विकासन्युज

सिटिजन्स बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए सपथ

काठमाडौं । सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष पाण्डेले कार्त्तिक १ गते बुधबार गभर्नर अधिकारी समक्ष आफ्ना पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । अध्यक्ष पाण्डे बैंकको १७औं साधारण सभापश्चात बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । यसअघि पाण्डेले बैंकको सञ्चालकको हैसियतमा चार वर्ष कार्य गरिसकेका छन् । इन्जीनियरिङ्ग संकायमा स्नातक गरेका पाण्डे विगत दुई दशकभन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय रुपमा संलग्न छन् । नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्द भई नेतृत्वदायी भूमिका निभाइ रहेका पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास लिएको छ । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, कम्पनी सचिव राजेन्द्र लाल श्रेष्ठ लगायतको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकको वर्तमान स्थिति र आगामी कार्यदिशाको वारेमा प्रकाश पारे ।

बालबालिकालाई भिटामिन ए खुवाउने मिति सर्यो, कात्तिक १७ र १८ गते खुवाइने

काठमाडौं । बालबालिकाहरुलाई प्रत्येक वर्ष ‘भिटामिन ए’ खुवाइने मिति सरेको छ । राष्ट्रिय ‘भिटामिन ए’ खुवाउने कार्यक्रमको निर्धारित समय कार्तिक २ र ३ गते नेपालीहरुको महान पर्व दशैंको बेला पर्न भएकोले १७ र १८ गते सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरुलाई जुकाको औषधी पनि सोहि दिन खुवाइनेछ ।

पदाधिकारी विहिन बन्यो स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्यमन्त्री सुधार गर्न खोज्दैछन् की ‘इन्ट्रेस्ट’ लाद्न ?

काठमाडौं । ७१ लाख बीमित जोडिएको स्वास्थ्य बीमा बोर्ड पदाधिकारी विहिन बन्न पुगेको छ । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला निलम्बन गरेसँगै बाेर्ड पदाधिकारी विहिन बनेकाे हाे । असोज ३० गते स्वास्थ्य मन्त्रालय गुणस्तर नियमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बोर्डको निमिक्त कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए । मंगलबार बोर्डका पाँच सदस्यहरुले सामूहिक राजीनामा दिएसँगै बोर्ड पदाधिकारी बिहिन बन्न पुगेको हो । बोर्डमा ९ महिनादेखि अध्यक्ष नियुक्ति भएको छैन । बैशाख २० गतेदेखि मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री बस्नेतले अध्यक्ष नियुक्ति नगरेर नै कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई स्पष्टिकरण सोधेर बर्खास्त गर्ने काम गरेका छन् । चालु आर्थिक वर्षको शुरुवातदेखि नै मन्त्री बस्नेतले बोर्डलाई असहयोग गर्ने नीति अख्तियार गरेको देखिन्छ । बर्खास्तमा परेका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमा बोर्डको दायरालाई फराकिलो बनाउन ऐन अनुसार औपचारिक क्षेत्रमा काम गर्ने मानिसहरुलाई बीमाको दायरामा ल्याउनुपर्ने, आवश्यक कर्मचारीको प्रबन्ध गर्नुपर्ने र अस्पतालहरुको सुधार गर्नुपर्ने अवस्था रहेको बताउँदै आएका थिए । तर, सरकार र मन्त्रालयको तर्फबाट स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने भन्दापनि मन्त्रालयको तर्फबाट निरन्तर अप्ठ्यारो पार्ने काम हुँदै आएको बोर्डका तत्कालीन सदस्य चन्द्र थापा बताउँछन् । स्वास्थ्य बीमा बोर्डले २०७७ चैतमा स्वास्थ्य बीमा सञ्चालन गर्न जनशक्ति सर्वेक्षणको माध्यमबाट एक हजारभन्दा धेरै कर्मचारी आवश्यक पर्ने भन्दै स्वास्थ्य मन्त्रालयमा समक्ष प्रस्ताव गरेको थियो । त्यसपछि फेरि बोर्डले २०७९ भदौमा जनशक्ति संरचनामा फेरबदल गरेर ९०९ जना कर्मचारीको प्रस्ताव गरेको थियो । तर, मन्त्रालयले बोर्डको प्रस्तावलाई कहिल्यै पनि प्राथमिकता दिएको देखिँदैन । आवश्यकताको आधारमा नयाँ दरबन्दी नदिएपनि काजमा खटाएका कर्मचारी समेत फिर्ता बोलाएर मन्त्रालयले बोर्डलाई जनशक्तिमा कमजोर बनाउने काम गर्न खोजेको देखिन्छ । गत असार मसान्तमा मन्त्रालयले बोर्डलाई पत्र काटेर काजमा खटिएका कर्मचारी फिर्ता बोलाएको थियो । सोही परिपत्रअनुसार ८० जना कर्मचारी बोर्डबाट मन्त्रालयमा फिर्ता आएका थिए भने अहिले बोर्डमा संघ, काज र करारका कर्मचारी गरेर २ सय २५ जना मात्रै कार्यरत छन् । जुन बोर्डको जनशक्ति सर्वेले औंल्याएको आवश्यकता भन्दा चार गुणाले कम हो । राजीनामा दिएका बोर्डका सदस्य चन्द्र थापाले मन्त्रालयको जिम्मेवारीमा आइसकेपछि मन्त्री बस्नेतले कहिल्यैपनि बोर्डको कामकारबाही अगाडि कसरी बढाउने भनेर छलफल नगरेको बताएका छन् । उनले मन्त्रालयको तर्फबाट बोर्डलाई बर्बादी बनाउने काम गर्न लागिएको आरोप लगाए । मन्त्रालयले कहिल्यैपनि राम्रो कामको लागि निर्देशन नदिएको उनले बताए । विकासन्युजसँग कुरा गर्दै उनले भने, ‘सरकारले, मन्त्रीले, विभागले बोर्डसँग यो गरौं, तपाईंहरुले यो गर्न सक्नु भएन, तपाईंहरुले निकास दिनुस् भनेर भन्ने काम भएन, त्यसो भनेको भए हामीले निकास दिन्थ्यौं ।’ मन्त्रीको जिम्मेवारीमा आइसकेपछि बस्नेतले एक पटक पनि बोर्डका पदाधिकारीसँग भेटघाट नगरेको थापाले बताए । आफूहरुले मन्त्रीसँग बसेर छलफल गर्नको लागि धेरै अनुरोध गरेको तर, त्यसको लागि उनी तयार नभएको उनको भनाइ छ । लोकसेवा आयोगको प्रकृयाद्वारा मन्त्रीपरिषद्ले नियुक्ति गरेको कार्यकारी अधिकृतलाई मन्त्रीस्तरीय निर्णयबाट स्पष्टिकरण सोध्ने नमिल्दो काम भएको समेत थापाले बताए । अहिले स्वास्थ्य बीमा बोर्डले ७७ वटै जिल्लाका ७२ लाख मानिसहरुलाई बीमामा आबद्ध गराएको छ । स्वास्थ्य बीमा प्रभावकारी नभएको आरोप विभिन्न क्षेत्रबाट उठ्ने गरेको छ । स्वास्थ्य बीमा बोर्ड स्वयम् पनि आर्थिक रुपमा आत्मनिर्भर हुन सकेको छैन । बोर्डका तत्कालीन कार्यकारी निर्देशक डा. दामोदर बसौलाले औपचारिक तथा संगठित क्षेत्रमा काम गर्ने मानिसहरुलाई अनिवार्य बीमाको दायरामा ल्याउँदा मात्रै बीमाको कोष फराकिलो हुने बताएका थिए । उनले त्यसको लागि आफूहरुले सरकारसँग पटक-पटक कुरा गरेको तर, सुनुवाई नभएको बताएका थिए । असोज २४ गते बर्खास्त गरिएका कार्यकारी निर्देशक बसौलालाई असोज ४ गतेको मन्त्रीस्तरीय निर्णयबाट ११ बुँदे स्पष्टिकरण सोधिएको थियो । जसमा खास सैद्दान्तिक र व्यवहारिक मूल समस्या भन्दापनि प्राविधिक विषयहरु सोधिएको थियो । आम नेपालीको स्वास्थ्य भविष्यसँग जोडेर सरकारले लोकप्रिय कार्यक्रमको रुपमा अगाडि बढाएको स्वास्थ्य बीमालाई मन्त्री बस्नेतले प्रभावकारी बनाउन एक्सन लिएका छन् वा आफ्ना पदाधिकारी नियुक्ती गर्नका लागि भएका पदाधिकारीलाई अप्ठ्यारो पार्न खोजेका हुन् । यो प्रश्नको वास्तविक उत्तर उनको आगामी दिनले बताउला ।

आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीले डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने

काठमाडौं । आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबीच डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र मध्यपूर्व लगायत १५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेकद्वारा प्रवर्दित बोटिम अल्ट्रा एप मार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ । सम्झौता अनुसार युएईको केन्द्रीय बैङ्कबाट इजाजत पत्र प्राप्त लोकप्रिय बोटिम अल्ट्रा एप मार्फत आइएमईको डिजिटल वालेट आइएमई पे मा सोझै रकम पठाउन सकिने गरि डिजिटल रेमिटेन्सलाई प्रर्वद्धन गर्न दुवै पक्षले सहकार्य गर्ने छन् । यस रणनीतिक सहकार्य मार्फत डिजिटल वित्तीय समावेशितालाई थप प्रर्वद्धन गर्दै कारोबारको डिजिटल रुपान्तरणमा ठुलो सहयोग पुग्नुको साथै आइएमईका सेवाग्राहीहरूलाई अत्याधुनिक सूचना प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने आइएमईको उद्देश्य हासिल गर्न सहयोग पुग्ने पनि आइएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे । अस्ट्र टेकका प्रमुख व्यापार अधिकृत मार्क मिशेलले आइएमई नेपालसँगको साझेदारीबाट उत्साहित रहेको बताउँदै वित्तीय सेवालाई सबैका लागि थप पहुँचयोग्य बनाउन महत्त्वपूर्ण कदम रहेको उल्लेख गरेका छन् । यो रणनीतिक साझेदारी, युएइ र त्यसभन्दा बाहिर समेत आर्थिक समावेशिता प्रवर्द्धन गर्न केन्द्रित रहेको पनि प्रमुख व्यापार अधिकृत मिशेलले उल्लेख गरेका छन् । प्रमुख व्यापार अधिकृत मिशेलले, बोटिम अल्ट्रा एप मार्फत, लाखौं प्रयोगकर्ताहरूको जीवनलाई सरल बनाउन मद्दत गर्ने पहलहरू र सहकार्यहरूतर्फ काम गरिरहेका छौँ, र यो साझेदारी त्यो प्रतिबद्धताको प्रमाण रहेको पनि बताएका छन् ।

नेपाल पे क्युआर मार्फत मासिक १ अर्ब भन्दा बढिको कारोबार

काठमाडौं । नेपाल पे क्यूआरमार्फत मासिक कारोबार १ अर्ब रुपैयाँ भन्दा बढि पुगैको छ । नेपाल पे क्युआर सार्वजनिक भएको ६ महिना यता पहिलो पटक असोज महिनामा नेपाल पे क्युआरको प्रति महिना कारोबार १ अर्ब भन्दा बढि पुगेको कम्पनीले जनाएको छ । यसै गरी विभिन्न बैंक वित्तीय संस्थाहरु तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपाल पे क्युआर मा ४ लाख २५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध भइसकेका छन् । कारोबार रकम तथा मर्चेन्टको संख्या अनुसार यस उपलब्धीलाई एक महत्वपूर्ण कोशेढुङ्गाको रुपमा लिइएको छ र यसबाट क्युआर भुक्तानीमा थप वृद्धि हुने पनि अपेक्षा गरिएको छ । कम्पनीका अनुसार नेपाल पे क्युआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । क्युआर स्कीमको रुपमा समेत उपलब्ध रहेको उक्त नेपाल पे क्युआर मा एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले मर्चेन्ट लेभलमा एग्रिगेटेड क्युआर पनि उपलब्ध गराइरहेका छन् र हालै नेपाल पे क्युआर र स्र्माट क्युआर बीच नेटवर्क स्तरको अन्तर आबद्धता कायम भइसकेको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्युआरमा ४ लाख २५ हजार र क्युआर को २ लाख ५० हजार समेत गरी ६ लाख ७५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध छन् । त्यस्तै सबै वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग र वालेटहरुबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । मर्चेन्ट र व्यवसायीहरुले नेपाल पे क्युआरमा आबद्ध भई ग्राहकहरुबाट क्युआर मार्फत भुक्तानी प्राप्त गर्नका लागि आफ्नो बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन् । भौतिक रुपमा क्युआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्युआर इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा क्युआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ । हालै भ्वाइसमा आधारित क्युआर नोटिफिकेशन पनि केहि बैंक वित्तीय संस्थाहरुले उपलब्ध गराइरहेका छन् ।

नेपाल लाइफद्वारा तिमी यो दशैंमा के गर्छौ ? नामक टिकटक प्रतिस्पर्धाको आयोजना

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । तिमी यो दशैंमा के गर्छौ ? नामक यस टिकटकको जिङ्गलमा ९ सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ । हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरु छनौट गरि प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ । प्रथम हुनेलाई नगद तीस हजार, द्वितियलाई बीस हजार र तृतीयलाई दस हजार रुपैयाँ पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नेछन् । दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ । यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बडा दशैं २०८० को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् । कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्नेकुरा बताएका छन् ।

बैंकको ब्याजदर घटेसँगै बजारमा हरियाली, ४३ अंकले उछाल आउँदा २२३ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेपछि सेयर बजारमा हरियाली छाएको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले कात्तिकमा ब्याजदर घटाउने निर्णय गरेका छन् । जसको प्रत्यक्ष प्रभाव पूँजी बजारमा परेको लगानीकर्ताहरु बताउँछन् । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ विन्दुमा बन्द भएको छ । बैंकको ब्याजदरसँगै ब्रोकर कमिशन घटाउने निर्णय भएको सन्देश लगानीकर्ताहरुमाझ पुगेपछि सेयर बजार बढेको अनुमान लगानीकर्ताहरुले गरेका छन् । आज दिनभरिमा २८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता सेयर ३१ हजार ७८८ पटक खरिद बिक्री हुँदा ९३ करोड ४८ लाख ९४ हजार २१८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । साथै, आज दिनभरिमा २२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १० कम्पनीको मात्रै सेयर मूल्य घटेको छ । बुधबार सानिमा जनरल इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । इन्स्योरेन्सको प्रतिकित्ता ४३४ रुपैयाँमा ४ करोड ४६ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ । यस्तै, कुमारी बैंकको संस्थापक सेयरको कारोबार पनि धेरै भएको छ । बैंकको ३ करोड १३ लाख ९९ हजार रुपैयाँ बराबरको संस्थापक कारोबार भएको छ । साथै, आज दुई लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशत र इन्फिनिटी लघुवित्तको सेयर मूल्यमा ९.९७ प्रतिशतले सकरात्मक सर्किट लागेको हो ।

बागलुङका सहकारी पीडितलाई दसैंले छोएन

बागलुङ । दसैँको रमझमको समयमा सहकारीका बचत पीडित भने दैनिकजसो सडक आन्दोलनमा भेटिन्छन् । उनीहरुलाई दसैँको भन्दा बचतको पिरलो छ । बागलुङका इमेज बचत तथा ऋण सहकारी र शिव शिख बहुउद्देश्यी सहकारी संस्थाले बचत कर्ताको साँढे दुई अर्ब रकम उठाएर फरार भएपछि दसैँको समयमा बचत कर्ताको बिचल्ली भएको हो । इमेज सहकारीले डेढ अर्ब बचत उठाएर फरार भएपछि ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीविरुद्ध बचत पीडित राँके जुलुस तथा प्लेकार्डसहित सडकमा धर्ना बसिरहेका छन् । वडादसैँ सुरु भइसके पनि पीडितलाई दसैँले छुन नसकेको बचत पीडितहरुले बताएका छन् । उनीहरु दसैँ लागिसक्दा पनि सडकमै आन्दोलन गरिरहेका छन् । इमेज सहकारी बचतकर्ता सङ्घर्ष समितिले सहकारीका अध्यक्ष एवं नगर प्रमुख देवकुमार नेपालीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै मङ्गलबार बागलुङ बजारमा सिठ्ठी जुलुस निकालेको थियो  । सहकारीले पोखरा र बागलुङमा गरी बचतकर्ताको करिब दुई अर्ब फिर्ता नगरेकाले उक्त रकम फिर्ताको माग गर्दै आन्दोलन थालिएको सङ्घर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताए। गत जेठ ५ गतेदेखि फरार रहेका नेपालीलाई यथाशीघ्र पक्राउ गरी बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने, इमेज सहकारीलाई समस्याग्रस्त सहकारीको सूचीमा राख्नुपर्ने माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको उनले बताए। ‘दुखजिलो गरेर बचत गरेको रकम चाडवाडको समयमा फिर्ता नपाउँदा बचत पीडितलाई कस्तो भएको छरु, हामीलाई चाडवाडको भन्दा बचतको पिरलो छ’ कार्कीले भने, ‘छ महिनादेखि चुनौती दिएर फरार भएका नेपालीलाई राज्यले कानुनी दायरामा ल्याउन नसक्नु दुःखद् हो ।’ सबैलाई दसैँ लागे पनि बचत कर्तालाई दशा लागेको बताउँदै नेपाली कानुनी दायरामा नआउँदासम्म आन्दोलन जारी रहने उनको भनाइ थियो । डेढ अर्ब रकम हिनामिनापछि भागेका सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटनका नगरप्रमुख देवकुमार नेपाली छ महिनादेखि बेपत्ता छन् । नेपालीको खोजीमा राज्यले पहल नगरेको भन्दै पीडितले राज्यको ध्यानाकर्षण गराउन निरन्तर सडक आन्दोलन गरिरहेका छन् । एक हजार सात सयको बचत उठाएर नेपाली फरार भएपछि बचत कर्तालाई दसैँले छुन नसकेको पीडित यामप्रसाद शर्माले बताए। ‘राज्यले पीडितको कुरा सुनेन । फरार रहेका नेपालीलाई पक्राउ गरेर ल्याउन माग गर्दर्छौँ’, उनले भने, ‘चाडवाडको सयमा हामी जस्ता बचतकर्ता सडकमा आउनु परेको छ । हामी जस्ताले राखेको रकमले घर गाडी किनेर मोजमस्ती गर्नेलाई कारबाही गर्न आवशयक छ ।’ गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेपछि अहिलेसम्म नखुलेको शर्माले जानकारी दिए । उनका अनुसार सुरुमा तरलता अभाव देखाएको सहकारीले अन्ततः पैसा हिनामिना पारेपछि बन्द भएको छ । उनीविरुद्ध प्रशासनले डेढमहिनाअघि नै गृहमन्त्रालयमा ‘रेडकर्नर नोटिस’ जारी गरिदिन सिफारिससमेत गरेको थियो । रेडकर्नर जारी हुँदा अन्तर्राष्ट्रिय तहमा पनि अभियुक्तको खोजी गर्न सकिने प्रावधान भए पनि अहिलेसम्म रेडकर्नर नोटिस जारी नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । नेपालीको खोजी कार्य भइरहे पनि अहिलेसम्म उनलाई पक्राउ गर्न नसकिएको उनले बताए । रासस