आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच निर्जीवन बीमा सम्बन्धि सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच निर्जीवन बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका मुख्य प्रबन्धक शिव प्रसाद लामिछाने र नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात नीलकण्ठ नगरपालिकामा रहेका सम्पूर्णले आफ्नो पशुपन्छी तथा वालिनालीको बीमा ढुक्कसँग आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् । नगरबासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने प्रतिवद्धता सहित धादिङ जिल्लामा नै नमूना नगरपालिकाको रुपमा रहेको छ । सोही अवसरमा प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले आफूले आफ्ना नगरवासी कृषक दाजुभाई तथा दिदी बहिनीहरुको पशुपन्छी, बालिनालीको बीमा पश्चात कुनै कृषक दाजुभाई तथा दिदी बहिनीको बीमा गरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले इन्स्योरेन्सँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले आफ्नो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशुपन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन बढाउन अनुरोध गरे । साथै, यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीहरुलाई सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाले आफ्ना नगरवासी लगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा, झलनाथ खनाल प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोप
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री विजयकुमारसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्द मुद्दा दायर गरेको हो । उनीहरुले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आयोगले बताएको छ । अख्तियारका अनुसार आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले आफूलाई नभएको अधिकार प्रयोय गरी कानुनविपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनीयतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेका छन् । त्यस्तै, अख्तियारले तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, हालको राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अध्यक्ष पन्तले प्रचलित कानुनविपरीत लागत साझेदारी शुन्य रहेको प्रतिष्ठानको नाममा सरकारी रकम प्राप्त हुने साझेदारीमा हस्ताक्षर गरी १७ करोड ९८ लाख ३३ हजार निकासा लिएको र अरुले सञ्चालक समितिको बैठकबाट कानुनविपरीत निर्णय गरी सरकारी रकम संस्थाको उद्देश्य र स्वीकृत कार्यक्रम विपरीत खर्च गरेको अख्तियारले बताएको छ । अख्तियारले आइतबार मात्रै विशेष अदालत, काठमाडौंमा उक्त मुद्दा दायर गरेको हो । जसमा उनीहरुबाट १७ करोड ९८ लाख रुपैयाँ असुल उपर गर्न र भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको माग समेत गरिएको छ । यादव तत्कालीन मन्त्री भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ अनुसार थप कैद सजाय समेत मागदाबी गरिएको छ । सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि प्रदेश सरकारको आर्थिक वर्ष २०७६र०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपूरक अनुदानका रुपमा प्राप्त रकमसहितको बजेट छुट्याइएको थियो ।
२ अर्ब १५ करोडमा पैदलमार्ग सुधार गर्दै महानगरपालिका
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १५ करोड लागतमा पैदलमार्गको मर्मत तथा सुधार गरेका छन् । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता भइ काम सुरु पनि भइसकेको महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक सुरेशकुमार राईको भनाइ छ । हाल महानगर क्षेत्रभित्र करिब एक हजार तीन सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये आठ मिटरभन्दा कम चौडाइ भएका एक हजार किलोमिटर सडक महानगरको स्वामित्वमा छ । महानगरका अनुसार हाल वडा नं २६ लैनचौरबाट वडा नं १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ रु चार करोड ५५ लाखमा काम भइरहेको छ । वडा नं २६ लैनचौरबाट वडा नं २ को लाजिम्पाट, वडा नं ३ को महाराजगञ्ज हुँदै चक्रपथसम्मको खण्डका लागि १० करोडमा सम्झौता भइसकेको छ । साथै वडा नं २८ को प्रदर्शनीमार्गमा काम सुरु भइसकेको छ । यसको लागत रु तीन करोड ७८ लाख रहेको छ । वडा नं ११ को त्रिपुरेश्वरदेखि वडा नं २२ सुन्धारा, वडा नं २७ र २८ को सिमाना महाबौद्ध, रत्नपार्क, जमलहुँदै वडा नं २६ को लैनचौरसम्मको सडक खण्डका लागि निर्माण पक्षसँग १८ करोडमा सम्झौता भइसकेको छ निर्देशक राईले जानकारी दिए । महानगरको वडा नं ४ को बालुवाटार सडक खण्डमा निर्माणका लागि रु छ करोड ३५ लाखमा सम्झौता भएको छ । वडा नं ३२ को तीनकुनेदेखि वडा नं ९ सिनामङ्गल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगङ्गाहुँदै वडा नं ८ को गौशालासम्मका लागि छ करोड ६९ लाखमा सम्झौता भएको छ । त्यसैगरी वडा नं १० नयाँबानेश्वरदेखि वडा नं ९ पुरानो बानेश्वरसम्मका लागि तीन करोड २३ लाख बजेट बिनियोजन गरिएको छ । वडा नंं २८ को बागबजारदेखि वडा नं २९ चारखाल, वडा नं ३० को सिमाना डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, वडा नं ९ को पुरानो बानेश्वर, वडा नं ३१ को भीमसेनगोलाहुँदै वडा नं ९ को सिनामङ्गल सडक खण्डका लागि १० करोड बजेट छुट्याइएको छ । साथै वडा नंं १३ को कालीमाटीदेखि सोल्टीमोडहुँदै वडा नं १४ को कलंकीसम्म, वडा नं ८ को गौशालादेखि वडा नं ७ को चावहिलसम्म, वडा नं ८ गौशालादेखि वडा नं ९ रातो पुलसम्मको सडक खण्डलाई १० करोड खर्च हुने अनुमान गरिएको छ । अन्य केही सडकका पनि कतै सम्झौता अन्तिम चरणमा पुगेको छ भने कतै काम सुरु भइसकेको विभागले जानकारी दिएको छ । चालु आवमा महानगरले पूर्वाधार निर्माण तथा सुधारका लागि सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार बजेट विनियोजन गरेको छ ।
इजरायलका नेपालीबारे गृहमन्त्रीको गम्भीर चासो
काठमाडौं । उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबी शनिबार बिहानदेखि जारी लडाइँका कारण इजरायलमा रहेका नेपालीहरू समेत पीडामा परेको अवस्थाबारे गम्भीर चासो लिएका छन् । उनले आइतवार इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदूत हनान गदरलाई सम्पर्क गरी लडाइँमा फसेका नेपालीको अवस्था र उद्दारबारे जानकारी लिएका हुन् । गाजा क्षेत्रमा केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै उनले उनीहरू र इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे चासो लिएका हुन् । नेपाली राजदुत रिजालले घाइते एवम् युद्धक्षेत्रमा फसेका नेपालीको विवरण लिने तथा उपचार र उद्दारको पहल गर्ने काम भैरहेको बताएका छन् । त्यस्तै इजरायली राजदूत गदरले नेपालीलाई युद्धको प्रभाव पर्न नदिन गम्भीर सचेतता अपनाइने बताएका छन् । रासस
दुई दिने स्टार्टअप तथा आईडिया फेस्ट सम्पन्न
काठमाडौं । काठमाडौंमा शुक्रबार र शनिबार आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्प सम्पन्न भएको छ । थापागाउँस्थित बानेश्वर बैंक्वटमा सञ्चालन भएको दुई दिने फेस्ट अवलोकनकर्ताको उत्साहजनक सहभागीता रहेको जनाइएको छ । लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा भएको फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागीता रहेको थियो । फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो । प्रदर्शनीमा नेपाली युवाले तयार पारेका एआई, ब्लकचेन, मेसिन लर्निङ, ईभी, सफ्टवेयर तथा हार्डवेयर सोलुसन लगायतका स्टार्टअप इन्नोभेसन र आईडिया राखिएको थियो । कार्यक्रमको मुख्य आकर्षणको रूपमा नयाँ नयाँ आईडिया, इन्नोभेसन तथा प्रडक्टको प्रदर्शनी, आईडिया पिचिङ, एष्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर तथा गेम रहेका थिए । फेस्टमा सातै प्रदेशका ३० बढी स्टार्टअपका साथै आईसीटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, १३ विद्यार्थी इन्नोभेसन र १४ प्रडक्टहरूले समेत फेस्टमा आफ्ना आईडिया र प्रडक्टहरु प्रदर्शनीमा रहेका थिए । कार्यक्रममा स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रीडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राखेको थियो । कार्यक्रममा अवलोकनकर्ताले आईसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १४ प्रडक्ट र १३ राइजिङ स्टार इन्नोभेसनलाई भोट गर्न सकिने व्यवस्था गरिएको थियो । कार्यक्रमको अन्तिम दिन सहभागी भएका सातै प्रदेशका स्टार्टअप, एक्जिबिटर, मेन्टर, आइसिटी अवार्डका उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टलाई सहभागीताको सम्मानपत्र समेत वितरण गरिएको थियो । नेपालको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणमा यस पटक विभिन्न १३ विधामा ५०० बढीको नोमिनेसन प्राप्त भएको थियो । हाल आईसीटी अवार्ड २०२३ को नोमिनेसन र छनौट प्रक्रिया सञ्चालनमा रहेको छ । यस पटक आईसिटी अवार्डको ग्रान्ड फिनालेमा सातै प्रदेशका उत्कृष्ट एक-एक स्टार्टअपलाई प्रोभिन्सियल रिकग्निसन आइसिटी अवार्ड समेत प्रदान गरिने छ । आईसीटी अवार्डको ग्राण्ड फिनाले आगामी पुस ६ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । स्टार्टअप एण्ड आइडिया फेस्ट र स्टिम क्याम्पसँगै अवार्डका लागि दर्जनौँ प्रि–इभेन्ट सञ्चालन हुनेछन् ।
विज्ञापन गर्दा पनि आउँदैनन् मेडिकल अफिसर
तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतका लागि दुई पटक विज्ञापन गर्दा पनि कुनै आवेदन परेन । करारमा मेडिकल अधिकृत नियुक्ति गर्नका लागि आवेदन आह्वान गर्दा पनि कुनै आवेदन नपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले बताए । चार जनाका लागि विज्ञापन गर्दा पनि आवेदन नपर्दा अहिले विद्यमान सीमित चिकित्सकले सेवा दिनुपरेको उनको भनाइ थियो। पचास शै्याको उक्त अस्पतालमा एकसय ५० जनाका लागि सेवा सञ्चालन हुँदै आएकामा अब दुई सय शै्या बनाउनका लागि प्रदेश सरकारले कसरत थालेको छ । डायोलाइसिस तथा प्रसुतिलगायत सेवामा अझै पनि जनशक्ति अभाव छ । जनशक्ति अभावकै कारण आईसियु सेवा सञ्चालन गर्न सकिएको छैन । आईसियुका लागि करिब थप १० बेड चाहिन्छ । यसैगरी छ मेडिकल अधिकृत, १९ नर्सिङ, छ कार्यालय सहयोगी पनि चाहिने निमित्त मेसु अधिकारीले बताए । उपकरण भएपनि जनशक्ति अभाबकै कारण उक्त सेवा सञ्चालन गर्न नसकिएको उनको गुनासो थियोे ।दैनिक एक सय बिरामीलाई धान्न सक्ने मात्रै जनशिक्ति हुँदा पनि दैनिक छ सय बिरामी आउने गरेका उक्त अस्पतालमा हाल कन्सलटेन्ट १४, मेडिकल अफिसर २५, स्टाफ नर्स ६८ जना कार्यरत छन् । प्रदेशअन्तर्गत रहेकाले यो अस्पताललाई आगामी मन्त्रीपरिषद्को बैठकबाट दुईसय शै्यामा पुर्याउन प्रयास भइरहेको प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए । रासस
मेटलाइफ फाउन्डेशनद्वारा अमेरिकी डलर १ अर्बभन्दा बढीको अनुदान
काठमाडौं । मेटलाइफ फाउन्डेशनले अमेरिकी डलर १ अर्ब भन्दा बढी सहयोग गरेको घोषणा गरेको छ । यस फाउन्डेशन मेट्रोपोलिटन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ)को एक स्वतन्त्र परोपकारी शाखाको रूपमा स्थापित भएको थियो, र यसको स्थापना पछि, मेटलाइफको उपस्थिति रहेको समुदायहरूलाई बलियो बनाउन यसले महत्त्वपूर्ण योगदान गरेको छ । आज, मेटलाइफ फाउन्डेशनले समावेशी आर्थिक गतिशीलता चलाउन र विश्वभरका अल्पसंख्यक र कम प्रतिनिधित्व भएका समुदायहरूको आवश्यकतालाई सम्बोधन गर्नमा केन्द्रित छ । मेटलाइफ फाउन्डेशनको कामले व्यक्ति र परिवारको आर्थिक स्वास्थ्य र कल्याणमा सुधार गर्न जारी राख्छ, जसले समाज र समुदायका लागि सकारात्मक प्रभावहरू सिर्जना गर्दछ । ‘परिवार, व्यवसाय र समुदायहरूलाई समर्थन र संरक्षण गर्नु सधैं हाम्रो रणनीतिको केन्द्रबिन्दु रहेको छ, र मेटलाइफ फाउन्डेशनले हामीलाई हाम्रो उद्देश्य पूरा गर्न मद्दत गर्छ, मेटलाइफका अध्यक्ष र सीईओ’, मिशेल खलफले भने। ‘हामीले यो ऐतिहासिक उपलब्धि मनाउँदै गर्दा, हामी हाम्रा सबै सरोकारवालाहरूलाई थप विश्वस्त भविष्य निर्माण गर्न मद्दत गर्न जारी राख्ने हाम्रो प्रतिबद्धतालाई कायम गर्दछौं ।’ यसको स्थापनादेखि नै, मेटलाइफ फाउन्डेशनले आफ्नो मिशनको समर्थनमा अनुदान प्रदान गर्न र कार्यक्रमहरू सिर्जना गर्न गैर–नाफामुखी संस्थाहरूसँग प्रतिबद्धताहरू स्थापना गरेको छ । तिनीहरूमध्ये उल्लेखनीय यी हुन्ः -२००५ मा, मेटलाइफ फाउन्डेशनले आफ्नो अनुदान निर्माणलाई अमेरिका बाहिर विस्तार गर्यो, र विश्वभरका न्यून आय भएका समुदायहरूमा वित्तीय समावेशीकरण ल्याउन विश्वव्यापी अभियानमा अमेरिकी डलर २०० मिलियन प्रतिबद्ध गर्यो । -मेटलाइफ फाउन्डेशनले सेप्टेम्बर ११ को हमला, तोहोकु भूकम्प र जापानको सुनामी, कोभिड–१९, लगायतका विश्वव्यापी संकटहरूमा प्रतिक्रिया दिनमा केन्द्रित छ । -वर्षौंदेखि, मेटलाइफ फाउन्डेशनले किफायती आवासमा पहुँचलाई समर्थन गर्न अनुदान उपलब्ध गराएको छ र ह्याबिटेट फर ह्युमयानिटी जस्ता संस्थाहरूसँग साझेदारी गरेको छ, जससँग फाउन्डेसनले संयुक्त राज्य अमेरिका, कोरिया, भारत र बंगलादेश लगायत १३ देशहरूमा काम गर्दछ । -मेटलाइफ र मेटलाइफ फाउन्डेशनले एचबीसीयु जाने विद्यार्थीहरूलाई सहयोग गर्न लगभग ८० वर्ष युनाइटेड नेग्रो कलेज फण्डसँग गर्वका साथ साझेदारी गरेको छ । -मेटलाइफको २०३० विविधता, समानता, र समावेशी प्रतिबद्धताहरूमा मेटलाइफ फाउन्डेशनले सेवा नपुगेका र कम प्रतिनिधित्व नभएका समुदायहरूलाई सहयोग गर्न अमेरिकी डलर १५० मिलियन कोष प्रदान गर्ने वाचा समावेश गर्दछ । २०२१ देखि, अमेरिकी डलर ६०।९ मिलियन आम्दानी र सम्पत्तिको अन्तरलाई बन्द गर्न मद्दतको लागि प्रदान गरिएको छ । -मेटलाइफ फाउन्डेशनले चिकित्सा अनुसन्धानका लागि मेटलाइफ फाउन्डेशन अवार्ड्स मार्फत अल्जाइमर रोग अनुसन्धानको लागि अमेरिकी डलर १८ मिलियन भन्दा बढी अनुदान दिएको छ, जसले रोगको बारेमा अझ बढी बुझ्न मद्दत गर्दछ । मेटलाइफ फाउन्डेशनले नेपाललाई १.१ मिलियन डलर भन्दा बढीको अनुदान विस्तार गरेको छ, जसले स्थानीय समुदायहरूलाई दिगो भविष्यतर्फको यात्रामा आशाको किरणको रूपमा काम गरिरहेको छ । महिलाको नेतृत्वमा सशक्तिकरण गर्ने पहलहरूमा स्पटलाइटका साथ, फाउन्डेशनले महिला उद्यमशीलता र वित्तीय लचिलोपनलाई बढावा दिँदै पौरखी नेपाल, सेन्टर फर सेल्फ हेल्प नेपाल र वुमन एक्ट नेपाल मार्फत रूपान्तरणलाई उत्प्रेरित गरेको छ । यसबाहेक, रुम टू रीडसँगको उनीहरूको साझेदारीले नेपालमा केटीहरूको शिक्षाको बाटोलाई उज्यालो बनाएको छ । उनीहरूले वार्षिक छात्रवृत्ति मार्फत मेटलाइफका कर्मचारी र एजेन्टका बालबालिकाको भविष्य पनि उज्यालो बनाएका छन् । भूकम्पजस्ता प्रतिकूलता र कोभिड–१९ का चुनौतीहरूको सामना गर्दै मेटलाइफ फाउन्डेसनको अटल सहयोग, अमेरिका नेपाल मेडिकल फाउन्डेसन, प्लान इन्टरनेशनल र इन्टरनेशनल मेडिकल कोर्प्स जस्ता संस्थाहरूलाई योगदानले स्थानीय समुदायहरूलाई सुदृढ र पुनर्निर्माण गरेको छ । नेपालको भविष्यलाई दिगो मात्र नभई समृद्ध बनाउन आर्बर डे फाउन्डेशनसँगको साझेदारीमा चितवन राष्ट्रिय निकुञ्जको वरपरका पुनरुत्थान परियोजनाहरू सञ्चालन गरिएका छन् ।
पाँच घण्टापछि पृथ्वीराजमार्ग सञ्चालनमा
दमौली । सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडकखण्ड पाँच घण्टापछि पुनः सञ्चालन भएको छ । म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान ४ः५० बजे सुक्खा पहिरो खसेर उक्त खण्ड अवरुद्ध भएको थियो । सुक्खा पहिरो पन्छाएर पाँच घण्टाको प्रयासमा राजमार्ग सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । उनका अनुसार विपद् व्यवस्थापन प्रहरी टोल, स्थानीय पालिका र चिनियाँ कम्पनीसँगको सहकार्यबाट पहिरो हटाइएको हो । | मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्ताबाट खसेको पहिरोका कारण उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध थियो । राजमार्ग विस्तारका क्रममा भित्ता खारिँदा उक्त खण्ड पहिरोको जोखिममा रहँदै आएको छ । उक्त ठाउँमा यसअघि पनि पटक–पटक पहिरो गइरहेको छ । प्रहरीले पहिरोले सडक अवरुद्ध भएको अवस्थामा तनहुँ हुँदै कास्कीतर्फ जाने सानाठूला तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गका रुपमा दमौली भोर्लेटार चोकबाट कलेस्ती–पोल्याङ–कास्कीतर्फ पठाउने गरेको छ ।