विकासन्युज

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

  दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ सुरुआत भएलगत्तै बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । दसैँमा चिसो मौसम सुरु हुने भएकाले यहाँ पर्यटकको चहलपहल बढ्ने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान बताए । उनले भने, ‘चिसो मौसम बन्दीपुरको पर्यटनका लागि सिजन मानिन्छ । अब विस्तारै पर्यटकको चहलपहल क्रमशः बढ्दै जान्छ ।’ घुम्न मन पराउनेको बन्दीपुर गन्तव्यस्थल बनिरहेको प्रधानको भनाइ छ । उनले भने, ‘दसैँमा घुम्न जाने धेरैको योजना हुन्छ, पोखरा वा चितवनतर्फ जानेहरु पनि बन्दीपुर आइरहेका हुन्छन् ।’ आन्तरिक पर्यटकको अलवा यतिबेला बन्दीपुरमा विदेशी पर्यटकको पनि उत्तिकै चहलपहल छ । यहाँ विशेषगरी चिनियाँ पर्यटकको सङ्ख्या बढी छ । नेपाल आएका अधिकांश पर्यटक एक रात बस्नका लागि बन्दीपुर आउने गरेका छन् । प्रधानका अनुसार यतिबेला बन्दीपुरमा चिनियाँ पर्यटक भित्रिने क्रम बढेको छ । उनले भने, ‘चिनियाँ पर्यटक प्याकेजमा यहाँ आउँछन्, काठमाडौँ आएका पर्यटक पोखरा जानु अगाडि बन्दीपुर बास बसेर मात्रै पोखरा जाने गरेका छन् ।’ यो वर्षको वैशाखदेखियता बन्दीपुरमा करिब चार हजार विदेशी पर्यटक आएका छन् । पर्यटन विकासको समितिको तथ्याङ्क अनुसार सबैभन्दा बढी चिनियाँ पर्यटक छन् । बन्दीपुरमा २६ देशबाट पर्यटक आएका छन् । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको तथ्याङ्क छ । गत वैशाखदेखि भदौसम्म बन्दीपुर आउने चिनियाँ पर्यटक एक हजार छ सय २२ छन् । वैशाखमा २२, जेठमा ३२, असारमा ९६, साउनमा छ सय ३० र भदौमा आठ सय ४२ चिनियाँ पर्यटक बन्दीपुर भित्रिएका थिए । चिनियाँ पर्यटकपछि बन्दीपुर आउनेमध्ये धेरै इटालीका छन् । इटालीका पाँच सय आठ जनाले बन्दीपुर भ्रमण गरेका छन् । यस्तै जापानका ६२, स्पेनका चार सय २३, नेदरल्याण्डका ६७, फ्रान्सका एक सय पाँच, अमेरिकाका ४२, जर्मनीका ७७, डेनमार्कका आठ, पाकिस्तानका ३६, अष्ट्रेलियाका एक सय ३१, बेलायतका ४४, आयरल्याण्डका १३, दक्षिण कोरियाका ३०, बेल्जियमका २९, थाइल्याण्डका २६, ताइवानका ३४, स्वीटजरल्याण्डका २५, मलेसियाका ४७, होल्याण्डका १३, पोर्चुगलका ११, चेक रिपब्लिकका २६, इरानका ३३, भारतका चार सय ६४, ग्रिसका दश र अर्जेन्टिनाका ३१ जनाले बन्दीपुरको भ्रमण गरेका छन् । बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेपछि पर्यटकलाई थप सहज भएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार गन्तव्यबारे जानकारी नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानीज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ । बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल ९मिनी ग्रेटवाल०, विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको छ । गाउँपालिकाका अध्यक्ष थापाले भने, “बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो चहलपहल हुन्छ । विदेशी पर्यटकलाई पनि सहज होस् भनेर विभिन्न भाषामा सामग्री तयार गरिएको हो ।” विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको होटल व्यवसायी वैश गुरुङले बताए । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमश्रृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । बन्दीपुरमा होटल सङ्घसँग आवद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतकास्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ । रासस

प्रिमियममा आईपीओ जारी गर्न हिमालयन रिले पायो अनुमति, प्रतिकित्ता कति ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएको छ । इन्स्योरेन्सले कार्त्तिक १ गते मात्रै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बोर्डले कम्पनीलाई कूल ६ अर्ब १८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुने कूल तीन करोड कित्ता सेयर प्रतिकित्ता २०६ रुपैयाँमा जारी गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा थप १०६ रुपैयाँ प्रिमियम मूल्यसहित प्रतिकित्ता २०६ रुपैयाँमा सेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । पुनर्बीमा व्यवसाय गर्दै आएको कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल मार्केट रहेको छ ।

मोबाइलमा गुगल जेनेरेटिभ एआईको उपयोग कसरी गर्ने ?

काठमाडौं । गुगलले एन्ड्रोइड एप तथा वेब युजर्सको लागि नयाँ एआई फिचर्स विकास गरेको छ । गुगलको नयाँ एआई सुविधा प्रयोग गर्न चाहनेले गुगलको नयाँ भर्सन डाउनलोड गर्नुपर्छ । एपको माथिल्लो बायाँ भागतर्फ नयाँ आइकन (सर्च लेब्स) देख्न सकिन्छ । यहाँबाट एसजीई अथवा सर्च जेनेरेटिभ एक्सपेरियन्स अन गर्न सकिन्छ । यसलाई अन गरेपछि एसजीई देखिन्छ । त्यसपछि गुगल एप रिफ्रेस भएर यो फिचर तपाईंको फोनमा एक्टिभ हुन्छ । त्यसपछि आफूलाई आवश्यक परेको विषय दिएपछि गुगलको एआइले सामग्री तयार गरिदिन्छ ।

कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्छ : गगनकुमार थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने बताएका छन् । बिहीबार नेपाल प्रेस युनियन काठमाडौंले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कुनै एउटा पार्टीको मात्रै सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने बताएका हुन् । उनले समय निश्चित गरेर एउटा पार्टीलाई मात्रै सरकार चलाउन दिनुपर्ने बताए । उनले सत्तारुढ गठबन्धनका नेताहरुले राष्ट्रिय सहमतिको सरकार गठनको कुरा गरिरहेको उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकार आवश्यक नरहेको बताएका हुन् । राष्ट्रिय सहमतिको सरकार बनाउँदा झन धेरै भागबण्डा गर्नुपर्ने अवस्था आउने जानकारी दिए । कुनै एक पार्टीलाई मात्र सरकार चलाउन नदिने हो भने सरकार यस्तै अस्तव्यस्त भइरहेको उल्लेख गरे । अहिलेको सरकारको कुनै प्राथमिकता नभएको बताए । महामन्त्री थापाले निर्वाचन पूर्व काँग्रेसले कुनैपनि गठबन्धन नगर्ने स्पष्ट पारे । आगामी निर्वाचनमा काँग्रेस गठबन्धन गरेर गएमा काँग्रेस पार्टी एक नरहने बताए । ‘०८४ सालमा हामी चुनावमा जाँदै गर्दाखेरी हामी गठबन्धनमा जाँदै जाँदैनौँ । मैले त असाध्यै राम्रो काम गर्न खोजेको थिएँ तर कांग्रेसको कारणले गर्दा दिएन । गठबन्धनको सरकार बाध्यता छ । मैले जनार्दनजीले भनेको कुरा सुनेको छु, एकदम गलत भयो राष्ट्रिय सहमतिको सरकार बनाऔँ । भागबण्डा हुँदैन । कांग्रेसले जति समय चलाउँछ, एक, दुई वर्ष जति हामीले पाउँछौँ हामी जोसँग मिलेर गर्छौ । जुन कालखण्ड चलाउँछौँ एक्लै हामी चलाउनुपर्छ । २५ जना मन्त्री काँग्रेसको राखेर चलाउनुपर्छ । र त्यतिबेलाको एक एक हिसाव काँग्रेस दिन तयार हुनुपर्छ । माथिदेखि तलसम्म यो स्थिति बन्यो भने मात्रै यसले एउटा खालको स्थिति बनाउँछ । हैन भनेदेखि भने अहिलेको जस्तै लर्याङलुरुङ कुनै फोकस छैन । यो सरकारको फोकस के हो मलाई थाहा छैन ।’, उनले भने । उनले निर्वाचन पूर्व गरिने गठबन्धनले लोकतान्त्रिक संस्कृतिलाई विकृत बनाउने बताए । निर्वाचन पूर्वको गठबन्धन सैद्धान्तिक रुपमा गलत रहेको उल्लेख गर्दै काँग्रेसका आगामी महासमिति बैठक निर्वाचन पूर्वको गठबन्धनको विपक्षमा उभिनुपर्ने जानकारी दिए । ‘नेपालमा निर्वाचन भन्दा अगाडी गर्ने गठबन्धनले प्रकारान्तरमा त्यसले हाम्रो लोकतान्त्रिक संस्कृतिलाई यति विकृत बनाउँछ, जसको कारणले गर्दाखेरी हाम्रो लोकतन्त्रले जुन चरित्र, जुन विशेषता बोक्नुपर्ने हो, त्यो बोक्नै सक्दैन । यसले तल जरासम्म पुयाउँछ । त्यसकारणले गर्दाखेरी निर्वाचन भन्दा अगाडी गठबन्धन गर्ने कुरा सैद्धान्तिक हिसाबले गलत छ । जुनकुरा सैद्धान्तिक हिसाबले गलत हुन्छ, त्यो कुरा कुनैपनि रणनीति बनाएर त्यसको सेवा गर्न पाइदैन । प्रष्ट हुनुपर्छ । यो महासमितिको बैठकले यसलाई टुंगो लगाउनुपर्छ । यो महासमितिको बैठकबाट नेपाली कांग्रेस पार्टी प्रष्ट उभिनुपर्छ, यो सैद्धान्तिक हिसावले गलत भएको हुँदाखेरी अब कांग्रेसले गलत सिद्धान्तलाई बोकेर हिड्नु हुँदैन भन्ने ठाउँमा हामी पुग्नुपर्छ ।’, उनले भने । महामन्त्री थापाले वर्तमान सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाएमा नेपाली काँग्रेसले नमान्ने बताए । उनले काँग्रेसले फागुन १ गतेलाई कुनैपनि दिवसको रुपमा स्वीकार नगर्ने प्रष्ट पारे । ‘यो सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउँछु भनेर बिदा दिन्छु भनेर भन्यो भने के नेपाली कांग्रेस पार्टी यसलाई हामी गठबन्धनमा छौँ त्यसकारणले गर्दा हामी यसलाई मान्छौँ भनेर यसलाई स्वीकार गर्नसक्छौँ ? सक्दैनौँ । किनभने यो हाम्रो सैद्धान्तिक विषय हुन्छ । हामी फागुन १ गतेलाई दिवसको रुपमा मान्दैनौँ ।’, उनले भने । महामन्त्री थापाले नेपाली काँग्रेसलाई रुपान्तरण गर्नुपर्ने भन्दै यसको निम्ति सबै पार्टी कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए ।

चाडबाडले बजारमा देखियो चहलपहल, व्यापार भने मन्द

फाइल फोटो कञ्चनपुर । ठूला चाडबाड सुरु भएसँगै कञ्चनपुरका साना ठूला बजारमा चहलपहल बढेको छ । पछिल्लो केही दिनयता बजार क्षेत्रमा किनमेल गर्नेको भीड लाग्ने गरेको छ । अन्य समयको तुलनामा चाडबाडमा किनमेल गर्नेको सङ्ख्या बढी हुनाले व्यापार राम्रो हुने गरेको महेन्द्रनगरका व्यापारी दुर्गादत्त भट्टले बताए । ‘चाडबाडमा मानिसको बजारमा ओहोरदोहोर बढेको छ, लत्ताकपडा तथा सामान किनमेल गर्ने हुनाले यो समयमा व्यापार राम्रै हुन्छ’, उनले भने । चाडबाडको समय सुरु भएकाले बजारमा भीडभाड बढेको महेन्द्रनगरकै अर्का व्यापारी जयसिंह भण्डारीले बताए । ‘बजारमा भीडभाड बढेकाले व्यापार हुने आशा छ’, उनले भने- ‘अरु समयभन्दा चाडबाडमा बढी व्यापार हुने गर्छ ।’ गाउँ सहरमा दशैं तिहारको रौनक छाएको छ । चाडबाडले घरबाट टाढा रहेका घर फिर्ती भएका छन् । चाडबाडको किनमेल सुरु भइसकेको छ । सुस्ताएको व्यापार चाडबाडले चलायमान बनाउने व्यापारीको विश्वास छ । बजारमा चहलपहल भए पनि व्यापार भने मन्द रहेको उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीले बताए । ‘चाडबाड सुरु भइसक्दा पनि अझै व्यापार चलायमान हुन सकेको छैन, आर्थिक मन्दी छ’, उनले भने- ‘व्यापार खस्किँदै गएको छ ।’ कोरोना महामारीपछि व्यापार व्यवसाय निकै धरासायी भएको उनको भनाइ छ । घर बाहिर रहेकाहरु आफू रहेको ठाउँमै चाडबाड मनाउन थालेपछि बजारमा चहलपहल घटेको अध्यक्ष जोशीले बताए । ‘भारत तथा विदेशमा रहेका पनि चाडबाड त्यतै बनाउन थाले, त्यसैले पुख्र्यौली थातथलोमा चहलपहल विगतको तुलनामा निकै कम छ’, उनले भने- ‘महङ्गाइ पनि निकै बढेको छ, त्यसैले पनि विगतको जस्तो व्यापार छैन ।’ नेपाली बजारभन्दा भारतीय बजारमा सामान सस्तो पाइने हुनाले उपभोक्ता किनमेलका लागि सीमावर्ती भारतीय बजार जाने गरेका छन् । रासस

सूचना प्रविधि : अब युट्युबमा गुनगुनाएर नै मन परेको गीत खोज्न सकिने

काठमाडौं । गुगले आफ्नो भिडियो प्लेफर्म युट्युबमा नयाँ सुविधा सहित अपडेट गरेकसो छ । नयाँ अपडेट पश्चात युट्युबमा गीत खोज्न सजिलो भएको छ । अब श्रोता तथा दर्शकहरुले आफूलाई मन परेको गीत गुनगुनाएर नै खोज्न सक्छन् । यसको साथै नयाँ अपडेटमा ‘स्टेबल भोलुम’ को पनि सुविधा थप गरिएको छ । केही सुविधा आइसकेका छन् भने केही सुविधा १/२ हप्तामा रोलआउट हुने युट्युवले जनाएको छ ।

नेबिकोको पिनट बटर कुकिज बजारमा

काठमाडौं । नेबिकोको पिनट बटर कुकिज बजारमा ल्याएको छ । करिब ६ दशकदेखि नेपाली उपभोक्ताको मन जित्न सफल ब्राण्ड नेबिकोले बिजया दशमीको अवसर पारेर फेरी अर्को नयाँ ब्राण्ड बजारमा ल्याएको हो। बिस्कुट भन्ने बित्तिकै नेबिको नै पहिलो रोजाइमा पर्ने गर्दछ। नेपाली बजारमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ब्राण्ड हो । नेबिको हरेक पुस्तालाई ध्यानमा राखेर, विभिन्न ब्राण्डहरु बजारमा ल्याएको छ र निरन्तर आफ्नो ब्राण्डलाई स्थापित गर्न सफल भएको छ। बिस्कुट, कुकिज, कन्फेक्सनरी र स्यारलेस गरि विभिन्न उत्पादनमा आफ्ना उत्कृष्ट उत्पादन बजारमा बिक्रिवितरण गर्दै आएको कम्पनीले जनाएको छ । नेबिकोले हालै मात्र बजारमा ल्याएको ब्राण्ड हो, पिनट बटर कुकिज जसको मुल्य ५० रुपैयाँ तोकिएको छ र तौल १२० ग्राम छ । यसमा प्राकृतिक बदाम र बदामको तेलको राम्रो समिश्रण रहेको छ । यो समिश्रण उपभोक्ताको स्वास्थको लागि चाहिने एउटा अत्यावश्यक खाध्य भिटामिन र लावक्ष्यको समिश्रण हो । आकर्षक प्यकेजीङ्गमा तयार गरिएको सो ब्राण्ड केहि नौलो स्वादमा हुनेछ । विस्तारै यसले आफ्नो बजार बनाउने। उपभोक्ताको मन फेरि पनि जित्नेछ भन्नेमा कम्पनि विश्वास्त रहेको छ।

नवरात्रको पाँचौँ दिन : स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको पाँचौँ दिन आज दसैँघरसहित पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । हरेक वर्ष असोज शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहे अनुसार आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन लागिएको छ । घटस्थापना गरेसँगै देवीका नौँ वटा रुपहरुको पूजा गर्ने परम्पराअनुुसार आज स्कन्दमाताको पूजा गर्न लागिएको हो । दशैँ शुरु भएदेखि सबै देवीहरुका मन्दिरहरुमा पूजा गर्नेहरुको आज पनि भीड लागेको छ । काठमाडौं उपत्यकाका गुहृयेश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, इन्द्रायणी लगायतका मन्दिरहरुमा पूजा आज गर्नेहरुको बिहानैदेखि चहलपहल सुरु भएको छ । उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी, डोटीको शैलेश्वरी लगायतका शक्तिपीठहरुमा पनि भक्तजनहरुको घुइँचो लागेको छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गर्ने गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गदर्छन् । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । उपत्यकाका नक्शाल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटा, नरदेवी लगायत विभिन्न मन्दिरहरुमा रङगीचङगी बत्तीहरुले सजाइएका छन् । उपत्यकाका नक्साल भगवती, शोभा भगवती र नाला भगवतीमा एकै प्रकारका मूर्तिहरु राखिएका छन् र यी देवीहरुलाई दिदीबहिनी मान्ने चलन रहेको छ ।