प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएको एक महिना पूरा भएको छ । छोटो अवधिमा सरकारको प्रभावकारिता मापन गर्नु सहज हुँदैन, तर सुरुवाती संकेतहरूले सरकारको दिशा, प्राथमिकता र कार्यशैलीबारे केही स्पष्ट चित्र अवश्य दिन्छन् । सबैभन्दा पहिले बालेन सरकारको शैली परम्परागत राजनीतिक अभ्यासभन्दा केही फरक देखिएको छ । निर्णय प्रक्रियामा तीव्रता, सार्वजनिक रूपमा उत्तरदायित्व देखाउने प्रयास र प्रशासनिक संयन्त्रलाई दबाबमा राखेर काम गराउने प्रवृत्तिले सुरुवातमै सबैको ध्यान खिचेको छ । ‘हाई स्ट्यान्डर्ड’ कायम गर्ने उद्घोषसहित सरकारी निकायहरूलाई समयसीमा तोकेर काम गराउने अभ्यासले कर्मचारीतन्त्रमा केही हदसम्म अनुशासन र सक्रियता बढाएको देखिन्छ । समयसीमासहितका १०० बुँदे कार्यसूचीले सरकार आफैले आफूलाई दवावमा राखेको छ ।
सेवा प्रवाह र सुशासनका क्षेत्रमा केही प्रारम्भिक पहलहरू उल्लेखनीय छन् । नागरिकका दैनिक समस्यासँग जोडिएका विषय सार्वजनिक सेवा सुधारमा तत्काल प्रतिक्रिया दिने शैलीले सरकारलाई जनतासँग नजिक बनाएको छ । ट्राफिक व्यवस्थापन, यातायात कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालयमा भएको सुधारहरूबारे नागरिक स्तरमा नै सरकारको तारिफ हुन लागेको छ । यद्यपि यी कामहरू दीर्घकालीन सुधारमा परिणत हुने कि केवल क्षणिक प्रभावमै सीमित रहने भन्ने प्रश्न अझै खुला छ ।
तर, आलोचनाका बिन्दुहरू पनि कम छैनन् । पहिलो, नीतिगत स्थायित्वको अभाव देखिन्छ । छिटो निर्णय लिने क्रममा दीर्घकालीन अध्ययन, कानुनी प्रक्रियाको पूर्ण पालना र सरोकारवालासँग पर्याप्त परामर्श सरकार चुकेको छ । जनसहभागिता बिनाको विकासले वृहतस्तरमा जनतालाई खुसी बनाउन सक्दैन र त्यो दिगो पनि हुन्न । हतारमा निर्णय र फुर्सदमा पश्चातापको दिशामा छ कि भन्ने शंका उत्पन्न भएको छ । बैशाख १७ गतेका लागि संसदको बैठक बोलाउने सरकारको निर्णय सार्वजनिक भएको दुई दिनमै स्थगित भएको छ । बिजकोर्ष बजार बन्द गर्ने सरकारको निर्णय तत्काल सच्याउन शिक्षा मन्त्रालय बाध्य भएको छ । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन प्रसारण गर्ने सरकारी नीतिको आलोचना भइरहेको छ । शनिबार र आइतबार विदा दिने निर्णय र शैक्षिक सत्र बैशाख १५ गतेबाट गर्ने सरकारी निर्णय पनि आलोचनामुक्त छैन ।
त्यस्तै, आर्थिक व्यवस्थापनमा स्पष्ट खाका अझै देखिएको छैन । राजस्व संकलन, लगानी प्रवर्द्धन र रोजगारी सिर्जना जस्ता आधारभूत आर्थिक एजेन्डामा ठोस रणनीति सार्वजनिक हुन बाँकी छ । जनताले अनुभूति गर्ने वास्तविक परिवर्तन अन्ततः अर्थतन्त्रकै सुधारसँग जोडिन्छ, जसमा सरकारको प्रदर्शन अझै प्रारम्भिक चरणमै छ । नेपाल ग्रेलिष्टमा परेको अवस्थामा सरकारले सुशासनमा जोड दिनु स्वाभाविक हो । सम्पत्ति शुद्धीकरण रोक्ने प्रयास गर्नु पनि राम्रो हो । तर शेखर गोल्छालगायत व्यवसायिक क्षेत्रका अग्रज व्यक्तिहरूलाई सरकारले गरेको धरपकडले लगानीकर्ता चिन्तित भएका छन् । सुशासन र दूर्त सार्वजनिक सेवा मात्र समृद्धिको आधार हुन सक्दैन । लगानी विस्तार, पुँजी निर्माण, रोजगारी सिर्जना र अर्थतन्त्र विस्तारमा निजी क्षेत्रको ठूलो भूमिका हुन्छ । त्यसतर्फ सरकारले बाटो बिराएको देखिन्छ ।
सरकारसँग निजी क्षेत्र मात्र होइन, सरकारी निकायहरू नै थर्कमान भएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वमन्त्रीहरू रमेश लेखक, दीपक खड्का, विक्रम पाण्डेलगायतलाई सरकारले गिरफ्तार गर्दा विगतमा सत्तामा पुगेका राजनीतिक नेतृत्व त्रासमा बाँचिरहेको छ । मन्त्रिपरिषद् गठन भएको १३ औं दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाह र २६ औं दिन गृहमन्त्री सुधन गुरुङ पदमुक्त भएका छन् । यसले मन्त्रीहरू, सचिवहरूसहित उच्च तहका कर्मचारीहरूसमेत प्रधानमन्त्री बालेनसँग त्रसित हुन पुगेको देखिन्छ । आफूलाई सुकुम्बासी भन्दै सार्वजनिक जग्गा अतिक्रमण गरेर बस्ने हजारौंलाई बालेन सरकारले बागमतीको किनाराबाट हटाएको छ । यसले वर्तमान सरकार शक्तिशाली पदमा हुने वा नहुने, धनी वा गरिब सबैसँग उत्तिकै खरो रूपमा उत्रने र सबैलाई कानुनका अगाडि समान हुन् भन्ने सन्देश दिन सफल भएको छ । सरकार जनमतका आधारमा मात्र शक्तिशाली होइन, इच्छा शक्तिले पनि शक्तिशाली छ भन्ने सन्देश प्रवाह भएको छ ।
एक महिनाको अवधिमा बालेन सरकारले आशा र अपेक्षाको मिश्रित सन्देश दिएको छ । पुराना ढर्राहरू तोड्ने प्रयास, छिटो निर्णय गर्ने साहस र जनतासँग प्रत्यक्ष संवाद कायम गर्ने शैली सकारात्मक पक्ष हुन् । तर, यिनलाई संस्थागत सुधारमा रूपान्तरण गर्न सकेन भने प्रारम्भिक उत्साह चाँडै नै निराशामा बदलिन सक्छ । समग्रमा बालेन सरकारको पहिलो महिना ‘संकेतहरूको महिना’ को रूपमा लिन सकिन्छ, जहाँ ऊर्जा छ, इच्छाशक्ति देखिन्छ, तर स्थायित्व र संरचनागत गहिराइ अझै विकास हुन बाँकी छ । अबको चुनौती भनेको यही गतिलाई दीर्घकालीन नीति, समन्वय र आर्थिक सुधारसँग जोड्दै वास्तविक परिवर्तनमा परिणत गर्नु हो ।