कुमारी क्यापिटलले मनायो पाँचौँ वार्षिकोत्सव
काठमाडौं । कुमारी क्यापिटलले पाँचौं वार्षिकोत्सव मनाएको छ । क्यापिटलले पाचौं बर्ष पूरा गरी छैठौं बर्षमा प्रवेश गरेको रक्तदान गरेको छ । मंगलबारको दिन नक्साल बक्सिङ क्लब, नागपोखरी को प्राङ्गणमा ‘रक्तदान जिवन दान’ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम गरेको हो । क्यापिटलले कार्यक्रममा सहभागी भई सहयोग गर्ने सम्पूर्ण रक्तदाता, नेपाल रेडक्रस सोसाइटी तथा का.म.न.पा.वडा नं. १ लाई धन्यवाद ज्ञापन समेत गरेको छ । साथै, आगामी बर्षहरुमा पनि मानविय सेवामा निरन्तर लाग्ने क्यापिटलले जनाएको छ ।
बझाङ केन्द्र विन्दु बनाएर भूकम्प
बाजुरा । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।
सरकारले गरेको सहमतिको जिम्मेवारी सांसदलाई दिन मिल्दैन : सांसद भट्टराई
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवा छाडेर प्रत्यक्ष राजनीतिमा आइहाल्ने सोच सायद सांसद विद्या भट्टराईमा थिएन । तर विशेष परिस्थितिले उनलाई सङ्घीय संसद्मा उपस्थिति गरायो । विसं २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी पति एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्र अधिकारीको ४९ वर्षको उमेरमा दुःखद् निधन भएपछि २०७६ सालमा सम्पन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा (एमाले) ले भट्टराईलाई उम्मेदवार बनायो । त्यसबेला प्रतिस्पर्धीसँग करिब आठ हजार मतान्तरले विजयी भट्टराई पुनः सोही क्षेत्रबाट गत वर्षको निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्य निर्वाचित भइन् । गत कार्यकालको बाँकी अवधि र यस कार्यकालको हालसम्मका अवधिमा एक सांसदका हैसियतले कानुन निर्माण र जनताका सवाललाई सरकारसमक्ष पर्याउन भट्टराईले सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् । सांसदको मुख्य काम कानून बनाउने नै हो भन्ने बोध भएकाले होला पछिल्लो निर्वाचनयता संसदीय गतिविधि जति प्रभावकारी, चुस्त र व्यवस्थित हुनुपर्ने थियो त्यति नभएको उनको बुझाइ छ । ‘कानून निर्माणका सवालमा प्रभावकारी काम भएका छैनन् तर संसद्मा विशेष र शून्य समयको पर्याप्त उपयोग गरिएको छ ।’ भट्टराईले भनिन्, ‘संसद्को प्रभावकारी सञ्चालनका लागि सरकारको भूमिका मुख्य हुन्छ । उसले नै सदनलाई विजनेस दिने हो । नेतृत्वदायी अङ्ग कार्यपालिका नै हो तर सरकार बनाउने वा टिकाउने खेलमा लाग्दा संसद्का कार्यसूची प्रभावित हुने रहेछन् ।’ प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिका बैठक नियमित भएर संसदीय गतिविधिमा सहजता आएको उल्लेख गर्दै उनले संवैधानिक परिषद्का बैठक पनि नियमित भएमा राजनीतिक दलहरु र खासगरी सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीचको समन्वयमा कठिनाइ नहुने विचार व्यक्त गरिन्। प्रमुख प्रतिपक्षले पनि आफ्ना मुद्दाको सुनुवाइका लागि लामो समय सांसदले अवरोध गरिदिँदा संसद्मा जनताका आवाज प्रस्तुत हुन बाधा हुने गरेको आरोप छ नि ? भन्ने प्रश्नमा सांसद भट्टराईको प्रतिप्रश्न छ, ‘प्रतिपक्षले उठाएका विषयलाई सरकारबाट कसरी सम्बोधन भयो भन्ने पनि हेरिनु पर्दैन र ? प्रमुख प्रतिपक्षमाथि सहिष्णु व्यवहार भयो कि भएन ? त्यसका आधारमा पनि सदनको प्रभावकारिता हुने होइन र ?’ कस्तो राजनीतिक संस्कार बनाउने र कस्ता विषयमा कसरी सामञ्जस्यता खोज्ने भन्ने सवालमा सरकारको नेतृत्वकर्ताले नै भूमिका खेल्नुपर्नेमा जोड दिँदै सांसद भट्टराईले राज्य सञ्चालनमा कस्ता समस्या आउँछन् वा आउँदैछन् भन्ने कुरालाई ध्यानमा राखेर समस्या आइनसक्दै अलि अगाडि नै परामर्श गर्ने गरेमा समस्या नपर्ने बताइन् । सांसद कानून निर्माणको भूमिका बिर्सिएर आफ्ना क्षेत्रमा बजेट र कार्यक्रम पार्न तथा कर्मचारीका सरुवा बढुवासमेतका विषय बोकेर मन्त्रालयमा धाउने गरेको सवालमा उनको भनाइ छ, ‘नेपालमा सांसदका पहिल्यैदेखिका अभ्यास र जनताका बुझाइ विकास निर्माण तथा नियमित समस्याबारे सांसदबाट सुनुवाइ होस् भन्ने छ । जनताका मुद्दा लिएर मन्त्रालयमा धाउने अभ्यास एकाएक हट्दैन । संविधानमा व्याख्या भएपछि कार्यपालिका र व्यवस्थापिकाको फरक फरक भूमिकाबारे जनतालाई बुझाउन सक्नुपर्छ ।’ सांसद भट्टराईले आफूले निर्वाचनकै समयमा आफू निर्वाचित भएर जनताका समस्याबारे संसद् बोल्ने, नीति बनाउने र विधि बनाउने वाचा गरेको स्मरण गर्दै सांसदको यो भूमिकाबारे आम संस्कृति बन्न सकेमा जनस्तरमा सोचाइ बदलिने विश्लेषण गरिन्। ‘पहिला पहिला हामी निर्वाचनमा जाँदा पनि जनताका विकास र निर्माणका मुद्दा उठाउने गथ्र्यौं । अबका निर्वाचनमा जाँदा कानुनको कार्यान्वयन तथा भएका अप्ठ्यारालाई कसरी फुकाउने र नयाँ कानून बनाउन कस्तो भूमिका खेल्ने भन्नेबारेमा सबै उम्मेदवारले आफ्ना सङ्कल्प जनतालाई सुनाउनुर्छ । अनि त्यही आधारमा हाम्रो मूल्याङ्कन हुनेछ’, सांसद भट्टराईले भनिन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य भट्टराईले विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० मा सरकारले विधेयक दर्ता गरिसकेपछि नेपाल शिक्षक महासङ्घसँग गरिएका सहमतिबारे आफूहरुलाई बुझाउनुपर्ने तर्क राखिन्। संविधानको मर्म तथा मान्यताका आधारमा अबको शिक्षाको सुधार र रुपान्तरणको बहसलाई अघि बढाउन यो विधेयक सार्थक हुनुपर्नेमा दृढ भट्टराई समितिले मस्यौदामा आएका र संशोधनमा थपिएका बुँदामा केन्द्रित रहेर छलफल गर्ने स्पष्ट गरिन् । ‘सरकारले गरेको सहमतिको जिम्मेवारी सरकारले नै लिनुपर्छ, त्यसको जिम्मेवारी सांसदलाई दिन मिल्दैन’, भट्टराईले भनिन् । रासस ।
एनआईसी एशिया लघुवित्तको लाभांश घोषणा
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको कात्तिक १ गते बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत अर्थात् ३६ करोड ९ लाख १६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी १ अर्ब ७३ करोड १४ लाख रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्ने छन् । लघुवित्तले यसअघि अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा सेयरधनीहरुलाई १५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।
स्टार हस्पिटलको साढे १० लाख कित्ता सेयर बिक्रीमा, मूल्य कति ?
काठमाडौं । स्टार हस्पिटलले साढे १० लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । हस्पिटलले बिक्री हुन बाँकी रहेको हकप्रद सेयर बिक्री गर्ने भएको हो । हस्पिटल सञ्चालक समितिको बैठकले हकप्रद सेयर बिक्री हुन बाँकी १० लाख ६८ हजार ८१३ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई लिलाम बढाबढमा बिक्री खुला गरेको हो । कम्पनीले उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँ तोकेको छ । खरिद गर्न इच्छुकले मंसिर १ गतेसम्म आवेदन दिन सक्ने छन् ।
१० हजार कित्ता सेयर भएको प्रमाणपत्र हरायो
काठमाडौं । एक जना लगानीकर्ताको १० हजार कित्ता सेयर भएको प्रमाणपत्र हराएको छ । घान्द्रुक १० कास्कीस्थित लगानीकर्ता सुस्मा गुरुङ्गको १० हजार कित्ता सेयर संख्या भएको प्रमाणपत्र हराएको प्रभु क्यापिटलले जानकारी दिएको छ । प्रभु बैंक (साविक सेञ्चुरी बैंक)को संस्थापक सेयरधनी रहेका उनको सेयर प्रमाणपत्र नम्बर २७९ हो । यस्तै, हरिकृष्ण लामिछानेको ३३ कित्ता, रवि ढुङ्गेलको ३५ कित्ता, राजश्री हुमागाईंको १७ कित्ता, राम प्रसाद पौडेलको ४३६ कित्ता, सुवास कार्कीको २९२ कित्ता र अब्दुल रम्जान मियाँको १ हजार कित्ता भएका विभिन्न सेयर प्रमाणपत्र हराएको क्यापिटलले जनाएको छ । प्रमाणपत्रहरु हराएको हुँदा प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराई पाँऊ भनी निवेदन पेश गरेको हुँदा सो माथि कसैको हकदावी लाग्ने भए ३५ दिनभित्र निवेदन दिनु पर्ने क्यापिटलले जनाएको छ । अन्यथा उक्त सो सेयरहरु आवश्यक प्रकृया पूरा गरि निवेदनमा माग भए बमोजिम सम्बन्धितसेयरधनीहरुले उपलब्ध गराएको हितग्राही खातामा जम्मा गरिनेछ ।
मर्ज भएका बैंकहरुको नाफा एक अर्बभन्दा बढी, कूल नाफाको ५२ प्रतिशत हिस्सा
काठमाडौं । पछिल्लो समय दर्जनौं बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भए । बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी भएका कारण अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै मर्जरका लागि राष्ट्र बैंकले जोड दियो । जसको कारण गत वर्ष १४ वटा वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा सामेल भएर ७ बैंकमा सीमित भए । नबिल र नेपाल बङ्गलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके), हिमालयन र सिभिल बैंक, प्रभु र सेञ्चुरी बैंक, कुमारी र एनसीसी बैंक, लक्ष्मी र सनराइज बैंकबीच मर्जर तथा एक्विजिशन सम्पन्न भयो । मर्जर पश्चात् अधिकांश बैंकहरुले बिजनेश ग्रोथमा फड्को मारेको देखिन्छ । यद्यपी मर्जरमा सामेल भएका केही बैंकहरुको भने खासै सिनर्जी नआएको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले साउन र भदौमा १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका हुन् । जसमध्ये मर्जरमा सामेल भएका ७ बैंकले भने २ महिनाको अवधिमा साढे ८ अर्ब रुपैयाँ भन्दा बढी नाफा गरेका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार मर्जर भएका ७ बैंकले ८ अर्ब ६६ करोड ३० लाख रुपैयाँ बराबरको नाफा गरेका हुन् । जुन कूल नाफाको ५२ प्रतिशत हिस्सा हुन आउँछ । साथै, दुई महिनाको अवधिमा १ अर्बभन्दा बढी नाफा गर्ने बैंकहरु पनि मर्जरमा सामेल भएका संस्था नै छन् । ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र कुमारी बैंकले एक अर्बभन्दा नाफा गरेका हुन् । भदौसम्म सबैभन्दा बढी नाफा गर्ने बैंक ग्लोबल आइएमई बनेको छ । यस बैंकले सबैभन्दा बढी १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ बराबरको खुद नाफा गरेको छ । यस्तै, नबिल बैंकले भदौमा १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्याङ्क छ । यस्तै, नेपाल इनभेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब २३ करोड २४ लाख रुपैयाँ, कुमारीले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यस्तै, लक्ष्मी सनराइज बैंकले ८१ करोड ४० लाख रुपैयाँ र प्रभु बैंकले ६६ करोड ४१ लाख रुपैयाँ बराबर खुद नाफा गरेका छन् ।
भिजन लुम्बिनीले कात्तिक १६ गतेदेखि आईपीओ बिक्री गर्ने, कति कित्ता भर्ने ?
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले कात्तिक १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् १९ लाख १२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको थियो । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ९१ हजार २५० कित्ता विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गरेको थियो । अब दोस्रो चरणमा कम्पनीले स्थानीयले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सहित २० लाख ७५ हजार २८५ कित्ता सेयर बिक्री खुला गरेको हो । साथै, ९५ हजार ६२५ कित्ता सामूहिक लगानी कोष र ३८ हजार २५० कित्ता कर्मचारीलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा कात्तिक २० गते र ढिलोमा मंसिर १ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयर मार्फत् आवेदन दिन सक्ने छन् ।