काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महानगरबाट गरिबी लखेट्नु पर्ने बताएका छन् । मंगलबार समाजिक सञ्जालमा एक स्ट्याटस् लेख्दै उनले महनगरबाट गरिब नभई गरिबी लखेट्नु पर्ने बताएका हुन् ।
‘हामीले महनगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन,’ उनले लेखेका छन् ।
उनले परम्परादेखि फटपाथमा रोजिरोटीका लागि व्यापार गरिरहका मानिसहरुको व्यवस्थापन गर्नु पर्ने बताएका छन् । साथै, उनले परम्परागत रुपमा चल्दै आएको कुरालाई एक्कासी परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक पनि रहेको बताएका छन् ।
‘हो, फुटपाथ हिँड्नकै लागि हो । पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ बनाइएको हो । यसमा कसैको दुई मत छैन होला, मेरो पनि छैन । कुरा परम्परादेखि फुटपाथमा रोजिरोटीका लागि गुजरा व्यापार गरिरहनु भएका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो । फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो । असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौं । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ ।’ उनले लेखेका छन् ।
महानगरका मेयर र उपमेयरले चुनावी वाचा बिर्सिएको भन्दै पछिल्लो समय विभिन्न ग्रुप तथा व्यक्तिबाट आलोचना बढ्दै गएका छन्् । फुटपाथ व्यापारीको व्यवस्थापन नगरेको भन्दै अभियन्ता इः विगत एक सातादेखि नै अहिले काठमाडौं महानगरको कार्यालय अघि उभिइरहेका छन् ।
उनै इः लाई सोमबार उपमेयर सुनिता डंगोलले भेटेकी छिन् । यसबाट समाधान खोज्ने संकेत रहेको बुझिने बताउँदै ओलीले छलफल गरी समाधान निकाल्नु पर्ने बताएका छन् ।
‘उपमेयरले भेट्नु भएको भन्ने सुनें, यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ, दुबै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस्, समाधानको उपाय के हुन सक्छ, तपाईंहरुको विचार पनि राख्नुस् है !’ उनले लेखेका छन् ।