जाजरकोट । कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको निधन भएको छ । निधन हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।
टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिएको जानकारी अनुसार घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार निधन भएको थियो भने सुस्मिताको आइतबार बेलुकी नै निधन भएको थियो ।
बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले टोकेर घाइते भएको प्रमुख बस्नेत बताए । उनीहरुलाई गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालले टोकेको थियो । अरिङ्गालले टोकेपछि तत्काल स्वास्थ्यकर्मीलाई खबर नगर्दा बालिकाको मृत्यु भएको प्रमुख बस्नेतले बताए । रासस