्तिमा भएको आगजनीलाई देशकै सम्पत्ति विनाशको रूपमा व्याख्या गर्दै थप क्षति हुन नदिन सबैलाई अपिल गरेको छ । त्यस्तै, हाल प्रभावित पर्यटकको व्यवस्थापन तथा सहजीकरणका लागि होटल संघ नेपालले नेपाल पर्यटन बोर्ड र नेपाली सेनाको सहकार्यमा पहल गरिरहेको जनाएको छ । साथै, अलपत्र पर्यटकलाई आवश्यक आवास सुविधा चाहिएको खण्डमा होटल संघ नेपालको हटलाइन नं. ९८५१०३१४९५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
रसुवामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी
काठमाडौं । रसुवामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबार बिहान सूचना प्रकाशित गर्दै जिल्लाभर कर्फ्यू लगाइएको जानकारी दिएको हो । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीद्वारा जारी सूचनाअनुसार भदौ २५ गते बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाको सम्पूर्ण सीमा क्षेत्रमा कर्फ्यू लागू हुनेछ । कर्फ्यू अवधिभर आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा–बैठक र घेराउ गर्न प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ । हालैका विरोध प्रदर्शनका क्रममा तोडफोड, आगजनी, लुटपाट र आक्रमणका घटना भएपछि नेपाली सेनाले देशभर निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरिसकेको छ ।
त्रिभुवन विमानस्थल बुधबार साँझसम्म बन्द रहने
काठमाडौं । विमानस्थलका साथै काठमाडौं उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् । यसअघि आज मध्याह्न १२ः०० बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो ।