भारतीय पर्यटकको रोजाइमा पोखरा
पोखरा । पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ । पोखराका विभिन्न पर्यटकीय गन्तव्यसँगै मुक्तिनाथको यात्रामा आएका भारतीय पर्यटकहरुको चहलपहलले अहिले लेकसाइडमा पर्यटकीय मौसमको आभास दिलाइरहेको छ । फेवातालको बाराही मन्दिरको दर्शनपश्चात् पोखरा घुम्न आएका भारत चेन्नईका व्यापारी विजय श्रीवास्तवले पोखरा अद्भुत सहर भएको बताए । हिमाल तालको लोभलाग्दो दृश्यसँगै, शिव मूर्ति, पातले छाँगा, चमेरे गुफा, महेन्द्र गुफा लगायतका ठाउँहरुले आफूहरुलाई लोभ्याएको उनको भनाइ थियो । दोस्रोपल्ट पोखरा आएका उनले यसअघि साथीहरुसँग आएको र अहिले परिवारसहित आएको जानकारी दिए । उनीसँगै पोखरा घुम्न आएकी ५५ वर्षीया सोनिया गुप्ता भने पोखराबाट मुक्तिनाथसम्म पुग्ने तयारीमा छिन् । धर्मकर्ममा विशेष रुचि भएका कारण उनले पोखराका प्रमुख धार्मिक मठमन्दिरको पनि अवलोकन गरेको बताइन् । श्रीमान्का साथमा पहिलो पटक पोखरा आएकी उनले आफ्नो समूहमा ३० जना रहेकाले पोखराको सुन्दरतामा रमाएको अनुभव सुनाइन् । अर्का पर्यटक महेश मिश्राले धार्मिक यात्राका लागि दामोदर कुण्ड, मुक्तिनाथ दर्शन गर्न मन पराउने तथा प्राकृतिक सुन्दरताका कारण पोखरा रोजाइमा पर्ने गरेको र पोखराको सुन्दरता अवर्णित रहेको बताए । उनकाअनुसार भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ दर्शन गरेपछि भारतीय पर्यटकको रोजाइमा नेपाल पर्दै गएको छ । हिन्दू धर्ममा आस्था राख्ने अधिकांश भारतीय धार्मिक पर्यटकले मुक्तिनाथ र पशुपतिमा आउन रुचि देखाउँछन् । गत साता मात्रै भारतको गुजरातबाट नीलकण्ठवर्णी स्मृतियात्रामा मुक्तिनाथको दर्शनका लागि करिब सात सय पर्यटक एकैचोटि पोखरा आएका थिए । उनीहरुले पोखराका विभिन्न पर्यटकीयस्थलको समेत अवलोकन गरेका थिए । पोखरा पर्यटन परिषद्का सचिव एवम् होटल रानीवन आर्केटका सञ्चालक हरि भुजेल पछिल्लो समय पोखराको पर्यटन चलायमान गराउन भारतीय पर्यटकको भूमिका महत्वपूर्ण रहेको बताउँछन् । ‘अहिले पोखरा भारतीय पर्यटकको रोजाइको सहर बन्न थालेको छ, एक थरी पोखराको प्राकृतिक सुन्दरतामा रमाउनेहरु छन् भने अर्को थरी धार्मिक मठमन्दिरप्रति आकर्षित पर्यटक रहेका छन्’, उनले भने । विभिन्न पर्यटकीय सङ्घसंस्थाले पनि भारतमा ‘चलिए पोखरा’ लगायतका प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेकाले पनि भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको उनको भनाइ छ । भारतीय फिल्म छायाङ्कनमा सरकारले प्राथमिकता दिने हो भने नेपालको प्रचारप्रसार हुने र यहाँको सुन्दरताले थप पर्यटक आकर्षित गर्न सकिने उनको बुझाइ छ । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय यो मौसममा अहिले भारतीय पर्यटकको आगमन राम्रो भएको बताए । उनले हिमाल खुलेर पर्यटक बोलाइरहेको यो अवस्थामा अन्य विदेशी पर्यटकको सङ्ख्या न्यून रहेको अवस्थामा भारतीय र चिनियाँ पर्यटकको आगमन राम्रो रहेको बताए । उनले आन्तरिक पर्यटकका लागि ‘जाउँ है पोखरा’ र भारतीय पर्यटकका लागि ‘चलिए पोखरा’ कार्यक्रम लिएर नेपाल तथा भारतका विभिन्न सहर जानका लागि पोखरा महानगरपालिकासँग सम्झौता भइसकेको जानकारी दिए । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पर्यटकीय मौसममा भारतीय पर्यटकको आगमनले पर्यटन व्यवसायीलाई केही राहत प्रदान गरेको बताए । उनले भने, ‘यो मौसम विदेशी पर्यटकको चहलपहल हुने समय हो, तर कोभिड पछाडि विदेशी पर्यटकको आगमन बढ्न सकेको छैन, अहिले भारतीय पर्यटकसँग केही चिनियाँ पर्यटकले लेकसाइडमा चहलपहल बढाएका छन् ।’ उनले केही महिनाअघि सिलगुडीमा भएको बङ्गाल ट्राभल मार्ट (बिटिएम) कार्यक्रम गरेर फर्किएको जानकारी दिँदै भने, ‘धेरै भारतीयले पोखरा घुम्न रुचि देखाउनुभएको छ, तर ‘कनेक्टिभिटी’ र अन्य केही कारणले हैरानी ब्यहोर्नु परेको उनहरुको गुनासो छ, भारतीय पर्यटकको गुनासो राजमार्गको अवस्था नाजुक र विभिन्न ठाउँमा सुरक्षाकर्मीको अनावश्यक जाँच, शौचालयको अभाव र हवाई ‘कनेक्टिभिटी’ बारेमा उनहरुको गुनासो छ, नत्र नेपाल र अझ पोखरा आउन धेरै भारतीय लालायित भएको हामीले पायौँ ।’ उनले नेपालसँग भारतीयको भाषा, धर्म, संस्कार, संस्कृति धेरै मिल्ने र कतिपय आफन्त इष्टमित्र नै नेपालमा भएकाले पनि नेपालप्रति उनहरुको निकै राम्रो भावनात्मक सम्बन्ध देखिएको बताए । पर्यटन क्षेत्रमा अर्बौको लगानी गरेका पर्यटन व्यवसायी अन्तर्राष्ट्रिय उडान हुन नसक्दा चिन्तित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउछन् । उनले भने, ‘विमानस्थल सञ्चालनसँगै जुन उत्साह पर्यटन व्यवसायीमा थियो त्यो घट्दै गएको छ, अहिले भारतीय पर्यटकको आगमन केही राम्रो देखिएको छ, तर सोही अनुपातमा विदेशी पर्यटकको सङ्ख्या बढ्न सकेको छैन, लगानी उठाउन आन्तरिक पर्यटकले धान्दैन ।’ उनले भारतीय पर्यटकका लागि धार्मिक, प्राकृतिक र सांस्कृतिक हिसाबले पोखरा रोजाइमा परे पनि सडक पूर्वाधारको नाजुक अवस्था, हवाई असुविधाका कारण उल्लेख्य मात्रमा भारतीय पर्यटक भित्र्याउन नसकिएको बताए । पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो गत अगस्तमा ६७ हजार एक सय ५३ पर्यटक हवाई मार्गबाट आएको देखिन्छ । तीमध्ये भारतबाट आउने २६ हजार छ सय ६५ छ । अध्ययनअनुसार गण्डकीमा सात सय पर्यटकस्तरका होटल, पर्यटन क्षेत्रमा पाँच खर्ब रुपैयाँ बढीको लगानी रहेको उनले जानकारी दिए । रासस
लगानीकर्ता सप्ताह : ग्लोबल आइएमई क्यापिटलद्वारा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम
काठमाडौं । धितोपत्र नियमननियकायहरुको अन्तरर्राष्ट्रिय संगठनको आह्वानमा लगानीकर्ता सप्ताहको अवसरमा असोज १५ गतेदेखि असोज २१ गतेसम्म साताब्यापी विविध कार्यक्रमहरु आयोजना गरी मनाइने भएको छ । साताब्यापी उक्त कार्यक्रम मार्फत धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई लगानी शिक्षा, सचेतना, बजार विकास तथा सुधारका पक्ष लगायतका बारेमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी तिनको सशक्तिकरण गर्ने उद्देश्य लिइएको छ । योजना अनुसार नेपाल धितोपत्र वोर्ड तथा नेपाल मर्चेन्ट बैंकर्स संघको समन्वयमा ग्लोबल आइएमई क्यापिटलद्वारा धवलागिरि बहुमुखी क्याम्पस, बाग्लुङमा शुक्रबार लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक दिपेश ताम्राकार, ग्लोबल आइएमई क्यापिटल लि.का अध्यक्ष प्रेम राज जोशी, धवलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. राम प्रसाद उपाध्याय, ब्यवस्थापन संकायका विभागिय प्रमुख ध्रुव राज गौतम, ग्लोबल आइएमई बैंक लि. बागलुङका शाखा प्रबन्धक हेमराज शर्मा, क्याम्पसका प्राध्यापकहरु, क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा सरोकारवाला निकायको उलेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण ग्लोबल आइएमई क्यापिटलका सहायक प्रबन्धक छविलाल शर्मा पौडेल र अनुसन्धान विभागका अनिल हुमागाईंले गरेका थिए । छलफलमा उठेका प्रश्नहरुमा सवाल जवाफ नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक दिपेश ताम्राकारले गरेका थिए । कार्यक्रम ग्लोबल आइएमई क्यापिटल लि.का अध्यक्ष प्रेमराज जोशीको अध्यक्षता, धवलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उपाध्यायको प्रमुख आतिथ्यता एबं ग्लोबल आइएमई क्यापिटलका सहायक प्रबन्धक छविलाल शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । विश्व लगानीकर्ता सप्ताह सञ्चालनबाट धितोपत्र तथा बस्तु विनिमय बजार सम्बन्धी सूचना, गतिविधि तथा महत्वका बारेमा नयाँ लगानीकर्तालाई अवसर प्रदान गर्न तथा पुराना अनुभवी लगानीकर्तालाई थप प्रोत्साहन गर्नको लागि बागलुङमा गरिएको उक्त कार्यक्रमले पूँजीबजारको चेतनालाई थप अभिबृद्धि हुन पुग्ने विश्वास गरिएको छ ।
मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको विशेष अभियान सुरु हुँदै
काठमाडौं । ‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले यही असोज २७ देखि आगामी मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गर्ने भएको छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरुको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै दसैँ, तिहार, छठजस्ता पर्वहरु मनाउने गरी सो अभियान सञ्चालन गर्न लागिएको हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पूर्व–पश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बागमती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी अभियान सञ्चालन गर्न लागिएको मानव सेवा आश्रम केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । विगत वर्षहरुमा पुस/माघको जाडो याममा सञ्चालन गरिने गरेको यस किसिमको अभियान यसपटक नेपालीको मुख्य चाडहरुलाई लक्षित गरी सञ्चालन गर्न लागिएको उनले बताए । उनका अनुसार यस अभियानमा करिब तीन सय जनाको उद्धार गरिनेछ । यसपटक यस अभियानलाई अझ प्रभावकारी बनाउन वरिष्ठ समाजसेवी एवं आनी छोइङ डोल्मा फाउण्डेशनकी अध्यक्ष आनी छोइङ डोल्मा पनि सहभागी हुनेछिन् र अभियानमा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन पनि उनले नै गर्न लागेकी छन् । मानव सेवाभन्दा अर्को महान धर्म केही नभएकाले आफू पनि यस अभियानमा जोडिएको समाजसेवी आनी छोइङले बताइन् । उनले भनिन्– ‘मानिसका गलत सोच, व्यवहारलाई सुधार गर्नु पनि समाजसेवा नै हो । सकारात्मक सन्देश दिन र राम्रो कामको देखासिकी गराउन यस्ता अभियानहरु सार्थक रहनेछन् ।’ मानव सेवा आश्रमका देशका सातै प्रदेशका १९ जिल्लामा २४ वटा सेवा केन्द्रहरु रहेका छन् । ती केन्द्रहरुबाट हालसम्म आठ हजारभन्दा बढीको उद्धार गरिएको छ र हाल १६ सय जना संरक्षणमा रहेका छन् । तीमध्ये करिब सय बालबालिका छन् भने एक हजार मानसिक समस्या भएका व्यक्ति छन् । रासस
ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा बज्राचार्य
पाटन । उद्योग व्यवसायीहरूको संस्था ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा विश्वराज बज्राचार्य निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनले ६ सय ४६ मत प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षमा सुशन महर्जन, उपाध्यक्षमा आपुलाल अवाले (उद्योग समूह )र उपाध्यक्षमा सुनिल शाक्य (वाणिज्य समूह)र मेशसिंह महर्जन (संस्थागततर्फ ) विजयी भएका थिए । महासचिव र कोषाध्यक्ष पदमा क्रमशः भूमिनन्द कर्माचार्य र राजु महर्जन निर्वाचित भएका थिए। हरेक तीन वर्षमा सङ्घको नेतृत्व परिवर्तन हुने व्यवस्था रहेको निवर्तमान अध्यक्ष मनोजबहादुर न्याछ्योले जानकारी गराए । निर्माण व्यवसायी सङ्घको अध्यक्षमा महर्जन ललितपुरका निर्माण व्यवसायीको संस्था निर्माण व्यवसायी सङ्घ ललितपुरको अध्यक्ष पदमा पञ्चराम महर्जन निर्विरोध निर्वाचित भएका थिए । सङ्घको १४औँ साधारणसभा तथा सातौँ अधिवेशनले महर्जनसहित १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन समेत गरेको छ । सङ्घको वरिष्ठ उपाध्यक्ष भगिरथ तिमल्सिना, प्रथम उपाध्यक्ष अमर शाक्य, द्वितीय उपाध्यक्ष मोहनकृष्ण बस्नेत, सचिव दिनेश श्रेष्ठ, सहसचिव हरिघर श्रेष्ठ, कोषाध्यक्ष गोकुल खड्का र सहकोषाध्यक्षमा श्यामकुमार गिरी निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै कार्यसमिति जनजाति सदस्यमा कृष्णकुमार महर्जन, महिला सदस्यमा मीना भण्डारी, दलित सदस्यमा भवनाथ दुदराज र खुला सदस्यमा पुस्कर श्रेष्ठ, विश्वास श्रेष्ठ, जितेन्द्र देशार, राजु महर्जन, जगतबहादुर लो, श्यामज्योति बोहोरा, दोलराज अधिकारी, कविन्द्रकुमार लामा निर्विरोध निर्वाचित भएका थिए । सङ्घको निर्वाचन अधिकृत विदुरबहादुर घिमिरेका अनुसार पदाधिकारीमा आठ र सदस्यमा ११ गरी १९ जनाको मात्रै उम्मेदवारी परेको थियो । १९ जनाले मात्रै उम्मेदवारी दर्ता गराएपछि अरु कसैको पनि दाबीविरोध नपरेको हुँदा उनीहरू निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए।
५ बैंकसहित ४१ कम्पनीको घोषणा लाभांश, अधिकतम् २५६ प्रतिशतसम्म
काठमाडौं । चालु आर्थिक वर्षमा लाभांश घोषणा गर्ने कम्पनीको संख्या ४१ पुगेको छ । पूँजी बजारसँग सम्बन्धित विभिन्न ४१ वटा कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लाभांश घोषणा गर्नेमा ५ वटा वाणिज्य बैंकसहित लघुवित्त संस्था, जलविद्युत कम्पनी, होटल कम्पनी, म्यूचुअल फण्ड, मर्चेन्ट बैंक र ब्रोकर कम्पनी रहेका छन् । माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, सिटिजन्स बैंक,आरएसडिसी लघुवित्त, युनिक लघुवित्त वित्तीय संस्था, ओरियन्टल होटल र सानिमा माइ हाइड्रोपावर लगायतका कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गरेको हो । त्यस्तै, एभरेष्ट बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, सानिमा बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७९/८० नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । त्यस्तै, युनिक लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, ओरियन्टल होटलले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, सानिमा माइ हाइड्रोपावरले चुक्ता पूँजीँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । १७ म्युचुअल फण्ड नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृतमध्ये हालसम्म १७ वटा म्युचुअल फण्डले मात्रै गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । सानिमा इक्विटी फण्डले १८ प्रतिशत, सनराइज फष्र्ट म्युचुअल फण्डले १६ प्रतिशत, एनएमबि हाईब्रिड फण्ड एल–१ले १५ प्रतिशत, एनएमबि फिफ्टीले १५ प्रतिशत, एनआईसी एशिया डाइनामिक डेब्ट फण्डले १० प्रतिशत, कुमारी इक्विटी फण्डले १० प्रतिशत र नबिल ब्यालन्स्ड फण्ड २ ले ९.६ प्रतिशत प्रतिफल वितरण गरेका हुन् । त्यस्तै, लक्ष्मी उन्नति कोषले ९.५ प्रतिशत, प्रभु सेलेक्ट फण्डले ९.५ प्रतिशत, लक्ष्मी इक्विटीले ८ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २ ले ८ प्रतिशत, एनआईबिएल प्रगति फण्डले ६.८ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ले ६.५ प्रतिशत प्रतिफल वितरण गरेका हुन् । कुमारी धनवृद्धि योजनाले ६ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ले ५ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले ५ प्रतिशत र एनआईबिएल सहभागित फण्ड ४ प्रतिशत प्रतिफल वितरण गरेका हुन् । १० मर्चेन्ट बैंक हालसम्म १० वटा मर्चेन्ट बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । ज्योति, सनराइज, एनआईसी एशिया, सिटिजन्स, प्रभु, सिद्धार्थ, लक्ष्मी, सानिमा, कुमारी क्यापिटल र आरविवि मर्चेन्ट बैंकिङ्गले गत वर्षको नाफाबाट लाभांश पनि बाँड्ने प्रस्ताव गरेका हुन् । एनआईसी एशिया क्यापिटलले ४६ प्रतिशत अर्थात् ९ करोड २० लाख रुपैयाँ, सिद्धार्थ क्यापिटलले २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ सानिमा क्यापिटलले १५ प्रतिशत अर्थात् ३ करोड ७५ लाख रूपैयाँ, कुमारी क्यापिटलले १५ प्रतिशत अर्थात् ६ करोड रूपैयाँ, सिटिजन्स क्यापिटलले १२ प्रतिशत अर्थात् २ करोड ४० लाख रुपैयाँ र ज्योति क्यापिटलले १०.२६३ प्रतिशत अर्थात् २ करोड २१ लाख ५ हजार २३० रुपैयाँ नगद लाभांश वितरण गरेका हुन् । त्यस्तै, सनराइज क्यापिटलले ३० प्रतिशत, प्रभु क्यापिटलले ६.३१५८ प्रतिशत, आरविवि मर्चेन्ट बैंकिङ्गले १३.१६ प्रतिशत र लक्ष्मी क्यापिटल मार्केटले ३ करोड ८२ लाख ६ हजार ८०० रूपैयाँ ९७ पैसा बराबरको नगद लाभांश वितरण गरेका हुन् । ३ ब्रोकर कम्पनी हाल सञ्चालनमा रहेका ब्रोकर कम्पनीहरुमध्ये विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार आकाशभैरव सेक्युरिटिज, सानिमा सेक्युरिटिज र नासा सेक्युरिटिजले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । नासा सेक्युरिटिज हाल कायम चुक्ता पूँजी ११ लाख ५० हजार रुपैयाँको २४३.२० प्रतिशत बोनस सेयर र १२.८० प्रतिशत नगद गरी कूल २५६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, आकाशभैरव सेक्युरिटिजले ३.५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.१८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, सानिमा सेक्युरिटिजले हाल कायम चुक्ता पूँजीको कर सहित २.५ प्रतिशतले हुन आउने ५० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, इक्रा नेपालले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको सेयरधनीलाई ५९.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, नेशनल फण्ड म्यानेजमेन्टले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
दुई जहाज चार्टर्ड गरेर भारतीय पर्यटकले गरे माउन्टेन फ्लाईट
काठमाडौं । पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रने क्रम बढ्दो छ । तिर्थयात्रीका रुपमा नेपाला आउने गरेका भारतीय पर्यटक जहाज नै चार्टर्ड गरेर माउन्टेन उडानमा गएका छन् । निजी क्षेत्रको लगानीमा सञ्चालित यती एयरका दुई जहाज चढेर शनिबार ८० जनाभन्दा बढी भारतीय पर्यटक माउन्टेन फ्लाईटमा गएका हुन् । यति एअरलाईन्सका दुई एटिआर ७२ विमान चार्टर्ड गरेर माउन्टेन फ्लाईट मार्फत नेपालका विभिन्न हिमश्रृखंलाको अबलोकन भ्रमण गरेका भारतीय पर्यटक एकप्स सिस्टम ईण्डियाका संस्थापक तथा पार्टनरहरु रहेका एयरलाइन्सले जनाएको छ । काठमाडौंको हायात होटलमा तिन दिने कर्पोरेट कन्फ्रेन्समा सहभागि हुन भारत तथा युएईमा रहेको एकप्सको कार्यालयबाट आएका भारतीय नागरीकहरुले माउण्टेन फ्लाईटको अनुभव लिएका हुन् । चार्टर अपरेसनको जिम्मा लिएको सस्तो टिकटस् डट कमका एकाउण्ट म्यानेजर मनिस महर्जनले एकै कम्पनीको अगुवाईमा २ वटा जहाज चार्टर्ड गरेर माउन्टेन फ्लाईट पहिलो पटक भएको दाबी गरे । उनले उक्त उडानबाट नेपालको पर्यटकीय संभवना असिमित भएको प्रमाणित भएको बताए ।
आरएसडिसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको असोज १९ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई ९.०५२६ प्रतिशतल लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९÷८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँ रहेको छ । लघुवित्तले ७ करोड ४७ लाख ८२ हजार ८६५.२२ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ३९ लाख ३५ हजार ९४०.२७ रुपैयाँ गरी कूल ७ करोड ८७ लाख १८ हजार ८०५.४९ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्ने छन् ।
चाडपर्वमा लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट
बुटबल । लुम्बिनी केबलकारले नेपालीहरूको महान चाड दशैं, तिहार, नेपाल संवत र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ । आइतबारदेखि लागू भएको यो अफरमा साविक टिकट दरमा शनिबारबाहेक अन्य दिनहरूमा ४० प्रतिशत छुट दिइएको हाे । यो अफरअनुसार अब शनिबारबाहेक अन्य दिनहरूको टिकट दर ४५० रुपैयाँ मात्र कायम भएको छ। चाडपर्वकाे अवसरमा आमसर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए । टिकट दरमा छुटसँगै कम्पनीले केबलकारको टप स्टेसनमा रहेको रेष्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट पनि दिने अपरेसन म्यानेजर सैंजूले बताए । चाडपर्वमा आमसर्वसाधारण परिवारसहित केबलकार चढ्न र देवी मन्दिर दर्शन गर्न सहज होस् भनेर ल्याइएको यो अफर यसअघिको मर्निङ अफर जस्तै सफल हुने कम्पनीले विश्वास लिएको छ । आइएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो । बुटवलको बमघाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुरमा टप स्टेसन रहेको २.६ किलोमिटर दुरीको केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्ष पुरानो दुर्गा भगवती मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ। टप स्टेसनमा कम्पनीले ४० लाख लागतमा जीप लाइन सञ्चालनमा ल्याइसकेको छ भने छिट्टै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ, विद्युतीय पिङ र बाल उद्यान बनाउँदै छ । कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न सहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने गरेका छन् । केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिने गरी सम्झौता भएको छ। उक्त रकम दुई पालिकाले ५०-५० प्रतिशतका दरले बाँडफाँड गर्ने गरी सम्झौता भएको हाे । टप स्टेसनमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनोसहित पाँच तारे होटेल बनाउने तयारी गरिएकाे छ ।