विकासन्युज

दुर्गममा आयोडिनयुक्त नुनको अभाव, २ केजी नुन किन्न ३ हजार खर्च

काठमाडौं । डोल्पामा आयोडिनयुक्त नुन अभाव भएको छ । पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आइनपुगेकाले डोल्पामा नुनको अभाव भएको हो । हाल सदरमुकाम दुनैबाट प्रतिव्यक्ति ५ पोका मात्र दिने गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट डोल्पामा अनुदानको नुन वितरण हुँदै आएको छ । सदरमुकामस्थित डिपोमा ४९० क्वीन्टल आयोडिनयुक्त नुन मौज्दात रहेको कार्यालय प्रमुख प्रकास धामीले बताए । उनका अनुसार यो नुन भनेको अत्यन्तै न्यून हो । जिल्ला भरका सर्वसाधारणका लागि सदरमुकाममा मात्र नुन पाइने भएपछि प्रतिव्यक्ति मुस्किलले ५ पोका दिने गरेको प्रमुख धामीले बताए । सदरमुकामबाट बाहिर रहेका सबै नुनका डिपो रित्ता भएका छन् । उपल्लो डोल्पाको तिन्जे डिपोमा ५ वर्षदेखि एक पोका नुन ढुवानी भएको छैन । चिनियाँ नाका भएर उपल्लो डोल्पामा नुन ढुवानी हुने भएपछि त्यहाँ नाका बन्द भएपछि ५ वर्षदेखि नुन ढुवानी हुन नसकेको धामीले बताए । गाउँका डिपोमा नुन नै नभएपछि आफू सदरमुकामस्थित डिपोमा नुन लिन पुग्दा समस्या भोगेको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी राजिमान बुढाले बताए । बुढाले भने, “नुन लिन सदरमुकाम जानुपर्ने भएपछि समस्या एकातिर छ भने अर्को तीर सदरमुकाम दुनैस्थित साल्ट ट्रेडिङले प्रति परिवार दुई पोकाका दरले नुन बिक्री गर्दै आइरहेको छ । सरकारले सहुलियत दरमा अनुदान दिएको दुई पोका नुन खरिद गर्न २ देखि ३ हजार रुपैयाँसम्म खर्च हुने हुने गर्छ ।” यसरी हेर्दा १ केजी नुनको मूल्य १ हजार रुपैयाँ बराबर पर्ने गर्छ । साल्ट ट्रेडिङ डोल्पा डिपोका अनुसार भनेजति नुन दिएको खण्डमा डोल्पामा नुन नै अपुग हुने भएका कारण सबैलाई मिलाएर दिन परेको हो । यी ५ वटै बिक्री केन्द्रमा नुनको ढुवानी नभएपछि अभाव भएको हो । नुनको कोटा थप गर्न सम्बन्धित निकायसँग माग गरेको साल्ट्र ट्रेडिङ डिपो कार्यालय डोल्पाका प्रमुख धामीले बताए । साल्ट ट्रेडिङ डोल्पा डिपोका अनुसार डोल्पाको नुनको लागि ठेक्का आह्वान भई नुन ढुवानी प्रक्रियामा गएको र दसैँ तिहारपछि मात्रै नुन डोल्पा पुग्ने प्रमुख धामीले जानकारी दिए । यता त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायाले नगरपालिकाभर नुनको अभाव हुन थालेपछि साल्ट ट्रेडिङ जुफाल बिक्री केन्द्रबाट ५० क्वीन्टल नुन ल्याउन लागेको बताए । नगरपालिकामा नुन ल्याएसँगै नगरवासीलाई सहुलियत दरमा अनुदानको नुन बिक्री गर्ने समेत नगर प्रमुख रोकायले जानकारी दिए । लिकु, सर्मी, तिज्नेलगायतका डिपोमा एक पोका नुन नभएको कार्यालय प्रमुख धामीले बताए । सदरमुकामदेखि बाहिरका डिपोमा कर्मचारी नभएको अवस्थामा रहेको छ । ठेकेदार आफैले नुन लिएर बिक्री गर्ने काम हुँदै आएको छ ।रासस

समस्यामा रहेको जहाज उडाउने वायुसेवा निगमका २ व्यवस्थापक कारबाहीमा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दममका लागि उडेको नेपाल वायुसेवा निगम (नेवानि) को विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका दुई जना व्यवस्थापकलाई कारबाही गरिएको छ । विमानमा पटकपटक समस्या उत्पन्न हुँदा पनि त्यसलाई समाधान नगरी उडाएकामा प्राधिकरणले उनीहरूलाई कारबाही गरेको हो । काठमाडौँबाट दमामका लागि उडेको विमान ‘टिकास उपकरण’ मा समस्या देखिएपछि आज काठमाडौँ फर्काइएको थियो । ‘ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम’ का कारण निगमको ए ३२० जहाज फिर्काइएको थियो । नाइनएन–एकेएक्स विमानको मर्मतमा संलग्न ‘ड्यूटी मेन्टिनेन्स म्यानेजर’ र निगमको ‘कन्टिनियुङ एयरवर्दिनेस’ (सीए) म्यानेजरलाई कारबाही गरिएको प्राधिकरणले जनाइएको छ ।

राष्ट्र बैंकले खर्बौंको बजारसँग लंगुरबुर्जाको जस्तो ब्यवहार गर्यो : राधा पोखरेल

काठमाडौं । लगानीकर्ता राधा पोखरेलले राष्ट्र बैंकले खर्बौंको बजारसँग लंगुरबुर्जाको जस्तो ब्यवहार गरेको बताएकी छिन् । राष्ट्र बैंकले संशोधन गरेको सेयर धितो कर्जाको सीमामा असन्तुष्टि पोख्दै उनले यस्तो बताएकी हुन् । उनले राष्ट्र बैंकको नीतिका कारण पूँजी बजार सिथिल बनेको समेत आरोप लगाईन् । ‘राष्ट्र बैंकको चेपुवा नीतिबाट थिलथिलो बनेको पुँजी बजारमा समय समयमा लिने नीति नियमको परिवर्तन हेर्दा खर्बौंको बजारसँग लंगुरबुर्जाको जस्तो ब्यवहार गर्ने गरेको छ,’ उनले भनिन्, ‘नेपालको सेयर बजार टुकुटुक हिँड्न थालेको समयमा नियामक निकायबाट बेला बेलामा बेमौसमी बाजा बजाउँदा लगानीकर्ताको सम्पत्तिमा गम्भीर समस्यामा छ ।’ राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै सेयर धितो कर्जाको सीमा व्यक्तिगततर्फ १५ करोड रुपैयाँ र संस्थागतलाई २० करोड रुपैयाँ पुर्याएको हो । लगानीकर्ताको चहर्याई रहेको घाँउमा राष्ट्र बैंकले थप नुन चुक छर्किने काम गरेको समेत आरोप उनको छ । ‘धेरै समयदेखि राष्ट्र बैंकको नीतिको मारमा रहेको सेयर बजारमा कतिपय बजार विरोधी व्यवस्था, नियामकको बेमौसमी प्रहार, ब्याजको मारमा प्रताडित लगानीकर्ता चारैतिरबाट थिलथिलो हुँदै गएको पुँजी बजारमा ब्याजदर वृद्धिको अस्वस्थ प्रतिस्पर्धालगायतका कारणले बजार घटिरहँदा धेरै लगानीकर्ता अलमलमा छदैछन् त्यस्को बाबजुद लगानीकर्ताहरुलाई चहर्याई रहेको घाँउमा राष्ट्र बैंकले थप नुन चुक छर्किएको छ,’ उनले भनिन् ।

मुद्दती खातामा प्यान नम्बर अनिवार्य

काठमाडौँ । ५० लाख रुपैयाँभन्दा माथिको मुद्दती खाता खोल्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य उल्लेख गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन २०७९ जारी गर्दै ५० लाख रुपैयाँभन्दा बढीको मुद्दती निक्षेप खाता खोल्दा प्यान नम्बर अनिवार्य गरिएको हो । ‘इजाजतपत्रप्राप्त संस्थाले कुनै प्राकृतिक व्यक्तिको ५० लाख रुपैयाँभन्दा बढीको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्नेछ,’ एकीकृत निर्देशनमा उल्लेख छ । यसअघि सो व्यवस्था लागू भएको थिएन ।

सेयर कर्जा सीमा अधिकतम २० करोड रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको १२ करोडको सीमा हटेको छ । राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै सेयर धितो कर्जालाई व्यक्तिगत तर्फ १५ करोड र संस्थागत २० करोड रुपैयाँ पुर्याएको हो । ‘कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम गरिएको छ, धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ कायम गरिएको छ,’ एकीकृत निर्देशनमा भनिएको छ । अब सेयर धितो राखेर व्यक्तिगत लगानीकर्ताले १५ करोड रुपैयाँसम्म कर्जा लिन पाउने छन् भने संस्थागत लगानीकर्ता २० करोड रुपैयाँ कर्जा लिन पाउने छन् । यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फ १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्थ थियो । राष्ट्र बैंकले पूँजी बजारमा ब्यक्तिगत लगानीकर्ताभन्दा संस्थागत लगानीकर्तालाई बढी सक्रिय बनाउन खोजिएको देखिन्छ ।

अनलाइन अटो शो गर्दै नाडा

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले अनलाइन अटो शो गर्ने भएको छ । सो सम्बन्धमा नाडा र हाम्रो बजार डटकमबीच सहकार्य भएको छ । असोज १८ गते नाडाको सचिवालय टेकुमा आयोजित एक कार्यक्रममा दुई संस्थाले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त पत्रमा नाडाका तर्फबाट अध्यक्ष डा.ध्रुव थापा तथा हाम्रो बजार डटकमका तर्फबाट केएमजीका बजार प्रबन्धक सागर केसीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डट कमले काठमाडौको भृकुटीमण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरुबारे नाडाडटहाम्रोबजारडटकमबाट दैनिक रुपमा प्रसारण गर्ने छ ।

क्यानद्धारा आयोजित सबै खेलको टिकट आईएमई पेले बेच्ने, ब्राण्ड एम्बेसडरमा केसी र कामी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र आईएमई डिजिटल सोलुसन (आईएमई पे) बिच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार आईएमई पे अबको २ वर्षको लागि नेपाल क्रिकेट संघले देश भित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलहरूको टिकेटिङ्ग पार्टनरका रूपमा रहने छ । सम्झौता लागू भएसँगै आउँदो २ वर्षको समय अवधिमा नेपाल क्रिकेट संघले नेपालमा आयोजना गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय खेलहरूको फिजिकल र अनलाईन टिकेटको विक्रीको जिम्मेवारी पनि आईएमई पेले पाएको छ । राजधानी काठमाडौंमा बिहीबार सम्पन्न एक समारोहकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । पत्रमा नेपाल क्रिकेट संघको तर्फबाट सचिव पारस खड्का र आईएमई डिजिटल सोलुसनका तर्फबाट आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गरेका हुन् । नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलता र ख्यातिलाई संस्थागत गर्दै सिङ्गो नेपाली क्रिकेटको विकास र विस्तारका लागि सम्पूर्ण क्षेत्रको संयुक्त पहलको आवश्यकता रहेको छ। सोही आवश्यकता महसुस गरी यो समझदारी भएको हो । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले आईएमई पेसँगको यो साझेदारीले नेपाली क्रिकेटको बहुआयामिक विकासमा सहयोग पुग्ने बताए । ‘नेपाली क्रिकेटको स्तर वृद्धि र दिगो विकासका लागी आउँदो दिनहरूमा हामीले अन्तर्राष्ट्रिय टोलीहरूसँग धेरै भन्दा धेरै खेलहरू खेल्नु पर्ने अवस्था रहेको छ । यसै बिचमा आई एम ई पे जस्तो संस्थाले नेपाली क्रिकेटमा लगानी गर्ने निर्णय गर्नु हामी सबैका लागि खुसीको खबर हो,’ संघका सचिव पारस खड्काले भने । यस्तै, नेपाली क्रिकेटको विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन् । ’आइएमई पे’ को डिजिटल वित्तीय समावेशिताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागु गर्न सकिने भएकोले यस साझेदारीप्रति उत्साहित रहेको पनि प्रमुख कार्यकारी रेग्मीले बताए । यसैगरी आइएमई ग्रुपले क्रिकेटर करन केसी र सोमपाल कामीलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । आइएमईले खेलाडीको मनोबल बढाउन प्रतिबद्ध रहेको भन्दै नयाँ ब्राण्ड एम्बेसडरहरु मार्फत आइएमई ग्रुपको साख बढाउन सहयोग पुग्ने विश्वास लिइएको बताएको छ ।

सेयर बजार र घरजग्गाका कारण अर्थतन्त्र नबिग्रिएको दावी

काठमाडौं । पछिल्लो समय सर्वसाधारणदेखि विज्ञहरुले सार्वजनिक रुपमा नै सेयर बजार र घरजग्गामा लगानी बढेका कारण अर्थतन्त्रमा समस्या आएको बताउँदै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सो क्षेत्रमा मात्रै कर्जा प्रवाह गरेको आरोप लाग्दै आएको छ । साथै सेयर बजार र घरजग्गालाई अनुत्पादक क्षेत्रका रुपमा चित्रण गरिँदै आएको छ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले भने सेयर बजार र घरजग्गामा लगानी गरेका कारण अर्थतन्त्र नबिग्रिएको र यस क्षेत्रलाई उत्पादनमुलक क्षेत्रका रुपमा घोषणा गर्नु पर्ने माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सेयर बजार र घरजग्गाका कारण अर्थतन्त्र नबिग्रिएको बताए । बिहीबार उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्ड (सेबोन)को शिक्षा तथा सचेतना सम्बन्धि सम्झौता कार्यक्रममा उनले पूँजी बजारमा ६० लाख मान्छे जोडिएको हुँदा सेयर बजारप्रति नकारात्मक धारणा नराख्न सबैलाई आग्रह गरे । अहिले त्रासको स्थिती सिर्जना गरिएको हुँदा सकारात्मक सन्देश प्रवाहमा जोड दिनु पर्ने उनको भनाइ छ । ‘बैंकमा ५ खर्ब रुपैयाँ पैसा छ तर, पैसाको अभावमा व्यवसाय क्रियाकलाप बढ्न सकिरहेको छैन किनभने आम मानिसमा त्रासको वातावरण छ,’ उनले भने, ‘घरजग्गामा लगानी गरेका कारण सबै बिग्रियो, सबै व्यवसायीहरु घरजग्गामा डाइभर्ट भए भन्ने भाष्य तयार पारियो, व्यवसायीहरुका कारण मात्रै अहिलेकाे स्थिती  आएको होइन ।’ सेयर बजारमा कारोबार गर्ने ब्यक्ति तथा संस्थाका कारण मात्रै अहिलेको स्थिती नआएको उनको भनाइ छ । अहिलेको स्थिती आउनुमा आन्तरिकतर्फ नियामकीय व्यवस्थादेखि बाह्य कारण रहेको उनले बताए । साथै, बढी हल्ला र त्रासले पनि नकरात्मकता बढेको उनको भनाइ । सकारात्मक सन्देश प्रवाह गर्नु अहिलेको वास्तविक खाचो रहेको उनले बताए । ‘कोरोनापछि धेरै नकारात्मकता फैलियो, चाहिने भन्दा बढी त्रास देखाईयो, जसले गर्दा अहिलेको स्थिति आयो, सर्वसाधारणमा मनोबल बढाउन रास्ट्र बैंक, सेबोन लगायत सबैले सकारात्मक भूमिका खेल्नु पर्छ,’ उनले भने । महासंघको जिल्ला नगरतर्फका उपाध्यक्ष सुरकृष्ण वैद्य पूँजी बजार अनुत्पादक नभई उत्पादनमुलक क्षेत्र भएको बताउँछन् । पूँजी बजारलाई अनुत्पादकमुलक क्षेत्र भनेर गलत प्रचार गरिएकाले सो शब्द फिर्ता लिनुपर्ने उनको भनाइ छ । उद्योगी व्यवसायीलाई लगानी अभाव भएको बेला सेयर बजार लगानी जुटाउने स्रोत रहेको उनले बताए । ‘सेयर कारोबार बजार उत्पादनमुलक क्षेत्र हो, अर्थतन्त्रलाई चलायमान गर्ने क्षेत्र सेयर बजार हो, कुनै व्यवसाय गरेर ५ वर्षमा १ करोड रुपैयाँ कमायो भने त्यो रकम सहज रुपमा निकाल्न सकिँदैन, यदि सेयर बजारमा सोही बराबरको रकम कमायो भने ३ दिनभित्र निकाल्न सकिन्छ,’ उनले भने, ‘लगानीकर्ताले सेयर बजारबाट कमाएको रकमले होटल, सिमेन्ट, डण्डी, पर्यटनदेखि सबै उद्योगमा लागनी गर्न सक्छन्, त्यसकारण अनुत्पादक भन्ने शब्द हटाउनु पर्छ ।’ दूरदराजका मान्छेलाई पनि पूँजी बजार सहज रुपमा पहुँच पुर्याउन पहलकदमी चाल्नु पर्ने उनले बताए । साथै, लगानीकर्ताले कारोबार गर्दा तत्काल फाइदा हुने र दीर्घकाल फाइदा हुने गरी लगानी गर्नु पर्ने उनको भनाइ छ । सेयर कारोबार गर्दा लगानीकर्ताको लगानी नडुबोस् भन्ने हेतुले सचेतना आवश्यक रहेको उनको भनाइ छ । महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकाल पूँजी बजारले लगानीको ठूलो हिस्सा ओगटेको बताउँछन् । सेयर बजार र घरजग्गा कारोबारका बारेमा नकारात्मक सन्देश प्रवाह गरेको हुँदा घाइते अवस्थामा पुगेको उनको भनाइ छ । ‘पूँजी बजारले लगानीको ठूलो हिस्सा ओगटेको छ, सेयर बजार र घरजग्गा कारोबारका बारेमा नकारात्मक सन्देश फैलाउँदा अहिले घाइते अवस्थामा छ,’ उनले भने, ‘पूँजी बजारमा ठूलो हिस्सा सरकारपछि निजी क्षेत्रले ओगटेको छ, महासंघ र सेबोनको सहकार्यले बजारमा तरङ्ग ल्याउने छ ।’ महासंघको एशोसिएटतर्फको उपाध्यक्ष ज्योत्सना श्रेष्ठले सेयर बजारलाई उत्पादनमुल्क क्षेत्रका रुपमा विकास गर्नु पर्ने बताइन् । सेयर बजारलाई पूँजीको जोहो गर्ने स्रोतका रुपमा लिनु पर्ने उनको भनाइ छ । हकप्रद सेयर सेयरधनीहरुको नैसर्गिक अधिकार सेबानका अध्यक्ष रमेशकुमार हमालले हकप्रद सेयर सेयरधनीहरुको नैसर्गिक अधिकार रहेको बताए । कमजोर कम्पनीले नै हकप्रद सेयर जारी गर्ने अभ्यास विश्वभर रहेको उनको भनाइ छ । ‘हकप्रद सेयर सेयरधनीहरुको नैसर्गीक अधिकार हो, कम्पनी अफ्ठ्यारोमा परेका बेला ७५ प्रतिशत सेयरधनीहरुले साधारण सभाबाट पारित गरेर कम्पनी जोगाउनु पर्छ भन्छन्, हकप्रद सेयर संसारका अन्य देशहरुमा पनि जारी गर्ने अभ्यास छ,’ उनले भने, ‘म २०१७ मा नेपाल आउँदा हकप्रद सेयर जारी गरेका अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेको थियो तर, अहिले बजारमा हकप्रद सेयर बन्द गर्नु पर्ने आवाज उठेको छ ।’ देश विकास गर्नका लागि सोचमा परिवर्तन र सहकार्य आवश्यक रहेको उनको भनाइ छ । सिस्टम अनुसार सबै अघि बढ्नु पर्ने उनले बताए । अहिले समाजमा देखिएको नकारात्मकताले देश विकास हुन नसक्ने उनको भनाइ छ । सबैको सहकार्यले नै अघि बढ्नु पर्ने उनले बताए । ‘प्रधानमन्त्री, मन्त्री लगायत कुनै पनि पदाधिकारीलाई असिमित अधिकार दिनु हुँदैन, सिस्टमले चल्नु पर्छ, धितोपत्र बोर्डका अध्यक्षले चाह्यो भने आज आईपीओ बन्द गर्ने, ५ वर्ष पछि खोल्ने अधिकार अध्यक्षलाई दियो भनेसंस्था ध्वस्त हुन्छ,’ उनले भने, ‘त्यसैले कसैलाई पनि असिमित अधिकार दिनु हुँदैन, देश विकास गर्न सकारात्मक सोच र सहकार्य जरुरी छ ।’