विकासन्युज

नेपाल आयल निगमले आइपीओ जारी गर्दै

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्ने तयारीमा रहेको बताएका छन् । मंगलबार नेपाल एलपि ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् । धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको जानकारी दिए । कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधरणको लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको बताए । सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताए । उनले व्यवसायीहरुलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आइपीओ दिने तयरी रहेको बताए । विभिन्न प्राविधिक पक्षहरु रहेकाले केही समय लाग्ने जानकारी दिए । ग्यास व्यवसायीहरुप्रति आयल निगम निर्मम हुने सोचमा नभएको बताए । सरकारले व्यवसायीहरुका मागहरु समयसापेक्ष रुपमा सम्बोधन चाँडै गर्नेमा जोड दिए । मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने हिसावले नेपाल आयल निगमले वि.स.२०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको बताए । जनता, व्यवसायी र अन्य सबै क्षेत्रले स्वीकार गरेर अर्थतन्त्रमा टेवा पु¥याउनुपर्ने आवश्यकता रहेको जानकारी दिए । आयल निगमस्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भएपनि नाफामा रहने बताए । ‘ग्यास व्यवसायीहरुप्रति आयल निगम निर्मम हुने सोचमा छैन । नेपाल आयल निगमले वि.स.२०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको अवस्था छ । धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको छ । कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था छ । निगम यो विषयमा प्रतिवद्ध छ । केही समय लाग्छ । अघिल्ला दुई आर्थिक वर्षमा घाटामा रहेकाले केही समय लाग्छ । तर निगम आईपीओ जारी गर्ने तयारीमा छ ।’, उनले भने । नेपाल एलपि ग्याँस उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले डिजेल पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू गर्न माग गरे । ‘एलपी ग्याँसको मूल्य अचानक बढ्दा व्यवसायीहरुलाई समस्या भइरहेको, व्यवसायमा लागत अनुसारको मुनाफा आवश्यक हुने भन्दै आयात गर्ने र निर्यात गर्ने मूल्य सरकारको नियन्त्रणमा हुँदा एलपी ग्याँस उद्योगले विभिन्न समस्या भोग्नुपरेको’, उनले भने । उनले ग्याँस उद्योगीहरुको नाफा १० वर्ष अगाडिको ३२ रुपैयाँ अहिलेसम्म कायम रहेको बताए । निगमले पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू नगरेर ग्याँस उद्योगीहरुलाई पाखा लगाएको आरोप लगाए ।

पुस्तक समीक्षा : ‘जीवन्त सम्बन्ध’ को गहिराइमा

काठमाडौं । जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ ? धेरै मानिसले यी र यस्तै प्रश्नका खोजीमा आफ्नो सम्पूर्ण जीवन केलाउन खोज्छन् तर कमैले मात्रै त्यसका गहिराइमा पुगेर वास्तविक अर्थ पहिल्याउँछन् । कतिले जीवनको अन्तिम क्षणमा मात्रै त्यसको अर्थको भेउ पाउँछन् तर त्यतिबेला उनीहरूको सम्बन्ध टुटिसकेको हुन्छ र ती आफूलाई रित्तिएको महसुस गर्छन् । हाम्रो समाजमा मानिसहरू अनेकांैँ कुराको पछि लाग्छन्, लोभलालच, ईष्र्या, प्रतिस्पर्धाले उनीहरूभित्रको जीवनको रहस्यलाई विकृत बनाएको हुन्छ । मानिसले व्यापारिक सफलता, धनसम्पत्ति र  मनोरञ्जनका खोजीमा भाँैंतारिँदा असल सम्बन्धहरूलाई लत्याइरहेको हुन्छ, चाहे त्यो सम्बन्ध बाबुआमा, श्रीमान्श्रीमती, छोराछोरी वा परिवारका अन्य सदस्य, आफन्तजन, छरछिमेक वा अन्य शुभचिन्तकसँग किन नहोस् । जीवन्त सम्बन्धलाई धेरैले चिन्न नसक्दा तिनको जीवन गहिरो शून्यतातर्फ धकेलिएको छ र ती रित्तोपनको भावनाले निराशा, एकलोपन, अभाव र मूल्यहीन जीवनका भड्खालोमा आफूलाई उत्रिन नसक्ने गरी फसेको पाउँछन् । जगत्मा धेरै थोरै मानिसले मात्रै जीवनको सही अर्थ बुझेका हुन्छन् । तिनले भौतिक उपार्जनलाई भन्दा जीवन्त सम्बन्धलाई मुख्य देख्छन् र जुनसुकै पेसा, व्यवसायमा संलग्न रहेर पनि जीवनको सागरमा आफूलाई तैराउन सक्छन् । अर्काको रोग, पीडा, अभाव र मृत्युलाई नजिकबाट देखेको एउटा चिकित्सक जो यो अवस्थाबाट आफैँ गुज्रिन पुग्छ, ऊ त्यतिबेला जीवनको सही अनुभूति गर्न सक्छ र त्यसलाई अक्षरका माध्यमबाट बाहिर ल्याउँछ भने त्यो समाजको विम्ब बन्छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले आफ्ना पिताको असामयिक निधनपछि आफ्ना मनमा छचल्किएको भावनालाई ‘जीवन्त सम्बन्ध’ शीर्षक  पुस्तकमा उतार्नुभएको छ ।  कुनै  भौतिक उपलब्धिबाट मान्छेलाई सुख अनुभूति भए पनि त्यसको आयु लामो हुँदैन । जीविकोपार्जनका लागि भौतिक वस्तु, सुखसुविधा जरुरत परे पनि त्यही प्राप्तिलाई सम्पूर्ण जीवन ठानेर  पिछा लाग्दा न त त्यसको कुनै पूर्णविराम नै हुन्छ, बरु दौडदा दौडँदै समयले हामीलाई धेरै पर धकेलिसकेको हुन्छ अर्थात् हामी जीवनको उत्तराद्र्धमा पुगिसकेका हुन्छौंँ । त्यति बेला बल्ल हाम्रो चेत खुल्छ, धनसम्पत्ति र सफलताले मात्र त सन्तुष्ट नदिने रहेछ । मानिस बेचैन भएर किन मर्छ, जति वृद्ध हुन्छ, त्यति बाँच्ने चाहना बढ्छ । यही कुरालाई उहाँले आफ्नो पुस्तकमा खोतल्नुभएको छ । पुस्तकमा सम्बन्धहरूको गहिराइलाई केलाइएको छ । व्यक्तिको कर्तव्य, सोच र दायित्वलगायत विषयमाथि केन्द्रित हुँदै मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास लेखकको छ । जीवनमा खुसीका दुई प्रमुख स्रोत भौतिक र भावनात्मक पक्षलाई अथ्र्याउँदै उहाँ भन्नुहुन्छ, ‘भौतिक खुसी वा सुखको सीमाको कम आयु हुन्छ । भावनात्मक सुख असीमित र चिरकाल हुन्छ । सांसारिक मानिस भौतिक सुखको प्रलोभनमा पर्छन् किनकि यो सुख आवरणीय हुन्छ तर ज्ञानीहरू भौतिक सुखबाट चाँडै तृप्त भएर भावनात्मक सुखका मार्गमा अग्रसर हुने गर्छन् । उनीहरूले जीवनलाई गहिराइमा बुझेका हुन्छन् तथा आफूलाई चिनेका हुन्छन् । अन्तर्मनको खुसी उनीहरूको प्राथमिकतामा पर्छ ।’ पुस्तकमा सकारात्मक सोचका साथै सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवं पेसागत जिम्मेवारीलाई सँगै कसरी अघि बढाउने भन्ने विषयमा पनि थुप्रै प्रसङ्ग उल्लेख गरिएको छ । दुनियाँमा धेरै जना आफूसँग भएका कुरालाई बुझ्न नसक्दा र मनन गर्न नसक्दा बढी दुःखी हुने गरेका छन् । त्यसैले जीवन र सम्बन्धलाई समयमै बुझ्न आवश्यक रहेको उहाँको ठम्याइ छ । वास्तवमा सम्बन्धले व्यक्तिगत जीवनलाई चराचर जगत्सँग जोड्ने अवसर प्रदान गर्छ । यसबाट मानिसले भावनात्मक सुखको प्राप्ति सँगसँगै आफ्नो जीवनलाई उद्देश्यपूर्ण बनाउन सक्छ । सम्बन्धले व्यक्तिलाई सन्तुष्ट हुन पनि सिकाउँछ । यसले मानिसमा त्याग, समर्पण, प्रेम, कर्तव्य आदि गुणको विकास गराउँछ । त्यसैले सम्बन्ध बुझ्नु भनेको जीवन बुझ्नु हो, बोधयुक्त जीवन बाँच्नु हो तथा जीवनको सार्थक गन्तव्य पहिचान गर्नु हो । जीवनमा भौतिक सुखमा मात्र रमाउने होइन, सम्बन्धलाई परिचालन गर्न सक्नुपर्ने उहाँको सुझाव छ । वरिष्ठ चिकित्सक डा अनिलको १० वर्षअघि पेसागत जीवनको सुरुआतकालमा लेखिएको  ‘म पनि डाक्टर’ भन्ने पुस्तक पाठकहरूका माझ लोकप्रिय बनेको थियो । सो पुस्तक स्वस्थ रहन र  रोगबारे सरल रूपमा जानकारी लिन निकै उपयोगी छ ।  प्रस्तुत दोस्रो पुस्तकले व्यक्तिको कर्तव्य, सोच र दायित्वलगायत विषयमा तत्वबोध गराएको छ । जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, सङ्घर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायत विषयमाथि संस्मरणात्मक शैलीमा यो पुस्तक लेखिएको छ । तीन वर्षअघि बुबाको मृत्युपछि जीवन र सम्बन्धलाई हेर्ने र सोच्ने तरिका नै परिवर्तन भई  सोही कुराले उहाँलाई पुस्तक लेख्न प्रेरित गरेको हो । कृतिमा सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवं पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिने विषयवस्तु समेटिएका छन् । बुबाको मृत्युपछि जीवनमा पारिवारिक सम्बन्धको अर्थ कति हुने रहेछ भन्ने आफूले बुझ्ने मौका पाएको र त्यसैलाई पुस्तकमा उतार्ने प्रयास गरेको उहाँको भनाइ छ । आफूले धेरै बिरामीको ज्यान जोगाए पनि आफ्नै पितालाई बचाउन नसकेकामा भावुक हुँदै जीवन के हो भन्ने वास्तविकतालाई बुझेपछि नै लेख्न उत्प्रेरणा जागेको उहाँ बताउनुहुन्छ । आफूले सामाजिक सञ्जालमा राखेका सवालमा सर्वसाधारणले राखेका विचारले पनि पुस्तक लेख्न सजिलो भएको उहाँँको भनाइ छ । मुटुरोग विशेषज्ञका रूपमा धेरै बिरामीको मुटु छाम्नुभएका उहाँँले मुटुमात्र नभएर मानिसको मन, मस्तिष्क तथा आर्थिक र सामाजिक परिवेश पनि बुझ्ने मौका पाउनुभएको छ । आफूलाई चिकित्सक भएर मात्रै नभएर समाजको एक सर्वसाधारण व्यक्तिका रूपमा उभ्याएर हेर्दा देखेको दुनियाँको मनस्थितिलाई पनि उहाँले पुस्तकमा उतार्नुभएको छ । पछिल्लो समय मानिसले काम र पैसाका लागि परिवारलाई समय दिन सकिरहेको छैन । परिवारमा बाबुआमा, छोराछोरी, नातिनातिनाबीचका सम्बन्धमा दरार आएको छ । सबैका कुण्ठा छन्, अभाव महसुस गर्छन् । मानिसमा सम्पूर्ण कुरा छ र पनि ऊ खुसी हुन सकिरहेको छैन ।  जीवनमा के  पेसा मात्रै सम्बन्ध हो,  करिअर मात्रै सबथोक हो भन्ने प्रश्नमा रुमल्लिँदै त्यसभन्दा पनि पर जीवन छ भन्ने देखाउन नै आफूले पुस्तक लेखेको उहाँ बताउनुहुन्छ  । आज बाबुआमा, सन्तान, आफन्त, इष्टमित्र, समाजबीच दूरी बढ्दो छ । यसले मानिसको जीवनलाई नराम्ररी प्रभावित पारेको छ । यो पुस्तक पढेपछि जो कोहीले पनि आफ्ने जीवनको घटनाका माध्यमबाट आफैँलाई पात्र देख्न सक्छ । आफैंँले अनुभूत गर्छ कि लेखकको सोच गलत छ कि सही । पाठकका मनमा अनेक प्रश्न उब्जन्छ र आफैँले त्यसको उत्तर पुस्तकमा भेट्टाउँछ । मानिस अर्बौंको सम्पत्ति, नाम, इज्जत हुँदा पनि यसले आफूलाई एक्लो, सहाराविहीन पाउँछ, सन्तानलाई कसरी हुर्काएछौँ भन्ने बोध हुन्छ । आफ्ना सन्तानलाई विदेश पठाउन खोज्ने अभिभावक अहिले दुःखी छन् भने विदेश जानेहरू पनि सुखी छैनन् । परिवारबाट टाढा रहँदा जस्तोसुकै भौतिक सम्पन्नता भए पनि नजिकको आत्मीयता पाउन सकिंँदैन । धन–दौलत, घर–गाडी, ऐश–आराम, मोज–मस्तीले पनि मानिसलाई आनन्द दिंँदैन । यी कुरा प्राप्ति हुने क्षणसम्म आइपुग्दा मानिसले आफ्नो समय, स्वास्थ्य, सम्बन्ध, सुख धेरै कुरा गुमाइसकेको हुन्छ । आर्जन गरेको कुराभन्दा गुमाएको कुराको हिस्सा ठूलो हुन्छ, जसको कुनै लेखाजोखा नै गर्न सकिंँदैन । मानिस तब मात्र सुखी रहन्छ, जब उसको पारिवारिक जीवन पूर्ण हुन्छ । परिवार, इष्टमित्रसँगको प्रेममय सम्बन्धले कहिल्यै एक्लो महसुस हुन पाउँदैन । आफ्ना आमाबुबा, छोराछोरी, श्रीमान्–श्रीमती, भाइबन्धुसँग नजिक हुनु र एकापसमा मित्रवत् सम्बन्धका साथ बाँच्नुले नै जीवनमा मिठास ल्याउँछ र त्यसले जीवनलाई आनन्दमा पु¥याउँछ । त्यसभन्दा ठूलो जीवन्त सम्बन्ध केही हुँदैन भन्ने नै पुस्तकले सन्देश दिएको छ । डा अनिलले विभिन्न अभियान सञ्चालन गर्दै आउनु भएको छ । सामाजिक सञ्जालमा ठूलो सङ्ख्यामा फ्यान र फलोअर्स भएका उहाँलाई सेलिब्रेटी डाक्टरका रुपमा पनि चिन्ने गरिन्छ । उहाँले बुवाको मृत्युपछि उहाँ जस्तै ज्येष्ठ नागरिकका लागि निःशुल्क उपचार गर्न सकियोस् भनेर डा ओम फाउन्डेसन स्थापना गर्नुभएको छ  र  पुस्तक बिक्रीबाट आउने रकम दुःखी र असहाय ज्येष्ठ नागरिकको उपचारमा खर्च गर्ने उहाँको योजना छ । पुस्तकको मूल्य एक हजार तोकिएको छ तर आवरणपृष्ठविना पनि रु ६०० मा किन्न सकिन्छ । त्रिपन्न खण्ड र २४० पृष्ठको  पुस्तक अनलाइनमा दराज, इसेवा, हाम्रो पात्रो, डा ओम फाउन्डेसनको वेबसाइट र उहाँको फेसबुक पेजमार्फत पनि अर्डर गर्न सकिन्छ । समीक्षा पब्लिकेसनले वितरण गर्ने पुस्तक काठमाडौैंँ उपत्यकाभित्र निःशुल्क होम डेलिभरीको व्यवस्था गरिएको छ । विभिन्न सुपर स्टोर एवं कफी सप तथा क्याफे आउटलेटहरूमा समेत पुस्तक उपलब्ध हुने फाउन्डेसनले जनाएको छ । रासस

दशैंका लागि सर्वसाधारणले साढे १८ हजार नयाँ नोट साट्न पाउने, संख्या घटाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपटकको दशैंमा नयाँ नोटको छपाइ संख्या घटाउने भएको छ । अघिल्ला वर्षहरुमा जस्तो नयाँ नोटको संख्या बजारमा धेरै नपठाउने तयारी राष्ट्र बैंकले गरिरहेको बताइएको छ । राष्ट्र बैंकको प्राथमिकता नगद कारोबार घटाउँदै वित्तीय क्षेत्रमा डिजिटल कारोबार बढाउने भएकाले यसपटक बजारमा नयाँ नोटको संख्या कम पठाउने तयारी गरेको हो । पछिल्लो समय डिजिटल कारोबार बढेसँगै नयाँ नोटको सख्या पनि बजारमा कम पठाउने तयारी रहेको राष्ट्र बैंकका सहप्रवक्ता डा.डिल्लीराम पोखरेलले बताए । हालसम्म दशैंका लागि नयाँ नोटको संख्या बजारमा कति पठाउने र कहिलेदेखि वितरण गर्ने भनेर निर्णय नभएको उनको भनाइ छ । गत वर्ष दशैं, तिहार लगायतका चाडपर्वमा झण्डै ५६ अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही भएको थियो । तर, यसपटक भने सो आकारमा नयाँ नोट बजारमा नपठाउने उनले बताए । उनका अनुसार नयाँ नोटको संख्या बजारमा कम पठाएपनि प्रतिव्यक्ति भने साढे १८ हजार रुपैयाँ नै दिने तयारी रहेको छ । राष्ट्र बैंकका दुर्गम ठाउँ लगायतका स्थानमा रहेका नोट कोषमा नयाँ नोटको संख्या कति रहेको छ भनेर तथ्याङ्क निकाल्ने काम भइरहेको उनले बताए । सो तथ्याङ्क आइसकेपछि मात्रै राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट बजारमा पठाउने निर्णय गर्ने उनको भनाइ छ । ‘नोट कोषमा नयाँ नोटको संख्या कति रहेको छ भनेर तथ्याङ्क निकाल्ने काम भइरहेको छ, त्यसमा नयाँ नोट कति छन् भनेर भेरिफाइड भइरहेको छ, कति नयाँ नोट चाहिने हो भनेर नोट व्यवस्थापन विभागले निर्णय गर्छ, त्यसपछि नयाँ नोटका लागि सूचना आह्वान गर्छाैै,’ उनले भने । यसपटकको दशैंमा पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ नै बाँड्ने तयारी रहेको उनले बताए । डिजिटल कारोबार बढिसकेको हुँदा कूल रकम घट्न सक्ने उनको भनाइ छ । राष्ट्र बैंकले यसपटक पनि प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट उपलब्ध गराउने छ । गत वर्ष दशैं छिटै परेको हुँदा भदौ २९ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरूले नयाँ नोट सटही सुविधा प्रदान गरेका थिए ।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिए । कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागिमात्र ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिएको हो । बोर्डका परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले आज र बुधबार दुई दिन परीक्षा सञ्चालन हुने जानकारी दिए । उनले बिहान ११ बजेदेखि सुरु भएको परीक्षा अपराह्न २ बजेसम्म सञ्चालन हुने जानकारी दिए । आज पहिलो दिन एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषयको परीक्षा, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफुले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अङ्ग्रेजी तथा अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । त्यस्तै दोस्रो दिन दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आपूmले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने उनले जानकारी दिए । देशभरका कूल चार सय १९ परीक्षा केन्द्रमा एकै साथ सुुरु भएको परीक्षामा एक लाख २३ हजार तीन सय ९६ परीक्षार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका छन् । त्यसमध्ये एक विषयमा मात्र नन ग्रेडेड अर्थात् एनजी आउने ७९ हजार पाँच सय ८४ विद्यार्थी परीक्षामा सहभागी छन् । लेटर ग्रेडिङ निर्देशिकाअनुसार कुनै विषयमा ३५ प्रतिशत अङ्क पनि नल्याएमा ननग्रेडेड (एनजी) हुन्छन् । परीक्षा देशभरका परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए ।

दशैंको मुखमै बढ्यो हवाइ भाडा, आजदेखि १३% बढी तिर्नु पर्ने

काठमाडौं । दशैं नजिकिएसँगै हवाई भाडा पनि बढेको छ । सरकारले बजेट मार्फत् टिकटमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्थाले आज (मंगलबार) देखि हवाई भाडा बढेको हो ।  मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानमा मूल्य अभिबृद्धि कर (भ्याट) लागू भएको छ । हाल अन्तर्राष्ट्रिय उडानको भाडा एक लाख रुपैयाँ छ भने अब १ लाख १३ हजार रुपैयाँ लाग्ने भएको छ । आन्तरिक हवाईमा भने १३ प्रतिशतको भ्याट लागू भइसकेको छ । यसअघि १३ प्रतिशतको भ्याटको विरुद्द पर्यटन व्यवसायी अदालत समेत पुगेका थिए । अन्तर्राष्ट्रिय उडानमा भ्याट लगाउने निर्णय अव्यवहारिक भन्दै नेपाल एसोसिएसन अफ एन्ड टुर ट्राभल एजेन्ट्सका (नाट्टा) ले साउन १४ गते सर्वाेच्च अदालतमा मुद्धा दर्ता गरेकाे थियाे । नाट्टाले पर्यटन व्यवसायमा नकारात्मक असर पर्नेलगायत कारण देखाउँदै हवाई टिकटमा भ्याट व्यवसायमैत्री नभएको, आन्तरिक राजस्व विभागद्वारा जारी सूचना अस्पष्ट भएको, अध्ययन नगरी हचुवाका भरमा भ्याट लागू गरिएकोलगायत कारण देखाउँदै रिट दायर गरेको थियो । सर्वाेच्चले उक्त रिटमाथि भदौ १५ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वाेच्चले भ्याट लगाउने बाटो खुला गरेको २४ दिनपछि भ्याट कार्यान्वयनमा आएको हो । नेपाल एसोसिएसन अफ एन्ड टुर ट्राभल एजेन्ट्सका (नाट्टा) अध्यक्ष रमेश थापा सर्वाेच्चले मुद्धा खारेज गरेसँगै भ्याट लागूको बाटो खुलेको बताउँछन् । ‘सर्वाेच्चको निर्णय अनुसार सबै वायुसेवा कम्पनीहरु भ्याट तिर्न तयारी अवस्थामा छन्, अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयटा) बाट कोड तयार भएर आएपछि थप सहज हुन्छ’, उनले भने । अहिले वायुसेवा कम्पनीहरु भ्याट लागू गर्न दोधार देखिएको भन्दै आयटाबाट कोर्ड आएपछि सहज हुने उनको भनाइ छ । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली बजेट लागू भएसँगै हवाई टिकटमा भ्याट लागू भएपनि वायुसेवा कम्पनीको ढिलाइका कारण मंगलबारदेखि लागू भएको बताउँछन् । ‘यो लागू बजेट लागू भएसँगै लागु भएकोे हो, हवाई उडानमा पहिलो पटक भ्याट लागु हुँदा र केही ट्राभल्स व्यवसायीहरु अदालत जादा कार्यान्वयनमा ढिलाई भएको हो, हामीलाई आजदेखि लागू भयो भनेर आधिकारीक रुपमा जानकारी आइसकेको छैन’, उनले भने । ‘ हवाइ क्षेत्रकाे भ्याटको नेतृत्व नेपाल एयरलाइन्सले नेतृत्व गर्ने भनिएको छ, कार्यान्वयन जहिलेदेखि आएपनि भ्याट रकम साउन १ गतेदेखिकै भुक्तानी हुनुपर्छ, भुक्तानी भए नभएको सम्बन्धित राजश्व कार्यालयले निगरानी गर्छ’, उनले भने । नेपाल वायुसेवा निगमले मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानमा भ्याट लागू भैसकेको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेल मंगलबारदेखि १३ प्रतिशत भ्याट लागू भैसकेको बताउँछन् । ‘आजदेखि भ्याट लागू भैसक्यो, भ्याट कार्यान्वयनमा आएसँगै हवाई भाडादर बढ्यो, यसअघि १ लाख रुपैयाँ बराबरको हवाई भाडादर थियो भने १३ हजार थपिएर १ लाख १३ हजार भयो’, उनले भने ।

खराब काम गर्ने व्यवसायीलाई निरुत्साहित गर्न निर्मम ढङ्गबाट प्रस्तुत हुन्छौं : महानिर्देशक चिलुवाल

काठमाडौं । नेपालीहरुको ठूलो चाड दसैँ, तिहार तथा छठ नजिकै आइपुगेको छ । चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिँदै आएका छन् । व्यावसायिक क्रियाकलाप स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पुर्याई उपभोक्ताको अधिकार संरक्षण गर्ने जिम्मेवारी वाणिज्य, आपूर्ति तथा उपाभोक्ता संरक्षण विभागको रहेको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरिसकेको छ । उपभोक्तासँग सम्बन्धित विभिन्न १० वटा निकायको प्रतिनिधित्व रहने गरी संयुक्त बजार अनुगमन थालिएको छ । प्रस्तुत छ, चाडपर्व लक्षित बजार अनुगमनको अवस्था, आगामी योजनालगायत विषयमा विभागका महानिर्देशक तीर्थराज चिलुवालसँग गरेको कुराकानीको सम्पादित अंश : विश्वव्यापी कोरोना महामारीलगायत कारणबाट सुस्ताएको बजार बिस्तारै उठ्न थालेको देखिन्छ । यद्यपि, व्यापारी र आम उपभोक्ता अझै विश्वस्त हुन सकेको देखिँदैन । नियामक निकायको प्रमुखका रुपमा अहिलको बजारको अवस्थालाई कसरी नियालिरहनु भएको छ ? खाद्य पदार्थको आपूर्ति र मूल्यका विषयमा सञ्चारमाध्यम र आम उपभोक्ताबाट गुनासो आइरहेको देखिन्छ । तथापि, विभागले आफ्नो दायित्वलाई ध्यान दिँदै बजार अनुगमनलाई सघनरुपमा अगाडि लगिरहेको छ । अहिले केही वस्तुको मूल्य समग्ररुपमा घटेको छ । चामलको थोक बिक्री मूल्य प्रतिबोरा रु ५० देखि एक सयसम्म घटेको अवस्था छ । दलहन प्रकृतिका केही खाद्य वस्तुमा थोरै मूल्य बढेको देखिएको छ । चिनीको मूल्य अलि बढी देखिएको छ । आन्तरिक उत्पादन कम हुनु तथा समयमै खाद्य वस्तुको आयात नहुनुलगायत कारणबाट उपभोक्ता मूल्यमा प्रभाव परेको देखिन्छ । अहिले आपूर्ति प्रणालीमा कुनै समस्या छैन । दैनिक उपभोग्य वस्तुको अभावको अवस्था छैन । दैनिक अत्यावश्यक उपभोग्य वस्तु तथा अत्यधिक मूल्यवृद्धि भई विभिन्न माध्यमबाट आएका गुनासोका सम्बन्धमा भन्सार विभाग र स्वयम् उत्पादक, वितरक तथा पैठारीकर्ताबाट तथ्याङ्क माग गरी मूल्य विश्लेषणको कार्य भइरहेको छ । सरकारले भर्खरै मात्र ५० प्रतिशत भन्सार महसुल छुटमा २० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको छ । सहुलियत भन्सार दरमा चिनी ल्याउने प्रक्रिया अगाडि बढेको छ । २० हजार मेट्रिक टनका साथै थप ३० हजार मेट्रिक टन चिनी आयात गर्ने तयारीमा सरकार रहेको छ । ५० हजार मेट्रिक टन चिनी आइसकेपछि बजारमा सहज अवस्था सिर्जना हुन्छ । चाडपर्व नजिकिँदै छन्, चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिने जोखिम अत्यन्त बढी हुन्छ । स्वच्छ बजार कायम गराउने तथा उपभोक्तालाई ठगिनबाट जोगाउने जिम्मेवारी विभागको रहेको छ । चाडपर्व लक्षित बजार अनुगमनको पाटोलाई कसरी अगाडि बढाउनुभएको छ ? बजार अनुगमन विभागको वार्षिक कार्यक्रम नै हो । विभागले चाडपर्व नभनी नियमित रुपमा बजार अनुगमन गरिरहेको हुन्छ । उपभोक्ताको हक अधिकार संरक्षणका लागि विभाग हरदम तयार नै छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार विभागले नियमित रुपमा बजार अनुगमन गरिरहेको छ । विभागले चाडपर्व लक्षित संयुक्त बजार अनुगमन कार्यक्रम ल्याएको छ । चाडपर्व लक्षित संयुक्त बजार अनुगमन कार्ययोजना, २०८० जारी भएको छ । कार्ययोजनाअनुसार ‘दश जोड दुई’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । यसमा उपभोक्तासँग सम्बन्धित विभिन्न १० वटा निकायको प्रतिनिधित्व हुने गरी १० वटा टोली रहेको छ । टोलीमा वाणिज्य, खाद्य तथा गुण नियन्त्रण, औषधि व्यवस्था, स्वास्थ्य सेवा, आन्तरिक राजस्व, नापतौल तथा गुणस्तर, कृषि, पशुसेवा र पर्यटन विभाग तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको सहभागिता रहेको छ । ‘दश जोड दुई’ कार्यक्रमअन्तर्गत १० वटा अनुगमन टोलीले दैनिक १० वटा फर्मको अनुगमन गर्ने गरी व्यवस्थापन गरिएको छ । अर्को दुईवटा टोलीले चिनी, चामल, तेल, मरमसलालगायत अत्यावश्यक र उच्च माग भएका वस्तुको उत्पादन वा पैठारी गर्ने तथा दोस्रो तहमा रहेका डिलर, थोक बिक्रेता वा खुद्रा बिक्रेताको तहसम्म अनुगमन गर्नेछ । ‘ओभर स्टकिङ’ गरेको छ कि भनेर व्यवसायी तथा गोदामको निगरानी र पहिचान गर्ने र कारबाहीको दायरामा ल्याउन विशेष टोली बनाइएको छ । यसलाई हामीले ‘इन्टेलिजेन्स टिम’का रुपमा परिभाषित गरेका छौँ । अहिले दैनिक १२ वटा टोली बजार अनुगमनमा परिचालित छ । बजार अनुगमनका लागि सरोकारवाला सबै निकायहरुबीच समन्वय गरेर संयुक्त रुपमा खटिइएका छौँ । त्यसबाट बजार अनगुमन प्रभावकारी देखिएको छ । अहिले हामीले चाडपर्वलाई लक्षित गरेर गैरखाद्यभन्दा पनि खाद्य पदार्थको अनुगमनलाई प्राथमिकता दिएका छौँ । काठमाडौं बाहिरका बजारको अनुगमन कसरी भइरहेको छ ? ‘कार्टेलिङ’ गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अखाद्य वस्तु मिसावट गर्नेलगायत उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने खराब प्रवृत्तिका व्यवसायीलाई कारबाही गर्नका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ ले स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरेको छ । स्थानीय बजार अनुगमन गर्ने स्थानीय तह जिम्मेवार हो । स्थानीय तहले आफू नजिक रहेर गुणस्तरीय वस्तु तथा सेवा पाउने उपभोक्ताको हकलाई स्थापित गर्नका लागि बजार अनुगमन गरिरहेको अवस्था छ । प्रदेशमा पनि वाणिज्य हेर्न निकायलाई पनि बजार अनुगमनको अधिकार प्रत्यायोजन गरिएको छ । उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन कार्यलाई सघन र प्रभावकारी बनाउन उपभोक्ता संरक्षण ऐन र नियमावली, २०७६ को प्रावधानअनुसार योग्यता पुगेका विभागमा कार्यरत सम्पूर्ण अधिकृतस्तरका कर्मचारी, ७७ वटै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी र सात सय ५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निरीक्षण अधिकृतको अधिकार प्रत्यायोजन गरिएको छ । पछिल्ला दिनमा बजारमा चिनीको मूल्य ह्वात्तै बढेको छ, कृत्रिम अभाव देखाएर मूल्य वृद्धि भइरहेको छ । चिनीको मूल्य नियन्त्रण गर्न विभागले के गरिरहेको छ ? हाम्रो देशको कूल मागको ५० प्रतिशत चिनी स्वदेशी उद्योगबाट आपूर्ति हुँदै आएको छ । बाँकी आयातबाट पूर्ति हुँदै आएको अवस्था हो । समयमा आयात नहुँदा आपूर्ति चक्र टुटेको हो कि भन्ने देखिएको छ । तथापि, अहिले त्यस्तो अवस्था छैन । परिमाणात्मक रुपमा चिनी प्राप्त छ । तर चिनीको मूल्यमा अलिकति वृद्धि भएको छ भनेर गुनासो आइसके पछाडि हामीले चिनीको कुन तहमा मूल्यवृद्धि भएको हो भनेर अनुसन्धान गरिरहेका छौँ । उत्पादक वा पैठारी, थोक वा खुद्रा बिक्रेता वा तल्लो तहमा कहाँनेर चिनी मूल्य वृद्धि भएको छ रु भन्ने सन्दर्भमा यथार्थ पत्ता लगाउन कार्यदल गठन गरेका छौँ । कार्यदललाई पाँच दिनको समयावधि तोकिएको छ । कार्यदलले केही दिनभित्रै प्रतिवेदन दिनेछ । प्रतिवेदनमा औँल्याइएअनुसार कुन तहमा मूल्य वृद्धि भएको हो, त्यसलाई नियन्त्रण गर्ने गरी अगाडि बढ्छौँ । मूल्यवृद्धि नियन्त्रण गर्न विभाग असक्षम देखिएको हो ? नजिकिँदो चाडपर्वका बेलामा खाद्यवस्तुमा केही मूल्यवृद्धि भएको छ । समग्रमा मूल्यवृद्धिको आधारलाई हेर्ने हो भने गत वर्षको तुलनामा मूल्यवृद्धि भएको देखिँदैन । राष्ट्र बैंकले प्रकाशन गरेको देशको आर्थिक अवस्थाको प्रतिवदेन हेर्ने हो भने पनि मुद्रास्फीति गत वर्षको तुलनामा कम देखिन्छ । नेपालको मुद्रास्फीति ७ दशमलव ५२ प्रतिशत छ भने भारतको ६ दशमलव ८३ प्रतिशत छ । भारतमा भन्दा नेपालमा मुद्रास्फीतिको दर शून्य दशमलव ७० प्रतिशत विन्दुले मात्र बढी छ । यस आधारमा नेपालमा खाद्यवस्तुको मूल्यवृद्धि यो अवस्थामा नआउनुपर्ने हो । तर केही खाद्यवस्तुमा मूल्य वृद्धि भएको छ । दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न हामीले हस्तक्षेपकारी भूमिका बढाएका छौँ । उपभोक्ता संरक्षण ऐनबमोजिम कैफियत गर्ने व्यापारीलाई कारबाही गर्छौं । कोही कसैबाट उपभोक्ता हित विपरीतका गतिविधि भए/गरेको, खाद्यवस्तुमा लेबल नराखी बिक्री गरेको, मिसावट गरिएको देखिएको अवस्थामा सचेत उपभोक्ताले निःशुल्क हटलाइन ११३७ नंमा जानकारी गराउन सक्नुहुन्छ । उपभोक्तामाथि विभिन्न बहानामा ठगी गर्नेलाई नियन्त्रण गर्न विभाग तत्पर छ । अनुगमनमार्फत नै बजारलाई नियमन गर्ने हो । विभागको नेतृत्वदायी भूमिकामा नै संयुक्त बजार अनुगमन भइरहेको छ । अनुगमनले सकारात्मक नतिजा देखाएको छ । बजारलाई व्यवस्थित बनाउन व्यवसायीमा इमान्दारिता र उपभोक्ता सचेतना पनि उत्तिकै महत्वपूर्ण छ । उपभोक्तालाई सचेत बनाउन विभागले के गरिरहेको छ ? बजारमा देखिने गैरव्यावसायिक क्रियाकलाप, उपभोक्ता ठगी, अनुचित व्यापारिक क्रियाकलाप, बिलबीजक जारी नगर्ने, न्यून गुणस्तरीय वस्तुको बिक्री वितरणलगायत क्रियाकलापलाई न्यूनीकरण गर्न तथा स्वच्छ बजार कायम गरी उपभोक्ताको अधिकार संरक्षण गर्न विभाग निरन्तर क्रियाशील छ । हरेक उपभोक्ताले आफूले उपभोग गर्ने वस्तुका बारेमा जानकारी लिनुपर्छ । उपभोग्य वस्तुको मूल्य, उत्पादित समय, प्रयोग गर्ने अवधिलगायत विषयमा उपभोक्ता पनि जानकार हुनुपर्छ । उपभोक्ताले उपभोगका लागि अयोग्य सामग्री खरिद गर्नु हुँदैन । विभागले उपभोक्ता शिक्षाका कार्यक्रम पनि अगाडि बढाएको छ । हामीले उपभोक्ता अधिकार मात्रै नभई जिम्मेवारीको कुरा पनि गरेका छौँ । व्यावसायिक क्रियाकलाप स्वच्छ, पारदर्शी एवम् प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पुर्याई उपभोक्ताको अधिकार संरक्षण गर्ने विभागको मुख्य जिम्मेवारी रहेको छ । यस वर्ष के-कस्तो लक्ष्य राख्नुभएको छ ? विभागको यस वर्षको लक्ष्य तीन हजार आठ सय ५० वटा फर्मको अनुगमन गर्ने रहेको छ । तीमध्ये तीन हजार पाँच सय फर्म उपत्यकाभित्र र बाँकी उपत्यकाबाहिर गर्ने योजना छ । विभाग मातहतको पाँचवटा कार्यालयबाट पनि आ–आफ्नो लक्ष्य निर्धारण गरेर काम गरिरहेको अवस्था छ । दसैँ र तिहारको समयमा हामी करिब दुई हजारको सङ्ख्यामा अनुगमन गर्ने छौँ । सशक्त रुपमा विभागले आफ्नो अभियानलाई अगाडि बढाएको छ । अनुगमनका क्रममा हामी दण्डात्मक योजनामात्र लिएर गएका छैनौँ, व्यवसायीलाई कानुनको दायराभित्र रहेर व्यापार गर्ने गरी उत्प्रेरणा जगाउने खालका कार्यक्रम पनि लगेको छौँ । राम्रो व्यवसाय गर्नेलाई धन्यवाद पनि भनेका छौँ । निरीक्षणका क्रममा उपभोक्ता संरक्षण ऐन विपरीतका कुनै पनि गतिविधि भएको छैन, राम्रो व्यावसायिक आचरणमा रहेर काम भएको छ भने हामीले धन्यवाद पनि दिएका छौँ । खराब काम गर्ने व्यवसायीलाई निरुत्साहित गर्न निर्मम ढङ्गबाट अगाडि बढेका छौँ भने राम्रो काम गर्ने व्यवसायीलाई उत्प्रेरणा र हौसला दिएका छौँ । स्वच्छ र प्रतिस्पर्धी बजार कायम गर्न व्यवसायी, उपभोक्ता र सरकारको भूमिका कस्तो हुनुपर्छ ? बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउन व्यवसायी, उपभोक्तालगायत सरोकारवाला सबैको महत्वपूर्ण भूमिका रहन्छ । उत्पादककर्ता, पैठारीकर्ता तथा व्यवसायी आफँैमा उपभोक्ता भएको हुनाले उहाँहरुले उत्पादन गर्ने वा बिक्री गर्ने वस्तु गुणस्तरीय रुपमा उत्पादन गरी सहज रुपमा उपभोक्तासमक्ष पुर्याउनुपर्छ । उत्पादक, पैठारीकर्ता तथा वितरकले इमान्दारितापूर्वक व्यावसायिक नैतिकताभित्र रहेर व्यवसाय गर्नुपर्छ । कुनै पनि खाद्य वस्तुको मिसावट नगरीकन बिक्री वितरण गर्न आग्रह गर्दछु । कुनै पनि वस्तु खरिद गर्नुपूर्व लेबल छ कि छैन, उत्पादन र प्रयोगयोग्य मिति उल्लेख छ कि छैन, मिसावट छ कि छैन, भ्रामक विज्ञापन गरेको छ कि छैन पुराना वस्तुलाई नयाँ वस्तु भनेर वा पुनः प्याकिङ गरेर बिक्री गरेको अवस्था हो कि होइन यी सबै अवस्था यकिन गरेर मात्र खरिद गर्न आम उपभोक्ता वर्गमा अनुरोध गर्दछु । खाद्यवस्तुमा कुनै कैफियत देखिएको अवस्थामा विभागलाई सूचना दिन जानकारी गराउन आग्रह गर्दछु । व्यवसायी तथा उपभोक्ताको सहयोगबाट नै बजारलाई व्यवस्थित बनाउन सकिन्छ । रासस

रुद्र पाण्डेको नजरमा नेपालको शिक्षा क्षेत्र

काठमाडौं । सूचना प्रविधि कम्पनी, स्कुल तथा कलेजमा लगानी गरेका रुद्र पाण्डे सफ्टवेयर इन्जिनियर हुन् । उनी डिजिटल टेक्नोलोजी कम्पनी डियरहोल्ड, हाम्रो पात्रो, डियरवाक कलेज, डियरवाक स्कुल, डियरवाक अटो सर्भिस, डियरवाक टुर्स एन्ड ट्राभल, डियरवाक फुड र डियरवाक ट्रेनिङ सेन्टरमा आबद्ध रहेका छन् । नेपाल भित्र र बाहिर विशेषगरी शिक्षा र सूचना प्रविधिको क्षेत्रमा लगानी गर्दै काम गरेका इन्जिनियर पाण्डेले नेपालको शिक्षा क्षेत्रमा विशेष चासो राखेर टिप्पणी गर्ने गरेका छन् । नेपालका विश्वविद्यालय, कलेजदेखि विद्यालय तहसम्म जोडिएका नीतिगत, संरचनागत र क्रियाकलापको क्षेत्रमा उनले बारम्बार आलोचनात्मक, सुधारात्मक र सुझावपूर्ण टिप्पणी राख्दै आएका छन् । खासगरी गतिशील नीति र व्यवस्थापकीय दृष्टिकोण राख्ने पाण्डेले नियमित रुपमा सामाजिक सञ्जालमार्फत् राखेका टिप्प्णीहरु नीतिगत तह र व्यवहारिक छलफलमा उपयुक्त हुने अनुमानका साथ विकासन्युजले यसलाई कम्पाइल समाचारको रुपमा तयार गरेको हो । विदेशी कलेजललाई नाङ्ले पसलको संज्ञा धेरै समय विदेशी मुलुकमा नै समय व्यतित गर्ने पाण्डेले नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन भएका कलेजलाई भने नाङ्ले पसलको रुपमा संज्ञा दिने गरेका छन् । उनले अभिभावकहरुले आफ्ना छोराछोरीलाई विदेशी सम्बन्धन लिएका नेपालका नाङ्ले कलेजमा पढाएर भविष्य बर्बाद नगर्न समेत भनेका छन् । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन हुने कलेजहरुमा शतप्रतिशत विद्यार्थी पास हुनेगरेको विषयप्रपति लक्षित गर्दै उनले ती कलेजमा जाँच नै नभएर विद्यार्थी पास हुने गरेको तर्क गरेका छन् । ‘जाँच भए पो फेल हुनु ? अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई विदेशी सम्बन्धन लिएका नेपालका नाङ्ले कलेजमा पढ्न पठाएर भविष्य बर्बाद नगरुन्’, पाण्डेले टिप्पणी गरेका छन् । पाण्डेले ती कलेजमा अध्ययन गरेका ९० प्रतिशत विद्यार्थीले कुनै पनि गतिलो कलेजको परीक्षामा उत्तिर्ण हुन नसक्ने साथै अपवाद बाहेक कमजोर हुने उनको तर्क छ । ‘यी कलेजबाट निस्केका ९० प्रतिशत विद्यार्थीले कुनै पनि गतिलो कलेजको परीक्षामा हुन सक्ने सम्भावना छैन’, पाण्डे टिप्पणी गर्छन्, ‘यी कलेबाट निस्केका विद्यार्थी (केही अपवाद बाहेक) सबै लद्दु नै हुन्छन् बिचराहरु । यसमा विद्यार्थीको दोष छैन । कलेज र आफ्ना छोराछोरीलाई यस्ता ‘बतासे’ कलेजमा पठाउने अभिभावक दोषी हुन् ।’ साथै उनले ‘नेपालका बाबुआमा पश्चिमी देशबाट आएको सबै राम्रो हुन्छ भन्ने ‘कोलोनियल’ सोचबाट मुक्त हुन् र आफ्ना छोराछोरीको भविष्यमाथि खेलबाड नगरुन्’, भनेर उनले टिप्पणी गरेका छन् । पाण्डे विदेशी कलेज सञ्चालकहरुले नेपालमा भएको तीन घण्टे परीक्षा प्रणालीको अभ्यासको ठिक नभएको तर्क गर्ने गरेकोमा त्यसको धेरै महत्व भएको धारणा व्यक्त गर्छन् । ‘हरेक सेमेस्टर र शैक्षिक वर्षको अन्त्यमा हुने तीन घण्टे परीक्षाको महत्व के छ भन्ने कुरा पढाइ सकेर काम गर्न थालेपछि थाहा हुन्छ’, उनी भन्छन्, ‘भारत र नेपाल जस्ता देशमा पढेका विद्यार्थीको विशेषता नै सयौं ३ घण्टे परीक्षा पार गर्नु हो । अनेक कमजोरीका बाबजुद ३ घण्टे परीक्षाले हाम्रा विद्यार्थीलाई मेहनत गर्न र स्ट्रेस(तनाव) र समय म्यानेज गर्न सिकाएको हुन्छ ।’ साथै उनले सो प्रकारको परीक्षा प्रणालीले पढेको कुरालाई स्मरण गरेर सिर्जनात्मक तरिकाले तीन घण्टा भित्र आफ्नो खुबी देखाउन सिकाउँछ । ‘तीन घण्टाको समयलाई मिनेट–मिनेटमा टुक्र्याएर म्यानेज गर्न सिकाउँछ’, पाण्डेले आफ्नो विचार व्यक्त गर्छन् । नेपालको उच्च शिक्षा कमजोरीका कारण इन्जिनियर पाण्डेले नेपालको स्नातक तहको शिक्षा तहसनहस भएको औंल्याउने गरेका छन् । उनले सो हुनुको कारणमध्ये एउटा चाहिँ विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर राम्रोसँग नपढाइ डिग्री बाँडेका कलेजहरु रहेको बताएका छन् । उनले ती कलेजमा हुने परीक्षापनि नाटक जस्तै भएको टिप्प्णी गरेका छन् । त्यस्तै, उनले विद्यार्थीलाई कडा परिश्रम गर्न सिकाउनु पर्छ, विश्वविद्यालयबाट सम्बन्धन लिएका नेपालका कलेजले स्नातक तहलाई भाँडाकुँडी खेलेजस्तो बनाएको उनको टिप्पणी छ । स्नातक तहको अध्ययन ध्वस्त हुनुमा नेपालका नेता तथा विश्वविद्यालयका प्रशासनको दोष रहेको उनले औंल्याएका छन् । ‘स्नातक तह ध्वस्त हुनुमा दोष नेपालका नेता र विश्वविद्यालयका झोले प्रशासनलाई जान्छ । किन विदेशी थर्ड ग्रेड विश्वविद्यालयलाई नेपालमा डिग्री बेच्ने पसल खोल्न दिइन्छ ? यो सबै घुसको खेल हो’, पाण्डेको टिप्पणी छ । त्रिभुवन विश्वविद्यालयले प्रवेश परीक्षाको नाटक गरेर विद्यार्थीलाई दुःख दिने काम मात्रै गरेको उनले बताएका छन् । साथै उनले नेपालको उच्च शिक्षामा सुधार गर्न आफूले कांग्रेस–एमाले र सचिवहरुसँग छलफल गरेको तर, आफूलाई उल्टै कमाउने दाउ गर्न खोजेको भनेर शंकाको दृष्टिले हेरेको बताएका छन् । ‘मैले नेपालको उच्च शिक्षामा सुधार गरौं भनेर कांग्रेस–एमाले नेता र कयौं सरकारी सचिवसँग कुरा गरेँ । पहिलो त कोटा प्रथा खारेज गरौं अनि निजी तथा सरकारी कलेजलाई गुणस्तरमा कडाई गरे भर्ना तथा जाँच लिने तालिका स्वतन्त्र रुपमा कार्यान्वयन गर्न दिने व्यवस्था गरौं ‘हजुर’ भने । काम कोही गर्दैनन् नेपालमा’, उनको टिप्पणी छ । उनले सबैभन्दा धेरै वैज्ञानिक आविस्कारक अमेरिकामा भएको भन्दै सो हुनुमा त्यहाँका शैक्षिक संस्थाहरुको स्वतन्त्रता भएको तर्क गरेका छन् । नेपालमा पनि शैक्षिक संस्थालाई स्वतन्त्र रुपमा सञ्चालन हुन दिनुपर्ने उनको तर्क छ । ‘सबैभन्दा बढी वैज्ञानिक र आविस्कारक कहाँ छन् ? अमेरिकामा । किन त ? किनभने त्यहाँका शैक्षिक संस्थाहरुलाई स्वतन्त्र छोडिएको छ । निजी संस्थाहरु सरकारले दिएको प्रावधान पूरा गरेर खोलिन्छन् र खुले पश्चात आफ्नै समय तालिकामा भर्ना र परीक्षा सञ्चालन गर्छन्’, उनी भन्छन्, ‘सरकारी शिक्षण संस्था पनि स्वतन्त्र रुपमा नै चल्छन् । यसरी चलेका संस्थाले विद्यार्थीहरुलाई जीवनमा कम लाग्ने शिक्षा दिन्छन् । तर, नेपालमा निजी शैक्षिक संस्थाहरुलाई समेत स्वतन्त्र रुपमा चल्न दिइन्न ।’ इन्जिनियर पाण्डेले सहि उच्च शिक्षाले जनतालाई उद्यमशी बनाउने तर नेपालको उच्च शिक्षा धरासायी भएकोले नयाँ सिर्जना र विचार देशमा कम देखिएको समेत औंल्याएका छन् । उनले सरकारी विश्वविद्यालयको एकाधिकारको अन्त्य गरेर निजी विश्वविद्यालयको शुरुवात गरेमा उच्च शिक्षामा सुधार हुने बताउँदै प्रतिस्पर्धा नगरी कोही नसुध्रिने उनको भनाइ छ ।

इन्द्रजात्रामा तीन दिन गाडी चल्न नपाउने, कुन कुन ठाउँमा ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले यैया (इन्द्रजात्रा)को अवधिभर विभिन्न स्थानमा गाडी चल्न नदिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै महानगरले असोज ११ गते आउँदै गरेको इन्द्रजात्राको अवधिभर आवागमन व्यवस्थापन गर्नको लागि विभिन्न सडकमा सवारी साधान अवरुद्ध गराउने जानकारी गराएको हो । काठमाडौंको वसन्तपुर केन्द्रीत, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक, महत्वको राष्ट्रिय पर्वका क्रियाकलापहरु हिँडेर सञ्चालन गरिने भएकाले महानगरले विभिन्न क्षेत्रमा सवारी साधानको प्रवेश निषेध गर्ने भएको छ । जसको लागि महानगरले जात्राका विशेष दिनमा सवारी साधन प्रवेश गराउन नहुने स्थानहरुको नाम तोकेको छ । जसमा असोज ११ गते बसन्तपुरदेखि मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म क्वने याः (तल्लो टोल) रथ यात्रा रहेको छ । उक्त दिन यी स्थानमा सवारी आवतजावत बन्द हुने छ । त्यस्तै, असोज १२ गते बसन्तपुरदेखि प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानडो हुँदै न्ह्योखाबाट असन तथा इन्द्रचोक हुँदे मखन र हनुमानढोकाबाट बसन्तपुरसम्म थने याः (माथिल्लो टोल) रथ यात्रा रहेको महानगरले जानकारी गराएको छ । त्यसैगरी, असोज १५ गते भने नानिचा याः (महिलाहरुले रथ तान्ने दिन) रहेकाले उक्त दिनमा बसन्तपुरबाट प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुरसम्म रथ यात्रा हुने महानगरले जनाएको छ । त्यसैले तोकिएका उक्त स्थानहरुमा मात्रै तीन दिन सवारी साधानहरु बन्द हुने जानकारी छ ।