विकासन्युज

नेप्सले २१ प्रतिशत लाभांश बाँड्ने, प्रिमियममा आईपीओ जारी गर्न साधारण सभा आह्वान

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् (नेप्स)ले १० औँ वार्षिक साधारणसभा बोलाएको छ । सञ्चालक समितिको बैठकले कात्तिक २३ गते काठमाण्डौको हात्तीसारस्थित आरण्य बुटिक होटेलमा अपराह्न ४ बजे साधारण सभा आह्वान गरेको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद गरी कूल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । आईपीओ निकाष्शन प्रक्रिया अघि बढाउन सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

आजदेखि नयाँ ब्याजदर लागू, बचत गर्दा यी ३ बैंकले ११ % बढी ब्याज दिने

काठमाडौं । बैंकहरुले सार्वजनिक गरेको ब्याजदर आज कात्तिक १ गतेदेखि लागू भएको छ । कात्तिक महिनाका लागि बैंकहरुले असोज मसान्तमा नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । असोजको तुलनामा कात्तिकमा अधिकांश बैंकहरुको ब्याजदर घटेको देखिन्छ । १० वटा वाणिज्य बैंकको मुद्दती निक्षेपको ब्याजदर दोहोरो अंकमा छ भने १० बैंकको एकल अंकमा छ । कात्तिकमा निक्षेप जम्मा गर्दा सबैभन्दा धेरै ब्याज एनआईसी एशिया बैंक, हिमालयन बैंक र एनएमबि बैंकले प्रदान गर्ने छन् । कात्तिकमा यी तीन बैंकले सबैभन्दा धेरै ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर तोकेका छन् । यस्तै, प्राइम बैंकले ब्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत प्रदान गर्ने छ भने नेपाल एसबिआई बैंकले कात्तिकमा ब्यक्तिगततर्फ १०.७ प्रतिशत र संस्थागततर्फ ८.७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कुमारी बैंकले ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेका छन् । यस्तै, लक्ष्मी सनराइज बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंकले कात्तिकमा निक्षेप जम्मा गर्दा ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर प्रदान गर्ने छन् । यस्तै, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । यस्तै, सिटिजन्स बैंकले ब्यक्तिगततर्फ ९.९६ प्रतिशत र संस्थागततर्फ ७.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ब्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत र कृषि विकास बैंकले ब्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । यस्तै, एभरेष्ट बैंक, प्रभु बैंक, सानिमा बैंक र नेपाल बैंकले ब्यक्तिलाई ९.२२४ प्रतिशत र संस्थागतलाई ७.२२४ प्रतिशत ब्याज प्रदान गर्ने छन् । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजद तोकेको छ । १४ बैंकले ब्याज घटाउँदा २ बैंकले बढाए, ४ बैंकको स्थीर, कुनको कति ?

सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ । बैंकको ३ अर्बको ऋणपत्र असोज ३० गते मंगलबारका दिन बाँडफाँट गरिएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जानकारी दिएको छ । बैंकले असोज १७ गतेदेखि असोज २२ गतेसम्म १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र बिक्री गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो । क्यापिटलका अनुसार ६० प्रतिशत अर्थात् १८ लाख कित्ता ऋणपत्र विभिन्न संघसंस्थालाई ब्यक्तिगत तवरबाट बिक्री गरिएको छ भने ४० प्रतिशत अर्थात् १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बाँडफाँट गरिएको छ । हिमालयन क्यापिटल तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरेको आईपीओ रिजल्टमार्फत् नतिजा हेर्न सकिने छ ।

सिनर्जी पावरको साढे ५ लाख कित्ता सेयर बिक्री खुला, कसले खरिद गर्न पाउँछ ?

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आज कात्तिक १ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले साढे ५ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले गत भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजीको २ः१ अनुपात अर्थात् ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको ५ लाख ६३ हजार २६१ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले कात्तिक १५ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको हकप्रदमा सेयरमा सानिमा क्यापिटल र सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

युनिलिभर नेपालले आईपीएस मार्फत् लाभांश रकम भुक्तानी गर्ने

काठमाडौं । युनिलिभर नेपालले सेयर अभौतिकीकरण गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले सेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न सेयरधनीहरुलाई आग्रह गरेको हो । गत वर्षजस्तै यसवर्ष पनि कम्पनीले नगद लाभांश सेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस)मार्फत रकम भुक्तानी गर्ने कम्पनीले जनाएको छ । सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोलीसकेका सेयरधनीहरूले आफ्नो हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको हो । साथै, हालसम्म आफ्नो नाममा भौतिक रूपमा सेयर धारण गरेका सेयरधनीहरुले हितग्राही खाता खोली सेयर अभौतिकीकरण गराउन कम्पनीले अनुरोध गरेको छ । हितग्राही खाता खोले पश्चात मात्रै लाभांश रकम प्राप्त हुने कम्पनीले बताएको छ । यस्तै, प्रत्येक सेयरधनीहरुले प्यान नम्बर, फोन तथा मोबाइल नम्बर र इमेल आइडी पठाउन कम्पनीले भनेको छ ।

व्यस्त बन्दै त्रिभुवन विमानस्थल, दैनिक १५ हजार यात्री आवतजावत गर्दै

फाइल फोटो काठमाडौं । त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दाबढी अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् । सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी ११३ उडान÷अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार पनि अन्तर्राष्ट्रियतर्फ ११० उडान भएका छन् । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडानको चाप बढेको उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । नेपालमा पर्यटकीय याम सुरु भएको र दसैँलगायत महत्त्वपूर्ण चाडपर्व पनि प्रारम्भ भएकाले विदेशबाट नेपाल आउनेको सङ्ख्या बढेको छ । आन्तरिकतर्फ पनि उडान चाप रहेको छ । दैनिक दुईतर्फी ३ सय उडानबाट करिब १५ हजार यात्री आवतजावत गरिरहेका विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् ।

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको चौँथो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गा मध्येकी चौँथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस वर्ष काठमाडौँ उपत्यकाका शक्तिपीठमा विशेषरुपमा सजाइएको छ । नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायत शक्तिपीठमा दीपावली गरी झिलीमिली बनाएको देखिन्छ ।

अरुण काबेलीको सवा २० लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता १ सय रुपैयाँ

काठमाडौं । अरुण काबेली पावरले असोज ३० गते मंगलबारदेखि अवितरित हकप्रद सेयर बिक्री गरेको छ । कम्पनीले २० लाख १४ हजार ८१७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजीको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको २० लाख १४ हजार ८१७ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गरेको हो । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले कात्तिक १४ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । कम्पनीको हकप्रदमा सेयरमा नबिल इन्भेष्टमेन्ट र नबिल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।