उद्योगी तथा व्यवसायीलाई निराश नहुन उद्योगमन्त्री रिजालको आग्रह

<p>काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी तथा व्यवसायीलाई निराश नहुन आग्रह गरेका छन् । बाँकेको कोहलपुरमा आज आयोजना भएको नेपाल इँटा उद्योग महासङ्घको १५औँ वार्षिक साधारणसभामा उनले राष्ट्रका सामु देखिएका समस्या मिलेर समाधान गर्नुपर्ने बताए । उनले इँटा उद्योगको समस्यालाई वार्ता र संवादमार्फत टुङ्गो लगाउने उल्लेख गर्दै अहिलेको प्रणाली ठूलो त्याग र [&hellip;]</p>

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी तथा व्यवसायीलाई निराश नहुन आग्रह गरेका छन् । बाँकेको कोहलपुरमा आज आयोजना भएको नेपाल इँटा उद्योग महासङ्घको १५औँ वार्षिक साधारणसभामा उनले राष्ट्रका सामु देखिएका समस्या मिलेर समाधान गर्नुपर्ने बताए ।

उनले इँटा उद्योगको समस्यालाई वार्ता र संवादमार्फत टुङ्गो लगाउने उल्लेख गर्दै अहिलेको प्रणाली ठूलो त्याग र बलिदानबाट आएको परिवर्तन भएको बताए ।

नेपाल इँटा उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष शङ्करबहादुर चन्दले इँटा उद्योगी पलायन हुने अवस्थामा रहेको उल्लेख गर्दै इँटाको विकल्पमा अन्य वस्तुको प्रयोगपछि यसको माग घटेको जानकारी दिए ।

“स्वदेशको माग धानिरहेको इँटा उद्योग एकाएक पलायन हुने अवस्थाबाट रोक्न राज्यलाई घच्घच्याउन आवश्यक छ”, उनले भने ।

अध्यक्ष चन्द इँटा उद्योगीले चुनौती झेलिरहेको भन्दै माग घट्दा बजारीकरणको समस्या थपिएको र सरकारले पुँजीगत खर्च गर्न नसक्दा त्यसको असर निर्माणमा परेकाले निर्माणकार्य घट्दा इँटाको खपत हुन नसकेको बताए ।

करिब ८ प्रतिशत ब्याज लिएर कारोबार गरेका उद्योगीले अहिले १५ प्रतिशत ब्याज तिर्नुपरेको गुनासो गर्दै उनले साँवा र ब्याज तिर्न समय पाए उद्योगी तथा व्यवसायीलाई राहत हुने बताए ।

नेपाल इँटा व्यवसायी सङ्घ बाँकेका अध्यक्ष देवबहादुर वली क्षेत्रीले इँटा व्यवसायीले चुनौती भोगिरहनुपरेको बताए । बाँकेमा ५० भन्दा बढी इँटा उद्योग दर्ता भएका छन् ।

जिल्लामा मात्रै वार्षिक २५ करोड इँटा उत्पादन हुने गरेको अनुमान छ । गत वर्ष १० देखि १२ करोडमात्रै इँटा उत्पादन भएको थियो । देशभर करिब १ हजार २ सयको हाराहारीमा रहेका इँटा उद्योगबाट २५० प्रतिनिधि साधरणसभामा सहभागी भएका थिए ।

Share News