झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलको मर्मतसम्भार कार्य भइरहेकाले गत असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै सञ्चालनमा थियो । पुल मर्मत सम्पन्न भइसकेकाले आजदेखि पूर्णरूपमा आवागमन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । यसअघि पुल मर्मतको कामका लागि बिहान ८ः४५ बजेदेखि दिउँसो १ः१५ बजेसम्म र दिउँसो २ः१५ बजेदेखि दिउँसो ४ः१५ बजेसम्म पुलमा आवागमन बन्द गरिएको थियोे । पूर्णरूपमा नाका सञ्चालन भएसँगै अब बिहान ६ः०० देखि साँझ ७ः०० बजेसम्म आवागमन हुनेछ । झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा आएसँगै दसैँका लागि घर फर्कने नागरिकलाई सहज भएको छ । नाकामा आंशिकरूपमा मात्रै आवतजावत भइरहेका बेला घर फर्कने नागरिकलाई समस्या भएकामा अब झन्झट नहुने सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ । नाका पूर्णरूपमा सञ्चालन भएसँगै दसैँको समयमा बैतडीका शक्तिपीठमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीलाई समेत सहज भएको छ । बैतडीका निङगलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, उदयदेवलगायतका मन्दिरमा दर्शनका लागि दसैँको समयमा भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् । झोलुङ्गे पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा नेपाल र भारतीय पक्षबीच पुल मर्मतसम्भार गर्ने सहमति भएको थियो । झुलाघाटमा पक्की पुल नहुँदा जीर्ण पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ । यहाँ लामो समयदेखि पक्की पुलको माग गरिँदै आएको छ । रासस
दशैं नजिकिए सँगै तोलामा १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा दशैं लागेपछि सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य १ लाख १२ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा बुधबार १४ सय १० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण
काठमाडौं । एनएमबि बैंकले २० मिलियन अमेरिकी डलर ऋण प्राप्त गरेको छ । एनएमबि बैंकले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच इन्टरप्रेन्युरल डेभलपमेन्ट बैंक (एफयमओ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ । बैंक र एफयमओ बिचको यस साझेदारीमा एफयमओ बाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम साना तथा मझौला उद्यम विकाश र प्रबर्दनको लागि प्राप्त भएको जनाइएको छ। एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
सेप्टेम्बरमा इण्डोनेसियाको व्यापार ब्यालेन्स बचत बढ्यो
इण्डोनेसिया । इण्डोनेसियाले सेप्टेम्बरमा ३.४२ बिलियन अमेरिकी डलरको व्यापार सन्तुलन बचत गरेको छ । जुन अघिल्लो महिनाको ३.१२ बिलियन अमेरिकी डलरको तुलनामा थोरैले बढेको हो । सेप्टेम्बरमा इण्डोनेसियाको निर्यात २०.७६ बिलियन अमेरिकी डलर थियो । जुन अघिल्लो महिनाको तुलनामा ५.६३ प्रतिशतले घटेको छ भने आयात बढेको छ ।
ठेकेदार सम्पर्कविहीन भएपछि हुलाकी राजमार्गको पुल अधुरै
राजविराज । हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलाको पुल अधुरै छ । निर्माणको जिम्मा लिएका ठेकेदार सम्पर्कविहीन भएपछि पुल कहिले बन्ने टुङ्गो छैन । ‘लामा बागमती निर्माण सेवा’ले २०७१ सालमा पुल निर्माण सुरु गरेको हो । सदरमुकाम राजविराज जोड्ने सो पुल निर्माण समयमा सम्पन्न नभएका कारण आवतजावत जोखिमपूर्ण बनेको छ । निर्माण सेवाले हालसम्म दुई करोड १३ लाख रुपैयाँ भुक्तानी पाइसकेको छ । पुल निर्माण सम्पन्न गर्न बाँकी रहेको काम ठेकेदारले अलपत्र छाड्दा आवतजावत गर्न सर्वसाधारणलाई समस्या भएको छ । निर्माण कम्पनीको ढिलाइ र आयोजना कार्यान्वयन एकाइको बेवास्ताले गर्दा उक्त पुलको समयमै निर्माण सम्पन्न हुन नसकेको हो । उक्त पुलको हालसम्म ८१ दशमलव २३ प्रतिशत काम सम्पन्न भएको छ । यहाँ समयमा पुल निर्माण सम्पन्न नभएका कारण वर्षाको समयमा खोलामा अत्यधिक बाढी आउने गरेकाले आवतजावतमा अवरोध हुने गरेको तिरहुत गाउँपालिका–२ का विजय यादवले बताए । उनी भन्छन्, ‘समान्य वर्षा भएपछि कालिया खोलाबाट चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडी पूर्णरुपमा बन्द हुने गरेको छ ।’ राजविराजबाट जिल्लाको पूर्व जोड्ने तिरहुत गाउँपालिका, कन्चरुप नगरपालिका, सप्तकोशी नगरपालिका र उदयपुर जिल्लासम्मका छोटो दूरी प्रयोग गर्ने उक्त बाटोमा पुल निर्माण अवरोधका कारण समस्या भएको छ । पुल निर्माणमा ढिलाइ गरेपछि हुलाकी सडक निर्माणको जिम्मा लिएको बज्रगुरु निर्माण सेवाले ठेक्का लिएको करिब दुई किलोमिटर सडक कालोपत्रको काम पनि हुन सकेको छैन । रासस
महानगर प्रहरी प्रमुखमा पाण्डेको वढुवा
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर प्रहरीको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा गरेको छ । महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको महानगर सुशासन समितिका संयोजक ख्यामराज तिवारीले जानकारी दिए । महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुखमा एसएसपी हुने व्यवस्था थियो । यसअघि महानगर प्रहरीमा प्रहरी उपरीक्षकसम्मको दर्जा रहे पनि प्रहरी वरिष्ठ उपरीक्षकको दर्जा सिर्जना गरी पाण्डेलाई बढुवा गरिएको हो । विसं २०५० मा प्रहरी नायब निरीक्षकबाट सेवा प्रवेश गरेका पाण्डेलाई यसअघि पनि महानगरले प्रमुखको जिम्मेवारी दिएको थियो । यसअघि काठमाडौं महानगरपालिकामा पाँच जनाको प्रहरी उपरीक्षक दरबन्दी थियो । हाल महानगर प्रहरीमा तीन सय हाराहारीमा जनशक्ति रहेको छ ।
प्रधानमन्त्री दाहाल मुुस्ताङमा
जोमसोम (मुस्ताङ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुुस्ताङ आइपुगेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तक्रियामा कार्यक्रममा सहभागी हुन उनी मुस्ताङ आएका हुन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान जोमसोम आएका प्रधानमन्त्री दाहाल कोरलानाका, गत साउनको बाढीले क्षति पुुगेको कागबेनीलगायत क्षेत्रको अनुगमनमा आएका मुुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । प्रधानमन्त्री दाहालले मुस्ताङ भ्रमणका क्रममा कोरलानाका र गत साउनको बाढीले क्षति पुुगेको कागबेनीको हवाई निरीक्षण गर्ने कार्यक्रम छ। उनले हालै गरेकाे चीन भ्रमणका क्रममा मुस्ताङको कोरलालगायत १४ वटा व्यापारिक नाका सञ्चालन गर्ने सहमति भएको थियो । चार वर्षदेखि बन्द रहेको कोरलानाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई चीन प्रवेशका लागि अनुमतिपत्र वितरण गरिएको छ। प्रधानमन्त्री दाहालसमक्ष स्थानीयवासीले कालीगण्डकी नदीको कटान, उपल्लो मुस्ताङको पाँचवटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्याबारे छलफल गर्ने कार्यक्रम तय भएको नेकपा (माओवादी केन्द्र) मुस्ताङका इन्चार्ज कपिल लामाले बताए । प्रधानमन्त्री दाहालसँगै वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो, गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिंखडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायत यहाँ आएका छन् । जलवायुु परिवर्तनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री दाहालले आजै जोमसोममा ‘जनतासँग माओवादी रुपान्तरण अभियान’अन्तर्गत आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ।
दुई महिनामै ग्लोबल आइएमईले गर्यो पौने २ अर्ब नाफा, मर्जरमा गएका बैंकको सिनर्जी आउँदै
काठमाडौं । वाणिज्य बैंकहरुले दुई महिनाको अवधिमा साढे १६ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले साउन र भदौमा १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका हुन् । दुई महिनाको अवधिमा ५ वटा वाणिज्य बैंकले १ अर्बभन्दा बढी नाफा गरेका छन् । ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र कुमारी बैंकले एक अर्बभन्दा नाफा गरेका छन् । भदौसम्म सबैभन्दा बढी नाफा गर्ने बैंक ग्लोबल आइएमई बनेको छ । यस बैंकले सबैभन्दा बढी १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ बराबरको खुद नाफा गरेको छ । यस्तै, नबिल बैंकले भदौमा १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्याङ्क छ । यस्तै, बढी नाफा गर्ने बैंकको तेस्रो नम्बरमा नेपाल इनभेष्टमेन्ट मेगा बैंक रहेको छ । यस बैंकले १ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब २३ करोड २४ लाख रुपैयाँ, कुमारीले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ८७ करोड रुपैयाँ, प्राइम कमर्सियलले ८३ करोड ६५ लाख रुपैयाँ, लक्ष्मी सनराइजले ८१ करोड ४० लाख रुपैयाँ र एनआईसी एशिया बैंकले ८० करोड रुपैयाँ खुद नाफा गरेका छन् । यस्तै, एनएमबि बैंकले ७६ करोड ७० लाख रुपैयाँ, एभरेष्ट बैंकले ७१ करोड २५ लाख रुपैयाँ, नेपाल बैंकले ७० करोड ७१ लाख रुपैयाँ, प्रभु बैंकले ६६ करोड ४१ लाख रुपैयाँ, कृषि विकास बैंकले ६१ करोड ५६ लाख रुपैयाँ र सिद्धार्थ बैंकले ५८ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेका छन् । यस्तै, सानिमा बैंकले ५१ करोड २० लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४८ करोड ४५ लाख रुपैयाँ, सिटिजन्स बैंकले ४४ करोड ३१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ३७ करोड ६३ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले २७ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।