चालीस रोपनी जग्गामा कृषि पेसा सुरु गरेका थापाले आठ रोपनी जग्गामा उन्नत जातका घाँस तथा फलफूल खेती गरेका छन् । उनले भने, ‘विसं २०४८ देखि सामाजिक क्षेत्रमा लागेको थिए । यसबाट गाउँसमाजमा सहयोग पुगे पनि आफ्नो आर्थिकस्तरका कारण अब आत्मनिर्भर बन्नुपर्छ भन्ने लागेर कृषि पेसा सुरु गरेको हुँ ।’
स्थानीय जनज्योति क्याम्पस र माझकोट साना किसान सहकारी संस्थाको अध्यक्ष तथा कोष प्राथमिक विद्यालयका संस्थापक अध्यक्ष भइसकेका थापाको दैनिकी यतिबेला बिहान ४ बजेदेखि राति १० बजेसम्म कृषि फार्ममा बित्ने गरेको छ ।
‘युवाहरु रोजगारीको खोजीमा दैनिक ठूलो सङ्ख्यामा विदेशिएका छन् । उनीहरुलाई रोक्नका लागि सरकारले कृषि क्षेत्रमा लगानी गरी काम गर्ने वातावरण बनाउनुपर्छ’, थापाले भने, ‘दुःख गर्दा स्वदेशमै कमाउन सकिन्छ ।’ उनको बगैँचामा आँप, लिची, सुन्तला लगायतका फलफूलका बिरुवा देखाउँदै यस वर्ष लिची र आँप बिक्री गरी तीन लाख आम्दानी गर्ने लक्ष्य रहेको बर्ताए । सरकारले कृषि कर्जा सहुलियत दरमा उपलब्ध गराएमा कृषि व्यवसायतर्फ सबैको आर्कषण बढ्ने उनको भनाइ थियो । रासस