महासचिव गुटेरेसको लुम्बिनी भ्रमण : विश्वभर शान्ति प्रवाह हुने अपेक्षा
लुम्बिनी । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ को अप्रिलमा बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गरेका थिए । त्यस भ्रमणसँगै लुम्बिनीको विकास र प्रचारप्रसारमा महत्त्वपूर्ण थालनी भयो । राष्ट्रसङ्घका तेस्रा महासचिव ऊको त्यो भ्रमणसँगै लुम्बिनीको विकासमा महत्त्वपूर्ण योगदान पुगेको बताइँदै आएको छ । उनको पहलमा यस क्षेत्रको विकासका एउटा अन्तर्राष्ट्रिय समिति गठन भएको थियो । त्यसक्रममा महासचिव ऊले लुम्बिनीको विकास पर्याप्त नभएको देखेर तत्कालीन राजा महेन्द्रसँगको भेटमा लुम्बिनीको विकासका लागि आफू सहयोग गर्न तयार रहेको धारणा व्यक्त गरेका थिए । विश्वका शान्तिप्रेमी र बौद्धमार्गीको पवित्र थलो भएकाले ऊको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय क्षेत्र एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रियस्तरमै तय गरिएको थियो । त्यस भ्रमणपछि लुम्बिनीको योजनाबद्ध विकास सुरुआत भएको मानिन्छ । जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाङ्गेले राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊकै आग्रहमा लुम्बिनीको गुरुयोजना तयार गर्नुभएको थियो । उक्त गुरुयोजना र लुम्बिनीको विकास तथा प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको समिति गठन गर्ने कार्यमा पनि संयुक्त राष्ट्रसङ्घकै भूमिका रहेको छ । सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक टाङ्गेले तयार पारेको गुरुयोजना ४५ वर्ष बितिसक्दा पूरा हुन सकेको छैन । गुरुयोजनाअनुसार अहिलेसम्म करिब ८५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । त्यसपछि अहिलेसम्म संयुक्त राष्ट्रसङ्घका महासचिव तथा पदाधिकारीले लुम्बिनीलाई विशेष चासो र महत्त्वका साथ हेर्दै आएका छन् । राष्ट्रसङ्घको महासचिवका रूपमा ड्याग ह्यामरकेजोल्ड, ऊ थान्त, ज्याभियर पेरेज डि कुइलर, कर्ट वाइल्डहाइम र बानकी मुनले लुम्बिनीको भ्रमण गरेका थिए । राष्ट्रसङ्घका महासचिवका रुपमा हाल एन्टोनियो गुटेरेस मङ्गलबार लुम्बिनी भ्रमणका लागि आउने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ । उनी आउने राष्ट्रसङ्घको छैटौँ महासचिव हुन् । महासचिव गुटेरेसको भ्रमणबाट लुम्बिनीको विकासका कोषेढुङ्गा सावित हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बताए । ‘नेपाल भ्रमण गर्ने हरेक राष्ट्रसङ्घका महासचिवको बुद्धको जन्मस्थल भ्रमण गर्नु लुम्बिनीकै इतिहास, गौरव र बुद्धको सन्देश संसारभर पुर्याउन सफलता मिलेको छ’, उनले भने, ‘यसपटक पनि भ्रमणले निरन्तरता पाउने भएकाले लुम्बिनीवासीका लागि यो गौरवको विषय बनेको छ ।’ महासचिव गुटेरेसको भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ समेत लुम्बिनी आउने कार्यक्रम तय भएको कोषका उपाध्यक्ष डा लामाले जानकारी दिए । यसबाट राष्ट्रसङ्घको रोहवरमा दस वर्षे युद्धपछि माओवादी पार्टी शान्ति प्रक्रियामा आएको र विस्तृत शान्तिसम्झौता हुँदै हाल संविधान कार्यान्वयन र शान्ति प्रक्रियाकै अन्तिम चरणमा रहेको अवस्थामा महासचिवको लुम्बिनी भ्रमणका बेला प्रधानमन्त्रीसमेतको सहभागिताले विश्वभर शान्तिको सन्देश जाने उनले बताए । राष्ट्रसङ्घको मुख्य उद्देश्य विश्वमा शान्तिको सन्देश पुर्याउनु हो । महासचिवको लुम्बिनी भ्रमणले नेपालको भूमिबाट विश्वभर शान्तिको सन्देश पुग्नु नेपालका लागि गौरवको विषय भएको उपाध्यक्ष लामाको भनाइ थियो । यस भ्रमणले अहिले विभिन्न मुलुकबीच भइरहेका युद्धलाई नेपालबाट शान्तिको सन्देश प्रभाहित हुनु नेपालका लागि अर्को गौरवको विषय हुने भएको छ । यस भ्रमणले नेपालमा अहिले देखिएको आर्थिक सङ्कटलगायत समस्या समाधान गर्न, लुम्बिनीलाई धार्मिक पर्यटकीय हिसाबले विकास गर्न, बृहत्तर लुम्बिनीको पर्यटन प्रवद्र्धनबारे विश्वभर प्रचारप्रसार गर्न र संसारका सम्पूर्ण मानवको शान्तिका लागि सहयोग मिल्ने अपेक्षा गरिएको छ । महासचिव गुटेरेसको स्वागतका लागि कोषले आवश्यक तयारीसमेत गरिसकेको कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए । उनका अनुसार मङ्गलबार बिहान करिब ९ बजेदेखि १० बजेभित्र महासचिव गुटेरेस लुम्बिनीमको औपचारिक कार्यक्रममा रहनेछन् । महासचिव गुटेरेस शान्तिदीप हुँदै मायादेवी मन्दिरमा पुगेर प्रार्थना गर्नाका साथै र त्यहाँको वातावरण अवलोकन गर्नुहुने कोषले जनाएको छ । कोषकतर्फबाट त्यहाँ लुम्बिनी क्षेत्र र गुरुयोजनाका विषयमा जानकारीपश्चात् सञ्चारकर्मीसँग गुटेरेसले आफ्नो शान्तिको सन्देशसहितको भनाइ राख्ने कार्यक्रम तय भएको सदस्यसचिव शाक्यले बताए । महासचिव गुटेरेस शान्तिदीपबाट मायादेवी मन्दिरसम्म पैदलै जाने र त्यसक्रममा स्थानीय आमा समूह, लुम्बिनीस्थित विभिन्न भिक्षु भिक्षुणीले स्थानीय कलासंस्कृतिसहित स्वागत गर्ने कार्यक्रम छ । रासस
प्याजको मूल्य वृद्धि थप हुन सक्ने, महँगो बन्दै भान्सा
काठमाडौं । तरकारीमा झन्डै अनिवार्य रुपमा प्रयोग गरिने प्याजमा पछिल्लो साता भारी मूल्य वृद्धि भएको छ । ठूलो हिस्सा भारतबाट आयात हुने र भारतको बजारमा अत्याधिक मूल्य वृद्धि भएपछि नेपालको बजारमा त्यसको असर परेको हो । आइतबार भारतीय बजारमा प्रतिकेजी ८० देखि एक सय भारुसम्म प्याजको मूल्य पुगेको छ भने काठमाडौंको कालीमाटी थोकबजारमा प्रतिकेजी १०७ रुपैयाँ पुगेको छ । भारतको बजारको तुलनामा नेपालमा प्याजको मूल्य झन्डै एकतिहाई सस्तो उपलब्ध छ । भारतीय बजारमा प्याजको मूल्यमा निरन्तर वृद्धि हुन थालेपछि भारत सरकारले निर्यातको लागि न्यूनतम मूल्य तोक्ने काम गरेको छ । भारत सरकारले बफर समयको लागि प्याजको भण्डारका लागि भन्दै २ लाख टन खरिद गर्ने भएको छ । साथै निर्यातमा कायम गरिएको मूल्य डिसेम्बर अन्तिमसम्म लागू हुने भारत सरकारले जनाएको छ । मौसमका कारणले भारतमा प्याजको रोपाइमा ढिला भएको र उत्पादन आउन पनि ढिला भएको कारणले प्याजको मूल्यमा वृद्धि भएको अनुमान गरिएको छ । नेपाल लामो समयदेखि खाद्यान्न तथा तराकारी फलफूलमा भारतसँग निर्भर हुँदै आएकाले भारतमा हुने मूल्य वृद्धिको सोझो असर नेपाली बजारमा परेको देखिन्छ । अझै दुई महिनासम्म भारतले प्याजको निर्यात मूल्य निर्धारण गरेको र भारतीय बजारमा प्याजको मूल्यमा दैनिक रुपमा नै वृद्धि भइरहेकोले नेपालमा पनि आगामी दिनमा अधिक मूल्य वृद्धि हुनसक्ने अनुमान गर्न सकिन्छ । भारतीय सरकारले बफर समयका लागि भन्दै प्याजको स्टक बढाउने र निर्यातमा कडाई गर्ने नीति लिएका कारण पनि नेपाली बजारले लामो समयसम्म प्याजको मूल्यवृद्धि खेप्नुपर्ने देखिन्छ ।
किसानलाई बाख्रापालनमा सहकारीको सहयोग, दसैँमा ६९ लाखको खसीबोका बिक्री
झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैंमा ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ । संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताए । किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेरमात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उनको भनाइ छ । उनका अनुसार विगत वर्षमा पनि संस्थाले आफ्ना सदस्य किसानको खसीबोका किनेर चाडपर्वका बेला खुला बजारमा बिक्री गर्दै आएको थियो । यसपालि पहिलोपल्ट इलामबाट संकलित खसीबोका काठमाडौंसम्म लगेर बिक्री गरिएको थियो । संस्थाको कृषि क्षेत्रका प्रमुख डा. कमलेश्वर भाटले यसपालिको दसैंमा औसत ३० किलोका ४ सयवटा खसीबोका बिक्री भएको जानकारी दिए । ती खसीबोका जिउँदै तौलिएर खोरबाटै नगदमा किनिदिँदा किसान चाडका बेला लाभान्वित भएका थिए । झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर र पाँचथरमा खसीबोका बिक्री गरिएका थिए । खसीबोका जिउँदै तौलिएर प्रतिकिलो ५८० रुपैयाँका दरले बिक्री गरेको उनले बताए । ‘हामी कृषकलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहित गर्न ऋणसँगै निःशुल्क तालिम, प्राविधिक सहयोग र बीमा प्रदान गर्छौं,’ उनले भने, ‘किसानले उत्पादन गरेका खसीबोका बजारीकरणमा पनि प्रत्यक्ष रूपमा सघाउँछौँ । उनीहरूका खसीबोका किनेर बिक्री गरिदिन्छौँ ।’ संस्थाले ६ जिल्लामा ४ सयवटा फ्रेस हाउसमा लगानी गरेको र ती फ्रेस हाउसले पनि किसानका खसीबोका अरु बेला किन्ने व्यवस्था मिलाएको उनले बताए । किसान र फ्रेस हाउसबीच व्यापारिक सम्बन्ध गाँसिदिँदा दुवै पक्षलाई फाइदा भइरहेको र बजारीकरणको समस्या नभएको उनको भनाइ छ । संस्थाले यसपालि दसैंअघि जुम्लाबाट स्याउ किनेर सदस्यलाई बिक्री गरेको थियो । कर्णाली प्रदेशको स्याउलगायत विभिन्न उत्पादनको बजारीकरण र बीउबिरुवा उत्पादनमा संस्थाले सहयोग पुर्याउने नीति लिएको संस्थाका निर्देशक खतिवडाले बताए । बाख्रापालक किसानलाई निःशुल्क प्राविधिक सहयोग पुर्याउन संस्थाले पशु चिकित्सकसहित १० कर्मचारी परिचालन गर्दै आएको छ । एक लाख ५७ हजार ९२० सदस्य रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा ७४ हजार १३० ऋणी छन् । संस्थाबाट कृषि कर्जा लिनेको संख्यासमेत उल्लेख्य छ । रासस
विश्व पक्षघात दिवस : रत्नपार्कमा ग्राण्डी इन्टरनेशनल हस्पिटलको स्वास्थ्य शिविर
काठमाडौं । विश्व पक्षघात दिवसको अवसरमा नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ । विश्व पक्षघात दिवसको अवसरमा आज (आईतबार) काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा नेपाल पक्षघात संघ र ग्राण्डी इन्टरनेशनल हस्पिटल लगायतका अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरुले जनचेतनामुलक कार्यक्रम गरेर मनाइएको हो । विश्व पक्षघात दिवसको अवसरमा आज काठमाडौंको रत्नपार्कमा जनचेतनामुलक प्लेकार्ड बोकेर वाकथनसमेत गरिएको थियो । साथै ग्राण्डी इन्टरनेशनल अस्पतालले सो अवसरमा आज रत्नपार्कको शान्ति बाटिकामा स्वास्थ्य शिविरको समेत आयोजना गरेको छ । स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै ग्राण्डि इन्टरनेशनल हस्पिटलका न्युरोलोजिस्ट राजु पौडेलले पक्षघातबाट बच्ने उपायका प्लोकार्डहरु बोकेर वाकथन गरेको र स्वास्थ्य शिविर सञ्चालन गरेको बताए । नेपाल पक्षघात संघका अध्यक्षसमेत रहेका उनले पक्षघात धेरैजसो वृद्धहरुमा हुने भएकाले वर्षमा एकपटक पूर्ण रुपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने बताए । उनले बालबालिकामा पनि पक्षघातको समस्या बढ्दै गएकाले सचेत र सजग रहन आग्रह गरे । ‘जनचेतनाका लागि हामीले विभिन्न पक्षघातबाट बच्ने उपायका प्लोकार्डहरु बोकेर वाकथन गरेका छौँ । यो कार्यक्रम देशभरका विभिन्न शहरमा गरेका छौँ । पक्षघात धेरैजसो बुढो उमेरमा हुन्छ, बालबालिकामा पनि समस्या देखिन्छ, कुनैपनि उमेरलाई छोड्दैन, तर यो धेरैजसो ६० वर्षपछि बढी देखिन्छ । मुटुको समस्या भएकालाई पक्षघातले असर गर्छ । हामीले चेकअप गरिरहनु पर्छ । बाहिरी खानेकुराहरु कम गर्दै जानुपर्छ । अचानक सन्तुलन बिग्रिने, बोली लरबरिने, हातखुट्टा लुलो हुने र आवाजमा अचानक परिवर्तन आए, साढे ४ घण्टाभित्र अस्पताल पुग्नसके समयमै उपचार गर्न र ज्यान जोगाउन सकिन्छ ।’,उनले भने । उनले अचानक सन्तुलन बिग्रिने, बोली लरबरिने, हातखुट्टा लुलो हुने र आवाजमा अचानक परिवर्तन आउने जस्ता लक्षण देखिए लक्षण देखिएको साढे ४ घण्टाभित्र अस्पताल पुग्नसके समयमै उपचार गर्न र ज्यान जोगाउन सकिने बताए ।
दशैँ लगत्तै भारतीले शुरु गरिन् पुनः रिले अनसन
काठमाडौं । भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन शुरु गरेकी छिन् । श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनसन शुरु गरेकी हुन् । श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले बिरोध गर्दै आएका छन् । भारतीले आज (आईतबार) बाट माईतीघर मण्डलामा पुनः रिले अनसन शुरु गर्नुभएको हो । २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)को साधारणसभा कात्तिक २३ मा हुने
काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को साधारणसभा यही कात्तिक २३ गते हुने भएको छ । नेप्सले १०औं वार्षिक साधारणसभा आरन्य बुटिक होटेलमा कात्तिक २३ गतेलाई आह्वान गरेको हो । साधारणसभाबाट लाभांश पारित गर्ने र प्रिमियम मूल्यमा आइपिओ निस्कासनको निर्णय गर्ने जनाइएको छ । नेप्सले सेयर लगानीकर्ताहरुलाई २१.०५३ प्रतिशत लाभांश प्रदान गर्नेभएको छ ।
एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधनप्रति सिबिफिनद्धारा दु:ख व्यक्त
काठमाडौं । नेपालको बैंकिङ क्षेत्रका अग्रज व्यक्तित्व एवं एभरेष्ट बैंकका संस्थापक तथा अध्यक्ष विष्णुकृष्ण (बीके) श्रेष्ठको निधनप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले दुःख व्यक्त गरेको छ । सिबिफिनले विज्ञप्ति जारी गर्दै गत कात्तिक ६ गते, मेडिसिटी अस्पतालमा उपचारका क्रममा ९४ वर्षको उमेरमा श्रेष्ठको निधन भएको थियो । श्रेष्ठको अकल्पनीय एवं दुःखद निधनले आफूहरु स्तब्ध एवं मर्माहत भएको (सिबिफिनले जनाएको छ । श्रेष्ठको अवसानले नेपालको बैंकिङ क्षेत्रमा अपूरणीय क्षति पुगेको सिबिफिनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कुशल नेतृत्व क्षमता, नवीन एवं दुरदर्शी सोचलाई नेपालको बैंकिङ क्षेत्रमा लागू गर्दै आएका श्रेष्ठको निरन्तरको योगदानबाट एभरेष्ट बैंक दिगो, अब्बल र विश्वासिलो बैंककोरुपमा स्थापित हुन सफल भएको भन्दै सिबिफिनले भारतको पञ्जाब नेशनल बैंकलाई ज्वाइन्ट भेञ्चरको रुपमा नेपालमा प्रथम पटक सफलपूर्वक भित्र्याएका श्रेष्ठको पहलले बैंकलाई थप उचाइँ समेत प्रदान गरेको उल्लेख गरेको छ । ‘नेपालको बैंकिङ क्षेत्रमा उहाँले पु¥याउनुभएका अमूल्य योगदानहरुप्रति हामी खुला हृदयले उच्च सम्मान व्यक्त गर्दछौं । उहाँका युगान्तकारी कर्म र पहलहरु नेपालको बैंकिङ इतिहासमा स्वर्णिम अक्षरमा दर्ज हुनेमा हामी पूर्ण विश्वस्त छौं ।’ विज्ञप्तिमा जनाइएको छ । जीवनको अन्तिम समयसम्म पनि गुणस्तरीय, विश्वासिलो र सर्वसुलभ बैंकिङ सेवाको विकास एवं विस्तारमा क्रियाशिल श्रेष्ठका उदाहरणीय कार्य सबैका लागि उत्प्रेरणा र ऊर्जाको स्रोत बनिरहने सिबिफिनले विश्वास व्यक्त गरेको छ । ‘यस दुःखद घडिमा दिवंगत आत्माको चीरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ, ‘अभिभावकत्व गुमाई दुःखद क्षणमा रहनुभएका परिवार, आफन्त र एभरेष्ट बैंक परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।’