काठमाडौं । एक साताअघिसम्म काठमाडौं–धनगढी रुटको हवाइ भाडादर साढे ७ हजार रुपैयाँ हाराहारी थियो । काठमाडौंबाट धनगढी जाने यात्रुहरुले सहजै रुपमा टिकट काटेर धनगढी जान पाउँथे । तर, अहिले धनगढी जानका लागि यात्रुहरुले अधिकतम् १७ हजार १८६ रुपैयाँ भाडा तिर्नु पर्ने देखिन्छ । यसअघि सो रुटको न्यूनतम न्यूनतम् भाडा ७ हजार रुपैयाँदेखि उच्चतम ११ हजार रुपैयाँसम्म थियो । एक साताको बीचमा धनगढी रुटको भाडा १० हजारले बढेको छ ।
यस्तै, यसअघि ६ हजारको हाराहारीमा पर्ने सुर्खेतको हवाइ भाडा अहिले १४ हजार १६८ रुपैयाँ, सोही हाराहारीमा पर्ने नेपालगञ्जको भाडा पनि १३ हजार ३९४ रुपैयाँ कायम भएको छ । काठमाडौंदेखि भद्रपुर पुग्न यसअघि चार हजार हारहारी लाग्नेमा अहिले बढाएर अधिकतम् १२ हजार ३८३ रुपैयाँ कायम गरिएको छ । एक सातामै यो किसिमको महँगीले यात्रुलाई आश्चर्य बनाएको छ । वायुसेवा कम्पनीहरुले हाल उडान हुँदै आएका सबै गन्तव्यको भाडादर उपर रेटमा राखेका छन् ।
चाडपर्व सुरु हुन लागेसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा अचाक्ली रुपमा बढाउन थालेका हुन् । यसअघि न्यूनतम फेयरमा उडान गर्दै आएका वायुसेवा कम्पनीले चाडपर्व सुरु भएसँगै उच्चतम फेयरमा टिकट बिक्री गर्न थालेको देखिन्छ । कतिपय ठाउँको हवाइ भाडा शतप्रतिशत बढेको देखिन्छ ।
बुद्ध एयरका सूचना अधिकारी दिपेन्द् कर्णले सुरुमा टिकट बुकिङ गर्नेहरुले बुकिङ गर्दा महँगो टिकट मात्रै बाँकी रहेको बताए । ‘जति पहिला टिकट काट्यो त्यति सस्तो पर्ने हो, दशैंका लागि डेढ महिनादेखि बुकिङ भएको थियोे, सुरुमा टिकट बुक गर्नेले सस्तोमा बुक गर्दा अहिले मंहगो टिकट मात्र बाँकी रहेको हो’, उनले भने ।
उनले दशैंमा काठमाडौंबाट सम्बन्धित गन्तव्यमा जानेहरु बढ्ने र उताबाट फर्कदा जहाज लगभग खाली नै फर्कनुपर्दा उच्च मूल्यका टिकटहरु राखिएको जानकारी दिए । ‘अहिले काठमाडौंबाट बाहिर जानेको भीड छ, उताबाट जहाज खाली जस्तै फर्कनु पर्छ, प्राधिकरणले दिएको भाडादरभित्र बसेर हामीले मर्का नपर्नेगरी भाडादर तय गरेका हौं,’ उनले भने ।
उसो त कतिपय ठाउँको अहिले टिकट नै पाइँदैन । वायुसेवा कम्पनीले महँगो मूल्यमा टिकट बिक्री गरिरहेतापनि तुम्लिङटारको भने टिकक बुकिङ भैसकेको देखिन्छ । डेढ महिनादेखि नै उक्त रुटको टिकट काटिएको भन्दै अहिलेका लागि टिकट नै बन्द भएको वायुसेवा कम्पनीहरुले बताउने गरेका छन् ।
बुद्ध एयरले उक्त रुटको टिकट सकिएको बताएको छ । कर्ण डेढ महिनादेखि उक्त रुटका लागि टिकट बुकिङ भएको भन्दै अहिले तोकिएका सबै टिकट सकिएको बताउँछन् ।
उनले सुर्खेतका लागि समेत टिकट सकिएको जानकारी दिए । ‘अहिले तुम्लिङटार र सुर्खेतका सबै टिकट बुकिङ भैसक्यो, हामीले उडान गर्ने गरेका यी बाहेक अन्य सबै गन्तव्यका ९० प्रतिशत हाराहारिमा बुकिङ भैसकेको छ’, उनले भने ।
उनले उक्त रुटमा अग्रिम टिकट बुकिङ गरेका यात्रुले टिकट रद्द गरे मात्र बुकिङ गर्न पाइने बताए । बुद्धले हाल १६ वडा एटिआर जहाजमार्फत् दैनिक दुईतर्फी गरी एक सय ५० उडान गरिरहेको छ । उनले बुद्धले मात्र दैनिक १० हजार हाराहारीमा यात्रुलाई सेवा उपलब्ध गराएको भन्दै यात्रुको माग अनुसार उडान थप गर्न सकिने जानकारी दिए ।
‘हामीले दैनिक डेढ सय उडान मार्फत १० हजार यात्रुलाई सेवा उपलब्ध गराउँदै आएका छौँ, दशैंका लागि थप उडानको माग आयो भने हामीले नेपाल नागरिक उडड्यन प्राधिकरणबाट अनुमति लिएर थप उडान गर्न सक्छौं । तर, अहिले नै थप उडान गर्छौं भनिहाल्ने अवस्था छैन’, उनले भने ।
महँगो भाडा नलिन प्राधिकरणको निर्देशन
नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले वायुसेवा कम्पनीलाई महँगो भाडा नलिन निर्देशन नै दिएको छ । गत साता सबै वायुसेवा कम्पनीका सञ्चाललाई नै बोलाएर प्राधिकरणले सन्तुलित रुपमा भाडादर लागू गर्न निर्देशन दिएको थियो ।
प्राधिकरणले चाडपर्वको समयमा सन्तुलित भाडा लिन वायुसेवा कम्पनीका सञ्चालकलाई निर्देशन दिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । ‘वायुसेवा कम्पनीलाई प्राधिकरणले न्यूनतमदेखि उच्चतम रेट तोकेर भाडादर दिएको हुन्छ, हामीले दिएको भाडादर भन्दा महँगोमा टिकट बिक्री गर्न पाइँदैन, महँगो नराखेपनि अहिले अधिकांश वायुसेवा कम्पनीले उच्च भाडादर तोकेको पाइएको छ’, उनले भने ।
उनले एक साताअघिसम्म न्यूनतम ७ हजार रुपैयाँ रहेको रुटमा एक्कासी १७ हजार भाडादर तोकिँदा यात्रुुलाई समस्या भएको बताए । ‘यस विषयमा हामीले थप अध्ययन गरिरहेका छौँ, सन्तुलित रुपमा भाडादर लिन हामी पुनः निर्देशन गर्छौ’, उनले भने ।
आन्तरिक उडानका बुध्द एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एयरको अग्रिम बुकिङ धमाधम भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अहिले आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० र अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक उडानतर्फ अहिले दैनिक तीन सय हाराहारी दुई तर्फी उडानमार्फत् झन्डै १५ हजार यात्रु आवतजावत गरिरहेका छन् ।