विकासन्युज

किर्ते कागजमा एक सयभन्दा बढी जापान पुगेको खुलासा

काठमाडौं । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा.रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको खुलासा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रशिक्षार्थी कामदार जापान पठाउन भाषा र संस्कृतिसम्बन्धी परीक्षा लिन स्वीकृति लिएको जान भन्ने संस्थाको कागजातको दुरुपयोग गरी प्रशिक्षार्थी कामदार विदेश पुगेका हुन् । गत असारको पहिलो साता जानका भाषा परीक्षकले सामाजिक सञ्जालबाट भाषा परीक्षामा अनुत्तीर्ण भएका ३ जना प्रशिक्षार्थी जापान पुगेको जानकारी पाएपछि पहिलो पटक संस्थाको लेटर प्याड र अध्यक्ष डा.भुसालको हस्ताक्षर किर्ते गरी अनुचित ढंगबाट परीक्षार्थी कामदारहरू जापान पुगेको खुलासा भएको हो । यससम्बन्धी छानबिन गर्न वैदेशिक रोजगार विभागका प्रशासन शाखा निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई छानबिनका लागि १ महिनाको समय दिइएको छ । जानका अध्यक्ष डा.भुसालले कुरा गर्दै भने– ‘हामीले गत असारको पहिलो सातामा जानको भाषा परीक्षामा अनुत्तीर्ण भएकाहरू जापान पुगेको भेटेपछि सम्बन्धित मेनपावर कम्पनीलाई सोधेका थियौं । उक्त कम्पनीले ती व्यक्तिहरू जापान पुगेको पुष्टि गरेपछि हामीले यो कसरी सम्भव छ भनेर कागजात मगाउँदा कम्पनीले जापान पुगेका व्यक्तिको भाषा उत्तीर्णको नक्कली प्रमाणपत्रको फोटोकपी हामीलाई उपलब्ध गराएको थियो । जेठ २१ गतेको मिति उल्लेख भएको उक्त प्रमाणपत्र जानको लेटरप्याड र मेरो हस्ताक्षर किर्ते गरिएको बनाइएको थियो । त्यसपछि हामीले असारको ८ गते वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, सम्बन्धित मेनपावर, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र त्रिभुवन विमानस्थलको अध्यागमनलाई यसबारे जानकारी गरायौं र यसमा छानबिन गर्न आग्रह गर्याैं ।’ उनले त्रिभुवन विमानस्थलको अध्यागमनमा ती कामदारहरूको प्रमाणपत्रलाई जानको चिठ्ठीसँग जुधाएर हेरेको भए यस्तो गलत काम हुनै नसक्ने दाबी गरे । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सरकार र आन्दोलनरत शिक्षकबीच आज औपचारिक वार्ता हुँदै, फिर्ता होला त आन्दोलन ?

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच आज शुक्रबार औपचारिक वार्ता हुने भएको छ । बिहीबार विहान र साँझ दुई चरणमा मन्त्रीहरुसँग छलफल भएपनि औपचारिक वार्ता भने आज हुने भएको हो । विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच बित्रहीबार भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएको थियो । कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको बिहीबारको छलफल सकारात्मक रहेको र शुक्रबार बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताए । “बिहीबार सकारात्मक छलफल भएको थियो, बिहानको भन्दा अहिले बुँदागत रुपमा छलफल भएको छ, उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर छलफल भएको छ, शुक्रबार बिहानसम्म टुङ्गिन्छ”, उनले भने । त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा.प्रकाशशरण महत पनि वार्तामा सहभागी थिए ।

अप्पर तामाकोशीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बियो, अब कहिलेसम्म ?

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ । भदौ १८ गतेदेखि बिक्री खुला गरिएको कम्पनीको हकप्रद सेयरमा असोज २२ गतेसम्म आवेदन दिन सक्ने छन् । यसअघि असोज ७ गतेसम्म समय थियो । तर, हकप्रद सेयरमा पूर्ण आवेदन नपरेकाले आवेदन दिने समय थप गरेको कम्पनीले जनाएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हाल १ कित्ता सेयर भएका सेयरधनीहरुले नयाँ १ कित्ता सेयर पाउने छन् । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ साउन २६ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै सो हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम बैंक र सानिमा बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

पर्यटक भित्राउन नयाँ जुक्ति, म्यान्माले नेपालसहित ४ देशलाई बिना भिषा प्रवेश दिने

काठमाडौं । म्यान्माले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा प्रवेशको व्यवस्था गरेको छ । बिनाभिषा प्रवेशको व्यवस्था पाउने थप चार मुलुकमा नेपाल, बेलारुस, मोरक्को र जापान रहेका सरकारी अधिकारीलाई उद्धृत गरी ग्लोबल न्यू लाइट अफ म्यान्माले जनाएको छ । यो कदमको उद्देश्य म्यान्मा र यी देशहरूबीच बलियो कूटनीतिक सम्बन्धलाई बढावा दिनु र पर्यटनलाई प्रोत्साहित गर्नु हो । म्यान्मा र यी देशहरूबीच पारस्परिक भिसा सम्झौताको एक भागको रूपमा यो निर्णय आएको छ, जसले कूटनीतिज्ञहरू र विशेष पासपोर्ट धारकहरूलाई ३० देखि ९० दिनसम्म देशमा बस्न अनुमति दिन्छ । नयाँ थपिएका चार मुलुकबाहेक बङ्गलादेश, ब्राजिल, चीन, कोलम्बिया, भारत, दक्षिण कोरिया, उत्तर कोरिया, मङ्गोलिया, रूस, सर्बिया, श्रीलङ्का र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (सार्क)का सदस्य राष्ट्रहरू म्यानमाबाट भिसा छुटका लागि योग्य छन् । होटल तथा पर्यटन मन्त्रालयका उपस्थायी सचिव यु ह्ला मिन्तले भिसारहित प्रवेश र आगमनमा भिसालगायतका कदमले देशमा पर्यटकको आगमन बढाउन मद्दत पुग्ने बताए । पर्यटन मन्त्रालयका अनुसार सन् २०२३ को पहिलो आठ महिनामा म्यान्मामा सात लाख ५१ हजार २१६ विदेशी पर्यटक भित्रिएका बताइएको छ ।

विदेश पठाउने भन्दै ४३ जनाबाट पौने ४ करोड ठगी

काठमाडौं । वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको ‘विस एचआर सोलुसन’ प्रालिको इजाजतपत्र (लाइसेन्स नं १४२५/०७४/०७५) खारेज गरेको छ । विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम उक्त प्रालिको लाइसेन्स खारेज गरिएको र सोही दफाबमोजिम मुद्दासमेत दायर गरिएको जनाएको छ । उक्त मेनपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फणिन्द्र कोइरालासमेतको मिलेमतोमा सरिता भुजेललगायत ४३ जनालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३ करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ रकम लिई वैदेशिक रोजगारीमा नपठाएको र रकमसमेत फिर्ता नगरेको पाइएपछि लाइसेन्स खारेज गरिएको विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले राससलाई जानकारी दिए । उनका अनुसार निज मेनपावरको लाइसेन्स खारेज गर्दै वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दासमेत दायर गरिएको छ । उक्त रकम बिगो र सोको ५० प्रतिशतले हुन आउने हर्जानासमेत निज प्रतिवादीहरूबाट जाहेरीवाला पीडितलाई दिलाई भराई पाउन माग दाबी लिई विभागले वैदेशिक रोजगार न्यायाधीकरणसमक्ष अभियोगपत्र दायर गरिएको निर्देशक एवं सूचना अधिकारी उप्रेतीले बताए ।

उद्योगी तथा व्यवसायीलाई निराश नहुन उद्योगमन्त्री रिजालको आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी तथा व्यवसायीलाई निराश नहुन आग्रह गरेका छन् । बाँकेको कोहलपुरमा आज आयोजना भएको नेपाल इँटा उद्योग महासङ्घको १५औँ वार्षिक साधारणसभामा उनले राष्ट्रका सामु देखिएका समस्या मिलेर समाधान गर्नुपर्ने बताए । उनले इँटा उद्योगको समस्यालाई वार्ता र संवादमार्फत टुङ्गो लगाउने उल्लेख गर्दै अहिलेको प्रणाली ठूलो त्याग र बलिदानबाट आएको परिवर्तन भएको बताए । नेपाल इँटा उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष शङ्करबहादुर चन्दले इँटा उद्योगी पलायन हुने अवस्थामा रहेको उल्लेख गर्दै इँटाको विकल्पमा अन्य वस्तुको प्रयोगपछि यसको माग घटेको जानकारी दिए । “स्वदेशको माग धानिरहेको इँटा उद्योग एकाएक पलायन हुने अवस्थाबाट रोक्न राज्यलाई घच्घच्याउन आवश्यक छ”, उनले भने । अध्यक्ष चन्द इँटा उद्योगीले चुनौती झेलिरहेको भन्दै माग घट्दा बजारीकरणको समस्या थपिएको र सरकारले पुँजीगत खर्च गर्न नसक्दा त्यसको असर निर्माणमा परेकाले निर्माणकार्य घट्दा इँटाको खपत हुन नसकेको बताए । करिब ८ प्रतिशत ब्याज लिएर कारोबार गरेका उद्योगीले अहिले १५ प्रतिशत ब्याज तिर्नुपरेको गुनासो गर्दै उनले साँवा र ब्याज तिर्न समय पाए उद्योगी तथा व्यवसायीलाई राहत हुने बताए । नेपाल इँटा व्यवसायी सङ्घ बाँकेका अध्यक्ष देवबहादुर वली क्षेत्रीले इँटा व्यवसायीले चुनौती भोगिरहनुपरेको बताए । बाँकेमा ५० भन्दा बढी इँटा उद्योग दर्ता भएका छन् । जिल्लामा मात्रै वार्षिक २५ करोड इँटा उत्पादन हुने गरेको अनुमान छ । गत वर्ष १० देखि १२ करोडमात्रै इँटा उत्पादन भएको थियो । देशभर करिब १ हजार २ सयको हाराहारीमा रहेका इँटा उद्योगबाट २५० प्रतिनिधि साधरणसभामा सहभागी भएका थिए ।

गुरुहरूलाई धम्क्याउने होइन, अविलम्ब निकास खोजिनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको आन्दोलनको समस्यालाई वार्ताबाट समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् । पार्टी निकट राष्ट्रिय युवासङ्घ दमक नगर कमिटीले आज यहाँ आयोजना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नामक वक्तृत्वकला प्रतियोगिता तथा साक्षात्कार कार्यक्रममा उनले आन्दोलनरत शिक्षकलाई नधम्क्याउन तथा दुवै पक्ष लचक भई वार्ताबाट नै समस्याको समाधान खोज्न आग्रह गरे । उनले भने, “गुरुहरूलाई धम्क्याउने होइन, गुरुहरू यत्तिकै देशभरिबाट आएर त्यहाँ सडकमा आन्दोलन गरिरहेका छन्, अविलम्ब वार्ताबाट नै निकास खोजिनुपर्छ, यसलाई लम्ब्याउन हुँदैन ।” एक दिन स्कुल नपढाउँदैमा केही नहुने बताउँदै ओलीले शिक्षा क्षेत्रको समस्या समाधानमा सरकार प्रतिबद्ध हुनुपर्ने बताए । शिक्षाको विकास भएमात्र देशको मुहार फेरिने भएको चर्चा गर्दै उनले शैक्षिक विकासबाट नै देशको भविष्य निर्माण गर्न लाग्नुपर्ने बताए । उनले भने, “विकास भनेको पैसाले मात्रै हुने होइन, सोच चाहिन्छ, भिजन चाहिन्छ, प्रतिबद्धता चाहिन्छ ।” सरकारले राम्ररी काम पनि नगर्ने र राज्यलाई गर्न नदिने परिपाटीको विकास भइरहेको उनले आरोप लगाए । ओलीले आफू प्रधानमन्त्री हुँदा नारा मात्रै दिएको नभई एउटा निश्चित गन्तव्यमा पुग्ने नीति, कार्यक्रम ल्याएको बताए । उनले एमालेको नेतृत्वमा स्थायी सरकार बनाउने प्रयास भए पनि त्यसलाई विभिन्न तत्वले रोकेको आरोप लगाए । एक अर्को प्रसङ्गमा अध्यक्ष ओलीले सांस्कृतिक समृद्धिका हिसाबले नेपाल विश्वमै नमूना रहेको पनि बताए । कृषि उद्योग, उत्पादनको विकास, निर्यातजन्य वस्तुको विकास गरिनु आवश्यक रहेको उनको भनाइ थियो । युवाहरू विदेश जानुका पछाडि सामाजिक मनोविज्ञान पनि एउटा कारण भएको बताउँदै उनले खेत बाँझो राखेर काम पाइनँ भनेर बाहिर जाने, क्याम्पस खाली हुने र विद्यार्थी पढ्न पाइनँ भनेर विदेश जाने परिपाटी हुन नहुने बताए । ओलीले भने, “युवा पुस्ताले जागिर होइन, उद्यमशीलताको विकास गर्नुपर्ने भयो । अरुले रोजगारी दिन्छ कि भनेर कुद्नु हुँदैन ।”

फोटोनको विद्युतीय ट्रक टीएम वानको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ

काठमाडौं । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रा.लि. ले नेपालको पहिलो विद्युतीय ट्रक टीएम वानको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो सुरुवाती मूल्य सीमित अवधिका लागि लागु हुने । नाडा अटो शो २०८० मा औपचारिक रुपमा सार्वजनिक गरिएको टीएम वानको उल्लेखीय बूकिंग रहेको कम्पनीले जानकारी गराएको छ । ३८.६४ किलोवाट आवर ब्याट्री भएको फोटोन टीएम वानले एक पटकको फुल चार्जमा २८० किलोमिटर (एन.इ.दि.सी) रेन्ज दिन्छ । यसमा भएको मोटरको पिक पावर ६० किलोवाट छ भने, यसको टर्क २ सय २० एनएम रहेको छ। उक्त गाडीको पेलोड १४०० किलो रहेको छ । कम्पनीका अनुसार सीसीएस टू चार्जिङ पोर्ट रहेको यो टीएम वान फास्ट चार्जरबाट १ घण्टामा र स्लो चार्जरबाट ६ घण्टामा फुल चार्ज हुन्छ । यसको ब्याट्री सीएटीएलले उत्पादन गरेको लिथियम आयन फोसफेट हो । १ सय ६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो विद्युतीय ट्रकका अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ । टीएम वान विद्युतीय ट्रक निक्कै शक्तिशाली रहेको प्रमाणित भएको छ । उक्त टीएम वान विद्युतीय ट्रकले पूर्णक्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्रखुट्टेको उकालो सजिलै पार गर्न सफल भएको कम्पनीले जनाएको छ ।