काठमाडौं । सूचना प्रविधि कम्पनी, स्कुल तथा कलेजमा लगानी गरेका रुद्र पाण्डे सफ्टवेयर इन्जिनियर हुन् । उनी डिजिटल टेक्नोलोजी कम्पनी डियरहोल्ड, हाम्रो पात्रो, डियरवाक कलेज, डियरवाक स्कुल, डियरवाक अटो सर्भिस, डियरवाक टुर्स एन्ड ट्राभल, डियरवाक फुड र डियरवाक ट्रेनिङ सेन्टरमा आबद्ध रहेका छन् ।
नेपाल भित्र र बाहिर विशेषगरी शिक्षा र सूचना प्रविधिको क्षेत्रमा लगानी गर्दै काम गरेका इन्जिनियर पाण्डेले नेपालको शिक्षा क्षेत्रमा विशेष चासो राखेर टिप्पणी गर्ने गरेका छन् । नेपालका विश्वविद्यालय, कलेजदेखि विद्यालय तहसम्म जोडिएका नीतिगत, संरचनागत र क्रियाकलापको क्षेत्रमा उनले बारम्बार आलोचनात्मक, सुधारात्मक र सुझावपूर्ण टिप्पणी राख्दै आएका छन् ।
खासगरी गतिशील नीति र व्यवस्थापकीय दृष्टिकोण राख्ने पाण्डेले नियमित रुपमा सामाजिक सञ्जालमार्फत् राखेका टिप्प्णीहरु नीतिगत तह र व्यवहारिक छलफलमा उपयुक्त हुने अनुमानका साथ विकासन्युजले यसलाई कम्पाइल समाचारको रुपमा तयार गरेको हो ।
विदेशी कलेजललाई नाङ्ले पसलको संज्ञा
धेरै समय विदेशी मुलुकमा नै समय व्यतित गर्ने पाण्डेले नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन भएका कलेजलाई भने नाङ्ले पसलको रुपमा संज्ञा दिने गरेका छन् । उनले अभिभावकहरुले आफ्ना छोराछोरीलाई विदेशी सम्बन्धन लिएका नेपालका नाङ्ले कलेजमा पढाएर भविष्य बर्बाद नगर्न समेत भनेका छन् ।
विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन हुने कलेजहरुमा शतप्रतिशत विद्यार्थी पास हुनेगरेको विषयप्रपति लक्षित गर्दै उनले ती कलेजमा जाँच नै नभएर विद्यार्थी पास हुने गरेको तर्क गरेका छन् । ‘जाँच भए पो फेल हुनु ? अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई विदेशी सम्बन्धन लिएका नेपालका नाङ्ले कलेजमा पढ्न पठाएर भविष्य बर्बाद नगरुन्’, पाण्डेले टिप्पणी गरेका छन् ।
पाण्डेले ती कलेजमा अध्ययन गरेका ९० प्रतिशत विद्यार्थीले कुनै पनि गतिलो कलेजको परीक्षामा उत्तिर्ण हुन नसक्ने साथै अपवाद बाहेक कमजोर हुने उनको तर्क छ । ‘यी कलेजबाट निस्केका ९० प्रतिशत विद्यार्थीले कुनै पनि गतिलो कलेजको परीक्षामा हुन सक्ने सम्भावना छैन’, पाण्डे टिप्पणी गर्छन्, ‘यी कलेबाट निस्केका विद्यार्थी (केही अपवाद बाहेक) सबै लद्दु नै हुन्छन् बिचराहरु । यसमा विद्यार्थीको दोष छैन । कलेज र आफ्ना छोराछोरीलाई यस्ता ‘बतासे’ कलेजमा पठाउने अभिभावक दोषी हुन् ।’ साथै उनले ‘नेपालका बाबुआमा पश्चिमी देशबाट आएको सबै राम्रो हुन्छ भन्ने ‘कोलोनियल’ सोचबाट मुक्त हुन् र आफ्ना छोराछोरीको भविष्यमाथि खेलबाड नगरुन्’, भनेर उनले टिप्पणी गरेका छन् ।
पाण्डे विदेशी कलेज सञ्चालकहरुले नेपालमा भएको तीन घण्टे परीक्षा प्रणालीको अभ्यासको ठिक नभएको तर्क गर्ने गरेकोमा त्यसको धेरै महत्व भएको धारणा व्यक्त गर्छन् । ‘हरेक सेमेस्टर र शैक्षिक वर्षको अन्त्यमा हुने तीन घण्टे परीक्षाको महत्व के छ भन्ने कुरा पढाइ सकेर काम गर्न थालेपछि थाहा हुन्छ’, उनी भन्छन्, ‘भारत र नेपाल जस्ता देशमा पढेका विद्यार्थीको विशेषता नै सयौं ३ घण्टे परीक्षा पार गर्नु हो । अनेक कमजोरीका बाबजुद ३ घण्टे परीक्षाले हाम्रा विद्यार्थीलाई मेहनत गर्न र स्ट्रेस(तनाव) र समय म्यानेज गर्न सिकाएको हुन्छ ।’
साथै उनले सो प्रकारको परीक्षा प्रणालीले पढेको कुरालाई स्मरण गरेर सिर्जनात्मक तरिकाले तीन घण्टा भित्र आफ्नो खुबी देखाउन सिकाउँछ । ‘तीन घण्टाको समयलाई मिनेट–मिनेटमा टुक्र्याएर म्यानेज गर्न सिकाउँछ’, पाण्डेले आफ्नो विचार व्यक्त गर्छन् ।
नेपालको उच्च शिक्षा कमजोरीका कारण
इन्जिनियर पाण्डेले नेपालको स्नातक तहको शिक्षा तहसनहस भएको औंल्याउने गरेका छन् । उनले सो हुनुको कारणमध्ये एउटा चाहिँ विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर राम्रोसँग नपढाइ डिग्री बाँडेका कलेजहरु रहेको बताएका छन् । उनले ती कलेजमा हुने परीक्षापनि नाटक जस्तै भएको टिप्प्णी गरेका छन् ।
त्यस्तै, उनले विद्यार्थीलाई कडा परिश्रम गर्न सिकाउनु पर्छ, विश्वविद्यालयबाट सम्बन्धन लिएका नेपालका कलेजले स्नातक तहलाई भाँडाकुँडी खेलेजस्तो बनाएको उनको टिप्पणी छ ।
स्नातक तहको अध्ययन ध्वस्त हुनुमा नेपालका नेता तथा विश्वविद्यालयका प्रशासनको दोष रहेको उनले औंल्याएका छन् । ‘स्नातक तह ध्वस्त हुनुमा दोष नेपालका नेता र विश्वविद्यालयका झोले प्रशासनलाई जान्छ । किन विदेशी थर्ड ग्रेड विश्वविद्यालयलाई नेपालमा डिग्री बेच्ने पसल खोल्न दिइन्छ ? यो सबै घुसको खेल हो’, पाण्डेको टिप्पणी छ । त्रिभुवन विश्वविद्यालयले प्रवेश परीक्षाको नाटक गरेर विद्यार्थीलाई दुःख दिने काम मात्रै गरेको उनले बताएका छन् ।
साथै उनले नेपालको उच्च शिक्षामा सुधार गर्न आफूले कांग्रेस–एमाले र सचिवहरुसँग छलफल गरेको तर, आफूलाई उल्टै कमाउने दाउ गर्न खोजेको भनेर शंकाको दृष्टिले हेरेको बताएका छन् । ‘मैले नेपालको उच्च शिक्षामा सुधार गरौं भनेर कांग्रेस–एमाले नेता र कयौं सरकारी सचिवसँग कुरा गरेँ । पहिलो त कोटा प्रथा खारेज गरौं अनि निजी तथा सरकारी कलेजलाई गुणस्तरमा कडाई गरे भर्ना तथा जाँच लिने तालिका स्वतन्त्र रुपमा कार्यान्वयन गर्न दिने व्यवस्था गरौं ‘हजुर’ भने । काम कोही गर्दैनन् नेपालमा’, उनको टिप्पणी छ ।
उनले सबैभन्दा धेरै वैज्ञानिक आविस्कारक अमेरिकामा भएको भन्दै सो हुनुमा त्यहाँका शैक्षिक संस्थाहरुको स्वतन्त्रता भएको तर्क गरेका छन् । नेपालमा पनि शैक्षिक संस्थालाई स्वतन्त्र रुपमा सञ्चालन हुन दिनुपर्ने उनको तर्क छ ।
‘सबैभन्दा बढी वैज्ञानिक र आविस्कारक कहाँ छन् ? अमेरिकामा । किन त ? किनभने त्यहाँका शैक्षिक संस्थाहरुलाई स्वतन्त्र छोडिएको छ । निजी संस्थाहरु सरकारले दिएको प्रावधान पूरा गरेर खोलिन्छन् र खुले पश्चात आफ्नै समय तालिकामा भर्ना र परीक्षा सञ्चालन गर्छन्’, उनी भन्छन्, ‘सरकारी शिक्षण संस्था पनि स्वतन्त्र रुपमा नै चल्छन् । यसरी चलेका संस्थाले विद्यार्थीहरुलाई जीवनमा कम लाग्ने शिक्षा दिन्छन् । तर, नेपालमा निजी शैक्षिक संस्थाहरुलाई समेत स्वतन्त्र रुपमा चल्न दिइन्न ।’
इन्जिनियर पाण्डेले सहि उच्च शिक्षाले जनतालाई उद्यमशी बनाउने तर नेपालको उच्च शिक्षा धरासायी भएकोले नयाँ सिर्जना र विचार देशमा कम देखिएको समेत औंल्याएका छन् । उनले सरकारी विश्वविद्यालयको एकाधिकारको अन्त्य गरेर निजी विश्वविद्यालयको शुरुवात गरेमा उच्च शिक्षामा सुधार हुने बताउँदै प्रतिस्पर्धा नगरी कोही नसुध्रिने उनको भनाइ छ ।