विकासन्युज

प्रधानमन्त्रीको सचिवालयले भन्यो - कसैको दबाबमा गृहमन्त्री हटाइँदैन

काठमाडौं । प्रधानमन्त्री शुशिला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने विषयमा सञ्चार माध्यममा आएका समाचारहरू भ्रमपूर्ण भएको स्पष्ट गरेको छ । बिहीबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले हाल केही सञ्चार माध्यमले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री अर्याललाई हटाउन दबाब दिएको भन्ने समाचार प्रसारित गरेको उल्लेख गर्दै त्यस्ता विवरणमा कुनै सत्यता नभएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, 'कसैलाई मन्त्री बनाउने वा हटाउने विषय प्रधानमन्त्रीको विशुद्ध अधिकारक्षेत्रको कुरा हो । कसैको दबाब वा प्रभावमा यस्ता निर्णय हुन सक्दैन ।' प्रधानमन्त्रीको सचिवालयका अनुसार जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुसार बनेको यो सरकारले असामान्य परिस्थितिमा राष्ट्रको जिम्मेवारी सम्हालिरहेको छ । गृहमन्त्री अर्यालले आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन, शान्ति–सुरक्षा कायम राख्न र सुरक्षा निकायहरूको मनोबल उच्च राख्न निरन्तर खटिरहेको उल्लेख गरिएको छ । यस संवेदनशील समयमा अफवाह नफैलाउन र नपत्याउन सबै पक्षलाई सचिवालयले आग्रह गरेको छ ।

‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ लक्की ड्रको ग्राण्ड रिभिल कार्तिक २१ गते हुने

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालिले 'पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला' अन्तर्गतको लक्की ड्रको ग्राण्ड रिभिल कार्तिक २१ गते गर्ने भएको छ । कार्तिक २० गतेसम्म यो योजनामा सहभागी भएर ग्राहकहरूले विभिन्न आकर्षक लाभ उठाउन सक्नेछन् । विजेताहरूको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारणद्वारा सार्वजनिक गरिने सिप्रदी अटो पार्ट्सले जनाएको छ । यस अफरअन्तर्गत सहभागी ग्राहकहरूका लागि विभिन्न आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको छ । प्रमुख बम्पर उपहारको रूपमा बजाज पल्सर १५० सीसी मोटरसाइकल राखिएको छ, जससँगै टीभीएस एनटर्क १२५ सीसी स्कुटर, स्मार्ट टिभी र स्मार्टफोन पनि उपहारमा प्रदान गरिनेछ। साथै हरेक खरिदमा १,००० रूपैयाँसम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिनेछ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालन गरिएको यो अफरले टाटा सवारीसाधनका प्रयोगकर्ताहरूबीच उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । अफर कार्तिक २० गतेसम्म मात्र मान्य रहने भएकाले, सिप्रदीले ग्राहकहरूलाई समयमै टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुन आग्रह गरेको छ । सिप्रदी अटोपार्ट्सका अनुसार टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सले सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण भागहरूलाई दीर्घायु बनाउँछन् र गाडीको गति अझ उत्कृष्ट बनाउँछन् । यी पार्ट्स उच्च गुणस्तरका र पूर्ण रूपमा टाटाद्वारा प्रमाणित भएकाले, नेपालभरका व्यवसायिक सवारी प्रयोगकर्ताहरूले टाटा जेन्युइन पार्ट्सलाई सबैभन्दा भरपर्दो र विश्वसनीय विकल्पको रूपमा रोज्दै आएका छन् ।

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा सम्पन्न भएको छ । उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश पारित गरेको छ । आर्थिक वर्ष २०८२/८३ को लागि जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।   

बेमौसमी वर्षा : दाउन्नेमा सडक अवरुद्ध

नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए । वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उनले बताए । सूचना अधिकारी नेपालले भने, 'बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन् । दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि यस खण्डमा जाम हुन नदिन प्रहरी खटिएका छन् ।'

आजसम्म सेयरधनी बने ग्लोबल आइएमई, गुराँस र मुक्तिनाथको लाभांश पाइने

काठमाडौं । आज विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ गुराँस लघुवित्त र मुक्तिनाथ कृषिले भोलि कात्तिक १४ गते र ग्लोबल आइएमईले कात्तिक १६ गते बुकक्लोज गर्दैछन् ।  त्यसैले आज कात्तिक १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । ग्लोबल आइएमई बैंकले कात्तिक २६ गते बिहान १० बजे प्रज्ञा भवन कमलादी काठमाडौंमा १९औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको करसहित ८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।  गुराँस लघुवित्त वित्तीय संस्थाले कात्तिक २३ गते धनकुटामा १०औँ वार्षिक साधारण सभा बिहान ९ बजे डाकेको छ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ६५ लाख ८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशतका दरले ८ लाख ६८ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । मुक्तिनाथ कृषि कम्पनीले कात्तिक २१ गते साढे ११ बजे काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको ८ प्रतिशतका दरले ५ करोड ५९ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले २९ लाख ४७ हजार रुपैयाँ नगद गरी कुल ८.४२ प्रतिशत अर्थात् ५ करोड ८९ लाख ४० हजार रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ । 

मेडिकेयर हस्पिटलको १०.५२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । मेडिकेयर हस्पिटलले लाभांश वितरण गर्ने भएको छ । हस्पिटलको सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित १०.५२ प्रतिशतका दरले ४ करोड ७३ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको चुक्ता पुँजी ४५ करोड रुपैयाँ छ । उक्त लाभांश प्रस्ताव पारित गर्न हस्पिटलले मंसिर ६ गते बिहान ११ बजे काठमाडौंमा २८औँ वार्षिक साधारण सभा बोलाएको छ ।  हस्पिटलको सभाले सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्नेछ ।  सन् १९९६ मा स्थापित, मेडिकेयर अस्पताल करिब ३ दशकदेखि स्वास्थ्य सेवा व्यवसायमा संलग्न छ । सानिमा र महतो ग्रुपको लगानीमा सञ्चालित मेडिकेयर हस्पिटलको काठमाडौंमा ८७ सैय्यामा चलिरहेको छ ।  सन् २०२४ मा हस्पिटलले ५४ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा ५० करोड १० लाख रुपैयाँ र सन् २०२२ मा ४७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । 

वामदेव गौतमसहित १९ जना सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै

काठमाडौं । राष्ट्रिय सभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनदेखि सकिँदैछ । जसमा एमालेका आठ, नेकपा (माओवादी केन्द्र) का ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद रहेका कार्यकाल सकिँदैछ । रिक्त हुन लागेकामध्ये १ जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । कार्यकाल सकिएर बिदा हुन लागेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सांसदहरूमा गोपीबहादुर सार्की अछामी, गङ्गाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान रहेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए ।  एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा विसीको कार्यकाल पनि सकिँदैछ । एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह पनि कार्यकाल सकिएर बिदा हुँदैछन् ।  सरकारले आगामी माघ ११ गते आइतबारलाई राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको छ । राष्ट्रिय सभाका ५९ सदस्यीयमध्ये राष्ट्रिय सभामा १८ जना सदस्यका लागि निर्वाचन हुनेछ । 

जेनजी आन्दोलनकर्ताले गरे सुनचाँदी पसलमा आगजनी, नवलपुरमा ५८ करोडको क्षति

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते भएको आगजनी तोडफोडबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा करिब ५८ करोड रुपैयाँको क्षति भएको छ । प्रदर्शनका क्रममा जिल्लास्थित सरकारी र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट करिब ५८ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए । उनका अनुसार आन्दोलनका क्रममा जिल्लामा ४० वटा सवारीसाधन र ५३ वटा भौतिक संरचनामा क्षति पुगेको थियो । जिल्लास्थित सरकारी कार्यालयका एउटा चार पाङ्ग्रे सवारीसाधन र ४ वटा मोटरसाइकल, ३ वटा मोटरसाइकलबारे अनुसन्धान भइरहेको, स्थानीय तहका ९ वटा मोटरसाइकल, ५ वटा चार पाङ्ग्रे सवारीसाधन र ७ वटा साइकलसहित २१ वटा सवारीसाधनमा क्षति पुगेको भन्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।  उनका अनुसार स्थानीय तहका ९ वटा मोटरसाइकलमा पूर्ण क्षति पुगेको छ । यस्तै, २ वटा चार पाङ्ग्रे सवारीसाधनमा पूर्ण तथा ३ वटामा आंशिक रुपमा क्षति पुगेको छ । निजी सवारीसाधनतर्फ १४ वटा सवारीसाधनमा क्षति पुगेको छ । जिल्लामा क्षति पुगेका ४० वटा सवारीसाधनमध्ये १७ वटा मोटरसाइकलमा पूर्ण क्षति, ५ वटा आंशिक तथा चार पाङ्ग्रे सवारीसाधनतर्फ ४÷४ वटा सवारीसाधनमा पूर्ण र आंशिक क्षति भएको छ ।  प्रदर्शनका क्रममा जिल्लामा ५३ वटा भौतिक संरचनामा क्षति पुगेकामा ५ वटा निजी आवास पूर्ण रूपमा क्षति भएका प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । जिल्लामा २ वटा प्रहरी इकाई, ३ वटा प्रहरी बिट र गण्डकी प्रदेश अन्तर्गतको एउटा सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ ।  यस्तै, ३ वटा पालिका कार्यालय र ६ वटा वडा कार्यालयमा आगजनी भएको उनले बताए । आगजनी र तोडफोडबाट जिल्लामा राजनीतिक दल र जनप्रतिनिधिका निजी घर गरी १५ वटामा क्षति पुगेको जनाइएको छ ।  यसैगरी आईएमई ग्रुपको मौलाकाली केबलकार र बाबुराम सुनचाँदी पसलमा समेत आगजनी र तोडफोड भएको छ । आन्दोलनका क्रममा जिल्लास्थित चारवटा राजनीतिक पार्टीका जिल्ला पार्टी कार्यालय, १२ वटा नगर पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको जनाइएको छ ।