विकासन्युज

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सेल्सबेरीमा आकर्षक छुट पाउने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सेल्सबेरीमा आकर्षक छुट पाउने भएका छन् । सांग्रिला डेभलपमेन्ट बैंक र सेलवेज क्यास एण्ड क्यारी (सेल्सबेरी) बिच बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील मान प्रधानाङ्घले हस्ताक्षर गरे । सम्झौता अनुसार सेल्सबेरीले बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिदमा छुट दिने छ । ग्रोसरीमा, लिक्वयर, हाउसहोल्ड, गार्मन्ट लगायका सामानमा २५ प्रतिशतसम्म छुट दिने जनाएको छ ।

सुजुकी दशैं तिहार अफर : मोटरसाईकल किन्दा १० हजार नगद छुट

काठमाडौं । मोटरसाईकल तथा स्कुटरको खरिदमा दशै, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाडौ खुसी चढौं सुजुकी’ स्किम ल्याएको छ । यस चाडमा सुजुकीले ल्याएको ‘बाडौ खुसी चढौं सुजुकी’ स्किम अन्तर्गत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार पाइनेछ । कुनै पनि सुजुकी बा्रण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्रहाकले १० हजार रुपैयाँ थप मुल्याङ्गकन प्राप्त गर्न सक्नेछन् । ० प्रतिशत फाइनान्सको सुबिधाका साथै एक बर्ष रोड ट्याक्स फ्रि हुने समेत कम्पनीले जनाएको छ । यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराउने कुरा समेत कम्पनीले जनाएको छ ।

बैंकहरु मिटरब्याजी भए, राष्ट्र बैंकले निर्मम साहुजी बनायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु खुला मिटरब्याजी भएको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बैंकहरु खुला मिटरब्याजी भए, चर्को ब्याजमा व्यवसाय गरेपनि व्यवसायमा नाफा हुँदैन,’ उनले भने । त्यस्तै, नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्मम साहुजी नबनाई व्यवसायीका सारथी बनाउने उनको भनाई छ । यो विषयमा सरकार र राष्ट्र बैंक दुबैसँग छलफल गर्ने समेत ओलीले बताए । सबै कुरा बुझ्ने ल्याकत सरकारसँग नभएको बताउँदै अध्यक्ष ओलीले भने- ‘सरकारसँग तस्करीको लाइन छ, सुनको तस्करीको सेटिङ मिलाउन विदेशीलाई नागरिकता दिएको रहेछ, सरकारमा कमिसनको खेल मात्रै भइरहेको छ, सरकार कमिसनको जोडघटाउमा छ ।’ युवालाई देशमा बसाउने बतावरण नभएर युवाहरू विदेश गएका उनको भनाइ छ । ‘बेरोजगारी बढिरहेको छ, व्यवसायीले भुक्तानी पाउन सकेका छैनन्, भुक्तानी दिनु पर्छ, रोकिएको ठाउँबाट पैसा लिएर चलायमान बनाउनु पर्छ,’ अध्यक्ष ओलीले भने ।

दशैं तिहारका लागि असोज २१ गतेदेखि सहुलियत पसल, ९८ स्थानमा राखिने, कति पाइन्छ छुट ?

फाइल फोटो काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै असोज २१ गतेदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले सो दिनदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो । उक्त पसल सञ्चालनमा आएसँगै उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका अनुसार सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान लगायतले खाद्यान्न, तेल, दाल, गेडागुडी सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउने छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले देशभरका ९८ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउन लागेको मन्त्रालयले जानकारी गराएको छ । जसमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपत्यकाभित्र काठमाडौंको थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्य विनायक गरी ४ स्थानमा सहुलियत पसल सञ्चालनमा आउनेछन् । र, उपत्यका बाहिर भने मोरङ, झापा, ताप्लेजुङ, सङ्‍खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्‍गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङमा सहुलियत पसल सञ्चालनमा आउनेछन् । यसैगरी रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व, पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डँडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सहुलियत पसल सञ्चालनमा आउने छन् । कम्पनीले थप जिल्ला र स्थानहरुमा पनि सहुलियत पसल आवश्याकताका आधारमा सञ्‍चालन गर्ने बताएको छ । यस्तै निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलहरुको माध्यमबाट तोकिए बमोजिमको छुट दिई बिक्री वितरण गरिने मन्त्रालयले जनाएको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र काठमाडौं उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थलबाट सहुलियत सेवा दिने छ । यता दुग्ध विकास संस्थान डीडीसीले भने लैनचौर, न्यूरोड र खुमलटार, विराटनगर, जनकपुर, हेटौंडा, कोहलपुर, नेपालगञ्ज, अत्तरिया,धनगढी, बुटवल गरी जम्मा ११ स्थानबाट सहुलियत सेवा उपलब्ध गराउने मन्त्रालयले जानकारी गराएको छ ।

कैलाशले ५ वटा हेलिकप्टर उडाउने, पुँजी वृद्धि गर्न सर्वसाधारणमा सेयर निष्काशन गर्ने

काठमाडौं । कैलाश हेलिकप्टरले थप हेलिकप्टर किन्न पुँजी वृद्धि गर्ने भएको छ । हाल ३ वटा हेलिकप्टर उडान गर्दै आएको यस कम्पनीले थप २ वटा हेलिकप्टर किन्ने योजनासहित पुँजी वृद्धि गर्न लागेको छ । हाल ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यो कम्पनीले १० प्रतिशत पुँजी वृद्धि गर्न लागेको छ । १० प्रतिशत सेयर सर्वसाधारणलाई बेचेर पुँजी वृद्धि गर्न लागेको कम्पनीले जनाएको छ । विगतमा प्राइभेट कम्पनीको रुपमा सेवा सञ्चालन गर्दै आएको यो कम्पनीलाई कम्पनी रजिष्ट्रार कार्यालयले असोज ८ गते पब्लिक लिमिटेडमा रुपान्तरित हुन स्वीकृति दिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । पुँजी वृद्धिसँगै कम्पनीले हेलिकप्टर पनि थप्ने तयारी गरेको कम्पनीका प्रबन्ध सञ्चालक प्रताव जंग पाण्डेले बताए । हाल कम्पनीसँग ३ वटा हेलिकप्टर रहेको छ । दुई वर्षभित्र थप २ हेलिकप्टर किन्ने योजनासहित कम्पनी अगाडि बढेको उनले जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ वर्षमा ५ वटा हेलिकप्टर हुनु पर्ने नियम बनाएकोले त्यसको परिपालना गर्दै कम्पनीले पुँजी वृद्धि र हेलिकप्टर थप्ने योजना अगाडि सारेको समेत उनले बताए ।

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक, एनआइसी एसियाको सर्वाधिक कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ४५ अङ्कले बढेर दुई हजार २२ दशमलव ९१ को बिन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका दुई सय ८६ कम्पनीको ८७ लाख चार हजार चार सय ७७ कित्ता शेयर ७८ हजार छ सय १६ पटक खरिदबिक्री हुँदा दुई अर्ब नौ करोड ३८ लाख नौ हजार पाँच सय १८ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव १८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव नौ प्रतिशत र वित्त समूहको उपसूचक एक दशमलव ४४ प्रतिशतले बढेको छ । मेन्छियाम हाइड्रोपावर लिमिटेड र मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । त्यस्तै, शुभम् पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मूल्य घट्नेमा भने हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड छ । कम्पनीको शेयर मूल्य पाँच दशमलव ८७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंक लिमिटेडको आठ करोड ३४ लाख ६६ हजार दुई सय २४ रूपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको चार लाख १४ हजार आठ सय ५० कित्ता शेयर खरिदबिक्री भएको छ ।

कमिसन नबुझाउने निर्माण व्यवसायीको काम हुँदैन : अध्यक्ष सिंह

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कमिसन नबुझाउने निर्माण व्यवसायीको काम नहुने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘कमिसन नबुझाउने निर्माण व्यवसायीको काम हुँदैन, निर्माण उद्योग चलायमान नहुँदासम्म देश बन्दैन,’ उनले भने । त्यस्तै, देश अराजक अवस्थामा रहेको बताउँदै उनले दशैं आउँदै गर्दा पनि भुक्तानी पाउन नसकेको गुनासो पोखेका छन् । ‘दशैं आइरहेको छ, भुक्तानी पाएनौं, आयोजनाको म्याद थप हुन सकेको छैन,’ अध्यक्ष सिंहले भने । उनले सरकारको निर्देशन पालना नगर्ने अधिकारीलाई कारबाही गर्नुपर्ने समेत बताएका छन् । हालको अवस्थामा विश्वमा सफल भएका व्यवसायी र कम्पनीहरु नेपालमा असफल भइरहेका समेत उनले जानकारी गराए ।

साँगा-धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक चार लेनमा विस्तार आयोजनाको साँगा–धुलिखेल सडकखण्डमा कामबापतको रकम भुक्तानी नपाए ठेकेदार कम्पनीले निर्माण रोक्ने चेतावनी दिएको छ । कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको हो । सडक विभागका अनुसार ठेक्का रकम चार अर्ब पाँच करोड ६४ लाख रहेको छ । साँगा–धुलिखेल सडकखण्डमा सडक विस्तारको काम १५ प्रतिशत सकिएको जनाइएको छ । निर्माण कम्पनीले सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनासँग गत जेठमै १५ करोड भुक्तानी माग गरेकामा हालसम्म नपाएपछि धुलिखेलमा सरोकारवालासँगको छलफलका क्रममा निर्माण रोक्ने चेतावनी दिइएको हो । ‘दसैँसम्ममा मागअनुसारको रकम भुक्तानी नभए साँगा–धुलिखेल सडकखण्डको काम रोक्नेछौँ’, कन्स्ट्रक्सनका प्रतिनिधि रवीन्द्र श्रेष्ठले भने । भक्तपुर सडक डिभिजन कार्यालयका सिनियर डिभिजन इन्जिनियर नारायणप्रसाद लामिछानेले निर्माण कम्पनीबाट १५ करोड माग भएको तर भुक्तानी ढिला हुने भएको बताए । उनका अनुसार सूर्यविनायक–धुलिखेलसम्म पुल निर्माणसहित सडक विस्तारका लागि कूल नौ अर्ब लाग्ने र यसमध्ये जम्मा ५४ करोड मात्रै ‘स्रोत सुनिश्चितता’ भएको छ । ‘सुनिश्चित स्रोतमध्ये १५ करोड मात्रै सरकारको हो, निर्माण कम्पनीलाई भुक्तानीको प्रक्रियामा लागिएको छ’, लामिछानेले भने । आयोजनाका लागि हाल सरकारसँग एक अर्ब माग गरिएको लामिछानेले बताए । उनका अनुसार साँगा–धुलिखेल सडकखण्डअन्तर्गतका रूख कटान कार्य सुरु गरिएको तथा विद्युत्का खम्बा हटाउन विद्युत् प्राधिकरणसँग प्रक्रिया थालिएको छ । छलफलमा सडक विस्तारको कामलाई निरन्तरता दिन सकिए समयमै काम सम्पन्न हुने अपेक्षा गरिएको थियो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि २०७९ फागुनदेखि सो सडकखण्ड विस्तार थालिएको हो । दोस्रो चरणमा सम्झौता भएको भक्तपुरको सूर्यविनायक–साँगा सात दशमलव पाँच किमी सडकखण्ड भने तीन अर्ब ८८ करोड ९३ लाखको रहेको छ । यी दुवै सडक खण्डको २०७९ फागुनमा ३६ महिनाभित्र सक्नुपर्ने सम्झौता गरिएको थियो । रासस