विकासन्युज

नेपाल-भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज एवं परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् ।  भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उनले नेपाल–भारतबीच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्नुपर्नेमा जोड दिए।  अध्यक्ष ढकालले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानीस्रोत रहेको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबीचको साझेदारीलाई विशिष्ट बनाएको धारणा राखेको महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  उनले विश्व अर्थतन्त्रमा अनिश्चितता र आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा छिमेकी राष्ट्रबीचको सुदृढ सहकार्य महत्त्वपूर्ण हुनेमा जोड दिए। भारतले हालै प्रस्तुत गरेको केन्द्रीय बजेटले पूर्वाधार, ‘डिजिटल कनेक्टिभिटी’, हरित ऊर्जा तथा साना–मझौला उद्योग प्रवर्द्धनमा दिएको प्राथमिकताले नेपालका लागिसमेत नयाँ अवसर सिर्जना गर्ने उनको धारणा थियो । अध्यक्ष ढकालले नेपाल जलविद्युत्मा समृद्ध रहेको र भारततर्फ विद्युत् निर्यात सुरु भइसकेको जानकारी दिँदै उपयुक्त प्रसारण लाइन र नीतिगत स्थायित्व भएमा नेपाल भारतको विश्वासिलो हरित ऊर्जा साझेदार बन्न सक्ने बताए । यस्तै, उनले पर्यटन क्षेत्रमा नेपालले प्राकृतिक सौन्दर्य, साहसिक तथा आध्यात्मिक गन्तव्यहरू प्रस्तुत गरेको उल्लेख गर्दै होटल, रिसोर्ट तथा केबलकार परियोजनाहरूमा लगानीको अवसर विस्तार भइरहेको जानकारी पनि गराए।  अध्यक्ष ढकालले भने, 'नेपालमा ऊर्जा, पर्यटन औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवामा प्रशस्त सम्भावना रहेको छ । यस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गर्दछु ।'  नेपालको निजी क्षेत्रले सधैँ राजनीतिक स्थायित्व र आर्थिक अनुशासनको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले दीर्घकालीन रूपमा लगानीकर्ताको विश्वास कायम गर्ने पक्षमा नेपालमा नीतिगत सुधारहरू भइरहेको पनि उल्लेख गरे ।  उनले इन्डो–नेपाल व्यापार महोत्सव केवल औपचारिक कार्यक्रम नभई सद्भावनालाई व्यावसायिक साझेदारीमा रूपान्तरण गर्ने मञ्च भएको उल्लेख गर्दै अध्यक्ष ढकालले हरित ऊर्जा, डिजिटल सेवा, पर्यटन र उत्पादन क्षेत्रमा ठोस सहकार्य अघि बढाउन भारतीय उद्योगी व्यवसायी एवं लगानीकर्ताहरूलाई आह्वान पनि गरे । 

काठमाडौंका विभिन्न स्थानमा शनिबार बिजुली कटौती हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामंगलचोक तथा तिलगंगा क्षेत्रमा बिजुली कटौती हुने जनाएको छ । तिलगंगा आँखा अस्पतालअगाडि रहेको पोल ढल्केकोले त्यसलाई व्यवस्थितकार्य गर्नका लागि ११ केभी क्षमताको प्रसारण लाइन सटडाउन गर्न लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले तिलगंगा, प्रकाश सन्यास आश्रम, सम्भुमार्ग, गौशाखा र विमानस्थल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि १२ः३० सम्म बिजुली कटौती गर्ने भएको छ । यस्तै, तिनकुने, गैरीगाँउ, सिनामंगल र विमानस्थल क्षेत्र अन्तर्गतका सबै क्षेत्रमा १ बजेदेखि १४ः३० बजेसम्म बिजुली कटौती हुनेछ । यसैगरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा बिजुली कटौती हुने भएको छ । काठमाडौं उपत्यकाका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले वितरण प्रणाली भूमिगतकार्य भइरहेको र सो कार्य सम्पन्न गर्नका लागि आज बिहान १० बजेदेखि २ बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणका अनुसार, बालुवाटार, शिवपुरी स्कुल, पाण्डोल मार्ग, प्रधानमन्त्रीनिवास आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुनेछ । यस्तै, हेपाली हाइट, च्यासिङडोल, देउराली जनता, भगवती मन्दिर, धापासलिगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ । त्यस्तै, वंशीधर मार्ग, चण्डोल, विशालनगर, सेन्ट्रल अर्पाटमेन्ट र टुँडालदेवी मन्दिरलगायतका क्षेत्रमा पनि १२ बजेदेखि २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ ।

मूला किलोको १५ रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, बन्दा (तराई) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ३५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ५०, काउली तराई प्रतिकिलो रु ३५, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ५५ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ५५, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १८०, घिरौँला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २०, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ३५, चमसुर प्रतिकिलो रु ३०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु ३००, रातो बन्दा प्रतिकिलो रु ८०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु ४०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु २४०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २६०, अङ्गुर (कालो) प्रतिकिलो रु ४००, सुन्तला (भारतीय) प्रतिकिलो रु १७०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १४५, काँक्रो (लोकल) प्रतिकिलो रु १६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ८०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु १५०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १५०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो प्रतिकिलो रु २००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९००, भेडे खुर्सानी प्रतिकिलो रु १३०, हरियो लसुन प्रतिकिलो रु ५०, हरियो धनियाँ प्रतिकिलो रु ४०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १५०, छ्यापी हरियो प्रतिकिलो रु १२०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ १९ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ ९७ पैसा तोकिएको छ । जापानी येन १०को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०३ पैसा र बिक्रीदर २१ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४० रुपैयाँ ०५ पैसा कायम भएको छ । केन्द्रीय बङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६ रुपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २२ रुपैयाँ ९७ पैसा तोकिएको छ । राष्ट्र बङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ९३ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

त्रिभुवन विमानस्थलबाट भन्सार छली ल्याइएका मोबाइल र ल्यापटसहित एकजना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट मोबाइल र ल्यापटपसहित एकजना पक्राउ परेका छन् ।  बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट बाहिरपट्टी शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा ३४ वर्षीय सञ्जीव खड्का पक्राउ परेका हुन् ।  उनले बाह्य मुलुकबाट नेपाल आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई सामान लिने गरेका थिए ।  विद्युतीय सामग्रीहरू अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।  खड्का सर्लाही लालबन्दी नगरपालिका १ का हुन् ।

दाङमा एमालेको झण्डा जलाउने बस्नेत पक्राउ

काठमाडौं । दाङमा नेकपा एमालेको झण्डा जलाउने एक व्यक्ति पक्राउ परेका छन् ।  शुकुबार तुलसीपुर उपमहानगरपालिका ७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका हुन् ।   बिहीबार राति साढे ९ बजे वीरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिलाई स्वागत गर्न उपस्थित भएका केही अपरिचित व्यक्तिहरूले एमालेको झण्डा जलाएका थिए ।  दाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको नेपाल प्रहरीले जनाएको छ ।  घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कपिलवस्तुमा १ लाख बढी नक्कली नोटसहित चार जना पक्राउ

काठमाडौं । कपिलवस्तुमा नक्कली १ लाख १ हजार रुपैयाँसहित चारजना पक्राउ परेका छन् । ५० वर्षीय सट्टु यादव, १९ वर्षीय अजय यादव, ५२ वर्षीय सञ्जय गुप्ता भन्ने पटेश्वरीप्रसाद गुप्त र ५० वर्षीया साजिदा खातुनलाई पक्राउ गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।  सट्ट यादवलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा नेपाली रुपैयाँ १ हजार दरका ९९ थान र उनले विभिन्न स्थानमा कारोबार गरेको २ थान गरी जम्मा कुल एक लाख एक हजार रुपैयाँ १०१ थान नक्कली जस्तो देखिने नोटहरू फेला पारिएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका रिपेन्द्रकुमार सिंहले जानकारी दिए । उनका अनुसार उनीहरूले नक्कली नोट पेट्रोल पम्प र तरकारी पसलमा प्रयोगमा ल्याएका थिए ।  बुद्धभूमि नगरपालिका वडा नम्बर १० स्थित रहेको पेट्रोल पम्प, तरकारी पसलमा र कपिलवस्तु ३ मा  रहेको पेट्रोल पम्पमा समेत उक्त नक्कली पैसा प्रयोगमा ल्याएका थिए । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी कसूरमा ४ गते कपिलवस्तु जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

७ महिनामा १३ अर्बका ५ हजार ८९६ ईभी भित्रिए

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि माघसम्म नेपालमा ५ हजार ८ सय ९६ वटा विद्युतीय गाडी (ईभी) आयात भएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार १३ अर्ब ८५ करोड १ लाख ३५ हजार रुपैयाँ बराबरका ईभी भित्रिँदा सरकारलाई ८ अर्ब ४६ करोड २६ लाख ७७ हजार रुपैयाँ राजश्व प्राप्त भएको छ । ७ महिनाको अवधिमा २ वटा ५० किलोवाट क्षमताका अन-एसेम्बल ईभी समेत आयात भएका छन् । पुस महिनासम्म ५ हजार ७३ वटा ईभी (कार, जीप र भ्यान) भित्रिएका थिए भने माघसम्म आइपुग्दा संख्या उल्लेखनीय रूपमा बढेको विभागले जनाएको छ ।  ५० किलोवाटका १ हजार ९ सय ९२ वटा, ५१ देखि १०० किलोवाटसम्मका ३ हजार ४०२ वटा, १०१ देखि २०० किलोवाटसम्मका ४ सय ९३ वटा तथा २०१ देखि ३०० किलोवाटसम्मका ७ वटा रहेका छन् । सबैभन्दा बढी ५१ देखि १०० किलोवाट क्षमताका ईभी लोकप्रिय देखिएका छन् ।  यसैगरी माघसम्म ५ हजार ६९ वटा तीन पाङ्ग्रे ईभी आयात भएका छन् जसको मूल्य ५१ करोड ७८ लाख १७ हजार रुपैयाँ बराबर रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । नेपालमा ईभीप्रति बढ्दो आकर्षण र प्रयोगसँगै आयातमा पनि तीव्र वृद्धि देखिएको छ भने अटो बजार ईभीमय भएको छ ।