कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्छ : गगनकुमार थापा

<p>काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने बताएका छन् । बिहीबार नेपाल प्रेस युनियन काठमाडौंले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कुनै एउटा पार्टीको मात्रै सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने बताएका हुन् । उनले समय निश्चित गरेर एउटा पार्टीलाई मात्रै [&hellip;]</p>

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने बताएका छन् ।

बिहीबार नेपाल प्रेस युनियन काठमाडौंले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कुनै एउटा पार्टीको मात्रै सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने बताएका हुन् । उनले समय निश्चित गरेर एउटा पार्टीलाई मात्रै सरकार चलाउन दिनुपर्ने बताए ।

उनले सत्तारुढ गठबन्धनका नेताहरुले राष्ट्रिय सहमतिको सरकार गठनको कुरा गरिरहेको उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकार आवश्यक नरहेको बताएका हुन् । राष्ट्रिय सहमतिको सरकार बनाउँदा झन धेरै भागबण्डा गर्नुपर्ने अवस्था आउने जानकारी दिए । कुनै एक पार्टीलाई मात्र सरकार चलाउन नदिने हो भने सरकार यस्तै अस्तव्यस्त भइरहेको उल्लेख गरे । अहिलेको सरकारको कुनै प्राथमिकता नभएको बताए । महामन्त्री थापाले निर्वाचन पूर्व काँग्रेसले कुनैपनि गठबन्धन नगर्ने स्पष्ट पारे । आगामी निर्वाचनमा काँग्रेस गठबन्धन गरेर गएमा काँग्रेस पार्टी एक नरहने बताए ।

‘०८४ सालमा हामी चुनावमा जाँदै गर्दाखेरी हामी गठबन्धनमा जाँदै जाँदैनौँ । मैले त असाध्यै राम्रो काम गर्न खोजेको थिएँ तर कांग्रेसको कारणले गर्दा दिएन । गठबन्धनको सरकार बाध्यता छ । मैले जनार्दनजीले भनेको कुरा सुनेको छु, एकदम गलत भयो राष्ट्रिय सहमतिको सरकार बनाऔँ । भागबण्डा हुँदैन । कांग्रेसले जति समय चलाउँछ, एक, दुई वर्ष जति हामीले पाउँछौँ हामी जोसँग मिलेर गर्छौ । जुन कालखण्ड चलाउँछौँ एक्लै हामी चलाउनुपर्छ । २५ जना मन्त्री काँग्रेसको राखेर चलाउनुपर्छ । र त्यतिबेलाको एक एक हिसाव काँग्रेस दिन तयार हुनुपर्छ । माथिदेखि तलसम्म यो स्थिति बन्यो भने मात्रै यसले एउटा खालको स्थिति बनाउँछ । हैन भनेदेखि भने अहिलेको जस्तै लर्याङलुरुङ कुनै फोकस छैन । यो सरकारको फोकस के हो मलाई थाहा छैन ।’, उनले भने ।

उनले निर्वाचन पूर्व गरिने गठबन्धनले लोकतान्त्रिक संस्कृतिलाई विकृत बनाउने बताए । निर्वाचन पूर्वको गठबन्धन सैद्धान्तिक रुपमा गलत रहेको उल्लेख गर्दै काँग्रेसका आगामी महासमिति बैठक निर्वाचन पूर्वको गठबन्धनको विपक्षमा उभिनुपर्ने जानकारी दिए ।

‘नेपालमा निर्वाचन भन्दा अगाडी गर्ने गठबन्धनले प्रकारान्तरमा त्यसले हाम्रो लोकतान्त्रिक संस्कृतिलाई यति विकृत बनाउँछ, जसको कारणले गर्दाखेरी हाम्रो लोकतन्त्रले जुन चरित्र, जुन विशेषता बोक्नुपर्ने हो, त्यो बोक्नै सक्दैन । यसले तल जरासम्म पुयाउँछ । त्यसकारणले गर्दाखेरी निर्वाचन भन्दा अगाडी गठबन्धन गर्ने कुरा सैद्धान्तिक हिसाबले गलत छ । जुनकुरा सैद्धान्तिक हिसाबले गलत हुन्छ, त्यो कुरा कुनैपनि रणनीति बनाएर त्यसको सेवा गर्न पाइदैन । प्रष्ट हुनुपर्छ । यो महासमितिको बैठकले यसलाई टुंगो लगाउनुपर्छ । यो महासमितिको बैठकबाट नेपाली कांग्रेस पार्टी प्रष्ट उभिनुपर्छ, यो सैद्धान्तिक हिसावले गलत भएको हुँदाखेरी अब कांग्रेसले गलत सिद्धान्तलाई बोकेर हिड्नु हुँदैन भन्ने ठाउँमा हामी पुग्नुपर्छ ।’, उनले भने ।

महामन्त्री थापाले वर्तमान सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाएमा नेपाली काँग्रेसले नमान्ने बताए । उनले काँग्रेसले फागुन १ गतेलाई कुनैपनि दिवसको रुपमा स्वीकार नगर्ने प्रष्ट पारे ।

‘यो सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउँछु भनेर बिदा दिन्छु भनेर भन्यो भने के नेपाली कांग्रेस पार्टी यसलाई हामी गठबन्धनमा छौँ त्यसकारणले गर्दा हामी यसलाई मान्छौँ भनेर यसलाई स्वीकार गर्नसक्छौँ ? सक्दैनौँ । किनभने यो हाम्रो सैद्धान्तिक विषय हुन्छ । हामी फागुन १ गतेलाई दिवसको रुपमा मान्दैनौँ ।’, उनले भने ।

महामन्त्री थापाले नेपाली काँग्रेसलाई रुपान्तरण गर्नुपर्ने भन्दै यसको निम्ति सबै पार्टी कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए ।

Share News