ज्योति विकास बैंकद्वारा क्युआर अडियो अलर्ट सेवा सार्वजनिक
काठमाडौं । ज्योति विकास बैंकले क्युआर कोड मार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित ‘कोइलीः क्युआर अडियो अलर्ट डिभाइस’सेवा ग्राहकको लागि सार्वजनिक गरेको छ । बैंकले डिजिटल बैंकिङ्गलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्ट र ग्राहकहरूलाई सहजता प्रदान गर्न यो सेवा सुचारु गरेको हो । यस सेवा अन्तर्गत क्युआर अडियो अलर्ट डिभाइसमा रहेको क्युआर कोड मार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल भ्वाइस मेसेज मार्फत प्राप्त गर्नेछन् । यो सेवाले भुक्तानीको तत्काल प्रमाणीकरण गरि व्यवसायी तथा ग्राहकहरू बीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने विश्वास बैंकले लिएको छ। साथै यो प्रविधिले व्यवसायी तथा ग्राहकवर्गको मोबाईल फोनमा भुक्तानी प्राप्त गरेको मेसेजका निम्ति कुर्नुपर्ने समयको पनि बचत हुनेछ। बैंकले यो सेवा बिट्स क्राफ्ट प्रालिसँगको सहकार्यमा ल्याएको हो । आफ्नो कारोबारको सरल र सुरक्षित व्यवस्थापनका लागि यो सेवा लिन चाहने व्यवसायीहरुले ज्योति विकास बैंकको सम्पूर्ण १२१ शाखाहरु मार्फत् तोकेको आवेदन दिई उक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।
आगामी दिनमा नेपालको आर्थिक वृद्धि दर बढ्ने सम्भावना छ : विश्व बैंक
काठमाडौं । विश्व बैंकले आगामी दिनमा नेपालको आर्थिक विस्तार उच्च गतिमा हुने सम्भावना रहेको बताएको छ । बिहीबार काठमाडौंमा दक्षिण एसियाली विकास अपडेट र नेपाल विकास अपडेट २०२३ सार्वजनिक गर्दै विश्व बैंकले यस्तो बताएको हो । सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले आगामी दिनमा यो वृद्धिदर उच्च गतिमा हुने बताएको हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै विश्व बैंकले दक्षिण एसियाली विकास अपडेट र नेपाल विकास अपडेट प्रतिवेदन सार्वजनिक गरेको हो । विश्व बैंकले ६–६ महिनामा यस्तो प्रतिवेदन सार्वजनिक गर्छ । आयात प्रतिबन्ध हटाइनु, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः गरिएको खुकुलोपनलगायत कारण नेपालको अर्थतन्त्रमा सुधार आउने विश्व बैंकको प्रक्षेपण छ । सन २०२५ मा नेपालको अर्थतन्त्र ५ प्रतिशतले विस्तार हुने अनुमान छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसले आगामी वर्षहरुमा आर्थिक वृद्धि हुँदै जाने बताए । उनले नेपालमा उच्च आर्थिक सम्भावना रहेको र नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नती हुन लागेकोमा खुसी समेत व्यक्त गरे । विश्व बैंकले विश्वसनीय तथ्यांकका आधारमा प्रतिवेदन तयार पारेको समेत उनले जानकारी दिए । विश्व बैंकको दक्षिण एसियाली क्षेत्र हेर्ने प्रमुख अर्थशास्त्री फ्रान्जिस्के ला ओनसोर्जले दक्षिण एसियाली विकास अपडेट सार्वजनिक गर्दै दक्षिण एसियामा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, जलवायु परिवर्तन, चीनमा देखिएको मन्दी, प्राकृतिक प्रकोपका कारण मानिसहरु प्रभावित हुनु, आयात र निर्यातमा गरिएको प्रतिबन्ध, नयाँ विदेशी मुद्रामा लगाइएको प्रतिवन्धजस्ता कारण अर्थतन्त्रमा चुनौती थपिएको बताइन् । विश्व बजारको उत्पादन र सेवाले समेत असर पारिरहेको उनको भनाइ छ । त्यसै गरी दक्षिण एसियाका अधिकांश देशमा निजी लगानीको कमजोर अवस्था रहेको भन्दै ओनसोर्जले वित्तीय चुनौती बढ्दै गएको बताइन् । उच्च ऋण न्यून आयको समस्या रहेको भन्दै उनले वित्तीय नीतीहरु धेरै बाध्यकारी हुन नसकेको समेत बताइन् । विश्व बैंकका अर्थशास्त्री नयन कृष्ण जोशीले नेपाल अपडेटबारे प्रस्तुतीकरण दिँदै नेपालले ऊर्जा क्षेत्रमा राम्रो प्रगति गरिरहेको बताए । गतवर्ष प्रसारण प्रणालीमा ५०० मेगावाट विद्युत् थपिएको र नेपालले भारतमा विद्युत् निर्यात गरिरहेको जानकारी दिए । उनले बंगलादेशमा समेत निर्यातको तयारी भइरहेको बताए । यसले अर्थतन्त्र विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ । उनका अनुसार थोक र खुद्रा व्यापारमा आएको सुस्तता कारण सन् २०२३ मा सेवा क्षेत्रको वृद्धिलाई गतिलाई सुस्त बनाएको छ । त्यसैगरी सन् २०२३ मा औसत उपभोक्ता मूल्य सात वर्ष यताकै उच्च विन्दुमा पुगेको भन्दै जोशीलेले कम आयात र उच्च रेमिट्यान्सका कारण चालु खाता घाटा ६ वर्ष यताकै न्यूनस्तरमा रहेको समेत उल्लेख गरे । जोशीले नेपालमा अनिश्चित रुपमा हुने वर्षाले कृषि उत्पादनमा प्रभाव पार्न सक्ने, भारतले चामल लगायत खाद्यान्न निर्यातको लगाएको प्रतिबन्धका कारण मूल्यवृद्धि बढ्न सक्ने समेत बताए । यसले पुनः चालु खाता घाटा बढ्न सक्ने उनको भनाइ छ । उनका अनुसार वस्तु तथा सेवाको निर्यात निरन्तर रुपमा घटिरहेको समेत बताए । नेपालले आन्तरिक उत्पादनमा वृद्धिमा जोड दिनुका साथै वैदेशिक आकर्षण गर्न आफ्ना नीति परिवर्तन गर्नुपर्ने सुझाव जोशीले दिए । सोही कार्यक्रमका दौरान उत्पादकत्व, एक्सचेञ्ज रेट र निर्यातका सम्बन्धमा भएको प्यानल डिस्कसनमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडलले नेपाली विद्यालय शिक्षाको उत्पादकत्वसँग समन्वय नै गर्न नसकेको बताए । सोहीकारण नेपालको शिक्षा प्रणालीलाई परिमार्जन गर्नुपर्ने उनको तर्क छ । ‘यो शिक्षा प्रणाली रिमोडलिङ गर्ने उपयुक्त समय हो, प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्छ,’ पौडलले, ‘हामीले युरोप र गल्फ कन्ट्रीहरुका लागि मात्र जनशक्ति तयार पारिरहेका छौं। ’ सो छलफलमा भाग लिँदै लक्ष्मी सनराइज बैंककी प्रमुख बिजनेस अफिसर आरती राज्य लक्ष्मी रानाले आयात वृद्धि नहुनु र रेमिट्यान्स बढ्नु अर्थतन्त्रका लागि सकारात्मक भएको बताइन् । जलविद्युत् क्षेत्रमा नेपाललको प्रगति राम्रो भएको भन्दै उनले नेपालले भारतमा चालु वर्षमा मात्र ५ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको बिजुली बेचेको प्रसंग निकालिन् । नेपालले गतवर्ष करिब ११ अर्ब १६ करोड रुपैयाँको बिजुली बेचेको थियो । भारतसँग नेपालको बिजुली व्यापारको घाटा ८ अर्ब हाराहारी रहेको छ । सन् २०२६ सम्म नेपाल विद्युतमा आत्मनिर्भर हुने लक्ष्य छ । बंगलादेशमा समेत विद्युत् निर्यात गर्ने अन्तिम तयारी भइरहेको उनले जानकारी दिइन् । उनले केन्द्रीय बैंकको नीति अनुसार बैंकहरुले १० प्रतिशत जलविद्युतमा लगानी समेत जानकारी दिइन् । भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले किन्ने घोषणा गरेको भन्दै उनले यसले नेपालको आर्थिक विकासका लागि सहयोग पुर्याउने बताइन् । स्वीट्जरल्याण्डको नेपालका लागि राजदूतावासकी कार्यक्रम म्यानेजर दोरोथी लोड्सचेरले नेपालको आर्थिक विकासका लागि प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताइन् । उनका अनुसार नेपाली शिक्षित युवाहरु रोजगारी र अवसरको खोजीमा भारतलगायत देशरहरुमा जाने गरेका छन । दक्षिण एसियाकाका लागि ट्रेडका कार्यकारी निर्देशक डा. पारस खरेलले उत्पादनमुखी क्षेत्रको प्रवर्द्धन गरेर निर्यातमा जोड दिनुपर्ने बताए । नेपाली अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै उनले उत्पादनमा जोड दिए । अर्थशास्त्री तथा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा.पोषराज पाण्डेले बजेटमार्फत सरकारले उत्पादनलाई बढुवा दिनुका साथै डिजिटल अर्थतन्त्रलाई सहजीकरण गरेको बताए । काठमाडौं विश्व विद्यालयका उपकुलपति डा. भोला नेपालले थापाले हरित ऊर्जामा ध्यान दिनुपर्ने बताए । उनले अनुसार काठमाडौं विश्वविद्यालयले सरकार र विकास साझेदारहरुसँगको सहकार्यमा हाइड्रोजनको अध्ययन गरिरहेको जानकारी दिए । विश्व विद्यालयमा ल्याव स्थापना गरेको समेत उनले जानकारी दिए । ग्रीन हाइड्रोजन उत्पादन गरेर निर्यात गर्न सकिने उनको भनाई छ ।
आज विश्व मुस्कान दिवस, यस्ता छन् मुस्कुराउँदाका फाइदा
काठमाडौं । आज विश्व मुस्कान दिवस मनाइँदै छ। हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरु गरिएको हो । ‘सुन्दर र आकर्षक देखिन कसलाई मन हुँदैन र?’ विश्व मुस्कान दिवसका सन्दर्भमा मनोविद विजया बिजुक्छे भने, ‘उसो भए मुस्कुराइरहनुहोस्, नसके पनि कोसिस गर्नुहोस् ।’ मनोविद् बिजुक्छेका अनुसार मुस्कुराइरहुनका धेरै फाइदा छन् । मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ। मुस्कानले स्वास्थ्यलाई फाइदा गर्छ । ‘मानिस सामाजिक प्राणी भएकाले सधैँ समाजमा बस्न रुचाउँछ । सही सम्बन्धको अभावमा थुप्रै खालका मानसिक विकारको अवस्थामा पुग्ने अवस्था हुन्छ, जस्तै डिप्रेसन, एन्जाइटी’, मनोविद् बिजुक्छेले भने, ‘मुस्कुराउँदा सामाजिक सम्बन्ध र सहयोगमा वृद्धि गर्छ । जब सामाजिक सहयोग बढ्छ त्यहाँ सम्बन्धहरू सुध्रिन्छन् । तब व्यक्तिको तनाब कम हुन्छ, तनाब कम भएपछि सुखी बढ्छ र आनन्द बढ्छ । आनन्द बढ्नु भनेको नै मानसिक स्वास्थ्य स्वस्थ हुनु हो ।’ मनोविद्हरूका अनुसार मुस्कानले व्यक्तिको सामना गर्न सक्ने क्षमतालाई वृद्धि गर्छ। मुस्कानले आत्मविश्वास बढाउँछ। कसरी मुस्कुराइरहने ? कतिपय व्यक्तिलाई मुस्कुराउन नै नसक्ने समस्या हुने मनोविद् बिजुक्छे बताउछन् । सके मुस्कुराइरहने नसके मुखको मांशपेशीलाई मुस्काउने अभ्यास गर्नुपर्ने उनले बताए । ‘खुलेर मुस्कुराउन नसक्ने थुप्रै व्यक्ति छन् । हाँसो उठ्दैन भने पनि जबर्जस्ती भए पनि मांशपेशी तन्काउनुपर्छ’, मनोविद् बिजुक्छेले भने, ‘मुखमा पेन्सिल राखेर भए पनि मुखको मांशपेशी बङ्ग्गाउने वा ओठको दुवै छेउमा दुई चौरऔलाले दबाएर माथितिर तान्छौ भने त्यसले हाँसोजस्तो देखाइदिन्छ। त्यो भए पनि हाम्रो मस्तिष्कले हाँस्नका खुसी पैदा गर्ने रसायन उत्पादन गर्दछ ।’ बिजुक्छेका अनुसार यसरी मुखको मांशपेशीलाई तन्काएर भए पनि मुस्काउने वा हाँस्ने अभ्यासले मुस्कुराउने बानीको विकास गर्छ । जुन स्वास्थ्यको लागि धेरै फाइदा जनक छ। रासस
कुमारी र प्रभु बैंकका ६ जना संस्थापक बाहिरिँदै
काठमाडौं । कुमारी बैंक र प्रभु बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिने भएका छन् । दुवै बैंकका ३÷३ जना गरी कूल ६ जना संस्थापकहरु सेयर बिक्री गरेर बाहिरिन लागेका हुन् । कुमारी बैंकका ३ संस्थापकले ११ हजार २२ कित्ता र प्रभु बैंकका ३ संस्थापकले २० हजार २०२ कित्ता सेयर बिक्रीमा राखेका हुन् । कुमारी बैंकका अनुसार लोकमाया गुरुङ्गको २ हजार ३०५ कित्ता, कृष्ण तारुम थापा मगरको ३ हजार ४५३ कित्ता र भरत बहादुर बुढाथोकीको ५ हजार २६४ कित्ता सेयर बिक्रीमा राखिएको हो । त्यस्तै, प्रभु बैंकका संस्थापक शुशिला देवी सिंघानियाको १० हजार ९३५ कित्ता, रजन श्रेष्ठको ५ हजार कित्ता र नितु अग्रवालको ४ हजार २६७ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई निवेदन पेश गर्नु पर्नेछ । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
नेपाल पर्यटन बोर्डलाई प्यासिफिक एशिया ट्रावल एशोसिएसन गोल्ड अबार्ड-२०२३
काठमाडौं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा संचालित जीविकोपार्जन पुनःउत्थानकालागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) गोल्ड अबार्ड –२०२३ प्राप्त गरेको छ । पर्यटनका माध्यमबाट महिला शसक्तिकरणमा गरेको पहलकदमी दीगोपन तथा सामाजिक उत्तरदायित्वको लागि प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) ले नेपाल पर्यटन बोर्ड/एसटीएलआरपीलाई पाटा गोल्ड अबार्ड २०२३ पदान गरेको हो । नयाँ दिल्लीमा आयोजित पाटा टार्वल मार्ट २०२३ को कार्यक्रममा अवसरमा पाटा इन्टरनेशनलका अध्यक्ष पिटर सिमोनले उक्त अर्बाड प्रदान गरेका थिए । सन् १९९५ बाट शुरु भएको यो अबार्ड यसपाली विभिन्न २३ वटा संघ संस्थाहरुलाई विभिन्न विधामा प्रदान गरिएको छ । एसटीएलआरपी परियोजनाले यसअघि २०२२ मा पनि टुरिजम डेस्टिनेशन रेसिलेन्सि विधा अन्र्तगत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो । यस्तै २०२३ मा पनि पाटाबाट स्पेशल पाटा अवार्ड समेत प्राप्त गरेको थियो । पाटा अबार्ड प्राप्त गर्नुले परियोजनाले गरिरेहेका कामको मूल्याङ्कन भएको र बोर्डलाई थपकार्य गर्ने प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ)तथा परियोजनाका राष्ट्रिय निर्देशक डा.धनञ्जय रेग्मीले बताए । ‘हामीले कोभिडको असरसंगै पर्यटकहरुको उद्धार देखि जनशक्ति विकास तथा केही पूर्वाधार विकासमा कार्यहरु निरन्तर गर्दै आइरहेका छौं । हामीले गरेका कामहरुले मुल्याङ्कन गर्दै निरन्तर विभिन्न अन्तरराष्ट्रिय अबार्डहरु प्राप्त गरेका छौं । यसले हामीलाई थप कार्य गर्न प्रोत्साहन मिलेको छ’-डा. रेग्मीले भने । यस्तै पर्यटकको खोज तथा उद्दारमा खोजमा गरेको योगदानको कदर स्वरुप पनि बोर्डले विभिन्न राजदुतावास तथा अन्तरराष्ट्रिय संस्थाहरुबाट सम्मानप्राप्त गरेको थियो । बोर्ड तथा एसटीएलआरपीले कोभिड–१९ पछि महिला तथा अन्य पर्यटन मजदुरको क्षमता अभिवृद्धि सहित पर्यटकीय गन्तव्य निर्माणमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । यस अन्र्तगत महिलाहरुका लागि रिभर गाईड, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका लागि टे्रकिङ गाइड लगायतका विभिन्न तालिम तथा पर्यटनसंग सम्बन्धित विभिन्न विधाका गाइड म्यानुएलहरु तयार गर्दै आइरहेको छ । परियोजनाले अहिलेसम्म करिब एक हजार महीलाहरुलाई विभिन्न प्रकारका तालिम प्रदान गरेको परियोजनाले जनाएको छ ।
बझाङमा फेरी गयो भूकम्प
काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति २ पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गत मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । दोस्रोपटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर ६.३ रेक्टर स्केल, ३ः१३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केल, ३ः४५ बजे सुरमा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए । यस्तै सयौँ घरमा क्षति पुगेको थियो । केन्द्रका भूगर्भविद् डा.लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनसुकै बेला पनि भूकम्प जानसक्ने बताउँछन् । “विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो समय उक्त क्षेत्रमा भूकम्प जान थालेको छ”, उनले भने । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
असल कर्जाको प्रोभिजनिङ घट्यो, अब १.२५ प्रतिशत
काठमाडौं । नेपाल राष्ट्र बैंकले असल कर्जामा गर्नु पर्ने प्रोभिजनिङ घटाएको छ । बिहीबार एकीकृत निर्देशन जारी गर्दै असल रहेका कर्जाको प्रोभिजनिङ घटाएको हो । ‘एक वर्षभन्दा बढी ग्रेस अवधि भएका उर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरुमा प्रवाहित असल कर्जाहरुको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रुपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १.२५ प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । यसअघि राष्ट्र बैंकले कसल कर्जामा १.३ प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकका अनुसार सुक्षम निगरानीमा रहेका कर्जामा ५ प्रतिशत, कमसलमा २५ प्रतिशत, शंकास्पदमा ५० प्रतिशत र खराब कर्जामा १ सय प्रतिशत कर्जा नोक्सानीको व्यवस्था कायमै राखेको छ ।
आजदेखि राष्ट्र बैंकले परिमार्जित २० रुपैयाँ दरका नोट बजारमा पठाउँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका परिमार्जित नोट प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकले असोज १९ गते अर्थात् आजदेखि २० रुपैयाँको नोटलाई परिमार्जन गरी प्रचलनमा ल्याउन लागेको हो । साबिककै आकार तथा रङ्गमा संकेत नम्बर ठ८७ ०००००१ देखि त१८ ९९९९९९ सम्म नेपाल सरकारको जमानतप्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा राष्ट्र बैंकबाट रुपैयाँ २० तुरुन्तै पाइनेछ भन्ने वाक्यांशसहित आज शुक्रबारदेखि प्रचलनमा ल्याएको हो । राष्ट्र बैंकका अनुसार नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप छ । त्यस्तै, गभर्नरको दस्तखत रहने स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको भने तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा वि.सं. २०७९ लेखिएको छ । नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने दुईवटा बाह्रसिंगाको चित्र छ । नोटको तल्लो भागमा अंग्रेजीमा रुपीज ट्वाइन्टी लेखिएको छ भने बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा एडी २०२३ लेखिएको राष्ट्र बैंकले जनाएको छ । नोट राष्ट्रको सम्पत्ति भएकाले यसको जतन गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।