विकासन्युज

शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड बचत हुँदा चालु खाता कति ?

काठमाडौं । दुई महिनाको अवधिमा चालु खाता २३ अर्ब ५० करोड रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दुई महिनाको अवधिमा चालु खाता साढे २३ अर्ब रुपैयाँ बचतमा रहेको बताएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । साथै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.७ प्रतिशतले कमी आई ८५ करोड ८ लाख रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्बले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्व ४६ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो । यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपैयाँ घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको छ । यस्तै, गत असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशत बढेर भदौसम्म १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा भने २.६ प्रतिशत बढेर १२ अर्ब १ करोड पुगेको छ ।

मूल्यवृद्धि घट्यो, तलब र ज्यालादर बढ्यो

काठमाडौं । २०८० भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात मूल्यवृद्धि घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही महिनाको तुलनामा मूल्यवृद्धि ०.४५ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही महिनामा ८.६४ प्रतिशत रहेको उक्त मूल्यवृद्धि २०८० भदौमा भने घटेर ८.१९ प्रतिशतमा झरेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १७.८६ प्रतिशत, तरकारीको १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको१२.६० प्रतिशत र रेष्टुरेण्ट तथा होटलको १०.९७ प्रतिशतले बढेको छ । समीक्षा महिनामा घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १३.०८ प्रतिशतले घटेको छ । साथै, गैर-खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२.२१ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ६.५९ प्रतिशतले बढेको छ । समीक्षा महिनामा यातायात उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.१८ प्रतिशतले घटेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ९.८३ प्रतिशत, तराईंको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको ११.३२ प्रतिशत रहेको छ । २०७९ भदौमहिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.६२ प्रतिशत, ९.३३ प्रतिशत, ८.८२ प्रतिशत र ६.६८ प्रतिशत रहेको थियो । २०८० भदौमहिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १४.०० प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.२३ प्रतिशत, ३.१४ प्रतिशत र २.८० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.०३ प्रतिशतले घटेको छ । २०८० भदौ महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.२५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ११.६८ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ६.५३ प्रतिशतले बढेको छ । २०८० भदौ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ । सन्२०२३ सेप्टेम्बर महिनामा भारतको यस्तो मुद्रास्फीति ५.०२ प्रतिशत रहेको छ ।

इनरुवा सबस्टेसन निर्माण सम्पन्न, ४ हजार मेगावाट विद्युत आदान प्रदान हुने

काठमाडौं । मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबार चार्ज गरिएको छ । मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँगको विद्युत व्यापारका लागि जिआईएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो । इनरुवामै २२०/१३२/३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छ । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००/२२० केभी इनरुवा सबस्टेसनमा ३१५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मरहरु छन् । जसको क्षमता ९४५ एमभिए छ इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब ४ हजार मेगावाट विद्युत् आदान प्रदान हुन सक्ने छ । इनरुवा–ढल्केबर प्रसारण प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा पर्ने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीय रुपमा खपत गर्न र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेसन मेरुदण्डको रुपमा रहेको बताए । ‘सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति समेत गरिने छ, यसबाट त्यस क्षेत्रको भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ, यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल, भारत तथा बंगलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र भारतर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बनेको छ ।’ मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरुलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनलाई महत्वपूर्ण मानिएको छ । अरुण तथा तमोर नदी र तिनीहरुका सहायक खोलानालामा निर्माण गरिएका/हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी करिडोरको इनरुवा–बसन्तपुर–तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर–ढुंगेसाँघु खण्ड निर्माणाधीन छ । यस्तै, तुम्लिङटार–शीतलपाटी २२० केभी प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ । अरुण हब–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको छ । आयोजना प्रमुख शुक्र देवकोटाले इनरुवा सबस्टेसनलाई आगामी दिनमा थप विस्तार गर्दै जान मिल्नेगरी निर्माण गरिएको बताउनुभयो । वर्खाको समयमा तराईमा हुने डुवान, विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण उपकरण तथा प्राविधिकहरु आउन नसक्दा सबस्टेसनको निर्माण प्रभावित भएको थियो । २०७८ कात्तिकमा सबस्टेसन निर्माण क्षेत्रमा आएको बाढीले उपकरणहरुमा क्षति पुगी पुनः आयात गर्नु पर्दा निर्माणमा केही ढिलाइ भएको आयोजना प्रमुख देवकोटाले उल्लेख गरे । आयोजनाअन्तर्गत नै ४०० केभी ढल्केबर सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा छ भने हेटौंडा सबस्टेसन निर्माणको अन्तिम चरणमा छ । इनरुवा र हेटौंडा सबस्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भएको इनरुवा सबस्टेसनको अनुमानित लागत १ करोड ४३ लाख अमेरिकी डलर र २० करोड ४८ लाख रुपैयाँ रहेको छ । सबस्टेसन निर्माण सुपरीवेक्षण एनइए इन्जिनियरिङ कम्पनीले गरेको थियो ।

घट्यो आयातसँगै निर्यात, यी हुन धेरै आयात हुने वस्तुहरु

काठामाडौं । पछिल्लो समय विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुुको निर्यातमा कमी आउन थालेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको दुई महिनाको तथ्यांक अनुसार आयातसँगै निर्यातमा कमी आएको हो । आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशतले कमी आई २६ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३४.९ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १५.६ प्रतिशतले कमी आएको छ भने र चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३३८.५ प्रतिशत र ५.१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, अलैंची, पार्टिकल बोड, पोलिस्टर धागो, जुस लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, जुटका सामान, ऊनी गलैचा, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा कुल वस्तु आयात ५.१ प्रतिशतले कमी आई २५९ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.२ प्रतिशत र २१.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको आयात २५.४ प्रतिशतले वृद्घि भएको छ । वस्तुगत आधारमा एम.एस. तार, छड, बार तथा क्वाइल, तयारी पोशाक, विद्युत्तीय उपकरण, लत्ताकपडा, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, औषधी, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले कमी आई २३३ अर्ब ३० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ९.४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ३२ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २६ अर्ब २३ करोड रुपैयाँ बराबरको भएको थियो ।

ओलीलाई रविको जवाफ : राष्ट्रको ढुकुटी रित्याउँदा पनि तपाईकै नेतालाई भोट दिने भोटर कस्ता ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जनताको चेतनालाई चुनौति नदिन आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नीति, विचार नभएको नयाँ दललाई भोट दिन जनता पनि कस्ता भन्ने अभिव्यक्तिप्रति टिप्पणी गरेका हुन् । सोमबार नेकपा एमालेको पार्टी केन्द्रिय काार्यलय च्यासलमा अध्यक्ष ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका दलहरुलाई भोट दिने जनता पनि कस्ता ? भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर सभापति लामिछानेले आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पु¥याउँदा अझै पनि तपाईकै दललाई भोट हालिरहने ? तपाईकै नेतालाई भोट हालिरहने ? ति भोटर चाहीँ कस्ता ? भन्ने प्रश्न गरे । ‘अहिले कस्ता पनि टिप्पणी सुनिन्छन् भने जनता पनि कस्ता ? यो नयाँ दलको नीति, विचार केही पनि छैन । सिद्धान्त केही पनि छैन, भर्खरै आएको छ । तिनलाई भोट हाल्ने जनता पनि कस्ता भन्ने गरेर जनताको चेतनालाई चुनौति दिएको मैले यदाकदा सुन्ने गरेको छु । हामीलाई माया गर्ने सद्भाव गर्ने, जनता कस्ता होइनन्, आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पुर्याउँदा अझै पनि तपाईकै दललाई भोट हालिरहने ? तपाईकै नेतालाई भोट हालिरहने ? ति भोटर चाहीँ कस्ता ? यो प्रश्न मैले गर्न चाहन्छु । जनताको चेतनालाई चुनौति दिने हाम्रो हैसियत पनि छैन ।’ उनले भने । सभापति लामिछानेले जनताले परिवर्तन चाहँदा चाहँदै पनि पुराना राजनीतिक दलको विश्वासलाई निमिट्यान्न नपारेको बताए ।

२२ प्रतिशतले बढ्यो रेमिट्यान्स, श्रम स्वीकृति लिने घटे

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को भदौसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २२.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २२.१ प्रतिशतले वृद्धि भई २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो । त्यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४ हजार ४५५ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई २ खर्ब ५१ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।

आरविवि मर्चेन्टले १३.१६ प्रतिशत लाभांश दिने

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको प्रस्तावित १३.१६ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न बैंकको ८ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको आठौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भयो । सञ्चालक समितिका अध्यक्ष देवेन्द्र रमण खनालको अध्यक्षतामा सम्पन्न साधारण सभाले आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु, आ.व. २०७९/०८० को नाफाबाट कम्पनीको चुक्ता पुँजीको १३.१६ प्रतिशत नगद लाभाशं (कर सहित) र आ.व. २०८०/८१ को बाह्रय लेखापरिक्षक नियुक्त गर्ने प्रस्तावहरु पारित गरेको छ ।

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल प्रहरीलाई सहयोग गरेको छ । महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरिएको छ । बैंकको कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चाडपर्वको समयमा हुनसक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक सुरक्षा तथा अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम, तथा नियन्त्रण कार्यमा सहयोग पुर्याउने उद्देश्यले जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर हस्तान्तरण गरेको हो । यसबाट मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास बैैंकले लिएको छ । प्रहरी वृत्त मालीगाँउका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदी र सामुदायिक प्रहरी सेवाकेन्द्र, कालोपुलका बरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापालाई बैैंकका निक्षेप बजारिकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।