विकासन्युज

एनआरएनएको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका  बताएका छन् । युवाहरुलाई लागिरहेको होला, यहाँ केही छैन, अरु गइसके, म पनि विदेश जानैपर्छ, मन्त्री डा. महतले भने, ‘यहाँ अवसर छ, अरु देश भौतिक रुपमा पूर्ण विकसित भइसकेका छन् । त्यहाँ गइसकेपछि एउटा संयन्त्रको पूर्जाका रुपमा फिट हुने हो । तर यहाँ प्रशस्त सम्भावना छ, त्यसलाई हेर्ने दृष्टिकोण सुष्म चाहिन्छ ।’ मन्त्री डा.महतले भने, ‘हाइड्रोपावरमा नेपालले नेटवर्क बनाइसक्यो । अहिले निजी क्षेत्रबाट ३ सय मेगावट जलविद्युत उत्पादन भइरहेको छ । सयौं आयोजनामा हजारौं नेपालीले लगानी गरिरहेका छन् । माथिल्लो अरुण परियोजनामा विश्व बैंकको नेतृत्वमा लगानी हुँदैछ, दुधकोशीमा एसियाली विकास बैंकले लगानी गर्दैछ । हामीले ऋण सहुलियत दरमा मागेका छौं ।’ ‘आर्थिक वृद्धिको महत्वपूर्ण हिस्सा जलविद्युत बन्नेछ । यसमा हामीले धेरै अनुभव र ज्ञान हासिल गरिसकेका छौं, अब यसमा गैरआवासीय नेपाली साथीहरु जोडिनुपर्छ’ उनले भने, ‘हामी बुढिगण्डकी जलासययुक्त आयोजनालाई हामी अगाडि बढाउन चाहन्छौं ।’ मन्त्री डा. महतले भने, ‘लगानीको दोस्रो सम्भावना सूचना प्रविधि क्षेत्रमा छ । बेलायतमा वार्षिक ५० मिलियन सफ्टवेयर निर्यात हुँदो रहेछ । बेलायत मात्र होइन, अन्य देशमा पनि सफ्टवेयर निर्यात भइरहेको छ । सफ्टवेयर निर्यातबाट असीमित आम्दानी गर्न सकिन्छ ।’ जे चलिरहेको छ, त्यसैले चल्छ भन्ने हाम्रो मानसिकता छ, यसलाई तोड्न केही समय लाग्ने बताउनु हुँदैन मन्त्री डा. महतले भने, ‘अर्को क्षेत्र भनेको पर्यटन हो । यसले पनि आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मध्यपूर्वलगायत कोरिया गएकाहरु फर्किदा सानो पूँजीसँगै ज्ञान पनि लिएर फर्किएका छन् । उनीहरुले यही सानो व्यवसाय सुरु गरिसकेका छन् । हामीले उत्पादनलाई सुरक्षा दिने नीति लिएका छौं । अनुदार र करको सुरक्षा सरकारले गर्छ । यसबाट उत्पादन बढाउने सरकारको योजना छ ।’ ‘नेपालमा धेरै नकरात्मक भावना फैलिएको छ, अब सकारात्मक भावना फैलाउ । नकारात्मक कुरा गर्दा सामाजिक सञ्जालमा त्यसको फ्लोइङ बढी हुन्छ । यो देशमा केही हुन्न, यिनीहरुले केही गर्दैनन्, यिनीहरु बिगार्न मात्र आएका हुन् । खराब मात्र गर्छन् भन्ने भावना फैलाइएको छ । सबै क्षेत्रमा राम्रा मान्छे पनि छन्’ मन्त्री डा. महतले भने, ‘सबै चोरै हुन्, सबै फटाह हुन् भनेर एउटै बास्केटमा नहालौं । जो इमान्दारपूर्वक काम गरिरहेको छ, उसलाई प्रोत्साहन गरौं । सकारात्मक सन्देश फैलाउन एनआरएनए सही प्लेटफर्म हो । तपाईंहरुले भन्नुभएको सन्देश नेपालमा बसेका आफन्त, नातागोता र साथीभाइदेखि लिएर छिमेकीसम्म सन्देश पुग्छ ।’ ०४६ सालपछि हाम्रो कूलग्राहस्थ उत्पादनमा ६० गुणाले वृद्धि भएको छ, प्रतिव्यक्ति आय ७ गुणाले वृद्धि भएको छ, औषत आयु ५४ वर्षबाट ७२ वर्ष भएको मन्त्री डा. महतले जानकारी दिए । राजश्व अनुपात कुलग्राहस्थ उत्पादनको अनुपातमा दोब्बर बढेको छ, विद्युतको पहुच ९७ प्रतिशतभन्दा बढी छ । गाउँ गाउँमा सडक सञ्जाल पुगेको छ, बालमृत्यु दर २७ मा झरेको छ । २५४ बाट मातृ मृत्युदर ८५० बाट १५१ मा झरेको मन्त्री डा। महतले जानकारी दिँदै भन्नुभयो, ‘यसका बाजुद हामीले यो उपलब्धी हासिल गर्यौं भनेर सन्तुष्ट हुने ठाउँ छैन, अपेक्षा अत्यन्त ज्यादै छ ।’ ‘सामाजिक सञ्जालका जमाना छ । संसार मोबाइल फोनमा भेटिन्छ, नेपालीहरु यो विषयमा उदार छन् । गाँस काटेर भए पनि हामी स्मार्ट फोन प्रयोग गर्नेमा अग्रपंक्तिमै छौं’ मन्त्री डा. महतले भने, हिजो के थियो, के कारणले गर्न सकेनौं भनेर हामीले चित्त बुझाउने ठाउँ छैन, त्यो कसैले सुन्न चाहँदैनन् । अरु देश त्यहाँ पुगिसक्यो, तिमीहरुले किन पुर्याएनौं ? मन्त्री डा. महतले भने, ‘द्वन्द्व, अस्थिरता, भुकम्प लगायत हामी अनेकौं कठिनाइबाट गुज्रियौं । त्यही एक्सक्युजेज दिएर चित्त बुझाउन सक्दैनौं । यसकारण हामीले भविष्यको सुस्पष्ट मार्गचित्रका साथ जति हामीले गर्यौं, यतिले पुगेन, जति प्रयास हिजोदेखि आजको दिनसम्म भयो, यतिले पुगेन, एउटा लक्ष्य, इमान्दारिता र समर्पणका साथ अब ज्यादा काम गर्नुपर्ने चुनौति छ ।’ ‘व्यक्तिको इच्छा, क्षमता र योग्यता पूर्ति गर्न कुनै सीमाले राकिनु हुँदैन । पासपोर्ट दिएर देश छोड सरकारले भनेको होइन, यो व्यक्तिको स्वतन्त्रता हो । यो स्वतन्त्रता उपभोग गर्दै लाखौं नेपालीहरुले आफ्ना आकाक्षा पूर्ति गर्न मुलुक बाहिर गएका हुन्, मन्त्री डा.महतले भने, ‘तर के सधैं बाहिरै जानुपर्दैन, मलाई लाग्छ, गैरआवासीय नेपालीहरु फर्किनु हुन्छ । कतिपय युवास्थामै फर्किनु होला, कतिपय पाकै भएर फर्किनु होला । किनभने यहाँ अवसर छ, यो अवसर हामीले सुष्म दृष्टिले हेर्नुपर्छ ।’

अब कुरा भन्दा काम थालौँ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समृद्धिका लागि काम गर्ने बेला आएको भन्दै गैर आवासीय नेपालीसमक्ष लगानी बढाउन आग्रह गरेका छन् । आजदेखि यहाँ सुरु भएको गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलनका अवसरमा नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै काम मातृभूमिमा देखाउन मिल्ने खालको काम गर्न सुझाव दिए । ‘अब एनआरएनएले नेपाली मातृभूमिमा देखाउन मिल्ने उत्कृष्ट मोडलको काम या प्रोजेक्ट कुन् हो भनेर देखाउनुपर्ने दिन पनि आएको छ’, उनले भने । अहिलेको पुस्ताले कुराभन्दा बढी काम मन पराउन थालेको भन्दै उनले उनीहरुले बाहना नपत्याउने बताए । ‘अहिलेको पुस्ता कुरा होइन काम गर्न मन पराउँछ । हाम्रा सन्ततिहरुलाई पनि अब कुरा मन पर्न छोडिसक्यो । उनीहरु यो वा त्यो भयो भन्नेमा बहानामा या ‘कन्टेक्स्ट’ मा विश्वास गर्दैनन, ‘कन्टेन्ट’ चाहन्छन् । हामीले भोलिको पुस्ताका लागि पनि केही गर्नुछ, उनीहरुलाई बाटो देखाउनु छ त्यसैले अब काम नै थालौँ भन्ने मेरो आग्रह हो ।’ उनले गैरआवासीय नेपालीहरुलाई सम्मेलनमार्फत कुनै ‘प्रोजेक्ट’ सञ्चालनका लागि प्रतिबद्धता व्यक्त गर्न समेत सुझाव दिए । ‘सम्मेलनमार्फत् एउटा प्रतिबद्धता व्यक्त गर्नुहोस्, कुनै ‘प्रोजेक्ट’ नै अघि सार्नुहोस् ताकि त्यो प्रतिबद्धता अर्को सम्मेलनसम्म आइपुग्दा सम्पन्न होस् । त्यो प्रतिबद्धता यहाँहरुले पनि यसै अवसरमा गर्नुहोस् अनि दसैँपछि काम नै थालौँ । त्यसका लागि मैले के गर्नुपर्छ, मलाई पनि काम दिनुहोस्, म पनि लागिहाल्छु ।’ उनले विश्वका एनआरएनएले नेपालमा सुरु गर्ने विकासका काममा आफू पनि जोडिन चाहेको उल्लेख गरे । ‘म यहाँहरुसँग सहकार्य गर्न हामी पनि आतुर छौँ । जस्तो कि कतिपय यस्तो काम हामीले जोइन्ट भेन्चरमा गरेका पनि छौँ । तर त्यो पर्याप्त छैन । त्यसैले यसलाई सुरुआत नै मानौँ र अब ठूलै स्केलको केही गरौँ । यहाँहरु विश्वको जुनसकै भूगोलमा रहेको भए पनि त्यहाँ आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपालमै ल्याउनुहोस र यहीँ काम गरौँ’, उनले भने । नेपाल उद्योग वाणिज्य महासङ्घ तथा आफ्नो व्यक्तिगत तर्फबाट सम्मेलनको पूर्ण सफलताको कामना गर्दै अध्यक्ष ढकालले सरकारले गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने निर्णयको स्वागत गरे । ‘एकपटकको नेपाली सधैँको नेपाली भन्ने धारणा अब आएर साकार भएको छ । यसलाई मैले सकारात्मक रुपमा लिएको छु’, उनले भने, ‘मलाई लाग्छ हामी नेपाली दाजुभाई जहाँ, जेसुकै कामले र जसरी रहेको भए पनि नेपाली हौँ र सधैँ नेपाली भएरै रहन पाउनुपर्छ । तब पो हामीहरु सबैलाई नेपाली माया र माटोले तानिरहन्छ ।’ रासस

सिटिजन्स बैंंकको मोबाइल बैंकिङ एपमा थप नँया सुविधा

काठमाडौं । सिटिजन्स बैंंकको मोबाइल बैंकिङ एपमा नँया सुविधा थप गरेको छ ।  डिजिटल बैंकिङको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमा नँया सुविधाहरु थप गरेको हाे । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको यस बैंकले हाल मोबाइल बैंकिङ एप मार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरुको अतिरिक्त अन्यउपयोगी सेवाहरु समेत थप गरेको छ । अब ग्राहकहरुले मोबाइल बैंकिङ एप मार्फत नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेविट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सिमा हेर्ने जस्ता सुविधाहरु थप गरेको छ । बैंकले आफ्ना बिशेष ग्राहकहरुलाई लक्षित गरी मोबाइल मार्फत नै प्रिभिलेज बैंकिङ सेवा समेत सुरु गरेको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ एप मार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकका तोकिएका सम्पर्क अधिकृतहरु मार्फत बिना झन्झट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपलाई नयाँ युआई (प्रयोगकर्ता इन्टरफेस) मा अपग्रेड गरिएको छ जसले प्रयोगकर्ताको अनुभव बढाउँछ । लगइन मेनु पनि पुनस् संगठित गरिएको छ जहाँ स्मार्ट सेवाहरू, स्मार्ट प्रस्तावहरू, इयमआई क्याल्कुलेटर र विदेशी मुद्रा आइकन छुट्टै ब्लक डिजाइनमा राखिएको छ । लागू गरिएको नयाँ डिजाइन प्रयोगकर्ता मैत्री बनाइएक‍ो छ र साथै नेपालपे को क्युआर मार्फत व्यापारीहरूलाई क्युआर स्क्यान गरी भुक्तानी गर्ने सुविधाहरू जस्ता विभिन्न नयाँ सुविधाहरू ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

दशैंका लागि खसीबोका बेच्दै खाद्य, किन्दै उपभोक्ता (फोटोफिचर)

काठमाडौं । दशैंका लागि विभिन्न जिल्लाबाट काठमाडौं थापाथलीस्थित खाद्य तथा व्यापार कम्पनीमा बिक्री वितरणका लागि राखिएको छ । खाद्यले आज अर्थात असोज ३० गतेदेखि खसीबोका बिक्रीमा राखिरहेको छ । खाद्यले जिउँदो खसी प्रतिकेजी ६७० रुपैयाँ, च्याङ्ग्रा एक हजार २५० रुपैयाँ र बोका ६७० रुपैयाँका दरले बिक्री गरिएको छ । तस्वीर : रासस

राष्ट्रिय वाणिज्य बैंकले ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वडा दशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ । बैंकले एक सुचना जारी गदै नेपालीहरुको वडा दशै तथा शुभ दिपावली,न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने विज्ञप्तिमा भनिएको छ । साथै, उक्त भुक्तानी गर्ने समय भने २०८० कार्तिक मसान्ससम्म हुने छ ।

ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले जानकारी दिए । उनका अनुसार आजै दिउँसो चीनको सिचुआन प्रान्तबाट आइ दिल्लीतर्फ जान लागेको अवस्थामा निजलाई १६ हजार चार सय ३० अमेरिकी डलर, ५४ हजार चार सय ५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो । छोदेनलाई प्रहरी बृद्ध गौशालामा राखी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका छोदेन भारतको दलैलास्थित धर्मशालामा बस्ने गरेको खुलेको र उनको साथमा भारतीय राहदानी भएको प्र्रहरी नायब महानिरीक्षक चन्द ठकुरीले बताए । छोदेनबाट प्रहरीले बरामद गरेको रकम नेपाली ३१ लाख ५० हजार रूपैयाँ बराबर रहेको जनाइएको छ ।

दसैँको मुखमा प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि…

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ । हालै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रेग्मी निमित्त नतोकी तथा बिना जानकारी सोमबार बिहानै घर हिँडेपछि सबै काम रोकिएको गाउँपालिकाका सूचना अधिकारी पिएसपी चाम्चिङले बताए । दसैँ अगाडि भुक्तानी पाउनुपर्ने तलब भुक्तानी नै नगरी रेग्मी कार्यालय छाडेर घर हिँडेपछि अन्य कर्मचारी आक्रोशित बनेका छन् । बिना जानकारी कार्यालय छाडेर हिँडेका रेग्मीलाई २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए। ‘कर्मचारीले दसैँ अगाडि पाउनुपर्ने तलब पाएका छैनन् । काम सम्पन्न गरेका निर्माण व्यवसायीको भक्तानी दसैँ अगाडि नै भुक्तानी गर्नुपर्ने छ । यति धेरै काम अलपत्र छाडेर बिना जानकारी प्रमुख प्रशासकीय अधिकृत रेग्मी हिँड्नुभएछ’, उनले भने, ‘उनलाई सम्पर्क गरी २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छु । यो कुरा मन्त्रालयमा पनि जानकारी गराएको छु । हाजिर नभएको खण्डमा कानुन बमोजिम कारबाही हुन्छ ।’ प्रमुख प्रशासकीय अधिकृत रेग्मीले भने घरमा जरुरी काम परेकाले अचानक सोमबार बिहानै विराटनगरस्थित घर गएको बताएका छ । ‘आइतबार राति अबेरसम्म कार्यालयमा बसेर अधिकांश काम सम्पन्न गरेको छु । बाँकी रहेको केही काम यहीँबाट गर्ने योजना बनाएको छु’, उनले भने, ‘दसैँ अगाडि फर्किने सम्भावना छैन । यहाँबाट सम्भव नहुने काम दसैँपछि कार्यालय गएर गर्छु ।’ दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अहिलेसम्म भुक्तानीसम्बन्धी सम्पूर्ण काम चेकमार्फत गरिने भएकाले सबै कागजात प्रमुख प्रशासकीय अधिकृतको घर पुर्याउन नसकिने गाउँपालिकाले जनाएको छ । भुक्तानी तथा कुनै पनि कामजात बोकेर प्रमुख प्रशासकीय अधिकृत खोज्दै गाउँपालिकाको कार्यालय बाहिर नजान लेखापाल तथा अन्य कर्मचारीलाई भनिएको गाउँपालिका प्रमुख राईले जानकारी दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत रेग्मीबिना जानकारी कार्यालय छाडेर हिँडेको थाहा पाएपछि सामाजिक सञ्जाल फेसबुकमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । केहीले गाउँपालिका प्रमुख राईले फर्जी बिलको आधारमा चेक काट्न दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृत फरार भएको ‘स्टाटस’ लेखेका छन् । सामाजिक सञ्जालमा गाउँपालिका बारेमा टीकाटिप्पणी हुन थालेपछि गाउँपालिका प्रमुख राईले सोमबार राति नै विज्ञप्ति जारी गरी बिना प्रमाण भ्रमको खेती नगर्नरनगराउन अनुरोध गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी असोज–२९ गते बिहानबाट बेपत्ता भएकाले उनको ज्यान सुरक्षाकोसमेत सम्यमतालाई मध्यनजर गर्दै खोजी कार्य भइरहेको विज्ञप्तिमा भनिएको छ । ‘सामाजिक सञ्जालमा बिना प्रमाण सिङ्गो गाउँपालिकाको मानमर्दन हुनेगरी दुष्प्रचार भइरहेको छ । केही व्यक्तिद्वारा गलत तथा कपोकल्पित, मनोमानी, स्वच्छाचारी र भ्रमपूर्ण ढङ्गबाट भएको दुष्प्रचारप्रति गाउँपालिकाको गम्भीर ध्यानाकार्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानमा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयको सूचना माग्ने र पाउने हक हुँदाहुँदै भ्रमपूर्ण सूचना प्रवाह नगर्न नगराउन अनुरोध छ ।’ रासस

इप्पान र आईसीएचको आयोजनामा दीगो वित्तिय उपकरण व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र इन्टरनेशनल सेन्टर फर हाइड्रोपार (आईसीएच) को सहआयोजनामा दुई दिने दीगो वित्तिय उपकरण व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । मेरियट होटल काठमाडौंमा असोज २९ र ३० गते आयोजना गरिएको उक्त कार्यक्रममा नविकरणीय ऊर्जामा काम गरिरहेका २८ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । दुई दिने तालिमको उद्घाटनमा बोल्दै इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीहरुको क्षमता वृद्धिका लागि आईसीएच र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँगको सहकार्यमा आयोजना गरिएको दीगो वित्तीय उपकरण सम्बन्धी तालिमले नविकरणीय ऊर्जाको क्षेत्रमा वित्त व्यवस्थापनमा ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै आईसीएचकी प्रबन्ध निर्देशक लिने अम्लुन्ड हेगनले नविकरणीय ऊर्जाको दीगो वित्त व्यवस्थापनका लागि यो तालिम आयोजना गरिएको बताइन् । सामाजिक-पर्यावरण द्वन्द व्यवस्थापनमा ५ दिने तालिम  इप्पान र आईसीएचकै सहकार्यमा नविकरणीय ऊर्जा परियोजनामा सामाजिक-पर्यावरण द्वन्द व्यवस्थापन सम्बन्धी ५ दिने तालिम पनि केहि दिन अघि मात्र सम्पन्न भएको छ । चन्द्रागिरी हिल्स रिसोर्ट काठमाडौमा असोज २२ देखि २६ गतेसम्म आयोजना भएको तालिममा स्थानीय र पर्यावरण सम्बन्धी द्वन्द व्यवस्थापनका वारेमा आईसीएचका तर्फबाट दर्जनौ पेपरहरु प्रिजेन्टेसन गरिएको थियो । उक्त तालिममा नेपालको ऊर्जा क्षेत्रमा सक्रिय १५ जना र फिलिपिन्सका ३ जना ऊर्जा उद्यमीहरुको सहभागीता रहेको थियो । सहभागीहरुलाई इप्पानकी सचिव कविता पोखरेलले प्रमाणपत्र वितरण गरेकी थिइन् । इप्पान र आईसीएचबीच बिगत डेढ दशकदेखि नविकरणीय ऊर्जा क्षेत्रका विविध विषयमा सहकार्य हुँदै आएको छ ।