काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक डा. नवराज अधिकारी अनिवार्य अवकाशमा गएका छन् ।
२०५६ असोज ३ गते धितोपत्र बोर्डमा अधिकृतका रूपमा प्रवेश गरेका अधिकारी ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।
उनले धितोपत्र बोर्डमा २६ वर्ष ७ महिना बिताए । उक्त अवधिमा उनले सचिव, प्रवक्ता तथा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
कार्यकारी निर्देशकका रूपमा भने उनी २०७९ जेठ २६ गते नियुक्त भएका थिए ।
अवकाश भएसँगै धितोपत्र बोर्डले बिहीवार एक कार्यक्रमको आयोजना गरी अधिकारीलाई बिदाइ गरेको थियो ।
कार्यक्रममा सहभागीहरूले डा. अधिकारीको सेवाकालीन योगदानको मूल्यांकन गर्दै उनको आगामी जीवनको सुख, स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका थिए ।
नीति निर्माण, कर्मचारी क्षमता विकास, लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि, बजार सुपरीवेक्षण र अनुगमनमा अधिकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
हाल बोर्डमा अध्यक्ष पद रिक्त रहेको अवस्थामा अधिकारी यसपटक पनि प्रतिस्पर्धामा उत्रिनसक्ने सम्भावना देखिएको छ । यसअघि उनले पाँच पटक बोर्ड अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका थिए ।
अध्यक्ष सन्तोषनारायण श्रेष्ठले यही वैशाख ४ गते राजीनामा दिएपछि उक्त पद खाली छ ।
दीपक भट्टको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा श्रेष्ठको नाम पनि जोडिएपछि उनले राजीनामा दिएका हुन्।
श्रेष्ठ २०८१ मंसिर १० गते अध्यक्षमा नियुक्त भएका थिए ।
अध्यक्ष भएपश्चात श्रेष्ठले बिचौलिया प्रयोग गरी जलविद्युत कम्पनीको आइपीओमा बार्गेनिङ गरेको भन्दै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बोलाएर बयान लिएको थियो ।