पढ्नलाई उमेरले छेक्दैन
जानकी । वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै गरेकी दुजीकुमारी ओली । उमेरले उनी ५० वर्ष नाघिसकेकी छिन् । हेर्दा लाग्छ, उनी ती नानीबाबुलाई सिकाउने शिक्षिका हुन् । तर, उनी शिक्षिका नभई नातिनातिना उमेरका तिनै साना नानीहरूसँगै बसेर वर्णमाला र अङ्कगणित सिक्ने कक्षा १ को विद्यार्थी हुन् । दुजी ओली यतिबेला बाँकेको कोहलपुरस्थित ज्ञानज्योति माध्यामिक विद्यालयमा कक्षा १ मा पढिरहेकी छिन् । उमेरले ५१ वर्ष पुगीसकेकी दुजीकुमारीलाई उनका नातिले पढ्नका लागि हौसाएको बताउँछिन् । ‘नातिलाई विद्यालयको गृहकार्य गर्न लगाउँदा तपाईँलाई एक, दुई, तीन त आउँदैन, मलाई के पढ भन्नुहुन्छ भनेर जवाफ फर्काएपछि सिक्नकै लागि स्कुल भर्ना भएँ’, दुजी भन्छिन् । बाँकेको कोहलपुर नगरपालिका–११ सैनिकटोलकी दुजीलाई छ वर्षको नातिले लगाएको बचनले स्कुलको कक्षा कोठासम्म पुर्याएको उनको भनाइ छ । ‘मलाई पढ्न मन त पहिलादेखि नै थियो तर त्यो दिन नातिले त्यसो नभनेको भए म अझै पनि घरधन्दामै अल्झिरहन्थे होला’, उनी भन्छिन् । आफ्नो सहपाठी आफ्नै उमेर समूहको नभई नातिनातिनी उमेरको हुँदा नजानेको कुरा सोधेर सिक्नलाई सजिलो भएको दुजी बताउछिन् । ‘मलाई धेरै कुरा आउँदैन । नजानेको कुरा सिक्नलाई साना उमेर भएका यिनै साथीहरूले राम्ररी सिकाउँछन्’, उनले भनिन्, ‘ठूलालाई नजानेको कुरा सोध्न लाज लाग्छ तर सानाबाट नजानेको कुरा सिक्न लाज नलाग्ने रहेछ’, उनले भनिन्, ‘मेरा साथीहरू साना उमेरका भएको हुनाले नै मैले छोटो समयमा धेरै कुरा सिकेको छु ।’ पच्चीस वर्षदेखि एकल महिला भएर छोराछोरीको जिम्मेवारी पूरा गर्दै आएकी दुजीकुमारीले अहिले पनि घरको काम सकेर स्कुल आउने जाने गर्छिन् । कक्षा १२ सम्मको पढाइ पूरा गरेर कम्प्युटर सिक्ने इच्छा भएको उनले बताइन् । सुरुमा पढ्नलाई छोराले आनाकानी गरे पनि अहिले भने साथ दिएको र बेला–बेला सिकाउने गरेको पनि उनले बताइन् । उनले अहिले बाह्रखरी अक्षर चिन्नुका साथै अङ्कहरू मज्जाले लेख्न र पढ्न सक्छिन् । इकार र आकारका मात्राहरू सिक्न र आधा अक्षरहरू चिन्न बाँकी रहेको उनले बताइन् । स्कुल पढ्न गएदेखि आफूले जानेको कुरा अरुलाई सुनाउन पाउँदा पनि खुसी लागेको उनको भनाइ छ । शिक्षिका गीता श्रेष्ठले पनि पढाएको कुरालाई छिट्टै बुझ्ने र सिक्ने क्षमता भएको हुनाले दुजीले कक्षा १ राम्रै अङ्क लिएर पास गर्ने बताइन् । कक्षामा उनी शिक्षकले पढाएको मज्जाले बुझ्छिन् । दिएको गृहकार्य पनि सबै गरेर आउछिन् । अक्षर पनि निकै सफा छ उनको । दश वर्षमा एसइई परीक्षा उत्तीर्ण गर्ने उनको जीवनको एउटै धोको छ । दुजीकुमारीजस्तै सोही ठाउँकी प्रेमकुमारी गिरी पनि ६१ वर्षको उमेरमा कक्षा ६ मा पढ्न स्कुल जाने गर्छिन् । प्रेमकुमारीलाई बिहान स्कुल जानको लागि घरको काम सक्न भ्याइनभ्याई हुन्छ । कोहलपुर नगरपालिका–५ एनसीसिएनकी प्रेमकुमारी पनि सोही स्कुलमा पढ्छिन् । प्रेमकुमारीको १३ वर्षको उमेरमा विवाह भएको थियो । विवाहपश्चात पारिवारिक बन्धनमा बाँधिएकी उनले १६ वर्षकै उमेरमा पहिलो सन्तानका रूपमा छोरीलाई जन्माइन् । सन्तानको मोहले पढ्न नपाएको पीडालाई मनमै भुलाइदियो । समय बित्दै गयो । प्रेमकुमारी पनि छ सन्तानको आमा बनिन् । एउटा छोरा र पाँचवटी छोरीलाई हुर्काउँदैमा उनको पढ्ने रुचिमात्रै मरेन, उमेर पनि ढल्कँदै गयो । सानैमा अधुरो भएको पढाइलाई उनले घरपरिवार र सन्तानप्रतिको जिम्मेवारीकै कारण पूरा गर्न सकिनन् । ‘विवाह भएपछि पनि मैले पढ्छु भनेर धेरैपटक कोसिस गरेँ, तर घरमा त्यो वातावरण नै भएन । श्रीमानको माया, परिवारको साथ, सन्तानको सुख सबै पाएँ तर पढ्न नपाएको विषयमा दुखेको मनलाई शान्त गर्न सकिनँ’, उनले भनिन्, ‘भगवान्ले भन्नुहुन्छ तँ आँट म पुर्याउँछु । आज मलाई त्यस्तै भएको छ । मैले आँटे भगवान्ले मलाई यो स्कुलसम्मको बाटो देखाइदिनुभयो ।’ पढ्नलाई उमेरले छेक्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुन् प्रेमकुमारी । आकाशे रङको कुर्तामा गाढा निलो रङ्को डुपट्टा र सुरुवाल लगाएर हातभरि कपी किताब बोक्दै उनी नियमित स्कुल जाने गर्छिन् । सानैमा कक्षा ३ सम्म पढेर बीचैमा पढाइ छाडेकी प्रेमकुमारीलाई कक्षा ६ मा भर्ना हुँदा सामान्यरुपमा लिखित र मौखिक परीक्षा लिइएको उनले बताइन् । ‘मैले पहिला नै ३ कक्षा पास गरेको थिएँ । मेरो पढ्ने इच्छा देखेर मलाई स्कुलका प्रधानाध्यापकले कक्षा ५ मा भर्ना गरिदिनुभयो’, उनले भनिन्, ‘कक्षा ५ मा भर्ना हुँदा भर्खरै स्कुल पढ्ने उमेरको भएकी छु भन्ने लागेको थियो ।’ आफ्नी श्रीमतीलाई यो उमेरमा पनि पढ्न मन लागिरहेको छ भन्ने थाहा पाएका श्रीमान् जनकबहादुर रावतले पढ्नका लागि अनुमति दिएकै कारण आज उनी नियमित स्कुल जान पाइरहेका छन् । ‘स्कुल गएर पढ्छुभन्दा सुरुमा त जिस्किएको होला भन्न ठान्नुभएको रहेछ उहाँले, तर मैले साँच्चै नै म स्कुल गएर पढ्न चाहन्छु भन्दा उहाँले पढ्ने इच्छा नै भएको हो भने बीचैमा पढाइ छाड्न पाउँदिनौं नि भनेर पढ्नलाई अनुमति दिनुभयो’, खुसीको आँशु छछल्क्याउँदै प्रेमकुमारीले श्रीमान्ले पढ्नलाई अनुमति दिएको कुरा सुनाइन् । प्रेमकुमारीको भनाइअनुसार श्रीमान् जनकबहादुरको दिनचर्या हिजोआज श्रीमतीलाई स्कुल जान ढिला हुुन्छ कि भनेर घडी हेर्ने र बेलुका घर फर्कने समय कुर्दैमा बित्ने गर्दछ । ‘बुढेसकालमै भए पनि श्रीमान्ले स्कुल जाने समय सम्झाउनुहुन्छ । अनि म स्कुलबाट घर कतिबेला आउँछु भनेर कुरी बस्नुहुन्छ’, उनले भनिन्, ‘बुढेसकालमै भए पनि श्रीमान्ले मेरो पढाइका लागि दिनुभएको ऊर्जा र सहयोगप्रति म निकै नै खुसी छु, प्रेमकुमारीलाई आँखाले साथ दिँदासम्म पढ्ने रहर छ ।’ प्रेमकुमारीजस्तै सोही कक्षामा पढ्छिन् हरिकला नेपाली पनि । उनले उमेरले ३६ वर्षको भएकी छिन् । एक छोरीकी आमा हरिकलालाई पढ्ने रहर हुँदाहुँदै पनि उमेरले तीन दशक नाघिसकेको हुनाले स्कुलमा गएर पढ्न अप्ठ्यारो बनाइरहेको बताइन् । उनका अनुसार प्रेमकुमारी गिरीलाई स्कुलको लुगा लगाएर किताब बोक्दै हिँडेको कुराले पढ्नका लागि उनलाई हौसला दिएको बताइन् । ‘पढ्ने एकदमै रहर थियो तर ३६ वर्षकी भइसकेकी थिएँ । स्कुल गएर पढ्न लाज लगिरहेको बेला मैले प्रेमकुमारी दिदीलाई किताब बोकेर स्कुल जानेआउने गरेको देखेँ । उहाँलाई देखेर नै मलाई पनि स्कुलमा आएर पढ्ने हिम्मत मिलेको हो’, हरिकलाले भनिन्, ‘छुटेको पढाइलाई फेरि पूरा गर्न पाएकामा निकै खुसी लागेको छ । कुनै पनि हालतमा एएसइई पास गर्नु छ ।’ हरिकलालाई वैदेशिक रोजगारमा रहेका श्रीमान् नथु गुरुङले पनि पढ्नलाई साथ दिएको उनले बताइन् । पढ्ने रहर मनमा हुँदाहुँदै पनि आफ्नो उमेर समूहको महिला पढ्ने स्कुलको खोजीमा रहेकी हरिकालालाई घर नजिकै स्कुलमा आफूभन्दा पनि बढी उमेर भएका साथीसँगै पढ्न पाएकामा उनलाई अहिले लाज हराएको बताइन् । हरिकलाले आफ्नो प्रेरणाको स्रोतको रूपमा प्रेमकुमारी गिरी र खगीसरा खाणलाई मान्छिन् । आफूभन्दा उमेरमा दोब्बर भए पनि एउटै उमेर समूहजस्तै लाग्छ हरिकलालाई सहपाठीद्वय प्रेमकुमारी गिरी र खगिसरा खाण । ज्ञानज्योति माविको कक्षा ६ मा ७७ विद्यार्थी छन् । ती ७७ विद्यार्थीमध्येका आमा विद्यार्थी हुन् प्रेमकुमारी, हरिकला र खगिसरा । विद्यालयका प्रधानाध्यापक गोविन्द ढकालले बिरामी हुँदाबाहेक नियमितरूपमा उनीहरू स्कुल आउने गरेको बताउछन् । उनी भन्छन्, ‘पढ्ने इच्छा भएकालाई हामीले उमेरकै कारण देखाएर रोक्न मिल्दैन । लामो समयसम्मको पढाइ छुटेकाले सिकाइस्तर भने सामान्य रहे पनि पास गर्न सक्नुहुन्छ भन्ने लागेर नै उहाँहरूलाई भर्ना गरेका हौँ ।’ सो विद्यालयमा पाँच सय ६८ विद्यार्थी अध्ययनरत छन् । रासस
नेपाल वेयरहाउजिङ्गले साढे १३ करोडको आईपीओ जारी गर्ने, १ अर्ब ६२ करोडको परियोजना बनाउँदै
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले १३ करोड ६५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँ दरमा कूल १३ लाख ६५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसको लागि कम्पनीले असोज १० गते नै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति समेत पाइसकेको छ । कम्पनीले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटललाई नियुक्त गरेको छ । यससँगै कम्पनीले पहिलो चरणमा आईपीओको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्टयाई बाँकी रहेको सर्वसाधारणहरुको लागि निष्काशन गर्नेछ । २०७५ सालमा स्थापना भएको यस कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४० हजार मेट्रिक टन क्षेमताको साइलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरि सञ्चालनमा ल्याएको छ । त्यस्तै, कपिलवस्तु जिल्लामा १५ हजार मेट्रिक टन क्षेमताको साइलो जडान भईरहेको छ र सो समेत पौष महिनासम्ममा सञ्चालनमा आउने छ । यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ । कृषकको आवश्यकता बमोजिमको सुरक्षित तथा बैज्ञानिक तबरको भण्डारण गृह हालसम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा बजारमा बिक्री गर्नुपर्ने वाध्यता कृषकसंग रहिरहेको छ । अर्कोतर्फ त्यहि खाद्यान्न केहि महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ । यो समस्याको समाधानका कम्पनीले देशका तीन वटा स्थानहरु सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनबेच हुने वातावरण र पध्दत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य कम्पनीको छ । साथै, कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरेको छ । कम्पनीले सञ्चालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत १ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ रहेकोमा सो लगानीमध्ये ९४ करोड रुपैयाँ ऋण र बाँकी स्वपूँजीबाट परिचालन गरिनेछ । ऋणको व्यवस्थापन एभरेष्ट बैंकको अगुवाइमा नेपाल एसबिआइ बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौँ, कृषी विकास बैंकको सहबित्तियकरणमा गरिएको छ । यस कम्पनीमा निम्बस समूह, शिखर ईन्स्योरेन्स, प्रोबियोटक ईन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमवि बैंक, टिम भेन्रचर्स, टिएनआई, निफ्रा, मुक्तिनाथ कृषी, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्वेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्ट समेत लगायतका लगानीकर्ताहरुबाट लगानी जुटाईको छ । हाल ५५ करोड रुपैयाँ चुक्ता पुँजी हेकोमा साधारण निष्काशनबाट १३ करोड ७५ लाख रुपैयाँ जुटाईने कम्पनीले जानकारी गराएको छ ।
जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव सुरु, ५० प्रतिशत छुट
काठमाडौं । जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० सुरु भएको छ । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा ‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारा सहित जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० जावलाखेल फुटबल मैदानमा उद्घाटन गरिएको छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवको बुधबार ललितपुर महानगरपालिकाको उपप्रमुख मन्दिरा शाक्यले उद्घाटन गरे । नेपाललाई आत्मनिर्भर बनाउनका लागि तथा स्वदेशी उद्योगको प्रवर्दन गर्नका लागि महानगरको साथ र सहयोग सदैव रहने बताए । साथै नेपाली उत्पादनहरु प्रयोग गर्नका लागि पनि सबैलाई आग्रह गरे । जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव आश्विन १० गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुदैछ । विहान ९ बजे देखि वेलुकी ७ बजे सम्म खुल्ला रहने महोत्सवमा न्युनतम २० प्रतिशत देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । महोत्सवमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल्स, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र ब्रान्डहरुको सहभागिता रहेको छ । यस महोत्सवमा ग्राहकले नयाँ ब्रान्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पलहरु आकर्षक छुटका साथ शुपथ मुल्यमा खरिद गर्न सक्नेछन् ।
रिपब्लिक मिडियाले लाभांश नदिने, डाक्यो वार्षिक साधारण सभा
काठमाडौं । नेपाल रिपब्लिक मिडियाले सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । असोज ११ गते बसेको मिडियाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीको उक्त बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई नगद, बोनस र हकप्रद केही पनि वितरण नगर्ने प्रस्ताव गरेको हो । कम्पनीले आगामी कार्त्तिक ३ गते शुक्रबार तेश्रो वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा सो दिन बिहान साढे १० बजे जडिबुटीस्थित रहेको जडिबुटी इन्द्रेणी ब्याङ्क्वेटमा हुँदै छ । त्यस्तै, उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी असोज २१ गते बुक क्लोज गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ छ ।
केरा खेतीबाट वार्षिक १६ लाख नाफा गर्दै कञ्चनपुरका किसान
कञ्चनपुर । वैदेशिक रोजागरीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका मोहन राना केरा खेती गरी गतिलो आम्दानी लिन थालेका छन् । तीन वर्ष मलेसियामा वैदेशिक रोजगारीमा गएका राना घर फर्केर आधुनिक तरिकाले व्यावसायिकरुपमा केरा खेती गर्न थालेका हुन् । पाँच वर्षदेखि उनले केरा खेती गर्दै आएका छन् । उनले वार्षिकरुपमा २५ लाखदेखि ३० लाखसम्मको केरा बिक्री गर्दै आएका छन् । केरा बिक्रीबाट आएको रकममध्ये १० देखि १६ लाखसम्म आम्दानी हुने गरेको छ । केरा खेती गोडमेल गर्ने मजदुर, रासायनिक मल, सिँचाइमा गरी बाँकी रकम खर्च हुने गरेको छ । केरा खेतीका लागि छ जनालाई वर्षभरिनै रोजगारी दिएको राना बताउछन् । छ बिघा जग्गामा रानाले जि नौ उन्नत जातको केरा खेती गरेका छन् । छ बिघा जग्गामध्ये डेढ बिघा जग्गा मात्रै रानाको आफ्नो स्वामित्वको हो । बाँकी साढे चार बिघा जग्गा रानाले प्रतिबिघा वार्षिकरुपमा ८० हजार तिर्ने गरी भाडामा लिएका छन् । व्यापारीले बारीमा आएर केरा खदिर गरी लैजाने गरेका छन् । वर्षमा उनले दश ट्रक बढी केरा बिक्री गर्दै आएका छन् । केरा थोकमा प्रतिदर्जन ४५ मा बिक्री हुने गरेको छ । चाड पर्वमा माग बढ्दा केरा प्रतिदर्जन ५० देखि ६० सम्म पुग्ने गर्दछ । ‘घरमा बेरोजगार हुँदा पाँच वर्षअघि गतिलो कमाइ गर्ने लक्ष्य राखेर मलेसिया पुगे’, किसान रानाले भने, ‘वैदेशिक रोजगारीमा जाँदा दुई लाख कर्जा लाग्यो, धेरै कमाउने लक्ष्य राखे पनि निश्चित तलव पाइन्थ्यो, त्यो तलबले घरधन्दा धान्नै मुस्किल हुन थाल्यो, लागेको कर्जामध्ये तीन वर्षमा ६० हजार मात्रै तिर्न सकियो, एक लाख ४० हजार तिर्न पाउने तलवबाट भ्याएन ।’ खाना खर्च, लत्ताकपडामै सबै रकम सिद्धिने गरिएको उनले बताए । बाँकी रहेको आठ हजार घर उहाँ पठाउँथे । त्यो रकम घर खर्चमै सकिन्थ्यो । सोचेको पूरा नभएपछि जेनतेन तीन वर्ष पूरा गरी राना घर फर्किए । कर्जा लिएर वैदेशिक रोजागरीमा गएको रकम माग्न साहुले निकै दबाब दिन थाले । कर्जाको रकम तिर्ने कुनै उपाय नभएपछि स्वामित्वको जग्गामा रानाले केरा खेती गर्न थाले । ‘चार कट्ठा जग्गामा पहिलो वर्ष केरा लगाए’, उनले भने ‘दाजुले घरमै केही केराका बोट रोप्नुभएको थियो, त्यही बोट बारीमा व्यवस्थित तरिकाले लगाएर एक लाख ८० हजार जति आम्दानी भयो ।’ पहिलो वर्षको केरा खेतीको कमाइले कर्जा तिर्न भ्याइएपछि स्वामित्वको डेढ बिघा जग्गामा केरा खेतीलाई विस्तार गरेपछि उनले दोस्रो वर्ष १५ लाख बढीको केरा बिक्री गर्न भ्याए । ‘केरा खेतीबाट गतिलो आम्दानी हात लाग्न थालेपछि अरुको जग्गा लिजमा लिन थाले’, रानाले भने, ‘त्यसपछि आम्दानी बढ्दै गयो, आम्दानी हुन थालेपछि घरका सबै जनाले केरा खेतीमा सघाउ पु¥याउन थालेका छन् ।’ केरा खेतीमा लागेका किसान रानालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत छ लाख अनुदान रकमसमेत उपलब्ध गराइएको छ । मुर्रा भैँसीको फार्म खोल्ने र केरा खेतीलाई अझै विस्तार गर्ने भावी योजना रानाले बनाएका छन । राना भन्छन्, ‘वैदेशिक रोजगारीभन्दा घरमै बसी उद्यम गरे तेब्बर बढी आम्दानी गर्न सकिन्छ, लगनशीलता, परिश्रम र निरन्तरता बनाउन सक्नुपर्छ, थोरै पुँजीबाट विस्तारै धेरै ठूलो व्यवसाय सञ्चालन गर्न सकिन्छ, त्यसका लागि धैर्यता आवश्यक छ ।’ वडाध्यक्ष नवलसिंह राना मोहनले गरेको प्रगतिबाट पाठ सिक्दै अन्य युवाले वैदेशिक रोगारीमा जानुभन्दा स्वदेशमै बसेर व्यावसायिक कार्यमा संलग्न हुनुपर्ने बताउँछन् । नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐर मोहन नगरपालिका क्षेत्रकै व्यावसायिकरुपमा केरा खेती गरी बढी आम्दानी लिने किसानका रुपमा रहेको बताउँछन् । रासस
आइएमई पेबाट एसआइपी भुक्त्तानी सजिलै गर्न सकिने
काठमाडौं । आइएमई पे बाट एसआइपी भुक्त्तानी सजिलै गर्न सकिने भएको छ । आइएमई पे मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टमेटिक इनभेस्टमेन्ट प्लान्न एसआइपीको रकम भुक्तानी गर्नसक्ने भएका छन् । एसआइपी भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एन आई सी एशिया क्यापिटल तथा कुमारी क्यापिटल सँग सम्झौता गरेको छ । सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरूले एनआईसी एशिया क्यापिटलको एनआईसी एशिया डाइनेमिक डेब्ट फन्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआइपी इन्सटलमेन्ट तथा युनिट परचेजको भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । पछिल्लो केही समय यता पुँजी बजारमा एस आई पी लोकप्रिय बन्दै आईरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई पेले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पेका सीइओ प्रवीन रेग्मीले बताएका छन् ।
पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्न छन्दु जाँदै प्रधानमन्त्री प्रचण्ड
चीन । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीनको छन्दु जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ङारी हुँदै ल्हासा र ल्हासाबाट शुक्रबार छन्दु जान लागेका हुन् । उनी आज बिहान स्थानीय समयअनुसार ९ः४५ बजे ङारीको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनी स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छन्दु पुग्ने छन् । छन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनीसँग साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय किमिटीका सचिव वाङ सियाओले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्ने कार्यक्रम छ । बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुगेका प्रधानमन्त्री दाहाल हिजो कैलाश मानसरोवरको अवलोकन भ्रमणका लागि गएका थिए । प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्धिपक्षीय भेटवार्ता गरेका थिए । प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरु शनिबार छन्दुबाटै काठमाडौं फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् । रासस
काभ्रेपलाञ्चोकमा दुई हजार छ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । साठी वर्षदेखि ७० बर्षसम्मका स्थानीय परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरेको जनाइएको छ । स्थानीय ३ हजार ७९ परिवारमध्ये दुई हजार छ सय ४८ घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा पाएका हुन् । यसमध्ये सरकारले आठ सय ६८ परिवार तथा गाउँपालिकाले एक हजार सात सय ८० परिवारको बीमाशुल्क ब्यहोरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । स्वास्थ्य शाखाका अनुसार ५४ पूर्ण अपाङ्गता भएका नागरिकको पनि निःशुल्क बिमा गरिएको छ भने तीन परिवारको महिला स्वयंसेविकाको ५० प्रतिशत सरकारले बेहोर्ने गरी बिमा गरिएको छ । चार सय एक परिवारको भने बिमा शुल्क आफैँले तिरेर बीमा भएको छ । रोशीको जनसङ्ख्यामध्ये ३७ दशमलव ३१ प्रतिशत नागरिकको स्वास्थ्य बीमा भएको छ । हालसम्म रोशीको जनसङ्ख्या २३ हजार सात सय ९० रहेकोमा आठ हजार आठ सय ७८ जनाको स्वास्थ्य बीमा भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख गैगा श्रेष्ठले बताए । गत आर्थिक वर्षमा जेष्ठ नागरिकको स्वास्थ्यका लागि एक करोड अनुमानित बजेटमध्ये रु ६२ लाख ५४ हजार एक सय खर्च भएको लामाले बताए । ‘रोशीका नागरिकले पैसाको अभावमा स्वास्थ्योपचारबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले बिमा कार्यक्रममा सामेल गरिएको हो ।’ यसैबीच रोशी गाउँपालिकाले १७ औँ विश्व रेबिज दिवस–२०८० को अवसर पारेर बुधबारदेखि सप्ताहव्यापी रेबिजविरुद्धको निःशुल्क खोप अभियान सुरु गरेको छ । गाउँपालिकमा रेबिजको जोखिम बढेकाले सुरु गरिएको सप्ताहव्यापी खोप अभियानअन्तर्गत कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाइनेछ । अभियानमा छ सय कुकुर र छ सय ‘डोज’ खोप बिरालोलाई लगाउने लक्ष्य लिइएको छ । रासस