विकासन्युज

मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार काठमाडौँको कमलपोखरीबाट बाराको निजगढ नगरपालिका १ का ३४ वर्षीय धन बहादुर वाइवालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौंको बूढानिलकण्ठ नगरपालिका ११ का छविलाल घिमिरेले २०७९ चैत ६ गते पशुपति मन्दिर नजिकैबाट बागमती प्रदेश ०२-०२३ प ६२ ४९ नम्बरको मोटरसाइकल हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन दिएका थिए । वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३० प ३५ ७५ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ‍ईकाइबाट खटिएको टोलीले लामालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएका लामालाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त गौशाला पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरे ।

प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने

बेइजिङ । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय सहकार्य र साझेदारी गर्ने सहमति भएको छ । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी लि छ्याङबीच प्रतिनिधिमण्डलस्तरीय वार्तापछि जारी संयुक्त वक्तव्यमा व्यापार प्रवर्द्धन तथा सहजीकरण, कूटनीतिक सम्बन्ध विस्तार तथा क्षेत्रीय सहयोगका लागि सहकार्य गर्ने विषयमा सहमति भएको हो । वक्तव्यमा दुई देशबीचको सम्बन्ध, आपसी हितका लागि सहकार्य तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमाथि सहकार्य गर्ने विषयमा छलफल भएको र केही महत्त्वपूर्ण सहमति जुटेको उल्लेख छ । प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा नेपालले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को २०औँ राष्ट्रिय कंग्रेसको सफलताका लागि नेपालले बधाई ज्ञापन गरेको छ । चीनले पछिल्ला वर्षहरुमा गरेको आर्थिक तथा सामाजिक विकासको प्रशंसा गर्दै नेपालले थप समृद्धिका लागि कामना गरेको छ । चिनियाँ पक्षले नेपालले गतवर्ष सम्पन्न गरेको तीन तहको निर्वाचन र त्यसपछिको नयाँ सरकार गठनका लागि बधाई ज्ञापन गर्दै चाँडै विकास र समृद्धिको लक्ष्य हासिल गर्नेमा विश्वास व्यक्त गरेको छ । चीनका राष्ट्रपति सी चिनफिङको सन् २०१९ को नेपाल भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति तथा सम्बन्ध विकास र समृद्धिका लागि लामो समयको मित्रतासहितको रणनीतिक साझेदारीबारे दुवै पक्षले स्मरण गरेको छन् । द्विपक्षीय सम्बन्धलाई कायम राख्ने, पारस्पारिक विश्वास अभिवृद्धि, दुई देशबीच सबै तहमा सहयोग आदान–प्रदान तथा विस्तार गर्ने प्रतिबद्धता दुवै देशले दोहोर्‍याएका छन् । सन् १९५५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता विभिन्न अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै आपसी सम्मान, समानता, ऐक्यबद्धता र पारस्पारिक सहयोगको भावनालाई दुवै देशले निरन्तरता दिँदै आएका छन् । नेपाल–चीन सम्बन्ध फरक भौगोलिक आकार र सामाजिक प्रणाली भए पनि आपसी मैत्री उत्कृष्ट उदाहरणका रुपमा रहेको संयुक्त वक्तव्यमा उल्लेख छ । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त (पञ्चशील), संयुक्त राष्ट्र सङ्घको वडापत्र, दुई देशबीच भएका सहमतिलाई कार्यान्वयन गर्न दुवै देश सहमत भएका छन् । दुई देशबीचको रणनीतिक सञ्चारलाई बलियो बनाउने, चीनले अघि बढाएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई)मा सहकार्य गर्ने, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोका साझा विषयमा समन्वय गर्न दुवै देश सहमत भएका छन् । नेपालले ‘एक चीन नीति’प्रतिको आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको छ । त्यस्तै, ताइवान चीनकै भू–भाग भएको नेपालले आफ्नो धारणा स्पष्ट पारेको पनि संयुक्त वक्तव्यमा उल्लेख छ । “नेपाल ताइवान स्वतन्त्रताको विरुद्धमा छ । तिब्बत चीनको आन्तरिक मामला रहेको र नेपाली भूमिमा चीनविरुद्ध कुनै पनि पृथकतावादी गतिविधि हुन नदिने प्रतिबद्धता नेपाल जनाउँदछ”, संयुक्त वक्तव्यमा भनिएको छ । त्यस्तै, चिनियाँ पक्षले मित्रता, इमानदारी, पारस्परिक लाभ र समावेशीताको सिद्धान्त र छिमेकमा मित्रता र साझेदारी कायम गर्ने नीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ । ‘बेल्ट एन्ड रोड इनिसियटिभ फ्रेमवर्क’भित्र रहेर द्विपक्षीय सहकार्यका लागि सन् २०१७ मे १२ मा भएको सम्झौता अघि बढाउन ‘बिआरआई कार्यान्वयन योजना’ चाँडो टुग्याउने सहमति भएको छ । दुई देशको विकास रणनीतिअनुसार अनुभव आदानप्रदान गर्न पूर्वाधार सञ्जाल, व्यापार, पर्यटन, उत्पादन क्षमता र लगानी जस्ता क्षेत्रको सहयोगलाई थप सुदृढ बनाउन पनि दुवै देश सहमत भएका छन् । बन्दरगाह, सडक, रेलमार्ग, हवाईमार्ग र विद्युत् प्रसारणलाइनजस्ता क्षेत्रमा व्यवस्थित ढङ्गले पूर्वाधार सञ्जालमा दुवै देशले जोड दिएका छन् । संयुक्त रुपमा हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न दुवै देश सहमत भएका छन् । वक्तव्यमा संयुक्त लगानीका परियोजनामा कार्यरत कर्मचारीको सुरक्षाको प्रत्याभूति गरिएको छ । सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने नेपालको लक्ष्य प्राप्तिका लागि विकास आवश्यकता पूर्ति गरेर सहजीकरण गर्ने चीनले प्रतिबद्धता जनाएको छ । लिजी–नेचुङ बन्दरगाह सञ्चालन र यात्रु सेवाका लागि झाङ्मु–खासा बन्दरगाह पुनः सञ्चालन गरिएकोमा दुवै पक्षले स्वागत गरेका छन् । लिजी–नेचुङ बन्दरगाहमा नेपाली पक्षको सुविधाका लागि यथाशीघ्र सुधार गर्न सहयोग गर्ने प्रतिबद्धता पनि चिनियाँ पक्षले जनाएको छ । त्यस्तै, पुलान र जिलोङ बन्दरगाहमा यात्रु र कार्गो सेवाको सहज तथा व्यवस्थित सञ्चालनका लागि दुवै पक्षले प्रशंसा गरेका छन् । परम्परागत रुपमा सञ्चालन भइरहेका चीन–नेपाल सीमा व्यापार नाकाहरू पुनः खोल्न पनि चीन सहमत भएको छ । चेन्ताङ–किमाथाङ्का, रिवु–ओलाङचुङ्गोला बन्दरगाहलाई छिट्टै खोल्नका लागि निरन्तर सम्पर्क गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन् । नेपाललाई भूपरिवेष्टित मुलुकबाट भू–जडित मुलुकमा परिणत गर्न चीनको पारवहन यातायात र राजमार्गको उपयोगसम्बन्धी यसअघि हस्ताक्षर गरिएका सहयोगसम्बन्धी दस्तावेजहरू कार्यान्वयनलाई निरन्तरता दिन दुवै पक्ष सहमत भएका छन् । नेपालको आवश्यकतालाई मध्यनजर गर्दै अरनिको राजमार्ग मर्मतसम्भार आयोजनाको चौंथो चरणको काम सुरु गर्न चिनियाँ पक्ष तयार भएको छ । त्यस्तै, स्याफ्रुबेसी–रसुवागढी राजमार्ग मर्मतको काम चाँडो सुरु गर्न चिनियाँ पक्ष सहमत भएको छ । दुई देशबीचको यातायात सञ्जाल बिस्तार गर्न टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन चाँडो टुङ्गाउन, काठमाडौँको दोस्रो चरणको चक्रपथ विस्तार आयोजनालाई तीव्र गतिमा अघि बढाउन पनि दुवै देश सहमत भएका छन् । जिलोङ–केरुङ–काठमाडौँ अन्तरदेशीय रेलवेको सम्भाव्यता अध्ययनको प्रगतिप्रति सन्तुष्टि जनाउँदै चीन–नेपाल रेलवे सहयोगसम्बन्धी आठौं कार्यदलको बैठक यथाशक्य चाँडो गर्नेमा पनि नेपाल–चीनबीच सहमति भएको छ । चिनियाँ पक्ष नेपालमा रेलवेसँग सम्बन्धित तालिम दिन पनि तयार भएको छ । दुवै देशका प्रधानमन्त्रीले दुई देशका नागरिक उड्डयन प्राधिकरणबीच भएको सहमतिको स्वागत गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न र सञ्चालनमा आएकोमा सन्तोष व्यक्त गरेका छन् । दुवै देशले आफ्ना हवाई सेवालाई थप विस्तार गर्ने र बजार आवश्यकताका आधारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट थप उडान गर्नेछन् । यसबाट पर्यटन तथा व्यापार प्रवर्द्धन र आर्थिक क्रियाकलापमा वृद्धि हुने अपेक्षा गरिएको छ । ऊर्जा क्षेत्रमा जलविद्युत् उत्पादन आयोजना, सीमापार प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि थप सहकार्य गर्ने सहमति भएको छ । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा रहेको संयुक्त कार्यान्वयन संयन्त्रको दोस्रो बैठकमार्फत ‘नेपाल–चाइना इलेक्ट्रिक पावर को–अपरेसन प्लान’लाई अन्तिम रुप दिने सहमति भएको छ । जिलोङ–केरुङ–रसुवागढी–चिलिमे २२० केभी क्षमताको अन्तरदेशीय विद्युत् प्रशारणलाइन निर्माणको काम चाँडै सुरु गर्ने सहमति भएको छ । ऊर्जा क्षेत्रको ‘चीन–नेपाल संयुक्त कार्यान्वयन संयन्त्र’मार्फत जलविद्युत, वायु, सौर्य र बायोमास ऊर्जाका साथै हाइड्रोजनको क्षेत्रमा सहयोग आदानप्रदान तथा सहकार्य विस्तारमा काम गर्ने वक्तव्यमा उल्लेख छ । नेपालको उत्तरी भेगका दुर्गम गाउँहरूमा विद्युतीकरण गर्न चीनको सिजाङ स्वायत्त क्षेत्रबाट बिजुली आपूर्तिका लागि नेपाली पक्षले गरेको अनुरोधलाई चीनले सकारात्मक रुपमा लिएको छ । अर्थतन्त्र विस्तार तथा व्यापार प्रवर्द्धन, लगानी, कृषि, पर्यटन, उत्पादन क्षमता, गरिबी निवारण, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा थप सहकार्य गर्ने विषयमा पनि सहमत भएको उल्लेख छ । चीनमा हालै सम्पन्न व्यापार सहजीकरणसम्बन्धी दोस्रो कार्यदल बैठकका उपलब्धीमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् । द्विपक्षीय व्यापार प्रवर्द्धनका लागि उक्त बैठकलाई कोशेढुङ्गाका रुपमा लिइएको छ । दुई देशबीचको व्यापार र लगानी प्रवर्द्धन गर्न पारदर्शी र भेदभावरहित व्यावसायिक वातावरण स्थापनाका लागि दुवै पक्ष सहमत भएका छन् । नेपाल–चीनबीचको ‘ट्रान्जिट प्रोटोकल’ अन्तर्गत चिनियाँ पारवहन सुविधा उपयोग गरी तेस्रो मुलुकबाट सन् २०२३ सेप्टेम्बर ७ मा ट्रान्जिट कार्गोको पहिलो ‘ब्याच’ नेपाल आइपुगेको थियो । चीन–नेपाल मैत्री औद्योगिक पार्क आयोजना विकास सम्झौतामा लगानी बोर्डको कार्यालय र ‘ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोन इन्भेष्टमेण्ट डेभलपमेन्ट कम्पनी’ दुवैले वार्ता प्रक्रियालाई तीव्रता दिने र जतिसक्दो चाँडो पीडीएमा हस्ताक्षर गर्ने र आयोजना निर्माणको काम जतिसक्दा चाँडो सुरु गर्न दुवै पक्ष सहमत भएका छन् । व्यापार र भुक्तानी सम्झौताको समीक्षा तथा परिमार्जन गर्न संयुक्त प्राविधिक कार्य समूहको स्थापनाका लागि दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सन् २०२३ अगस्टमा आयोजना हुने सातौँ ‘चीन–दक्षिण एसिया एक्स्पो’मा नेपालको सहभागिताका लागि चीनले आग्रह गरेको छ । त्यस्तै, सन् २०२३ नोभेम्बरमा सांघाईमा आयोजना हुने छैटौँ ‘चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पोका लागि पनि चीनले नेपाललाई स्वागत गरेको छ । चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच भएको कृषि, पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्रको नवीकरणलाई दुवै पक्षले स्वागत गरेका छन् । यो समझदारीपत्रले दुई देशबीचको कृषि सहयोगको स्तरलाई उचाइमा पुर्‍याउने र नेपाल–चीन कृषि सहयोगसम्बन्धी चौथो संयुक्त आयोगको बैठक यथाशीघ्र आयोजना गर्ने सहमति भएको छ । कृषि क्षेत्रमा थप सहकार्यका लागि कृषि औद्योगिक प्रदर्शनस्थल स्थापनाका लागि सकारात्मक छलफल भएको छ । नेपाली घाँस चीनमा निर्यात गर्ने र चीनमा औषधि उत्पादनका लागि जडिबुटी निर्यात गर्न दुई देशबीच सहमति भएको र त्यसको प्रभावकारी कार्यान्वयनमा दुवै पक्षले विश्वास व्यक्त गरेका छन् । नेपालबाट मासुजन्य पदार्थ निर्यातका लागि चीनले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै, नेपालबाट ‘सिट्रस फ्रुट’ निर्यातका लागि क्वारेन्टिन प्रयोगशाला स्थापना गर्न नेपाली पक्षलाई सहयोग गर्न चिनियाँ पक्ष तयार भएको छ । नेपाली उत्पादन चीन निर्यातमा ९८ प्रतिशत वस्तुमा कर छुट दिएकोमा चिनियाँ पक्षप्रति कृतज्ञता व्यक्त गरिएको छ । चिनियाँ पक्षले नेपाली उत्पादन आयातमा सहजीकरण, याक र च्याङग्राको नश्ल सुधारका लागि सहकार्य गर्ने सहमति भएको छ । गरिबी निवारणसँग सम्बन्धित ‘लाइटिङ अप द फ्युचर’ र ‘भाइब्रेन्ट फ्युचर’ कार्यक्रम सुरुवात भएकोमा दुवै पक्षबाट स्वागत गरिएको छ । कोभिड–१९ महामारीसँग मिलेर लड्नका लागि आपसी सहयोगको प्रशंसा गरेका छन् । चीनको सहयोगमा नेपालमा निजामती सेवा अस्पतालको स्तरोन्नति र मर्मतसम्भार भई हस्तान्तरण भएकोमा नेपालले धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै, चिकित्सा क्षेत्रमा थप सुधारका लागि दुवै पक्ष सहमत भएका छन् । चीनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालन र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई सहयोगको प्रतिबद्धता जनाएको छ । नेपालको आर्थिक तथा सामाजिक विकासमा चीनले गरेको सहयोगप्रति नेपालले प्रशंसा गरेको छ । भूकम्पपछिको पुनर्निर्माणका आयोजनालाई द्रुत गतिमा कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएका छन् । आपत्कालीन व्यवस्थापन र विपद् रोकथाम, न्यूनीकरण र राहतमा सहयोग विस्तार गर्न थप छलफल गर्ने सहमति भएको छ । नेपालमा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका लागि प्राविधिक सहयोग उपलब्ध गराउन र ‘अर्थक्वेक मनिटरिङ नेटवर्क’ सञ्चालन र मर्मतसम्भारका लागि सहयोग गर्ने प्रतिबद्धता चीनले जनाएको छ । भूकम्पसँग सम्बन्धित द्विपक्षीय ज्ञान र सूचना आदान–प्रदानका लागि सहमति भएको छ । नेपालमा विपद् रोकथाम र न्यूनीकरणसम्बन्धी प्राविधिक तालिम उपलब्ध गराउन चीन सहमत भएको छ । नेपाल–चीन सीमाको संयुक्त निरीक्षण गर्न र सीमा व्यवस्थापन प्रणाली कार्यान्वयनका लागि दुई देशबीच भएको सम्झौतालाई यथाशीघ्र कार्यान्वयनमा ल्याउने पनि सहमति भएको छ । दुवै देशका गृह मन्त्रालयबीच तीन तहमा सीमा सम्पर्क प्रणाली स्थापना गर्ने विषयमा छलफल जारी राख्न पनि सहमति भएको छ । आपराधिक क्रियाकलाप नियन्त्रणका लागि पारस्परिक कानुनी सहायतासम्बन्धी चीन–नेपाल सन्धि अनुमोदनलाई तीव्रता दिने विषयमा पनि दुवै देश सहमत भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि, दूरसञ्चार, संस्कृति, पर्यटन, रेडियो र टेलिभिजन, प्रबुद्ध समूह र युवा क्षेत्रमा सहयोग आदानप्रदान एवं सहकार्य गर्न दुवै पक्ष तयार रहनेछ । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान र प्रविधि मन्त्रालयबीच भएको सम्झौतामा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् । साथै दुई देशबीच डिजिटल अर्थतन्त्र, डिजिटल पूर्वाधार एवं आर्टिफिसियल इन्टेलिजेन्सजस्ता क्षेत्रमा सहकार्यका लागि छलफल गर्ने विषयमा पनि सहमति भएको छ । दुवै देशका विद्वत् वर्ग, विद्यार्थी, कलाकार र निजी क्षेत्रका उद्यमीको मैत्रीपूर्ण सहकार्यका लागि पनि सहमत भएको उल्लेख छ । चीनले नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रममा सहयोग गर्ने, चिनियाँ पर्यटक नेपाल पठाउनका लागि प्रोत्साहित गर्ने तथा नेपालमा चिनियाँ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गर्ने विषयमा समझदारी भएको छ । आठौं चाइना साउथ एसिया फ्रेन्डसिप अर्गनाइजेसन फोरममा नेपाली संस्थालाई चिनियाँ पक्षले स्वागत गरेको छ । दुवै देशका जनस्तरको सम्बन्ध प्रगाढ तुल्याउनका लागि दुई देशका विभिन्न सहरबीच भगिनी सम्बन्ध स्थापना गरिनेछ । चीनको प्रेस र प्रकाशन विभाग र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच ग्रन्थ अनुवाद र प्रकाशनमा सहमति भएकोमा सन्तोष व्यक्त गरिएको छ । दुई देशबीचको दीर्घकालिन मित्रताको प्रतीकका रुपमा नेपालले चिनियाँ पक्षलाई एक जोडी एक सिङ्गे गैँडा उपहारस्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । चीन नेपालमा चिनियाँ भाषा पढाउने शिक्षक र स्वयंसवेक पठाउन सहमत भएको छ । दुवै देशबीच आपसी सहकार्यलाई सबल तुल्याउँदै विकासशील देशको साझा हितलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय मञ्चमा एकअर्कालाई सघाउन दुवै पक्षबीच सहमति भएको छ । बहुपक्षीय व्यापार प्रणालीलाई समर्थन गर्दै संरक्षणवादको विरोध गर्ने, आर्थिक विश्वव्यापीकरणलाई थप खुला, समावेशी, सन्तुलित र सबैका लागि लाभदायक तुल्याउन  विश्वव्यापी प्रवर्द्धन  गर्ने, क्षेत्रीय शान्ति कायम गर्ने, सुरक्षाको प्रवन्ध गर्ने, विकास र समृद्धिलाई जोड दिई मानव जातिका लागि साझा भविष्यमा निर्माणमा सहयोग गर्ने दुवै पक्ष सहमत भएका छन् । चीनले प्रस्ताव गरेको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई)मा नेपाली पक्षले समर्थन गर्ने र विकासको अनुभव आदानप्रदान गर्न चिनियाँ पक्ष तयार रहनेछ । विकास र समृद्धिका लागि चीरस्थायी मित्रता र नेपाल–चीनबीच रणनीतिक साझेदारीमा प्रधानमन्त्री दाहालको चीन भ्रमण सकारात्मक भएकोमा दुवै पक्षले सन्तोष व्यक्त गरेका छन् । चिनियाँ नेताको निमन्त्रणा र न्यानो आतिथ्यताका लागि चिनियाँ सरकार र जनताप्रति प्रधानमन्त्री दाहालले आभार व्यक्त गर्दै चिनियाँ नेतृत्वलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् । सो अवसरमा चिनियाँ नेताहरूले नेपाल भ्रमणको निमन्त्रणाका लागि प्रधानमन्त्री दाहाललाई धन्यवाद व्यक्त गरे । उनीहरुले दुवै पक्षले कूटनीतिक माध्यमबाट संवाद जारी राख्ने समेत बताए । रासस

सूचीकृत कम्पनीहरुले असोजभित्रै नवीकरण शुल्क बुझाउनु पर्ने, कसले कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएका कम्पनीहरुले असोज मसान्तभित्र नवीकरण शुल्क बुझाउनु पर्ने भएको छ । मंगलबार एक सूचना जारी गर्दै नेप्सेले सूचीकृत कम्पनीहरुलाई असोज ३० गतेभित्रमा नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो । यससँगै आर्थिक वर्ष २०८०/८१ को वार्षिक नवीकरण शुल्क बुझाउन बाँकी रहेका कम्पनीहरुले सो अवधिभित्र तोकिए बमोजिमको शुल्क बुझाउनु पर्ने छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को व्यवस्था अनुसार धितोपत्र र डिबेन्चर तथा म्युचुअल फण्डहरुको नवीकरण शुल्क छुट्टाछुट्टै तोकिएको छ । कम्पनीहरुको नवीकरण शुल्क चुक्ता पुँजीको आधारमा तोकिएको छ । नेप्सेका अनुसार ५० करोडसम्म चुक्ता पुँजी भएका कम्पनीहरुले वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनु पर्ने हुन्छ । त्यस्तै, सो भन्दा माथि पुँजी हुनेहरुले वार्षिक एक लाख रुपैयाँ नवीकरण बापत नेप्सेलाई बुझाउनु पर्ने व्यवस्था छ । त्यसैगरी, डिबेन्चर तथा म्युचुअल फण्डहरुको पनि चुक्ता पुँजी अनुसार शुल्क तोकिएको छ । ५० करोडसम्म हुनेले २५ हजार र ५० करोडभन्दा माथि चुक्ता पुँजी भएकाले वार्षिक ५० हजार रुपैयाँ नवीकरणको लागि बुझाउनु पर्छ । कम्पनीहरुले उक्त रकम अनलाइन मार्फत बुझाउनु पर्ने हुन्छ । यस्तो छ रकम बुझाउने विवरण तथा प्रकृया यदि असोज मसान्तभित्र नवीकरण शुल्क नबुझाएमा कम्पनीहरुलाई नवीकरण शुल्कको वार्षिक १० प्रतिशतको दरले जरिवाना लाग्ने छ । साथै, धितोपत्र सूचीकरण विनियमावलीअनुसार सूचीकरण स्थगित गर्न सकिने समेत नेप्सेले जानकारी गराएको छ ।

राहत शिक्षकहरुले सडकमै बिरोध जनाए

काठमाडौं । राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । सोमबार मध्यान्ह माईतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म बिरोध प्रदर्शनी गर्दै उनीहरु सडकमै सुतेर बिरोध जनाएका हुन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । आन्दोलित हुने शिक्षकहरुमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक छन् । गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले शत प्रतिशत स्थायीको माग राख्दै आएका छन् ।

नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सम्झौता

काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँगै चीन भ्रमणमा रहेको नेपाल चाइना चेम्बरको प्रतिनिधिमण्डलले उसी–सीसीपीआईटीसँग सहकार्यको सम्झौता गरेको हो । चीनको पुरानो औद्योगिक सहर उसीलाई औद्योगिक हब मानिन्छ । नेपाल चाइना चेम्बरका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ र उसी सीसीपीआईटीका उपाध्यक्ष वाङ सिसोङले मंगलबार आयोजित एक समारोहमा सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । उसी पूर्वी चीनको सांघाई नजिकैको सहर हो । जुन चीनको सबैभन्दा ठूलो ताजा पानीको तालहरू मध्ये एक, ताइहुको किनारमा अवस्थित छ भने यहाँ रहेको लिङ्शान पार्कमा ८० मिटर अग्लो भव्य बुद्ध मूर्ति पनि छ । द्ध जन्मस्थल लुम्बिनीप्रति उसी क्षेत्रका चिनियाँ नागरिकको रुचि रहेको र सो क्षेत्रबाट नेपालमा ठूलो संख्यामा पर्यटक ल्याउन सकिने नेपाल चीन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार उसी सीसीपीआईटीसँग भएको सम्झौताअनुसार नेपाली व्यवसायीले त्यहाँ हुने व्यापारमेलामा सहभागी हुन पाउनेछन् भने नेपालको पर्यटन क्षेत्रको विकासमा त्यहाँका व्यवसायीले लगानी गर्नेछन् । यस्तै, व्यवसायीहरुबीच द्विपक्षीय भ्रमण तथा व्यापार एवं लगानी सम्भाव्यताका लागि सहकार्य गरिने सहमतिपत्रमा उल्लेख छ । कृषि क्षेत्रमा उसीको अनुभव तथा प्रविधि नेपालमा भित्र्याएर कृषिजन्य वस्तुको निकासीमा योगदान पु¥याउन सहकार्य गरिने सहमतिमा जनाइएको छ । निवर्तमान अध्यक्ष श्रेष्ठका अनुसार उसी क्षेत्रको औद्योगिक आर्थिक विकासको अनुभव नेपालका लागि उपयोगी हुने र नेपालमा ठूलो संख्यामा पर्यटक भित्र्याउन सहयोग पुग्ने उद्देश्यले यो सहमति गरिएको हो ।

नेपाल टेलिकमको सञ्चालकमा सुवेदी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको सञ्चालकमा कोशलचन्द्र सुवेदी नियुक्त भएका छन् । असोज ४ गते बसेको सचिवस्तरको निर्णयले सुवेदीलाई टेलिकमको सञ्चालकमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक सुवेदीले असोज ८ गते गोपनीयता र इमान्दारीताको शपथ लिएका छन् । यसअघि उक्त पदमा सुशील कोइराला थिए । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पत्रानुसार सञ्चालक परिवर्तन भएको हो । नेपाल दूरसञ्चार कम्पनीको नियमावलीमा पनि उक्त मन्त्रालयका सह सचिव कम्पनीको सञ्चालक बन्ने प्रावधान रहेकोले कोइरालाको ठाउँमा सुवेदीलाई नियुक्त गरिएको हो ।

एनआइएमबी एस क्यापिटलको जेनेरल म्यानेजरमा सचिन्द्र ढुंगाना

काठमाडौं । एनआइएमबी एस क्यापिटलले सचिन्द्र ढुंगानालाई जेनेरल म्यानेजरमा बढुवा गरेको छ । वित्तीय र लेखा क्षेत्रमा अनुभवी ढुंगानाले अब कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्ने भएका हुन् । द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट अफ नेपालबाट चार्टर्ड एकाउन्टेन्ट पढेका ढुंगानाले आफ्नो करियरमा निरन्तर समर्पण र विशेषज्ञता प्रदर्शन गर्दै आएका छन् । एसिसिएबाट आइएफआरएसमा डिप्लोमा प्राप्त गरेर वित्तीय प्रतिवेदन र विश्लेषणमा उत्कृष्टता प्रदर्शन गरेर आफ्नो योग्यतालाई अझ बलियो बनाएका छन् । लेखापरीक्षण, लेखा, परामर्श र सल्लाहकार सेवामा एक दशकभन्दा बढी अनुभवको साथ ढुंगानाको यो निर्णायक भूमिका सम्मको यात्रा महत्वपूर्ण उपलब्धिहरूद्वारा अंकित छ । उनले एसआर पाण्डे एण्ड कम्पनीमा अडिटर म्यानेजरको रूपमा छ वर्षभन्दा बढी समय बिताएका थिए । १.८ वर्ष एनआइएमबी क्यापिटल मार्केट्स लिमिटेडमा बिजनेस सपोर्ट र म्युचुअल फण्ड विभागको प्रमुखको रूपमा काम गर्दा उनले नेपालमा म्युचुअल फण्डको बृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याएकाे क्यापिटलले बताएकाे छ । ढुंगानाले यस बढुवा अगावै नबिल इन्भेष्टमेण्ट बैंकिङमा २.५ वर्षसम्म चिफ अपरेटिङ अफिसर तथा चिफ अफ फाइनान्स युनिटको पद सम्हालेका थिए । साथै उनले हेड अफ मर्चेन्ट बैंकिङ युनिटको रूपमा पनि काम गर्दा नेपाली पूँजी बजारमा म्युचुअल फण्ड व्यवस्थापन र कर्पोरेट सल्लाहकारको रुपमा सेवा प्रदान गरेका थिए ।

महानगरबाट गरिब होइन गरिबी लखेट्नु पर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महानगरबाट गरिबी लखेट्नु पर्ने बताएका छन् । मंगलबार समाजिक सञ्जालमा एक स्ट्याटस् लेख्दै उनले महनगरबाट गरिब नभई गरिबी लखेट्नु पर्ने बताएका हुन् । ‘हामीले महनगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन,’ उनले लेखेका छन् । उनले परम्परादेखि फटपाथमा रोजिरोटीका लागि व्यापार गरिरहका मानिसहरुको व्यवस्थापन गर्नु पर्ने बताएका छन् । साथै, उनले परम्परागत रुपमा चल्दै आएको कुरालाई एक्कासी परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक पनि रहेको बताएका छन् । ‘हो, फुटपाथ हिँड्नकै लागि हो । पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ बनाइएको हो । यसमा कसैको दुई मत छैन होला, मेरो पनि छैन । कुरा परम्परादेखि फुटपाथमा रोजिरोटीका लागि गुजरा व्यापार गरिरहनु भएका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो । फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो । असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौं । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ ।’ उनले लेखेका छन् । महानगरका मेयर र उपमेयरले चुनावी वाचा बिर्सिएको भन्दै पछिल्लो समय विभिन्न ग्रुप तथा व्यक्तिबाट आलोचना बढ्दै गएका छन्् । फुटपाथ व्यापारीको व्यवस्थापन नगरेको भन्दै अभियन्ता इः विगत एक सातादेखि नै अहिले काठमाडौं महानगरको कार्यालय अघि उभिइरहेका छन् । उनै इः लाई सोमबार उपमेयर सुनिता डंगोलले भेटेकी छिन् । यसबाट समाधान खोज्ने संकेत रहेको बुझिने बताउँदै ओलीले छलफल गरी समाधान निकाल्नु पर्ने बताएका छन् । ‘उपमेयरले भेट्नु भएको भन्ने सुनें, यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ, दुबै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस्, समाधानको उपाय के हुन सक्छ, तपाईंहरुको विचार पनि राख्नुस् है !’ उनले लेखेका छन् ।