एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना
काठमाडौं । एनसेल आजियाटाले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना गरेको छ । यस अन्तर्गत शनिबार र आइतबार गरि चार खेलहरु भएका थिए । एनसेल आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरुप सेभेन ए साइड फुटबल मैदानमा यी खेलहरु आयोजना गरिएका हुन् । एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरिय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ । पर्पल किकअफमा चर्चित नेपाली कलाकारहरु, भेटरान फुटबल खेलाडीहरु, युवा उद्यमीहरु, खेलकुद पत्रकारहरु र स्थानिय युवा क्लबका खेलाडीहरुको सहभागिताले यस कार्यक्रमलाई विषेश बनाएको थियो । गत शनिवार (असोज ६)को पहिलो मैत्रिपूर्ण फुटबल खेल एनसेल टिम ए र नेपाली युवा उद्यमी मञ्चबीच भएको थियो । एनसेल टिमको तर्फबाट एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ पनि खेलेका थिए । यो खेलमा एनसेलले १—० को अन्तरले हित हासिल गरेको थियो । एनसेलको तर्फबाट कप्तान प्रज्वल प्रजापतिले गोल गरेका थिए । त्यसैगरी शनिवार भएको अर्को आकर्षक खेल भेटरान फुटबल खेलाडी अनिल गुरुङ र विराज महर्जनको टिमबिच भएको थियो । दुवै टिममा विभिन्न चर्चित नेपाली कलाकारहरुको सहभागिता रहेको थियो । कलाकारहरुमा आयुषमान जोशी, जेम्स प्रधान, जितु नेपाल, प्रेस्का उदास, रेमन दास श्रेष्ठ, सन्दिप क्षेत्रि, अमन केसी, समृद्घि राई, त्रिचु राईलगायतका कलाकारहरु रहेका थिए । अनिल गुरुङको टिमले ५—४ को अन्तरले खेल जितेको थियो । त्यस्तै आइतबार (असोज ७) सम्पन्न पहिलो खेल एनसेल टिम बी र जनवाचनालय तथा पुस्तकालय, लैनचौर युवा क्लबसँग भएकोे थियो । लैनचौर युवा क्लबसँगको खेलमा क्लबले ४—१ को अन्तरालले जित हाँसिल गरेको थियो । त्यस्तै आइतबार दोस्रो खेल नेपाल खेलकुद पत्रकार मञ्च र एनसेल टिम सीबीच भएको थियो । कोच अमन अधिकारीको नेतृत्वमा रहेको नेपाल खेलकुद पत्रकार मञ्चले ४—३ गोलको अन्तरालले खेल जितेको थियो। ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिनेछन् । त्यस्ता कार्यक्रमहरुमा मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान र ग्राहकहरुसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमण लगायत रहेका कम्पनीले जनाएको छ।
विद्युत् विस्तारले टेम्केमैयुङवासीको दैनिकीमा सहज
भोजपुर । केन्द्रीय प्रसारण लाइन विद्युत् विस्तार भएपछि भोजपुरको पश्चिमी क्षेत्रमा अवस्थित टेम्केमैयुङ गाउँपालिकाका स्थानीयलाई सहजता थपिएको छ । विद्युत्ले स्थानीयको जीवनयापन सहजता भएको हो । विगतका वर्षहरूमा सोलार टुकी बत्तीको उज्यालोमा रात कटाउँदै आएका स्थानीयले विद्युत्बाट चल्ने उद्योग तथा विभिन्न यन्त्र, उपकरण चलाएर लाभ लिँदै आएका छन् । उनीहरूले अहिले टोलटोलमा कुटानी पिसानीको लागि विद्युतीय मिल राखेका छन् । विद्युत् विस्तार भएपछि मझौले चोलन्ती गाउँमा मात्र पाँचवटा विद्युतीय मिल रहेको टेम्केमैयुङ–५ मझौलेका स्थानीय हर्कराज लुइँटेलले जानकारी दिए । विद्युत् विस्तारसँगै स–साना घरेलु उद्योगसँगै मिल सञ्चालनमा आएपछि दैनिकी सहज बनेको उनको भनाइ छ । “विद्युत् विस्तारले हाम्रो गाउँमा सहजता थपिएको छ”, उनले भने, “विगतमा धान, मकै, कोदोलगायतका अन्नबाली पिस्नलाई पाँच–छ घण्टासम्म बोकेर लैजानुपर्ने अवस्था थियो । कहिले त दिन नै बित्थ्यो । विद्युत् विस्तार भएपछि टोल–टोलमा मिल सञ्चालन भइरहेका छन् ।” विद्युत् विस्तार भएपछि विदेशबाट आएर मिल स्थापना गरेर व्यवसाय गर्दै आएको टेम्केमैयुङ–५ मझौलेका स्थानीय एकराज विष्टले बताए । गाउँमा सञ्चालन गरिरहेको मिलमा कुटानी, पिसानीको काम गर्दै आएको उनको भनाइ छ । मिलबाट आफूसमेत स्वरोजगार बनेको उनले बताए। “लामो समय विदेशमा बसेँ”, उनले भने, “अहिले गाउँमा फर्केर विद्युतीय मिल लगाएको छु । यसले स्थानीयलाई कुटानी–पिसानीका लागि सहजता छ । मिलबाट आफू स्वरोजगार बनेको छु । घर खर्च चलाउने आम्दानी पनि हुन्छ ।” ठूलो भूगोलसँगै भौगोलिकरूपमा विकट रहेको यो गाउँपालिकाको सबै क्षेत्रमा तीन वर्षअघिबाट विद्युत् बलेको हो । एक सय ७३ दशमलव ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाका सबै जनता विद्युत्को पहुँचमा छन् । यहाँका नौवटै वडाहरुमा विद्युत् सेवा विस्तार गरिएको छ । गाउँपालिकाले यस क्षेत्रका दुर्गम स्थानका रूपमा चिनिएको वडा नं ४ नागीको लुङ्गिन बस्तीमा समेत विद्युत् बलेको छ । जङ्गलको बीचमा रहेको यो बस्तीका मानिस नेट, इन्टरनेटमार्फत सूचनाको पहुँचमा रहेका छन् । वडा नं ४ लुङ्गिनका स्थानीयवासी रामबहादुर राईले आफ्नो ठाउँमा विद्युत् आएपछि दैनिकी सहज बनेको बताए । “दुर्गम क्षेत्रमा पर्ने हाम्रो गाउँमा झलमल्ल विद्युत् बलेको छ”, उनले भने, “अहिले जीवनयापनका लागि सहज छ । अँध्यारोमा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ ।” विद्युत् विस्तार भएपछि यस क्षेत्रका स्थानीयवासीमा सूचनाको पहुँचसँगै जीवनयापनमा समेत परिवर्तन आएको स्थानीय नवीन राईले बताए । विद्यार्थीलाई पठनपाठनमा पनि सहज भएको उनको भनाइ छ । “विद्युत् विकासको एउटा सूचक पनि हो”, उनले भने, “अहिले हाम्रोजस्तो ठाउँमा इन्टरनेट चलाउन, टेलिभिजन हेर्न पाएका छौँ । हामीलाई सूचनाको पहुँचमा जोडिन सहज छ । बालबालिकाले विद्युत्को उज्यालोमा पठनपाठन गर्न पाएका छन् ।” यो गाउँबाट गाउँपालिका केन्द्र अन्नपूर्ण तथा अन्य स्थानमा जानका लागि जङ्गलको बाटो भएर तीनदेखि चार घण्टासम्मको यात्रा गर्नुपर्ने हुन्छ । “भौगोलिक हिसाबले यो निकै दुर्गम छ”, उनले भने, “हामी चार पुस्तादेखि यहाँ बसोबास गरिरहेका छौँ । यो ठाउँमा राज्यको आँखा पर्न सकेको थिएन । अहिले विकासको अनुभूति गर्न पाएका छौँ ।” वर्षौँदेखि अँध्यारोमा बस्दै आएका वडा नं २ छिनामखुको रुमला पञ्छीका स्थानीयवासीले पनि विद्युत् उपभोग गरिरहेका छन् । उनीहरूले विद्युत् आएपछि विद्युतीय मिलको सहायताले कुटानी पिसानी गरिरहेका छन् । विभिन्न फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गरेर आयआर्जनमा जोडिएको स्थानीय फुर्तेन्जी शेर्पाले बताए । विद्युत् विस्तारको काम पूरा भएकाले अब यहाँको अन्य भौतिक विकासका क्षेत्रमा काम भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । सडक विस्तारसँगै गाउँपालिकाले कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ । “हाम्रो गाउँपालिकामा पूर्णरूपमा विद्युतीकरण भइसकेको छ”, उपाध्यक्ष राईले भनिन्, “हामीले अब यहाँका अन्य क्षेत्रको विकासमा योजनाबद्धरूपमा काम गरिरहेका छौँ । टेम्केमैयुङलाई समृद्ध बनाउने हाम्रो लक्ष्य छ ।” टेम्केमैयुङलाई २०७७ सालको कात्तिक महिनामा उज्यालो गाउँपालिका घोषणा गरिएको हो । रासस
प्रभु इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी
काठमाडौं । प्रभु इन्स्योरेन्स केही संख्यामा कर्मचारी मागेको छ । कम्पनीले विभिन्न प्रदेशका लागि कर्मचारी मागेको हो । कम्पनीका अनुसार बिरगंज शाखामा (प्रदेश अफिसर) एसिस्टेन्ट वा डेपुटी म्यानेजर तथा म्यानेजर पदका लागि एक जना र जुनियर अस्टिेन्ट वा सिनियर अफिसरका लासग केही संख्यामा कर्मचारी मागेको हो । त्यस्तै, कटारी शाखाका लागि (सब ब्रान्च अफिसर) जुनियर अफिसर एक जना र जुनियर वा सिनियर असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी मागेको हो । त्यस्तै, धरान शाखा, चपुर शाखा दमौली शाखा र जनकपुर शाखा कार्यालयका लागि पनि केही संख्यामा कर्मचारी मागेको हो । कम्पनीका अनुसार उक्त पदका लागि कम्तिमा पनि स्नताक तह शैक्षिक योग्यता हुनु पर्नेछ । इच्छुक ब्यक्तिले १५ दिनभित्र आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।
स्वावलम्बन लघुवित्तले कार बेच्दै
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सवारी साधन बिक्री गर्ने भएको छ । लघुवित्तले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ््ग सम्पत्ति सवारी साधन बिक्री गर्ने भएको हो । लघुवित्तका अनुसार टक्सन फोरडब्ल्यूडी कार बिक्रीमा राखिएको हो । लघुवित्तले बिक्री गर्न लागेको उक्त सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । खरिद गर्न इच्छुक व्यक्तिले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न लघुवित्तले आग्रह गरेको छ । उक्त सवारी कमलपोखरी काठमाडौंमा रहेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो कर्मचारी
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स केही कर्मचारी मागेको छ । कम्पनीले प्रदेश कार्यालय प्रमुख सहित एक्सटेन्सन काउन्टरका लागि केही कर्मचारी मागेको हो । कम्पनीका अनुसार कर्णाली प्रदेश कार्यालय प्रमुख पदका एक जना कर्मचारी मागेको हो । त्यस्तै, कर्णाली प्रदेशका एक्सटेन्सन काउन्टर प्रतिनिधिका लागि केही कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ । प्रदेश हेड पदका लागि स्नातक तह उतिर्ण गरी निर्जीवन बीमा क्षेत्रमा २ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ । त्यस्तै, एक्सटेन्सन काउन्टर प्रतिनिधिका लागि भने प्लस टु अध्ययन गरिसकेको हुनु पर्नेछ । इच्छुक ब्यक्तिले १५ दिनभित्र आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।
‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि ४ विकल्प प्रस्ताव
काठमाडौं । कोरोना महामारीका बेला सरकारले निर्माण गरेका ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि ४ विकल्प प्रस्ताव गरिएको छ । सरकारले करोडौँ मूल्यका ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन बनेपछि रक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन टोली बनाएर अध्ययन गरेको थियो । सो अध्ययन समितिले ‘होल्डिङ सेन्टर’ को उपयोगबारे अध्ययन गर्न कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उपसमितिले बनाएको थियो । उक्त उपसमितिले ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि ४ वटा विकल्प प्रस्ताव गरेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए । उनका अनुसार समितिले ४ वटा विकल्पका रूपमा ‘होल्डिङ सेन्टर’ प्रयोग गर्न सकिने प्रस्ताव मन्त्रालयमा पठाएको छ । “एक हजार क्षमताको संरचनाको ३० प्रतिशत विपद्को प्रयोगका लागि र बाँकी लागुऔषध दुव्र्यसनीमा फसेकाका लागि पुनःस्थापन केन्द्र, क्षयरोग उपचार केन्द्र, विशेष सुरक्षा प्रहरीलाई पनि राख्न सकिने सुझाव दिएका छौँ”, सहायक प्रजिअ जोशीले भने, “प्रदेश सरकारले सञ्चालन गर्ने गरी यि चार विकल्प प्रस्ताव गरेका छौँ ।” सङ्घीय सरकारले सेना मातहत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा १ हजार शय्या क्षमताको होल्डिङ सेन्टर निर्माण गरेको छ । पछिल्लो सयम यहाँ लागुऔषधको प्रयोग भयावह रहेकाले प्रहरीले सञ्चालन गर्ने गरी सुधारगृहका रूपमा प्रयोग गर्नुपर्ने स्थानीयवासी बताउँछन् । हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्दले सबै निकायले मिलेर उपयुक्त प्रयोजनका लागि होल्डिङ सेन्टरको प्रयोग गर्न सकिने बताए । “अहिले लागुऔषध दुव्र्यसनी भयावह छ, यसको उपचार केन्द्र राख्दा उपयुक्त हुन्छ”, उनले भने, “अन्य महामारीका बेला राहत, उद्धारका लागि पनि स्कुल प्रयोग गर्नुभन्दा होल्डिङ सेन्टर प्रयोग गर्नु उपयुक्त हुन्छ ।” सालघारी क्षेत्रमा एक हजार शय्या क्षमताका २० ठूला शय्यासहितका संरचना, ५० शय्या क्षमताका दुई संरचना स्वास्थ्यकर्मीका लागि र २२ वटा शौचालय र १५ भान्सालगायतका संरचना निर्माण भएका छन् ।रासस
नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित र विकासशील मुलुकका लागि सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराएर सहयोग गर्न विश्व समुदाय, दातृ निकाय, विकास साझेदारलगायत द्विपक्षीय तथा बहुपक्षीय निकायहरूसँग आग्रह गरेका छन् । इजिप्टमा आयोजना भइरहेको ‘एसियन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (एआइआइबी)को वार्षिक बैठकको एउटा सत्रमा अर्थमन्त्री महतले आर्थिक रुपमा पछि परेका मुलुकहरुको पूर्वाधार विकास आवश्यकता पूर्ति गर्नका लागि सहुलियतपूर्ण वित्तीय सहयोगको आवश्यकता औँल्याएका हुन् । त्यस्तै, वित्तीय लगानीका नयाँ स्रोत खोजिनुपर्ने पनि उनको भनाइ छ । “अहिले विश्वले मुख्य ३ वटा चुनौतीको सामना गरिरहेको छ । विश्व अर्थतन्त्रमा सन्तुलन कायम गर्ने, शून्य कार्बन उत्सर्जनतर्फको लक्ष्य हासिल गर्ने र न्यून तथा मध्यम आय भएका मुलुकको वित्तीय पहुँच बढाई गरिबी घटाउने तथा नागरिकको जीवनस्तर सुधार्ने गरी काम गर्नुपर्ने छ”, अर्थमन्त्री महतले भने, “यसका लागि थप वित्तीय लगानी आवश्यक भएकाले सहुलियतपूर्ण वित्तीय सहायतासहित समन्वय र सहकार्यका लागि बहुपक्षीय विकास बैंकहरु तथा अन्तरराष्ट्रिय दातृ निकायसँगलाई आग्रह गर्दछु ।” नेपालजस्तो कमजोर अर्थतन्त्र भएको मुलुकको विकासका लागि सहुलियतपूर्ण ऋण महत्वपूर्ण रहेकाले त्यस्तो सहयोग उपलब्ध गराउन एआइआइबीसँग अर्थमन्त्री महतले प्रस्तावसमेत राखे । आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना, हरित पूर्वाधार विकास, वित्तीय पहुँच विस्तार, प्रविधि र क्षमता विकास, सामाजिक सुरक्षालगायतका लागि थप लगानी आवश्यक रहेको अर्थमन्त्री महतले बताए । यसले समतामूलक र दिगो विकासलाई प्रवद्र्धन गर्ने विश्वास लिइएको उनको भनाइ छ । वित्तीय लगानीका नयाँ स्रोत खोजिनुपर्नेमा पनि अर्थमन्त्री महतले जोड दिए । सार्वजनिक–निजी साझेदारी (पिपिपी), हरित बन्ड, ब्लेन्डेड फाइनान्सलगायतका अवधारणामार्फत लगानी गर्न सकिने उनको भनाइ छ । त्यसका लागि राजनीतिक स्थिरता, बीमा, नियामकीय नीतिहरुको व्यवस्थाका लागि सरकार तयार रहेको पनि उनले बताए । नेपालमा जलवायु परिवर्तनसँग सम्बन्धित परियोजनामा जलवायु वित्तका रुपमा पनि लगानी बढाउन सकिने उनको भनाइ छ । एआइआइबीको बैठकमा दिगो विकासका लागि उत्तरदायी विश्वव्यापी लगानी, उदीयमान अर्थ व्यवस्था भएका मुलुकमा दिगो पूर्वाधारका लागि सहयोग, हरित तथा नवप्रवर्तनमा आधारित लगानी प्रवद्र्धन, जलवायु वित्तको अवसर पहिचान तथा स्रोतको खोजी लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
अझै धोबिघाटको ढल प्रशोधन केन्द्र निर्माण सम्पन्न भएन
काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापनले प्रकाशन गरेको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८÷७९ मा धोबिघाट (दोस्रो) ढल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा रहेको उल्लेख गरे पनि अझै काम सकिएको छैन । आयोजना कार्यान्वयन निर्देशनालयले ललितपुर महानगरपालिका वडा नं ३ स्थित धोबिघाटमा तीनवटा प्रशोधन केन्द्र निर्माण गर्नुपर्ने हो तर हालसम्म एउटा मात्र प्रशोधन केन्द्र निर्माण भएको छ । त्यो पनि प्रयोगमा आउन सकेको छैन । विनासकारी गोरखा भूकम्पअघि काठमाडौँ उपत्यका खानेपानी बोर्डको स्वामित्वमा रहेको ५८९ रोपनी जमिनमा घेराबार थियो । भूकम्पले घेराबार ढालेपछि अहिले मलपोखरीमा घेराबारसमेत छैन । चक्रपथ सुधार परियोजनाका सामानलगायत अन्य विभिन्न संस्थाले केही समयका लागि उपकरण राखेका छन् । जमिन खाली भएकाले अहिले पशु–चौपाया चरिरहेका छन् । जमिन खाली देखेपछि काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग निश्चित समयका लागि जमिन उपलब्ध गराउन विभिन्न निकायले अनुरोध गरिरहन्छन् । काठमाडौँ उपत्यका खानेपानी ब्यवस्थापन बोर्डका सूचना अधिकारी सन्तोष बरालका अनुसार ढल प्रशोधन केन्द्र निर्माणकार्य अन्तिम चरणमा छ । निर्माण भएको प्रशोधन केन्द्र कति प्रभावकारी हुन्छ भन्ने कुरा प्रयोगमा आएपछि मात्र थाहा हुन्छ । उनले भने, “धोबिघाटमा ढल प्रशोधन केन्द्र निर्माण भएर प्रयोगमा आएपछि बागमतीको पानी सफा हुन्छ । अत्याधुनिक प्रविधियुक्त फोहर पानी प्रशोधन केन्द्र निर्माण भएपछि काठमाडौँ उपत्यकाको वातावरण स्वच्छ रहने अनुमान गरिएको छ ।” धोबिघाटमा ढल प्रशोधन केन्द्र निर्माणपछि आयोजना कार्यान्वयन निर्देशनालयले गन्ध हटाउनका लागि विशेष ध्यान दिने जनाइएको छ । ढल प्रशोधन केन्द्रको वरिपरि हरियाली बनाउनेछ र फोहर पानी प्रशोधनका क्रममा उत्पन्न बायोग्यासबाट बिजुली निकालिने योजना समेत रहेको छ । काठमाडौँ उपत्यकालाई स्वच्छ राख्नका लागि निर्माण गर्न थालेको ढल प्रशोधन केन्द्रको क्षेत्रमा हरियाली पार्क निर्माण गर्ने भनिएता पनि अहिलेसम्म घेराबारसमेत निर्माण भएको छैन । धोबिघाटमा तीनवटा अत्याधुनिक प्रविधिका ढल प्रशोधन केन्द्र निर्माण भएपछि गन्ध रोक्नका लागि पार्क अनिवार्यरूपमा निर्माण गर्नुपर्ने काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी बरालले बताए । काठमाडौँ उपत्यकालाई सुन्दर र सफा राख्ने उद्देश्यले विसं २०३३ मा ललितपुर महानगरपालिका वडा नं ३ धोबिघाटमा ५८९ रोपनी जमिन खरिद गरिएको थियो । खरिद गरेको उक्त जमिन हाल खानेपानी मन्त्रालयअन्तर्गतको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको स्वामित्वमा छ । विश्व बैंकको आर्थिक एवं प्राविधिक सहयोगमा सो आयोजना कार्यान्वयन भएको थियो । वैज्ञानिक तवरले प्रशोधन केन्द्र निर्माण गर्न नसकेको कारण ढलको गन्ध बस्तीसम्म पुगेकाले बन्द गर्नुपर्यो । अहिले पनि मलपोखरीमा तीनवटा ढलको पोखरी छन् । यसमा पूरै घाँस उम्रेका छन् । रासस