सबैभन्दा कम आधारदर र सबैभन्दा धेरै लाभांश दिने बैंकको रूपमा उदाउँदै एभरेष्ट बैंक

<p>काठमाडौं । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले आगामी वर्षपनि सेयरधनीहरुलाई उच्च लाभांश बाँड्ने बताएका छन् । मंगलबार सम्पन्न भएको २९ औं वार्षिक साधारण सभामा बोल्दै सीईओ खालिङले यस्तो बताएका हुन् । ‘बैंकले स्थीर लाभांश वितरण गर्दै आएको छ, अघिल्लो वर्ष २० प्रतिशत बाँडेको थियो भने गत वर्ष पनि सोही हाराहारीमा लाभांश बाँडेको [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले आगामी वर्षपनि सेयरधनीहरुलाई उच्च लाभांश बाँड्ने बताएका छन् । मंगलबार सम्पन्न भएको २९ औं वार्षिक साधारण सभामा बोल्दै सीईओ खालिङले यस्तो बताएका हुन् ।

‘बैंकले स्थीर लाभांश वितरण गर्दै आएको छ, अघिल्लो वर्ष २० प्रतिशत बाँडेको थियो भने गत वर्ष पनि सोही हाराहारीमा लाभांश बाँडेको छ, केही रकम जगेडा कोषमा छ, आगामी वर्ष पनि सेयरधनीहरुलाई राम्रो लाभांश दिन्छौं,’ उनले भने ।

बैंकिङ क्षेत्रका लागि चुनौति कायमै रहेकाले काम गर्न सहज वातावरण नरहेको उनको भनाइ छ । तर, बैंकले व्यवसाय विस्तारका लागि आफूहरु हात बाँधेर नबस्ने उनले बताए । साथै, कर्जा असुली गर्न समस्या परेको भन्दै खराब कर्जा बढिरहेको उनको भनाइ छ ।

‘यो वर्ष च्यालेन्ज छ, स्प्रेडदर ४ प्रतिशतभित्र कायम गर्नु पर्नेछ, ब्यापार पनि विस्तार गर्नु पर्ने छ, धेरै संयमित भएर काम गर्नु पर्ने अवस्था छ, बैंकहरुको खराब कर्जा बढ्दो छ, विभिन्न कारणले ऋणीबाट सावाँ र ब्याज लिन कठनाई भइरहेको छ,’ उनले भने, ‘यो भन्दैमा हामी हात बाँधेर बस्दैनौं, सकेसम्म आगामी दिनमा बैंकको व्यवसाय विस्तार गर्न जोड दिनेछौं ।’

एभरेष्ट बैंकले राष्ट्र बैंकको नीति अनुरुप ब्याजदर निर्धारण गर्दै आएको सीईओ खालिङले बताए । पछिल्लो समय बैंकमा तरलता सहज भएको र कर्जा माग न्यून भएकाले ब्याजदर घटाएको उनको भनाइ छ । साथै, बैंकिङ क्षेत्रमा सबैभन्दा कम आधार दर भएको बैंकका रुपमा एभरेष्टलाई बनाउने प्रयास रहेको उनले बताए ।

‘बजार वस्तुस्थिती, निक्षेपको आकार र कर्जाको मागलाई ध्यानमा राखेर ब्याजद घटबढ गरिरहेका छौं, सम्पत्ति दायित्वालाई अनुसन्धान गरेर ब्याजदर घटाउने बढाउने निर्णय गरिन्छ, राष्ट्र बैंकले तोकेको १० प्रतिशत सीमाभित्र रहेर ब्याजदर निर्धारण गरिदै आएको छ,’ उनले भने, ‘बैंकलाई निक्षेप आवश्यक परेको छ भने ब्याजदर बढाउँछौं, चाहिएको छैन भने घटाउँछौं, एभरेष्ट बैंकको स्थिती ठिक छ, आधार दर सबैभन्दा तल राख्ने हाम्रो कोसिस रहने छ ।’

बैंकहरुको कर्जा निक्षेप अनुपात ८० प्रतिशतमा झरेको उनले बताए । एक महिनामा बैंकहरुसँग २० खर्ब रुपैयाँ कर्जा लगानी गर्ने क्षमता भएपनि माग नआएको उनको भनाइ छ । अहिले पनि ब्याजदर उच्च हुँदा कर्जाको माग नआएको उनको भनाइ छ ।

लगानीकर्ता भक्ती उप्रेतीले एभरेस्ट बैंक नेपालको नम्बर वान बैंक भएको दाबी गरे । उनले आगामी ५ वर्षसम्म बैंकले नम्बर वानको ताज सम्हाल्नु पर्ने बताए । साथै, नाफा आर्जनको आधारमा नभएर सेयरधनीहरुलाई वितरण गरेको लाभांश क्षमताका आधारमा र्याङ्किङ्ग हुनु पर्ने उनको भनाइ छ ।

‘२० वटा बैंकहरुमध्ये एभरेस्ट बैंक नम्बर वान बैंक हो, आगामी ५ बर्ससम्म पनि नम्बर वानको ताज सम्हाल्ने छ किनकि २ खर्ब मात्रै निक्षेप परिचालन गरेर उच्च नाफा आर्जन गरेको छ, जबकी अरु बैंकले ४ खर्बको निक्षेप परिचालन गरेर ऋणात्मक हुनु परेको छ,’ उनले भने, ‘वितरणयोग्य नाफा र लाभांश क्षमताका आधारमा बैंकहरुको र्याङ्कि हुनु पर्छ ।’

उनका अनुसार खराब कर्जा कम हुने बैंकमा एभरेष्ट बैंक नम्बर वान हो । बैंकले कति नाफा गर्याे भन्दा पनि कति प्रतिफल दियो भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ ।

लगानीकर्ता रोज कुमार श्रेष्ठले अरु बैंकले तीन वर्षमा वितरण गरेको लाभांश एभरेष्ट बैंकले एकै वर्ष बाँड्ने गरेको भन्दै तारिफ गरे । तर, विश्वमा विभिन्न द्वन्द्धका घटनाहरुले असर गर्न सक्ने भन्दै त्यसलाई सामना गर्नु पर्ने उनको भनाइ छ ।

‘अरु बैंकले तीन बर्षको लाभांश बाँड्दा एभरेस्टले एकैपटक बाँड्छ,’ उनले भने, ‘विश्वमा विभिन्न देशहरुबीच युद्ध भइरहेको हुँदा असर पर्न सक्छ, त्यसलाई बैंकले सामना गरेर राम्रो प्रगति गर्नु पर्छ ।’ उनले कर्मचारीको मनोबल बढाउन तलब भत्ता वृद्धि गर्नु पर्ने बताए ।

Share News