विकासन्युज

‘तीन तलाक’लाई सम्बन्ध विच्छेद मान्न नसकिने सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले मुसलमान समुदायमा प्रचलित तीन तलाकलाई सम्बन्धविच्छेद मान्यता दिन नमिल्ने फैसला गरेको छ । नेपालको प्रचलित कानुनबमोजिमको सम्बन्ध विच्छेदबाहेक अन्य प्रथाजनित व्यवस्थाका आधारमा गरिने सम्बन्ध विच्छेदले महिलामाथि अन्याय हुने अदालतको आशयसहितको फैसलाको पूर्णपाठ आएको छ । इस्लाम समुदायका एक पुरुषले आफूले श्रीमतीलाई तलाक दिइसकेको (सम्बन्धविच्छेद गरिसकेको) भन्दै गरेको अर्को विवाहलाई सर्वोच्च अदालतले कानुनविपरीत ठहर्याएको हो । सर्वोच्चले यस मुद्दामा पुरुषलाई बहुविवाहमा दोषी ठहर गरेको छ । न्यायाधीश टंकबहादुर मोक्तान र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले २६ चैत २०७९ मा गरेको फैसलाको पूर्णपाठमा भारतसहित अन्य छरछिमेक वा समाजमा इस्लाम परम्परा र संस्कृतिनुसार गरेको तलाकलाई कानुनले मान्यता नगरेको अवस्थामा नेपालमा पनि तलाक दिएको आधारमा दोस्रो विवाह गर्न छुट नहुने उल्लेख छ । सर्वोच्चको फैसलामा भनिएको छ, ‘इस्लाम सम्प्रदायमा प्रचलनमा रहेको सम्बन्ध विच्छेदको सम्बन्धमा प्रचलित नेपाल कानुनले मान्यता प्रदान नगरी सबै समुदाय र सम्प्रदायलाई लागू हुने एकीकृत कानुन प्रचलनमा रहेकाले तथा स्वेच्छाचारी प्रकृतिका सम्बन्ध विच्छेदजस्तै तीन तलाकलाई अन्य मुलुकहरूमा कसुरजन्य कार्य बनाइँदै गरेको अवस्थामा छरछिमेक वा समाजमा इस्लाम परम्परा र संस्कृतिनुसार गरेको तलाक वा सम्बन्ध विच्छेदलाई कानुनले मान्यता नगरेको अवस्थामा दोस्रो विवाह गर्न छुट भएको भन्न मिल्ने देखिँदैन ।’ काठमाडौं महानगरपालिका–१६ मा बस्ने मनौवर हसनविरुद्ध उनकी पत्नी सविया तनविर हसनले दिएको जाहेरीको दुई तहका अदालतबाट फैसला भई आउनेक्रममा भएका त्रुटिहरू सच्याउँदै सर्वोच्च अदालतले कस्तो अवस्थामा सम्बन्धविच्छेद मान्ने र कस्तोलाई बहुविवाह मानिने भन्ने प्रस्ट व्याख्या गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

विदेशी लगानीका कम्पनीहरुको आरओई साढे १४ प्रतिशत, कति छ नेपालमा सम्पत्ति ?

काठमाडौं । विदेशी लगानी रहेका कम्पनीहरुको औसत रिटर्न अन इक्विटी (आरओई) साढे १४ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी सम्बन्धि सार्वजनिक गरेको तथ्यांकले विदेशी लगानी रहेका कम्पनीहरुको औसत आरओई १४.३ प्रतिशत देखिएको हो । राष्ट्र बैंकका अनुसार यसअघि १४.७ प्रतिशत रहेको आरओई अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १४.३ प्रतिशत देखिएको हो । सर्वेक्षणमा आएका विदेशी लगानीका कम्पनीहरुको कारोबार साढे ४ खर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, ती कम्पनीहरुको नेपालमा कुल १३ खर्ब ३० अर्ब ६५ करोड रुपैयाँ सम्पत्ति र कुल १६ खर्ब १ अर्ब ९९ करोड रुपैयाँ दायित्व रहेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा भने विदेशी कम्पनीमा नेपालमा कुल सम्पत्ति १४ खर्ब ८१ ऋर्ब १२ करोड र दायित्व १४ खर्ब १ अर्ब रुपैयाँ रहेको तथ्यांकले देखाउँछ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा विदेशी कम्पनीहरुले नेपालबाट लग्ने लाभांश पनि घटेको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा १५ अर्ब ६७ करोड ५० लाख रुपैयाँ लाभांश लिएका छन् । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा २६ अर्ब ७ करोड ६० लाख रुपैयाँ लाभांश लिएको देखिएको हो । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा विदेशी लगानीका कम्पनीले लिने लाभांश ३९.८८ प्रतिशतले घटेको हो । यस्तै, आथिृक वर्ष २०७६/७७ मा १२ अर्ब ९० करोड ३० लाख रुपैयाँ लाभांश फिर्ता लिएको देखिन्छ ।

चार महिनापछि चुनढुङ्गा ढुवानी गर्दै सौर्य सिमेन्ट, खानी बन्द हुँदा राज्यलाई समेत घाटा

कटारी । उदयपुरको कटारी-८ स्थित आहालेको खानीबाट सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट प्रालिले चार महिनापछि चुनढुङ्गा ढुवानी गर्ने भएको छ । कटारी नगरपालिकाको ४, ५, र ७ नं वडाका सामुदायिक वन उपभोक्ता समिति तथा स्थानीयले आफ्ना माग सुनुवाइ नगरेको भन्दै उद्योगको चुनढुङ्गा ढुवानी गर्ने टिपर सञ्चालन गर्न दिएका थिएनन् । लामो समयको अवरोधपछि कटारी नगरपालिकामा बसेको दुई पक्षीय छलफलपश्चात टिपर सञ्चालनको तयारी गरिएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए । ‘वन समूह र स्थानीयसँग विभिन्न स्थानमा बसेर वार्ता गरी सञ्चालन गर्ने तयारी भएको छ’, नगरप्रमुख श्रेष्ठले भने, ‘दुई पक्षका साथै सरोकारवालाको भेलाले माग क्रमशः पूरा गर्दै खानी सञ्चालन गर्न दिने तयारी हुँदै छ ।’ सरोकारवालाको छलफलबाट उद्योगले प्रभावित स्थानीयलाई गर्दै आएको विभिन्न सहयोग नगरपालिकाबाट एकद्वार प्रणालीबाट सञ्चालन गर्ने तयारी भएको छ । ‘प्रत्येक समूहका पदाधिकारी र व्यक्तिसँग डिल गरेर सञ्चालन गर्दा प्रभावकारी बनेन’, उद्योगका खानी विभाग प्रमुख राजन झाले भने, ‘हामी प्रभावितका माग पूरा गर्दै जान्छौं तर नगरपालिका र वडा सरकारसँग समन्वय गरी एकद्वार प्रणालीमा काम गर्छौं ।’ सामुदायिक वनले वन क्षेत्रको सडकबाट उद्योगले ढुवानी गर्दा भएको क्षति डिभिजन वन कार्यालय कटारीको समन्वयमा अध्ययन गरी क्षतिपूर्ति दिनुपर्ने, यसअघि भएको सडक ढलान, खानेपानी, स्वास्थ्यसँग सम्बन्धित शिविर यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएका छन् । ‘प्रभावित वडावासीसँगै छलफल गरेर प्राथमिकताका आधारमा काम गर्ने तयारी भएको छ’, कटारी-८ का वडाध्यक्ष नवीन्द्र तामाङ भन्छन्, ‘प्रभावितको माग सम्बोधन गरी उद्योग सञ्चालनमा आउनुपर्छ ।’ आर्थिक मन्दीका बीचमा लामो समय खानी बन्द भएपछि उद्योग घाटामा गएको बताउँदै खानी विभाग प्रमुख झाले सरकारको प्राथमिकतामा सञ्चालनमा रहेको उद्योग नचल्दा राज्यले समेत घाटा व्यहोर्नुपरेको बताए । नियमित सञ्चालन हुने वातावरण नगरपालिकाबाट तयार गरिदिए आफूहरू प्रभावित क्षेत्रको माग नगरपालिकाकै समन्वयमा पूरा गर्ने प्रतिवद्धता जनाए । उद्योग सञ्चालनका लागि स्थानीयवासी स्थानीयस्तरमै छलफल गर्न तयार भएका छन् । स्थानीय वडा र टोल साथै वन समूह नगरपालिकाको समन्वयमा छलफलमा बसी खानी सञ्चालन गर्न दिन तयार भएका हुन् । रासस

ग्लोबल आइएमई बैंकको ६६औं एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

काठमाडौं । ग्लोबल आइएमई बैंकले गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वडा नं ५, इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन मुसीकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवनले गरेका हुन् । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक वामी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । सोही अवसरमा बैंकले मुसीकोट नगरपालिका वडा नं ५ वरपरका बासिन्दालाई लक्षित गरी डिजिटल बैंकिङ्ग र रेमिट्यान्स सम्बन्धी वित्तीय साक्षारता कार्यक्रम समेत आयोजना गरेको थियो । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा कार्यालय, ३६८ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

जात्रा अवलोकनकर्ताप्रति आभार व्यक्त गर्दै बालेनले भने : सम्पदा संरक्षणमा नयाँ फड्को मार्यौं

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख तथा मेयर बालेन्द्र शाह बालेनले इन्द्रजात्रा अवलोकन गर्ने सबै अवलोकनकर्ताप्रति आभार व्यक्त गरेका छन् । बिहीबार बसन्तपुरमा भएको इन्द्रजात्रामा पैदल यात्रा गरी जात्रा अवलोकन गर्ने सबैलाई धन्यवादसहितको आभार व्यक्त गरेका हुन् । अवलोकनकर्ताले सवारी साधन निषेधित क्षेत्रमा सवारी साधन प्रवेश नगराई पैदलमार्फत नै जात्रा अवलोकन गर्नु काठमाडौंका सम्पदा संरक्षणमा नयाँ फड्को भएको बालेनको भनाई छ । सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले काठमाडौँ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल जोन (सवारी साधन निषेधित क्षेत्र) मा सवारी साधन प्रवेश गराइदिनु भएन । उहाँहरुले जुद्ध सालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो । हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ । सामान्य जस्तो लागे पनि काठमाडौँका सम्पदा संरक्षणमा यो अर्को फड्को हो । हाम्रो अनुरोधको परिवर्तनलाई स्वीकार गरिदिनुभएकोमा आभारी छौँ । हाम्रो सम्पदा, हाम्रो पहिचान ।

प्रविधिको खराबीपछि रोकिएको फक्सवागनको उत्पादन पुनः सुरु

बर्लिन । सूचना प्रविधिमा आएको खराबीका कारण जर्मनीका विभिन्न कारखानामा उत्पादन ठप्प भएको तर समस्या तत्काल समाधान गरी पुनः उत्पादन शुरू गरिएको जर्मनीको कार कम्पनी फक्सवागनले जनाएको छ । बुधबारबाट सुरु भएको आइटी समस्याका कारण फक्सवागनको वुल्फ्सबर्गस्थित मुख्यालयसहित जर्मनीभरका आफ्नै ब्रान्डका प्लान्टमा असर परेको थियो । भीडब्लू समूहका अन्य ब्रान्डहरू पनि प्रभावित भएका छन् । ‘फक्सवागन नेटवर्कमा आईटी पूर्वाधारको समस्या रातको समयमा समाधान गरिएको थियो,’ भोक्सवागनले एक बयानमा भनेको छ- ‘विश्वव्यापी उत्पादन सञ्जाल चलिरहेको छ, र उत्पादन योजनाबद्ध रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ ।’ प्रविधिमा देखिएको गढबढी ‘बाह्य प्रभावका कारण’ भएको भन्ने कुनै सङ्केतहरू फेला नपरेको भोक्सवागनको बयान छ । गत महिना जापानी प्रतिद्वन्द्वी टोयोटाले पनि कम्प्युटर प्रणालीमा खराबी आएको भन्दै जापानमा रहेका आफ्ना सबै कारखानामा उत्पादन रोक्न बाध्य भएको थियो । अगष्ट २९ मा टोयोटाका १४ वटा घरेलु प्लान्टमा पार्टपुर्जाको उत्पादन केन्द्रहरू बिग्रिएपछि एक दिनका लागि मर्मत सम्भारका लागि कारखाना बन्द गरिएको थियो । टोयोटाका अनुसार यो घटना पनि साइबर आक्रमणका कारण भएको कुनै आधार फेला परेको थिएन । रासस/एएफपी

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने

न्युयोर्क । ‘जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी)’ ले अब इन्टरनेटबाट सिधै जानकारी ल्याउन वा अद्यावधिक जानकारी सङ्कलन गर्न सक्ने भएको दावी गर्दै सफ्टवेयरका लागि यो सफलता एक बृहत् कोसेढुङ्गा भएको यसको निर्माता ‘ओपनएआई’ले बुधबार जानकारी गराएको छ । अहिलेसम्म प्रयोगकर्ताका प्रश्नहरूमा च्याटजीपीटीको प्रतिक्रियाहरू पूराना जानकारीमा आधारित थिए, जसमा अगस्त २०२१ पछिको जानकारी समावेश गरिएको थिएन । ‘च्याटजीपीटीले अब स्रोतहरूसँग सीधा लिङ्कहरूको साथ इन्टरनेटमा खोजी गर्न सक्छ र तपाईंलाई वर्तमान र आधिकारिक जानकारी प्रदान गर्छ,’ ओपनएआईले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मार्फत् सार्वजनिक एक सूचनामा जानकारी गराएको छ । पोष्टमा भनिएको छ, ‘यो अब सेप्टेम्बर २०२१ भन्दा अघिको जानकारीमा मात्र सीमित छैन ।’ नवीनतम सुविधाले वेबसाइटहरूलाई च्याटजीपीटीले उनीहरूसँग कसरी अन्तरक्रिया गर्दछ भनेर नियन्त्रण गर्न अनुमति दिने पनि जनाइएको छ । ओपनएआईले जुनमा आफ्ना पैसा तिरेका ग्राहकहरूका लागि अद्यावधिक सार्वजनिक गरेको थियो, तर प्रयोगकर्ताहरूले इन्टरनेट सामग्रीमा पैसा तिरेका ग्राहकहरूको सूचना चोरी गर्न सफल भएपछि यो अवधारणालाई खारेज गरेको थियो । ’ब्राउज विथ बिङ’ नाम दिइएको यो सुविधा च्याटजीपीटी प्लस र उद्यम सेवाका ग्राहकका लागि पनि आरक्षित छ, तर ओपनएआईले यो चाँडै नै सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने बताएको छ । च्याटजीपीटीले यसको प्रतिक्रियाहरूको साथ प्रत्यक्ष स्रोतहरू पनि उद्धृत गर्नेछ, जुन अब कार्यक्रमको प्रकाशकले नियन्त्रण गर्ने एकल जानकारीमा आधारित हुनेछैन । रासस/एएफपी

दुई महिनापछि खुल्यो सुप विश्वविद्यालयको ताला

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि खुलेको हो । विश्वविद्यालय प्रशासन र नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन, नियमबमोजिम गर्ने, विश्वविद्यालयको ऐनबमोजिम समायोजन गर्ने र गत भदौमा परीक्षा नियन्त्रक कार्यालयमा भएको तोडफोडपछि अनेरास्ववियुका नेतालाई लगाएको मुद्दा फिर्ता लिने सहमतिपछि केन्द्रीय कार्यालयको ताला खुलेको अनेरास्ववियुका जिल्ला संयोजक रमेश पन्तले जानकारी दिए । केन्द्रीय कार्यालयमा साउन १ गते नेकपा ९एमाले० निकट अनेरास्ववियु र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको थियो । यी दुई सङ्गठनसँग सहमति भएर यसअघि नै ताला खुले पनि समाजवादी निकट विद्यार्थी सङ्गठनको कारण ताला खुल्न सकेको थिएन । समाजवादी निकट अनेरास्ववियुका माग पूरा गर्ने सहमतिपछि आज विश्वविद्यालयको ताला खुलेको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए । ‘विद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच सहमतिपछि केन्द्रीय कार्यालयको ताला खुलेको छ’, विष्टले भने, ‘ताला खुलेपछि विश्वविद्यालय प्रशासनको काम सञ्चालन भएको छ ।’ रासस