२० प्रतिशत डाउनपेमेण्टमा नेटा भीको विद्युतीय गाडी
काठमाडौं । नेटा भी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरु २० प्रतिशत डाउनपेमेण्टमा उपलब्ध हुने भएको छ । संस्थाले आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने बताएको छ । उक्त कर्जा नेपालभरका प्रभु बैंक, कामना सेवा बैंक, एनएमबी बैंक र नबिल बैंकबाट उपलब्ध हुनेछ । यो सुविधा सिजी मोटर्सका सम्पूर्ण आधिकारिक विक्रेताबाट नेपालभरी लागू हुने भएकोले उपरोक्त सुविधा देशभर सबै शोरुमबाट ग्राहकहरुले लिन सक्नेछन् । नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो । जसमा कम्पनीले ३८.५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ । जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ । करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फूल चार्जमा ३८० किलोमिटरसम्मको रन्ज दिने कम्पनीको दाबी छ । विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भी को ब्याट्रीसहित मोटरमा कम्पनीले १५० हजार किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ । प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधा समेत पाउने छन् । यसका साथै हाल नेटा भीमा डिक्की फुल अफर भनि ग्राहक लक्षित योजना पनि चलिरहेको छ जसमा विभिन्न इलेक्ट्रोनिक उपकरणहरु उपहारको रुपमा ग्राहकहरुलाई दिइएको छ ।
सरकारी कर्मचारीले मासिक १२५ लिटर इन्धन पाउने, बिल पेश गर्नु नपर्ने
काठमाडौं । सरकारले उच्च तहका कर्मचारीलाई १२५ लिटर इन्धन सुविधा प्रदान गर्ने भएको छ । सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद प्रदान गर्ने निर्देशिका २०८० जारी गर्दै सरकारी कर्मचारीलाई मासिक १२५ लिटरसम्म इन्धन सुविधा दिने व्यवस्था गरेको हो । ‘कार्यालयले सरकारी सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीमध्ये राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव)का कर्मचारीलाई मासिक १२५ लिटर तथा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)का कर्मचारीलाई मासिक १ सय लिटर इन्धन र त्रैमासिक रूपमा ५ लिटर मोविल र ब्रेकआयलको सुविधा उपलब्ध गराउनेछ,’ निर्देशिकामा उल्लेख छ । यस्तै, इन्धनबापत सम्बन्धित कर्मचारीलाई कार्यालयले इन्धनको मूल्य बराबरको रकम मासिक रूपमा र मोविल तथा ब्रेकआयल बापतको रकम त्रैमासिक रूपमा उपलब्ध गराउनेछ । उक्त रकम उपलब्ध गराउँदा नेपाल आयल निगमबाट प्रत्येक महिनाको एक गतेको लागि कायम भएको इन्धनको बजार मूल्यको आधारमा सो बरावर हुने गरी हिसाब गरेर उपलब्ध गराइने छ । इन्धन बापत भुक्तानी भएको रकमको कुनै बिलविजक पेश गर्न नपर्ने निर्देशिकामा उल्लेख छ । इन्धन वापतको रकम मासिक रूपमा दिने तलब भत्तासँगै सम्बन्धित कर्मचारीलाई भुक्तानी दिइनेछ । [pdf id=442495]
पठाओ दशैं महोत्सवमा नवराज बोगटी र बिसन सिंहले जिते यामाहा रे जेडआर
काठमाडौं । ‘पठाओ दशैं महोत्सव-२०८०’ को बम्पर पुरस्कार अन्तर्गत पठाओ क्याप्टेन नवराज बोगटी र पठाओ राइडर विशन सिंह कोट्टारीले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर जितेका छन् । काठमाडौं उपत्यकामा सेवा प्रदान गरिरहेका बाइक राइडर, पठाओ क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन) गरि तोकिएको मापदण्ड पूरा गरेका कुल ५८५ जना मध्ये गोला प्रथाद्वारा बम्पर पुरस्कार प्रदान गरिएको हो । नेपालीहरुको महान चाड दशैंको अवसरमा तीन बर्ष देखि दशैं महोत्सव गर्दै आएको र आगामी दिनमा पनि यो कार्यक्रमको निरन्तरता दिइने पठाओ नेपालका प्रवन्ध निर्देशक असिम मान सिंह बस्न्यातले बताए । पठाओ नेपालसंग आवद्ध भइ फ्रन्टलाइनमा दिनरात घाम पानी नभनी खटिने साथीहरूको सम्मानमा बम्पर पुरस्कारको सहकार्य गरिएको र आगामी दिनमा पनि यस्ता सहकार्य जारी राखिने यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एम.ए.डब्लु. इन्टरप्राइजेज प्रालिका जनरल म्यानेजर (सेल्स एण्ड बिजनेस डेभलपमेन्ट) दिपक रौनियारले बताए । बिजेता दुबैजनालाई पठाओ नेपालका असिम मान सिंह बस्न्यात र एम. ए. डब्लु. इन्टरप्राइजेज प्रालिका दिपक रौनियारले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर हस्तान्तरण गरेका छन् । गोला प्रथाद्वारा प्रदान गरिएको बम्पर पुरस्कारको कार्यक्रम पठाओ नेपालको सामाजिक सन्जाल मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । बम्पर पुरस्कार बिजेता पठाओ क्याप्टेन नवराज बोगटी २०२२ मेमा पठाओमा आवद्ध भइ करिब ३ हजार ट्याक्सी राइड पुरा गरेका चालक हुन् । त्यस्तै बम्पर पुरस्कार कै अर्का बिजेता पठाओ राइडर विशन सिंह कोट्टारी २०२१ जनावरी देखि पठाओमा आवद्ध भइ ५ हजार बढी वटा बाइक राइड पुरा गरेका राइडर हुन् । उक्त दशैं महोत्सवको अफर असोजको ८ गते देखि २८ गतेसम्म चलेको थियो ।
सबैभन्दा कम आधारदर र सबैभन्दा धेरै लाभांश दिने बैंकको रूपमा उदाउँदै एभरेष्ट बैंक
काठमाडौं । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले आगामी वर्षपनि सेयरधनीहरुलाई उच्च लाभांश बाँड्ने बताएका छन् । मंगलबार सम्पन्न भएको २९ औं वार्षिक साधारण सभामा बोल्दै सीईओ खालिङले यस्तो बताएका हुन् । ‘बैंकले स्थीर लाभांश वितरण गर्दै आएको छ, अघिल्लो वर्ष २० प्रतिशत बाँडेको थियो भने गत वर्ष पनि सोही हाराहारीमा लाभांश बाँडेको छ, केही रकम जगेडा कोषमा छ, आगामी वर्ष पनि सेयरधनीहरुलाई राम्रो लाभांश दिन्छौं,’ उनले भने । बैंकिङ क्षेत्रका लागि चुनौति कायमै रहेकाले काम गर्न सहज वातावरण नरहेको उनको भनाइ छ । तर, बैंकले व्यवसाय विस्तारका लागि आफूहरु हात बाँधेर नबस्ने उनले बताए । साथै, कर्जा असुली गर्न समस्या परेको भन्दै खराब कर्जा बढिरहेको उनको भनाइ छ । ‘यो वर्ष च्यालेन्ज छ, स्प्रेडदर ४ प्रतिशतभित्र कायम गर्नु पर्नेछ, ब्यापार पनि विस्तार गर्नु पर्ने छ, धेरै संयमित भएर काम गर्नु पर्ने अवस्था छ, बैंकहरुको खराब कर्जा बढ्दो छ, विभिन्न कारणले ऋणीबाट सावाँ र ब्याज लिन कठनाई भइरहेको छ,’ उनले भने, ‘यो भन्दैमा हामी हात बाँधेर बस्दैनौं, सकेसम्म आगामी दिनमा बैंकको व्यवसाय विस्तार गर्न जोड दिनेछौं ।’ एभरेष्ट बैंकले राष्ट्र बैंकको नीति अनुरुप ब्याजदर निर्धारण गर्दै आएको सीईओ खालिङले बताए । पछिल्लो समय बैंकमा तरलता सहज भएको र कर्जा माग न्यून भएकाले ब्याजदर घटाएको उनको भनाइ छ । साथै, बैंकिङ क्षेत्रमा सबैभन्दा कम आधार दर भएको बैंकका रुपमा एभरेष्टलाई बनाउने प्रयास रहेको उनले बताए । ‘बजार वस्तुस्थिती, निक्षेपको आकार र कर्जाको मागलाई ध्यानमा राखेर ब्याजद घटबढ गरिरहेका छौं, सम्पत्ति दायित्वालाई अनुसन्धान गरेर ब्याजदर घटाउने बढाउने निर्णय गरिन्छ, राष्ट्र बैंकले तोकेको १० प्रतिशत सीमाभित्र रहेर ब्याजदर निर्धारण गरिदै आएको छ,’ उनले भने, ‘बैंकलाई निक्षेप आवश्यक परेको छ भने ब्याजदर बढाउँछौं, चाहिएको छैन भने घटाउँछौं, एभरेष्ट बैंकको स्थिती ठिक छ, आधार दर सबैभन्दा तल राख्ने हाम्रो कोसिस रहने छ ।’ बैंकहरुको कर्जा निक्षेप अनुपात ८० प्रतिशतमा झरेको उनले बताए । एक महिनामा बैंकहरुसँग २० खर्ब रुपैयाँ कर्जा लगानी गर्ने क्षमता भएपनि माग नआएको उनको भनाइ छ । अहिले पनि ब्याजदर उच्च हुँदा कर्जाको माग नआएको उनको भनाइ छ । लगानीकर्ता भक्ती उप्रेतीले एभरेस्ट बैंक नेपालको नम्बर वान बैंक भएको दाबी गरे । उनले आगामी ५ वर्षसम्म बैंकले नम्बर वानको ताज सम्हाल्नु पर्ने बताए । साथै, नाफा आर्जनको आधारमा नभएर सेयरधनीहरुलाई वितरण गरेको लाभांश क्षमताका आधारमा र्याङ्किङ्ग हुनु पर्ने उनको भनाइ छ । ‘२० वटा बैंकहरुमध्ये एभरेस्ट बैंक नम्बर वान बैंक हो, आगामी ५ बर्ससम्म पनि नम्बर वानको ताज सम्हाल्ने छ किनकि २ खर्ब मात्रै निक्षेप परिचालन गरेर उच्च नाफा आर्जन गरेको छ, जबकी अरु बैंकले ४ खर्बको निक्षेप परिचालन गरेर ऋणात्मक हुनु परेको छ,’ उनले भने, ‘वितरणयोग्य नाफा र लाभांश क्षमताका आधारमा बैंकहरुको र्याङ्कि हुनु पर्छ ।’ उनका अनुसार खराब कर्जा कम हुने बैंकमा एभरेष्ट बैंक नम्बर वान हो । बैंकले कति नाफा गर्याे भन्दा पनि कति प्रतिफल दियो भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ । लगानीकर्ता रोज कुमार श्रेष्ठले अरु बैंकले तीन वर्षमा वितरण गरेको लाभांश एभरेष्ट बैंकले एकै वर्ष बाँड्ने गरेको भन्दै तारिफ गरे । तर, विश्वमा विभिन्न द्वन्द्धका घटनाहरुले असर गर्न सक्ने भन्दै त्यसलाई सामना गर्नु पर्ने उनको भनाइ छ । ‘अरु बैंकले तीन बर्षको लाभांश बाँड्दा एभरेस्टले एकैपटक बाँड्छ,’ उनले भने, ‘विश्वमा विभिन्न देशहरुबीच युद्ध भइरहेको हुँदा असर पर्न सक्छ, त्यसलाई बैंकले सामना गरेर राम्रो प्रगति गर्नु पर्छ ।’ उनले कर्मचारीको मनोबल बढाउन तलब भत्ता वृद्धि गर्नु पर्ने बताए ।
डिजिटल माध्यमका सञ्चार संस्था एकताबद्ध, गठन भयो ‘डिजिटल मिडिया सोसाइटी’
काठमाडौं । मूलधारको नेपाली पत्रकारितामा डिजिटल मिडियाका प्रकाशकहरू आवद्ध भएर ‘डिजिटल मिडिया सोसाइटी’ गठन भएको छ । पछिल्लो समय डिजिटल मिडियाको प्रभाव क्रमशः बढेर गएको सन्दर्भमा यस माध्यममा आवद्ध संस्थाहरूको समाचार अझ विश्वसनीय, जिम्मेवार र व्यावसायिक बनाउनुपर्ने आवश्यकतालाई मनन् गर्दै डिजिटल मिडियाका प्रकाशकहरूद्धारा उक्त सोसाइटी गठन गरिएको संस्थाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । २०८० असोज २९ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयबाट गैरनाफामूलक (मुनाफा वितरण नगर्ने) कम्पनीका रूपमा दर्ता नं. ३२२०८३ को प्रमाण पत्र प्राप्त गरेको संस्थाले डिजिटल पत्रकारिताको व्यावसायिक स्थायित्व, मर्यादा र गरिमा अभिवृद्धि गरी अनलाइन पत्रकारितालाई थप विश्वसनीय बनाउन सशक्त भूमिका निभाउने उद्देश्य लिएको छ । डिजिटल मिडिया सोसाइटीमा आवद्ध संस्थाहरूले पत्रकारिताको व्यावसायिकता तथा इमानलाई सम्बर्द्धन गर्ने विषयमा दृढता व्यक्त गर्दै आफ्नै आचारसंहिता समेत जारी गरेर सोअनुरूप मिडियालाई जिम्मेवार र अनुशासित बनाउने प्रण गरेका छन् । सोसाइटीका सबै संस्थापक सदस्य मिडियाहरू स्थापना भएको ५ वर्ष पूरा गरिसकेका छन् भने पछिल्लो २ वर्षदेखि प्रत्येक संस्थाले कम्तीमा १५ जना पत्रकारलाई रोजगारी दिइरहेका र गएको आर्थिक वर्षसम्म सरकारी करचुक्ताको प्रमाणपत्र पनि प्राप्त गरेका छन् । साथै, आबद्ध संस्थाका सम्पादकहरूको न्यूनतम् शैक्षिक योग्यता स्नातक तह रहेको छ । नयाँ बन्ने सदस्यहरूका लागि पनि उल्लेखित शर्तहरू अनिवार्य हुने सोसाइटीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । बाह्रखरी मिडिया प्रालि (बाह्रखरी डट्कम)का अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानको अध्यक्षतामा गठित डिजिटल मिडिया सोसाइटीको उपाध्यक्षमा सेटोपाटी सञ्चार प्रालि (सेटोपाटी डट्कम)का अध्यक्ष तथा प्रधान सम्पादक अमित ढकाल, महासचिवमा लोकान्तर सञ्चार प्रालि (लोकान्तर डट्कम)का अध्यक्ष तथा सम्पादक विमल गौतम तथा कोषाध्यक्षमा चाणक्य मिडिया प्रालि (क्लिकमाण्डू) डट्कमका अध्यक्ष पुष्प दुलाल रहेका छन् । डिजिटल मिडिया सोसाइटीका कार्यसमिति सदस्यहरूमा विकास मिडिया प्रालि (विकासन्यूज डटकम)का अध्यक्ष तथा प्रधान सम्पादक रामकृष्ण पौडेल, बिजनेस नेपाल प्रालि (क्यापिटल नेपाल डट्कम)की सञ्चालक अनिता राजभण्डारी, देशसञ्चार प्रालि (देश सञ्चार डट्कम)का अध्यक्ष रविन दाहाल, इन्टर एन्ड कम्युनिकेसन टेक्नोलोजी प्रालि (हाम्रा कुरा डट्कम)का कार्यकारी निर्देशक माधवप्रसाद चम्लागाईं, नेपाल लाइभ पब्लिकेसन प्रालि (नेपाल लाइभ डट्कम)का अध्यक्ष अनिल न्यौपाने, डिस्कभरी न्यूज नेटवर्क प्रालि (राटोपाटी डट्कम)का सञ्चालक अर्जुन पन्त तथा शिलापत्र मिडिया नेटवर्क प्रालि (शिलापत्र डट्कम)का सञ्चालक सुरेश सिम्खडा छन् । संस्थाको पहिलो कार्यसमिति बैठकले हिमाल मिडिया प्रालि (हिमाल खबर डट्कम)का अध्यक्ष कुन्द दीक्षित तथा डिस्कभरी न्यूज नेटवर्क प्रालि (रातोपाटी डट्कम)का संस्थापक ओम शर्मालाई डिजिटल मिडिया सोसाइटीको सल्लाहकारमा चयन गरेको छ । संस्थाको विधानका शर्तहरू पूरा गर्ने संस्थाहरूलाई डिजिटल मिडिया सोसाइटीको सदस्य बन्न आवेदन खुला राखिएको समेत जानकारी गराइएको छ ।
एनआरएनएको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका बताएका छन् । युवाहरुलाई लागिरहेको होला, यहाँ केही छैन, अरु गइसके, म पनि विदेश जानैपर्छ, मन्त्री डा. महतले भने, ‘यहाँ अवसर छ, अरु देश भौतिक रुपमा पूर्ण विकसित भइसकेका छन् । त्यहाँ गइसकेपछि एउटा संयन्त्रको पूर्जाका रुपमा फिट हुने हो । तर यहाँ प्रशस्त सम्भावना छ, त्यसलाई हेर्ने दृष्टिकोण सुष्म चाहिन्छ ।’ मन्त्री डा.महतले भने, ‘हाइड्रोपावरमा नेपालले नेटवर्क बनाइसक्यो । अहिले निजी क्षेत्रबाट ३ सय मेगावट जलविद्युत उत्पादन भइरहेको छ । सयौं आयोजनामा हजारौं नेपालीले लगानी गरिरहेका छन् । माथिल्लो अरुण परियोजनामा विश्व बैंकको नेतृत्वमा लगानी हुँदैछ, दुधकोशीमा एसियाली विकास बैंकले लगानी गर्दैछ । हामीले ऋण सहुलियत दरमा मागेका छौं ।’ ‘आर्थिक वृद्धिको महत्वपूर्ण हिस्सा जलविद्युत बन्नेछ । यसमा हामीले धेरै अनुभव र ज्ञान हासिल गरिसकेका छौं, अब यसमा गैरआवासीय नेपाली साथीहरु जोडिनुपर्छ’ उनले भने, ‘हामी बुढिगण्डकी जलासययुक्त आयोजनालाई हामी अगाडि बढाउन चाहन्छौं ।’ मन्त्री डा. महतले भने, ‘लगानीको दोस्रो सम्भावना सूचना प्रविधि क्षेत्रमा छ । बेलायतमा वार्षिक ५० मिलियन सफ्टवेयर निर्यात हुँदो रहेछ । बेलायत मात्र होइन, अन्य देशमा पनि सफ्टवेयर निर्यात भइरहेको छ । सफ्टवेयर निर्यातबाट असीमित आम्दानी गर्न सकिन्छ ।’ जे चलिरहेको छ, त्यसैले चल्छ भन्ने हाम्रो मानसिकता छ, यसलाई तोड्न केही समय लाग्ने बताउनु हुँदैन मन्त्री डा. महतले भने, ‘अर्को क्षेत्र भनेको पर्यटन हो । यसले पनि आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मध्यपूर्वलगायत कोरिया गएकाहरु फर्किदा सानो पूँजीसँगै ज्ञान पनि लिएर फर्किएका छन् । उनीहरुले यही सानो व्यवसाय सुरु गरिसकेका छन् । हामीले उत्पादनलाई सुरक्षा दिने नीति लिएका छौं । अनुदार र करको सुरक्षा सरकारले गर्छ । यसबाट उत्पादन बढाउने सरकारको योजना छ ।’ ‘नेपालमा धेरै नकरात्मक भावना फैलिएको छ, अब सकारात्मक भावना फैलाउ । नकारात्मक कुरा गर्दा सामाजिक सञ्जालमा त्यसको फ्लोइङ बढी हुन्छ । यो देशमा केही हुन्न, यिनीहरुले केही गर्दैनन्, यिनीहरु बिगार्न मात्र आएका हुन् । खराब मात्र गर्छन् भन्ने भावना फैलाइएको छ । सबै क्षेत्रमा राम्रा मान्छे पनि छन्’ मन्त्री डा. महतले भने, ‘सबै चोरै हुन्, सबै फटाह हुन् भनेर एउटै बास्केटमा नहालौं । जो इमान्दारपूर्वक काम गरिरहेको छ, उसलाई प्रोत्साहन गरौं । सकारात्मक सन्देश फैलाउन एनआरएनए सही प्लेटफर्म हो । तपाईंहरुले भन्नुभएको सन्देश नेपालमा बसेका आफन्त, नातागोता र साथीभाइदेखि लिएर छिमेकीसम्म सन्देश पुग्छ ।’ ०४६ सालपछि हाम्रो कूलग्राहस्थ उत्पादनमा ६० गुणाले वृद्धि भएको छ, प्रतिव्यक्ति आय ७ गुणाले वृद्धि भएको छ, औषत आयु ५४ वर्षबाट ७२ वर्ष भएको मन्त्री डा. महतले जानकारी दिए । राजश्व अनुपात कुलग्राहस्थ उत्पादनको अनुपातमा दोब्बर बढेको छ, विद्युतको पहुच ९७ प्रतिशतभन्दा बढी छ । गाउँ गाउँमा सडक सञ्जाल पुगेको छ, बालमृत्यु दर २७ मा झरेको छ । २५४ बाट मातृ मृत्युदर ८५० बाट १५१ मा झरेको मन्त्री डा। महतले जानकारी दिँदै भन्नुभयो, ‘यसका बाजुद हामीले यो उपलब्धी हासिल गर्यौं भनेर सन्तुष्ट हुने ठाउँ छैन, अपेक्षा अत्यन्त ज्यादै छ ।’ ‘सामाजिक सञ्जालका जमाना छ । संसार मोबाइल फोनमा भेटिन्छ, नेपालीहरु यो विषयमा उदार छन् । गाँस काटेर भए पनि हामी स्मार्ट फोन प्रयोग गर्नेमा अग्रपंक्तिमै छौं’ मन्त्री डा. महतले भने, हिजो के थियो, के कारणले गर्न सकेनौं भनेर हामीले चित्त बुझाउने ठाउँ छैन, त्यो कसैले सुन्न चाहँदैनन् । अरु देश त्यहाँ पुगिसक्यो, तिमीहरुले किन पुर्याएनौं ? मन्त्री डा. महतले भने, ‘द्वन्द्व, अस्थिरता, भुकम्प लगायत हामी अनेकौं कठिनाइबाट गुज्रियौं । त्यही एक्सक्युजेज दिएर चित्त बुझाउन सक्दैनौं । यसकारण हामीले भविष्यको सुस्पष्ट मार्गचित्रका साथ जति हामीले गर्यौं, यतिले पुगेन, जति प्रयास हिजोदेखि आजको दिनसम्म भयो, यतिले पुगेन, एउटा लक्ष्य, इमान्दारिता र समर्पणका साथ अब ज्यादा काम गर्नुपर्ने चुनौति छ ।’ ‘व्यक्तिको इच्छा, क्षमता र योग्यता पूर्ति गर्न कुनै सीमाले राकिनु हुँदैन । पासपोर्ट दिएर देश छोड सरकारले भनेको होइन, यो व्यक्तिको स्वतन्त्रता हो । यो स्वतन्त्रता उपभोग गर्दै लाखौं नेपालीहरुले आफ्ना आकाक्षा पूर्ति गर्न मुलुक बाहिर गएका हुन्, मन्त्री डा.महतले भने, ‘तर के सधैं बाहिरै जानुपर्दैन, मलाई लाग्छ, गैरआवासीय नेपालीहरु फर्किनु हुन्छ । कतिपय युवास्थामै फर्किनु होला, कतिपय पाकै भएर फर्किनु होला । किनभने यहाँ अवसर छ, यो अवसर हामीले सुष्म दृष्टिले हेर्नुपर्छ ।’
अब कुरा भन्दा काम थालौँ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समृद्धिका लागि काम गर्ने बेला आएको भन्दै गैर आवासीय नेपालीसमक्ष लगानी बढाउन आग्रह गरेका छन् । आजदेखि यहाँ सुरु भएको गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलनका अवसरमा नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै काम मातृभूमिमा देखाउन मिल्ने खालको काम गर्न सुझाव दिए । ‘अब एनआरएनएले नेपाली मातृभूमिमा देखाउन मिल्ने उत्कृष्ट मोडलको काम या प्रोजेक्ट कुन् हो भनेर देखाउनुपर्ने दिन पनि आएको छ’, उनले भने । अहिलेको पुस्ताले कुराभन्दा बढी काम मन पराउन थालेको भन्दै उनले उनीहरुले बाहना नपत्याउने बताए । ‘अहिलेको पुस्ता कुरा होइन काम गर्न मन पराउँछ । हाम्रा सन्ततिहरुलाई पनि अब कुरा मन पर्न छोडिसक्यो । उनीहरु यो वा त्यो भयो भन्नेमा बहानामा या ‘कन्टेक्स्ट’ मा विश्वास गर्दैनन, ‘कन्टेन्ट’ चाहन्छन् । हामीले भोलिको पुस्ताका लागि पनि केही गर्नुछ, उनीहरुलाई बाटो देखाउनु छ त्यसैले अब काम नै थालौँ भन्ने मेरो आग्रह हो ।’ उनले गैरआवासीय नेपालीहरुलाई सम्मेलनमार्फत कुनै ‘प्रोजेक्ट’ सञ्चालनका लागि प्रतिबद्धता व्यक्त गर्न समेत सुझाव दिए । ‘सम्मेलनमार्फत् एउटा प्रतिबद्धता व्यक्त गर्नुहोस्, कुनै ‘प्रोजेक्ट’ नै अघि सार्नुहोस् ताकि त्यो प्रतिबद्धता अर्को सम्मेलनसम्म आइपुग्दा सम्पन्न होस् । त्यो प्रतिबद्धता यहाँहरुले पनि यसै अवसरमा गर्नुहोस् अनि दसैँपछि काम नै थालौँ । त्यसका लागि मैले के गर्नुपर्छ, मलाई पनि काम दिनुहोस्, म पनि लागिहाल्छु ।’ उनले विश्वका एनआरएनएले नेपालमा सुरु गर्ने विकासका काममा आफू पनि जोडिन चाहेको उल्लेख गरे । ‘म यहाँहरुसँग सहकार्य गर्न हामी पनि आतुर छौँ । जस्तो कि कतिपय यस्तो काम हामीले जोइन्ट भेन्चरमा गरेका पनि छौँ । तर त्यो पर्याप्त छैन । त्यसैले यसलाई सुरुआत नै मानौँ र अब ठूलै स्केलको केही गरौँ । यहाँहरु विश्वको जुनसकै भूगोलमा रहेको भए पनि त्यहाँ आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपालमै ल्याउनुहोस र यहीँ काम गरौँ’, उनले भने । नेपाल उद्योग वाणिज्य महासङ्घ तथा आफ्नो व्यक्तिगत तर्फबाट सम्मेलनको पूर्ण सफलताको कामना गर्दै अध्यक्ष ढकालले सरकारले गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने निर्णयको स्वागत गरे । ‘एकपटकको नेपाली सधैँको नेपाली भन्ने धारणा अब आएर साकार भएको छ । यसलाई मैले सकारात्मक रुपमा लिएको छु’, उनले भने, ‘मलाई लाग्छ हामी नेपाली दाजुभाई जहाँ, जेसुकै कामले र जसरी रहेको भए पनि नेपाली हौँ र सधैँ नेपाली भएरै रहन पाउनुपर्छ । तब पो हामीहरु सबैलाई नेपाली माया र माटोले तानिरहन्छ ।’ रासस
सिटिजन्स बैंंकको मोबाइल बैंकिङ एपमा थप नँया सुविधा
काठमाडौं । सिटिजन्स बैंंकको मोबाइल बैंकिङ एपमा नँया सुविधा थप गरेको छ । डिजिटल बैंकिङको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमा नँया सुविधाहरु थप गरेको हाे । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको यस बैंकले हाल मोबाइल बैंकिङ एप मार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरुको अतिरिक्त अन्यउपयोगी सेवाहरु समेत थप गरेको छ । अब ग्राहकहरुले मोबाइल बैंकिङ एप मार्फत नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेविट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सिमा हेर्ने जस्ता सुविधाहरु थप गरेको छ । बैंकले आफ्ना बिशेष ग्राहकहरुलाई लक्षित गरी मोबाइल मार्फत नै प्रिभिलेज बैंकिङ सेवा समेत सुरु गरेको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ एप मार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकका तोकिएका सम्पर्क अधिकृतहरु मार्फत बिना झन्झट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपलाई नयाँ युआई (प्रयोगकर्ता इन्टरफेस) मा अपग्रेड गरिएको छ जसले प्रयोगकर्ताको अनुभव बढाउँछ । लगइन मेनु पनि पुनस् संगठित गरिएको छ जहाँ स्मार्ट सेवाहरू, स्मार्ट प्रस्तावहरू, इयमआई क्याल्कुलेटर र विदेशी मुद्रा आइकन छुट्टै ब्लक डिजाइनमा राखिएको छ । लागू गरिएको नयाँ डिजाइन प्रयोगकर्ता मैत्री बनाइएको छ र साथै नेपालपे को क्युआर मार्फत व्यापारीहरूलाई क्युआर स्क्यान गरी भुक्तानी गर्ने सुविधाहरू जस्ता विभिन्न नयाँ सुविधाहरू ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।