विकासन्युज

दशैंअघि नै निर्माण व्यवसायीको छ अर्ब भुक्तानी हुने

काठमाडौं । गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरुको छ अर्ब रुपैयाँ भुक्तानी हुने भएको छ । निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ । उक्त भुक्तानी दशैंअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले विभिन्न मन्त्रालय अन्तर्गतका परियोजनामा अघिल्लो आवको दायित्व भुक्तानी निकासा दिने निर्णय भएको जानकारी दिए।

नेपाल इन्भेष्टमेन्ट मेगाले ल्यायो यातायात कार्यालयमा डिजिटल कारोबार गर्ने सुविधा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यातायात व्यवस्था कार्यालयमा डिजिटल कारोबार गर्ने सुविधा ल्याएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले देशको विभिन्न क्षेत्रहरुमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरुबाट क्युआर कोड मार्फत विभिन्न शिर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा यातायात व्यवस्था कार्यालयमा हुने नगद कारोबारमा कमि भइ सेवा ग्राहिहरुलाई लामो समय लाइनमा बसेर नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएको छ । क्युआर कोड प्रणालीवाट राजश्व संकलन गर्दा समयको बचत र पारदर्शी कारोवार हुनुका साथै नगद रहित कारोवारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ । हाल यो सुविधा यातायात व्यवस्था कार्यालयहरु विर्तामोड, जनकपुर, नेपालगञ्ज, सुर्खेत, इटहरी, हेटौँडा, सल्लाघारी, ठुलो भर्याङ, सानो भर्याङ, नारायणगढ, महेन्द्रनगर बाट सुचारु गरिएको बैंकका सूचना अधिकारी बिजेन्द्र सुवालले जानकारी दिए । बैंकले २६० शाखा, २५७ एटीएम, ६३ एक्सटेन्सन काउन्टरहरु र १०७ शाखारहित बैंकिङ्क काउन्टरहरूबाट आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ ।

दुई किलो चिनी किन्न धादिङबाट काठमाडौंमा

काठमाडौं । बजारमा चिनी अभाव भएपछि काठमाडौंको सुपथ मूल्य पसलमा धादिङदेखि मानिस दुई किलो चिनी किन्न काठमाडौं आएका छन् । दसैंतिहारको समयमा बजारमा चिनी नपाएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई सरकारले काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा आएका छन् । दसैंतिहारमा नेपालीले ठूलो मात्रामा चिनी प्रयोग गर्छन् तर सरकारले दायित्व निभाउन नसकेको उनले बताए । मुख्य चाडपर्वको समयमा २ किलो चिनी खरिद गर्न धादिङदेखि काठमाडौं आउनुपरेको भन्दै उनले आक्रोश व्यक्त गरे । चिनीलगायत दैनिक उपभोग्य वस्तुको उपलब्धता समयमा नै गराउनुपर्ने दायित्व भए पनि सरकारले बिर्सेको उनको आरोप छ । भट्टराईले धादिङका खाद्यान्न पसलहरुमा चिनी नपाएको र पाए पनि किलोको १६० रुपैयाँसम्म पर्ने गरेको बताए । उनले जन्मेदेखि पहिलो पटक धादिङबाट २ किलो चिनी किन्न काठमाडौंमा आउनुपरेको गुनासो गरे । त्यस्तै, उपभोक्ता सावित्रा उप्रेतीले सहुलियत पसलमा चिनी किन्न दुई घण्टा लाममा बस्नुपर्‍यो । ‘नेपालीको मुख्य चाड दसैं र तिहारमा सरकारले आवश्यकता हेरेर समयमै चिनी उपलब्ध नगराएर जनतालाई दुःख दिएको छ,’ उनले भनिन् । त्यस्तै, कीर्तिपुरबाट चिनी किन्न सहुलियत पसल आएकी पवित्रा थापाको पनि उस्तै गुनासो छ । उनले बजारमा चिनी नै नपाएकाले सहुलियत पसलमा किन्न आएको बताइन् । ‘सरकारले राम्रो काम गर्न नसक्दा चाडपर्वको मुखमा जनताले दुःख पाएका छन्,’ उनले भनिन् । साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय निर्देशक ब्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई २ किलोका दरले उपलब्ध गराउने बताए । चिनी अभावका कारणले सहुलियत पसलहरुमा चिनी किन्न आउने उपभोक्ताको भीड रहेको उनको भनाइ छ । चिनी अभाव हुने विषयमा जेठमै जानकारी गराए पनि सरकारले तत्काल स्वीकृति नदिँदा चिनीमा समस्या आएको उनले बताए । ‘सरकारले समयमै स्वीकृति दिएको भए समयमा चिनी आयात हुँदा अभाव झेल्नुपर्ने अवस्था आउने थिएन,’ उनले भने ।

घलेम्दी हाइड्रोको सेयर मूल्य समायोजन

काठमाडौं । घलेम्दी हाइड्रोको सेयर मूल्य समायोजन भएको छ । २०० प्रतिशत हकप्रदको लागि हाइड्रोको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै हाइड्रोको सेयर मूल्य प्रतिकित्ता १२४.८७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता १७४.६० रुपैयाँ थियो । यससँगै अबको बजारमा हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता १२४.८७ रुपैयाँलाई आधार मानेर हुने छ ।

नेशनल हाइड्रोको ५० प्रतिशत हकप्रद सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेशनल हाइड्रो पावर कम्पनीको ५० प्रतिशत हकप्रद सूचीकृत भएको छ । कार्त्तिक २ गते बिहीबार मात्रै कम्पनीको सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै हाइड्रोको ८२ लाख २१ हजार ४५९ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ । अब उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

सानिमा बैंकको १४.७० प्रतिशत लाभांश पारित

काठमाडौं । सानिमा बैंकको प्रस्तावित १४.७० प्रतिशत लाभांश पारित भएको छ । बैंकको १९औँ वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद गरी कूल १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक बर्ष २०७९/८० मा २.६१ अर्ब रूपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २१५.६४ अर्ब रूपैयाँ, कुल निक्षेप १७८.८५ रूपैयाँ अर्ब तथा खुद कर्जा सापटी १४९.८७ रूपैयाँ अर्ब रहेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले बृद्धि गरेको छ ।

अब लगानीकर्ताले ९ दिनसम्म सेयर किनबेच गर्न नपाउने, बजार नखुल्ने

काठमाडौं । सेयर बजारका लगानीकर्ताले अब ९ दिनसम्म सेयर कारोबार गर्न नपाउने भएका छन् । दशैंको अवसरमा सेयर बजार अर्थात नेप्से बन्द हुने भएकाले लगानीकर्ताले लगातार ९ दिनसम्म सेयर खरिद बिक्री गर्न नपाउने भएका हुन् । यससँगै बजार अब कार्त्तिक ३ गतेदेखि ११ गतेसम्म बन्द हुने छ । भोलि अर्थात कार्त्तिक ३ गते शुक्रबार रहेकोले सो दिन सेयर बजार नियमित रुपमा बन्द छ । त्यस्तै, ४ गते फूलपाती, ५ गते अष्टमी, ६ गते नवमी, ७ गते विजया दशमी (दशैंको विशेष दिन), ८ गते एकादशी र ९ गते द्धादशीसम्म सार्वजनिक बिदा रहेको छ । उक्त दिनसम्म सार्वजनिक बिदा भएकाले सेयर बजार पनि पूर्ण रुपमा बन्द हुनेछ । त्यसैगरी, कार्त्तिक १० र ११ गते शुक्रबार र शनिबार । सो दिन नियमित रुपमा सेयर कारोबार बन्द हुने व्यवस्था छ । यससँगै अब कार्त्तिक १२ गते आइतबारदेखि भने सेयर बजार नियमित रुपमा खुल्ने छ । र, लगानीकर्ताले सेयर किनबेच गर्न पाउने छन् । सम्बन्धित समाचार सामान्य घटेर बन्द भयो दशैंअघिको सेयर बजार, अर्बपनि पुगेन कारोबार

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य

बेइजिङ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालले आज दिउँसो एक सूचना जारी गर्दै उनको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको हो । ‘उहाँ पूर्ण होसमा हुनुहुन्छ, स्वास्थ्यमा सुधार भइरहेको महत्वपूर्ण सङ्केत देखिएको छ’, अस्पतालद्वारा जारी सूचनामा भनिएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई निगरानीका लागि सघन उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ । छातीमा दुखाइ भएपछि उपचारका लागि उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालको आकस्मिक कक्षमा पुगेका थियो । अस्पताल पुगेलगतै उहाँको कोरोनी एजियोग्राम गरेर छातीको जाँच गरिएको थियो । जाँचका क्रममा मुटुको बाँया धमनी बन्द भएको देखिएपछि ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको छ । ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ आइपुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गए राति हृदयघात भएको थियो । चीन सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएको बताइएको छ ।