नेपालले सिङ्गापुरविरुद्ध बलिङ गर्दै
काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्र्गत आज हुन गइरहेको उद्घाटन खेलमा नेपालले सिङ्गापुरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा अहिले भएको टसमा सिङ्गापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपाललले अब पहिला फिल्डिङ गर्ने भएको हो । नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने लक्ष्यमा रहेको छ । त्यस्तै नेपाल सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगिताको उद्घाटनमा सुखद् सुरुआत गर्न चाहन्छ । यसअघि नेपाल र सिङ्गापुरबीच चार ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल भएको छ जसमा नेपाल र सिङ्गापुरले समान एक एक जित निकाल्दा दुई खेल वर्षाको कारण रद्द भएको थियो । नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने अभिनाश बोहरा छन् ।
पशुपालन र तरकारी बिक्रीबाट मनग्य आम्दानी
गल्याङ । स्याङ्जाको फेदीखोला गाउँपालिका–३, भाटखोलाका २८ वर्षीय अनिल पौडेल साथीसङ्गीको लहलहैमा लागेर १८ वर्षको उमेरमै विदेश पसे । पढाइमा अब्बल मानिने उनको १२ कक्षा उत्तीर्णपछि औपचारक शिक्षा बीचमै रोकिन पुग्यो । उनी विदेश पसेर राम्रै कमाइ गर्न थाले तर विरामी परेपछि स्वदेश फर्किए । उनले विदेश कहिल्यै नजाने निधो गरेर फेदीखोला गाउँपालिका–२, खड्केटारीमा पाँच वर्ष पहिले एक हजार कुखुरापालनबाट व्यवसाय सुरु गरे । रु चार लाखबाट सुरु गरेको अनिलको व्यावसाय बजारको अभावमा दुई वर्ष नपुग्दै रु सात लाख ऋणम डुब्यो । व्यवसायबाट सन्तुष्ट हुन नसकेका उनले कुखुरापालन छोडेर रु १० लाख ऋण लिएर महालक्ष्मी कृषि तथा पशुपालन फार्ममार्फत पुनः उनले भैँसी पाल्न सुरु गरे । ‘अहिले फार्ममा छ भैँसी र तीन गाई छन्, भैँसीमध्ये तीन दुुहुना र तीन ब्याउनी हुन्, गाईमध्ये एक दुहुनो, एक ब्याउनी र एक बाच्छी हुन्’, उनले भने, ‘चार पाडी अँधिया पाल्न दिएको छु, दैनिक ३०/३५ लिटर दूध उत्पादन हुन्छ, वार्षिक रु १२ देखि १५ लाखको दूध बिक्री हुन्छ ।’ कुनै बेला १८ सम्म भैँसी पु¥याउनुभएका उनले कामदार अभावमा भैँसीलाई घटाएर गाई थपे । उनले १४ टनेलमा गोलभेँडा, काँक्रो, सिमी, काउलीलगायतका तरकारी उत्पादन गर्दै आएका छन । ‘तीनदेखि पाँच टनेलबाट वार्षिक दुई हजार, २१ सय किलो अमिता जातको गोलभेँडा उत्पादन गरेर बिक्री गर्ने गरेको छु’, उनले थपे, ‘गोलभेँडा गुणस्तरीय भएकाले प्रतिकिलो रु एकसय २० मा सजिलै बिक्री हुन्छ, गोलभेँडाको वार्षिक रु दुई लाख ४० हजारको कारोबार हुन्छ ।’ त्यस्तै उनले तीन टनेलबाट वार्षिक चार हजार किलो बेमौसमी क्राँक्रो उत्पादन गर्दै आए । किसान अनिलले रु एक सय ४० देखि रु एक सय ५० मा प्रतिकिलो काँक्रो बिक्री गर्दै आएक छन । उनले काँक्रोको वार्षिक रु पाँच लाखको कारोबार गरे । उनले काँक्रो सकिएपछि खरभुजा लगाउने जानकारी दिए । ‘मेरो फार्ममा तीन टनेलमा इटलियन एफवान जातको वार्षिक पाँच/छ सय किलो सिमी उत्पादन गर्दै आएको छु’, उनले भने, ‘सिमीको बजार भाउ रु ७० देखि रु एक सय २० सम्म हुन्छ, सिमीको पनि रु ६० देखि रु ८० हजारसम्मको कारोबार हुन्छ । यस्तै उनको फार्ममा चार/पाँच सय बोट काउली हुर्किरहेका छन् । काउली प्रतिकिलो रु एक सयदेखि एक सय ५० सम्ममा बिक्री हुन्छ । एक महिनाभित्र यहाँ उत्पादित काउली बजार पठाउन सकिने उनले बताए । उनले यसअघि उत्पादन भएको काउलीको एक वर्षको अवधिमा रु ५० हजारको कारोबार भएको दाबी गरे । उनले वार्षिक ८०/९० मुरी धान समेत उत्पादन गर्छन् । अनिलले उत्पादित तरकारी र दूध पोखराका विभिन्न डेरी र पसलमा आफैँले पु¥याएर फर्किन्छन । फार्म ७० रोपनी क्षेत्रफलमा फैलिएको छ । त्योमध्ये ३५ रोपनी आफ्नै जग्गा र ३५ रोपनी भाडाको जग्गा हो । अनिलको कामदार र परिवारका लागि छुट्टाछुट्टै दुई वटा आवास, एक गोठ, १४ प्लाष्टिक टनेल छन् । उनले उन्नत जातका घाँस पनि लगाए । ‘युएनडिपीको कार्यक्रमअन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा पाँच टनेलका लागि रु पाँच लाख पाएपछि व्यवसाय विस्तारका लागि झन हौसला बढ्यो’, उनले भने, ‘युएनडिपीको अनुदान प्राप्त गर्नका लागि गाउँपालिकाले मलाई सिफारिस गर्यो ।’ उनले गाउँपालिकाले किसानले उत्पादन गरेको कृषिउपज खरिद गर्ने कार्य प्रशंसायोग्य भए पनि खरिद मूल्य अत्यन्त न्यून रहेको दुखेसो पोखे । ‘कृषि ज्ञान केन्द्र स्याङ्जाले ३० रोपनी क्षेत्रफलमा आलु लगाउने समूहलाई अनुदान दिने भनेको रहेछ’, उनले भने, ‘मैले ३० रोपनीमा हैन ४० रोपनीमा आलु लगाउँछु, मलाई अनुदान दिनुहोस् भनेको छु ।’ उहाँलाई फार्ममा काम गर्नका लागि बुबा उमालाल र आमा कमला उपाध्यााय, श्रीमती मञ्जु पौडेलले सहयोग गर्दै आएका छन । उनले वाहिरीदुई जनालाई दैनिक रोजगारसमेत दिए । फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले पालिकाभित्र बाँझो जग्गालाई अधिकतम प्रयोगमा ल्याएर उत्पादन र उत्पादकत्व वृद्धि गराउने उद्देश्यले बाँझो जग्गा अधिकतम उपयोग गर्ने किसानलाई कार्यविधि बनाएर अनुदान दिएको बताए । उनले १८ रोपनी बाँझो जग्गा भाडामा लिए धान र तरकारीजन्य कृषिउपज उत्पादन गरेको जनाउँदै महालक्ष्मी कषि तथा पशुपालन फार्मका सञ्चालक अनिललाई रु ४५ हजार अनुदान दिएको बताए । ‘फेदीखोला गाउँपालिकामा बाँझो जग्गा उपयोग अनुदान कार्यक्रमअन्तर्गत अहिलेसम्मकै बढी अनुदान पाउने कृषकमा अनिल पर्छन, गाउँपालिका अध्यक्ष सुवेदीले भने, ‘गाउँपालिकाले उहाँलाई युवा उद्यम कार्यक्रममार्फत बिनाब्याज बिनाधितो पाँच वर्षका लागि रु पाँच लाख ऋणसमेत उपलब्ध गराएको छ ।’ वैदेशिक रोजगारबाट फर्किएर गाउँ फर्केका हरेक युवालाई पालिकाले स्वरोजगार बन्न सहयोग गरिरहेको उनले बताए । रासस
जी–७ का व्यापारमन्त्रीद्वारा मध्यपूर्वमा जारी द्वन्द्वको आर्थिक प्रभावबारे चिन्ता व्यक्त
एजेन्सी । मध्यपूर्वमा जारी द्वन्द्वको आर्थिक प्रभावबारे चिन्ता व्यक्त गर्दै जी–७ राष्ट्रका व्यापार मन्त्रीहरूको समूहले आइतबार चीन र रूसमाथि कटाक्ष गरेको छ । जापानमा भएको वार्तापछि जारी संयुक्त वक्तव्यमा रूसले जुलाईमा ‘ब्ल्याक सी’बाट सुरक्षित खाद्यान्न ढुवानीको अनुमति दिने सम्झौताबाट बाहिरिएपछि ‘युक्रेनी खाद्यान्न निर्यात पूर्वाधार ध्वस्त पारेको’ भन्दै आलोचना गरेको थियो । कुनै पनि देशको नाम नलिइकन जी–७ को वक्तव्यमा ‘आर्थिक निर्भरतालाई हतियार बनाउने कार्य’ र ‘महत्वपूर्ण खनिजपदार्थमा हालैको निर्यात नियन्त्रणका उपायहरूप्रति चिन्ता व्यक्त गरिएको’ पनि उल्लेख गरिएको छ । चीनले अन्य देशलाई राजनीतिक रूपमा दबाब दिन व्यापार प्रतिबन्धहरू प्रयोग गरेको आरोप लगाइएको छ । चीनले हालै केही प्रकारका विद्युतीय वाहन ब्याट्रीहरू बनाउनको लागि महत्वपूर्ण मानिने ग्रेफाइटमा निर्यातमा प्रतिबन्धहरू लगाएको छ । अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा चीनको कामलाई सुस्त बनाउने प्रयासमा उच्च प्रविधियुक्त माइक्रोचिप्सको आप्रर्तिमा नयाँ प्रतिबन्ध लगाएको केही दिनपछि यो कदम चालिएको हो । टोकियोले फुकुशिमा आणविक केन्द्रबाट प्रशोधित फोहोर पानी छोड्न सुरु गरेदेखि नै चीन र रूसले जापानी समुद्री खाना आयातमा लगाएको प्रतिबन्धप्रति अर्को स्पष्ट संकेत गर्दै जी–७ राष्ट्रहरूले कुनै पनि प्रतिबन्ध ‘विज्ञानमा आधारित र विश्व व्यापार संगठन (डब्ल्यूटीओ) र अन्य अन्तर्राष्ट्रिय नियमअनुसार मात्र लागू हुनुपर्ने’ बताएका छन् । उक्त पत्रमा मध्यपूर्वको बारेमा कुनै प्रत्यक्ष उल्लेख गरिएको छैन । तर जापानको ओसाकामा भएको बैठकको सह–अध्यक्षता गरेका जापानका विदेशमन्त्री योको कामिकावाले इजरायल र प्यालेस्टाइनको पछिल्लो अवस्थाका कारण अनिश्चितता अझै बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् । जी–७ मा वर्तमान अध्यक्ष जापान, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, बेलायत र संयुक्त राज्य अमेरिकाका साथै युरोपेली सङ्घ रहेका छन् । सन् २०१४ सम्म यसले रूसलाई सदस्यका रूपमा समेटेको थियो । ओसाकामा भएको वार्तामा भारत, अस्ट्रेलिया, चिली, केन्या र इन्डोनेसियालगायत अन्य देशका प्रतिनिधि, अन्तर्राष्ट्रिय सङ्घसंस्था र निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी थिए ।
सहकारीमा हिनामिना गरेको भन्दै श्री एयरलाइन्सका क्याप्टेन सुनिलसहित ६ जना पक्राउ
खोटाङ । बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारसहित आठ जनामध्ये तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई आइतबार पक्राउ गरेको हो । सहकारीमा भएको आर्थिक अनियमितताका विषयमा प्रहरीले छलफलका लागि जनाउँदै कार्यालयमा बोलाएर षडयन्त्रपूर्वक सञ्चालक समितिका पदाधिकारीलाई नियन्त्रणमा लिएको सञ्चालक समितिका एक पूर्वसदस्यले आरोप लगाएका छन् । ‘ऋणीहरुविरुद्ध हामीले किटानी जाहेरी दिएका छौँ । उनीहरु नै हुन् दोषी । अहिले पक्राउ परेका कोही पनि दोषी छैनन् । सञ्चालक समितिका सचिव मनोज राई आफैँले ऋणीहरुविरुद्ध गत माघ ६ गते किटानी जाहेरी दिनुभएको छ । उहाँलाई नै प्रहरीले पक्राउ गरेपछि कसरी अनुसन्धान प्रक्रिया अगाडि बढ्छ ?’ नाम उल्लेख नगर्ने सर्तमा एक पूर्वसदस्य ले भने, ‘यसमा निष्पक्ष छानबिन हुन जरुरी छ । बिना कारण कसैलाई दुःख दिन पाइँदैन । दोषीले उन्मुक्ति पाउनुहुँदैन ।’ सहकारीमा भएको आर्थिक अनियमितता प्रकरणमा मुछिएका व्यक्तिमाथि थप अनुसन्धान गर्न सञ्चालक समितिका पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिएका छन् । ‘लालुपाते सहकारी संस्था लिमिटेडमा ठूलो मात्रामा आर्थिक अनियमितता भएको पाइएको छ । अनुसन्धानका लागि सञ्चालक समितिका पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखियो’, उनले भने, ‘नियन्त्रणमा लिइएका सञ्चालक समितिका पदाधिकारीलाई आइतबार नै जिल्ला अदालत खोटाङमा हाजिर गराउनुका साथै एक दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । सोमबार सबैजनाको एकै पटक पुनः म्याद गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ । सम्भवतः यससम्बन्धीको नतिजा चाँडै नै आउने अपेक्षा गरेका छौँ ।’ आफूहरुले जम्मा गरेको बचत डुबाएको भन्दै बचतकर्ताले विसं २०७९ फागुन–२ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँचजना सदस्यसहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए । बचतकर्ताले दिएको जाहेरीको आधारमा जिल्लाबाट खटिएर गएको प्रहरी टोलीले अध्यक्ष जोशीका भाइ सुनिल जोशी र उहाँकी श्रीमती रविना श्रेष्ठ (जोशी)लाई असोज १३ गते तथा प्रबन्धक रुकु जोशीलाई असोज १७ गते काठमाडौँबाट पक्राउ गरेको थियो । महिना दिनअघि काठमाडौँबाट पक्राउ परेका तीनैजनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ । पक्राउ परेका सुनिल श्री एयरलायन्सका क्याप्टेनसमेत रहेका छन्। बचत अपचलनमा मुख्य दोषी ठानिएका क्याप्टेन सुनिललगायतको नाम प्रहरीले अनुसन्धानमा असर गर्ने जनाउँदै यसअघिसम्म सार्वजनिक गर्न मानेको थिएन । उनीहरुको परिवारले एक करोड ५० लाखभन्दा बढी ऋण चलाएको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ । सहकारीको नाममा खरिद गरिएको भनिएको जग्गा तत्कालीन अध्यक्ष जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको छ । बचतकर्ताका रकमले खरिद गरिएको जग्गा आफ्नो नाममा पर्ने व्यक्तिको पहिचान भएर पनि प्रहरीले अहिलेसम्म उनीहरुलाई पक्राउ नगरेको सञ्चालक समितिका पूर्वसदस्यले बताएका छन् । विसं २०७२ मङ्सिर १० गतेदेखि दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने तत्कालीन अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको थियो । जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तत्कालीन अध्यक्ष जोशीको निधनपछि विसं २०७८ वैशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प रहेको छ । सहकारीमा एकैजनाले ४५ लाखसम्म बचत गरेका छन् भने ७४ जना ऋणी रहेका छन् । सहकारीका ऋणीहरुले न्यूनतम ३० हजारदेखि रु ७५ लाखसम्म ऋण लगेको देखिएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । सहकारीको जग्गाबाहेक साँवाब्याजसहित करिब रु दश करोड ऋण लगानी रहेको जनाइएको छ । बचतकर्तालाई साँवाब्याजसहित करिब सात करोड फिर्ता दिनुपर्ने लेखा परीक्षण प्रतवेदनमा हिसाब देखिएको छ । सहकारीका तत्कालीन अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन भएको सञ्चालक समितिका अन्य पदाधिकारीले बताउँदै आएका छन् । बचतकर्ताले आफूहरुको बचत डुबाउने दोषीलाई कारबाही र डुबेको बचत फिर्ता गर्न माग गर्दै गत असोज १९ गते जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत खोटाङमा धर्ना दिएका थिए । सहकारीको बचत अपचलनमा मुछिएका आठ जनामध्ये तीनजना पक्राउ परेपछि दिक्तेल बजारमा विरोध प्रदर्शन गर्दै दोषीलाई कानुनी कारबाही गर्न तथा आफ्नो बचत सुरक्षितसाथ फिर्ता दिलाइदिन माग गर्दै धर्ना दिएका हुन् । पक्राउ परेका दोषीलाई उन्मुक्ति नदिन, अन्य दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन र डुबेको बचत रकमको साँवाब्याज फिर्ता गर्ने वातावरण निर्माणका लागि प्रदर्शन गरिएको बचतकर्ताले बताएका छन् । पक्राउ परेका व्यक्तिलाई अदालतले तारिखमा छाड्न लागेको सूचना आएकाले उनीहरुलाई कानुनी कारबाही तथा आफूहरुको बचत फिर्ताका लागि दबाबमूलक प्रदर्शन गरिएको बचतकर्ता धनीराम नछुङले बताएका छन् । जिल्लामा सञ्चालित अन्य केही सहकारी संस्थाले पनि आफूहरुको बचत फिर्ता नदिएको बचतकर्ताले गुनासो गर्न थालेका छन् । दश स्थानीय तह रहेको जिल्लामा एक सय ८१ सहकारी संस्था सञ्चालनमा छन् । रासस ।
प्रधानमन्त्री दाहालका कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने काम असहज भयो : ओली
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने काममा असहज भएको बताएका छन् । आईतवार संघीय संसद भवनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा उनले प्रधानमन्त्री दाहालले हिंसात्मक गतिविधिलाई बढावा दिने काम गरेकाले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने काम असहज बन्न गएको बताएका हुन् । ‘प्रधानमन्त्रीज्यू जो हिजोको विद्रोही नेता हुनुहुन्थ्यो । आज प्रधानमन्त्री हुनुहुुन्छ । उहाँले नै यी सबै विषयहरु टुंग्याउन भुमिका खेल्नुपर्नेमा चाहीँ अलिकति हिंसालाई बढावा दिने खालको, हिंसालाई महिमा मण्डन गर्ने खालको उहाँका क्रियाकलापले अलिकति असहज जस्तो भएको छ । खास गरेर युद्ध शुरु भएको दिनलाई दिवसको रुपमा मान्यता दिने जुन कुराहरु भयो । यसले पीडितहरु अलिकति चिन्तामा छन् ’, भेटमा सहभागी एमाले उपमहासचिव प्रदिप ज्ञवालीले अध्यक्ष ओलीलाई उदृत गर्दै भने । माओवादी युद्ध शुरु भएको दिनलाई दिवसको रुपमा मनाउने प्रधानमन्त्री दाहालको कामले शान्ति प्रक्रियामा असहजता थपिएको कुरा ओलीले राष्ट्र संघका महासचिव गुटेरेससँग राखेको भेटमा सहभागी एमालेका उपमहासचिव ज्ञवालीले जानकारी दिए । यता, महासचिव गुटेरेसले भने आफूले नेपालको शान्ति प्रक्रिया छिटोभन्दा छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको बताएका थिए । त्यसैगरी ओलीले महासचिव गुटेरेससँग प्रतिपक्ष दलको हैसियतमा आफ्नो पार्टीले शान्ति प्रक्रियालाई छिटो टुंगोमा पु¥याउने काममा सक्दो सहयोग गर्ने बताएका थिए । बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या समाधानका लागि पनि संयुक्त राष्ट्र संघबाट थप सहयोगका अपेक्षा गरिएको पनि ओलीले महासचिव गुटेरेसलाई बताएको एमाले उपमहासचिव ज्ञवालीले बताए ।
सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने
एजेन्सी । चालु वर्षमा चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) पाँच दशमलव दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय वित्तीय मञ्च (आईएफएफ) ले २०२४ मा चीनको जीडीपी ५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । चीनको दक्षिणी प्रान्त गुआङ्डोङको ग्वाङ्जाउमा आयोजित आईएफएफको २० वार्षिक बैठकका क्रममा जारी आईएफएफ २०२३ वैश्विक वित्त र विकास प्रतिवेदनअनुसार यो वर्ष वैश्विक विकास दर तीन दशमलव एक प्रतिशतमा अझ सुस्त हुने अनुमान छ । त्यस्तै सन् २०२४ मा पनि यस्तै कमजोर हुने सम्भावना छ । प्रतिवेदनमा अधिकांश मुलुकमा मौद्रिक कडाइको चक्र सन् २०२४ सम्ममा समाप्त हुने सम्भावना रहेको उल्लेख गरेको छ । यद्यपि मौद्रिक र वित्तीय कडाइ जारी रहने सम्भावना छ र यसबाट मागमा वृद्धि कम हुनेछ र वैश्विक सुधार सुस्त रहने छ । त्यसैले आईएफएफले सन् २०२४ मा वैश्विक अर्थतन्त्र तीन दशमलव एक प्रतिशतको दरले बढ्ने अनुमान गरेको छ । यसमा विकसित अर्थतन्त्रहरूमा एक दशमलव तीन प्रतिशत र विकासशील अर्थतन्त्रहरूमा चार दशमलव तीन प्रतिशतले वृद्धि हुनेछ । वैश्विक समुदायले अल्पकालीन र दीर्घकालीन दुवै चुनौतीहरूको सम्बोधन गर्न मिलेर काम गर्नुपर्ने प्रतिवेदनमा औँल्याइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘गरिबी न्यूनीकरण, पर्यावरणको संरक्षण र जलवायु परिवर्तनलाई न्यूनीकरण, अन्तरदेशीय द्वन्द्व समाधान गर्ने र भू–राजनीतिक तनाव कम गर्ने जस्ता साझा चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहयोग र बहुपक्षीयतालाई अगाडि बढाउन आवश्यक छ ।’
मध्यपूर्व द्वन्द्वका कारण अमेरिकाका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा
काठमाडौं । धेरै वर्षदेखि तनावमा रहेको मध्यपूर्व क्षेत्रमा अक्टोबर ७ देखि इजरायल र हमाबीचको द्वन्द्वले फेरि विश्वबजारका लगानीकर्तालाई चिन्ता थपिदिएको छ । मध्यपूर्वको द्वन्द्वमा अमेरिका र बेलायत जस्ता मुलुकका नेतृत्वहरु इजरायलमा नै पुगेर द्वन्द्वलाई घटाउने भन्दा विरोध र समर्थनमा उत्रिएपछि विशेषगरी अमेरिका र युरोपका ठूला लगानीकर्तालाई युद्धको सम्भावित परिदृष्यले चिन्तित बनाएको देखिन्छ । इजरायलले शनिबारबाट हमास विरुद्धमा भूमिगत सैन्य कारबाहीलाई समेत अगाडि बढाएको छ । पछिल्ला दिनहरुमा अमेरिकाले हमास, लेबनान र सिरियामा थप आक्रमण अगाडि बढाउन सेना पठाएपछि अमेरिकी लगानीकर्ताहरु चिन्तित बनेको रोयटर्सले उल्लेख गरेको छ । इजरायलको अवस्थाले धेरै चिन्ता पैदा गरेको ट्रेडिङ एन्ड डेरिभेटिभ्सका डाइरेक्टर र्यान्डी फ्रेडरिकले रोयटर्सलाई बताएका छन् । शुक्रबार क्रुड तेलको मूल्य स्थिर भयो तर, लगानीकर्ताहरुले सुरक्षित मान्ने सुनको मूल्यमा भारी वृद्धि हुन पुगेको छ । शुक्रबार क्यापिटल इकोनोमिक्समा विश्लेषकहरुले इजरायली तेल बजार ‘म्युट’ अवस्थामा रहेको प्रतिक्रिया दिएका छन् । तर, सो क्षेत्रका अन्य देशहरु सो युद्धमा सहभागी हुँदै गएमा भने त्यसले तेलको मूल्यमा ठूलो असर गर्ने अनुमान गरिएको छ । अहिलेसम्म इरान बाहेक अन्य मुलुकका अधिकारीहरुले भने आक्रामक वक्तव्यबाजी दिएका छैनन् । यदि द्वन्द्वका कारण अमेरिकाले युद्धमा खर्च वृद्धि गर्यो भने त्यसले १६ वर्षदेखि बढी भइरहेको ट्रेजरी खर्च थप बढ्ने प्रमुख बजार अर्थशास्त्री पिटर कार्डिलोले बताएका छन् । केही लगानीकर्ताहरुले भने ट्रेजरी खरिदलाई सुरक्षित समेत मान्ने गरेको पाइन्छ । तर, त्यसो भएमा यसले मूल्य वृद्धि र स्टक मार्केटमा भने असर गर्न सक्ने अनुमान गरिएको छ । जुलाइदेखि एस एन्ड पी ५०० को सूचकांक १० प्रतिशत भन्दा बढीले घट्न पुगेको छ । साथै अमेरिकी सरकारी बन्डहरुले अहिलेसम्म सुरक्षित प्रयोग भएको प्रदर्शन गर्न नसकेको ग्लोबल वेल्थ म्यानेजमेन्टले शुक्रबार एक नोटमा उल्लेख गरेको छ । एजेन्सीको सहयोगमा ।
नेपाल पर्वतारोहण सङ्घको स्वर्ण महोत्सव : विश्वका आरोही नेपाल आउँदै
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको शान, मान र गौरब पनि हो । सगरमाथासहित विभिन्न हिमालले नेपालको पहिचानलाई विश्वभर फैलाएको छ । मुलुकको पर्वतीय पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न नेपालका चर्चित हिमाल तथा पिकको महत्वपूर्ण भूमिका रहेको छ । तिनै पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घले स्थापनाको ५० वर्ष मनाउदैँछ । नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा क्रियाशील एकमात्र राष्ट्रिय अल्पाइन क्लबको रुपमा रहेको सङ्घले यही कात्तिक १५ गते ५० औँ स्वर्ण महोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागेको हो । महोत्सवमा विश्वविख्यात आरोहीहरुको सहभागिता रहने र त्यहाँ समग्र पर्वतीय पर्यटन विकासबारे छलफल हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त दिवसका अवसरमा कात्तिक १४ गते एशिया महादेशमा रहेका अल्पाइन क्लबहरुको छाता संस्थाको रुपमा रहेको एशियाली पर्वतारोहण महासङ्घको साधारणसभा काठमाडौँ आयोजना हुदैँछ । नेपालको पर्वतीय पर्यटनलाई टेवा पु¥याउने उद्देश्यले आयोजना हुने साधारणसभामा १८ वटा अल्पाइन क्लबका अध्यक्ष, महासचिव तथा प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । त्यसैगरी कात्तिक १५ गते राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आर्मी अफिसर्स क्लबमा विशेष समारोह आयोजना गरिनेछ । सो कार्यक्रममा नेपाल सरकारका मन्त्री तथा विशिष्ट अधिकारीसहित विश्व पर्वतारोहण महासङ्घका अध्यक्ष, एशियाली पर्वतारोहण महासङ्घका अध्यक्ष, विभिन्न अल्पाइन क्लबका प्रतिनिधि, विश्व विख्यात आरोहीहरु, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । दिवसका अवरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन ८० भन्दा बढी मुलुकमा सञ्जाल भएको विश्व पर्वतारोहण सङ्घका अध्यक्षलाई पनि सहभागिताका लागि आमन्त्रण गरिएको छ । विश्वभरका चर्चित आरोहीको नेपाल आगमन र विभिन्न गन्तव्यको भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने सङ्घका महासचिव मोहन लम्सालले बताए । एशियाली पर्वतारोहण महासङ्घ र विश्व पर्वतारोहण महासङ्घका प्रतिनिधिको नेपाल आगमनले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन हुने सङ्घका अध्यक्ष निमानुरु शेर्पाले बताए । उनले भने, “एशियाली अल्पाइन क्लबका अध्यक्ष र प्रतिनिधि तथा एशियाली महासङ्घका पदाधिकारीको नेपाल आगमन आफैमा नेपालको पर्यटनका निम्ति महत्वपूर्ण विषय हो, विश्व विख्यात आरोही पनि आउने भएकाले नेपालको पर्वतीय पर्यटन क्षेत्रको प्रवद्र्धनमा थप मद्दत पुग्ने छ ।” एशियाली पर्वतारोहण महासङ्घको साधारण सभाले सुरक्षित आरोहणसम्बन्धी रणनीति तयार गर्ने सङ्घका अध्यक्ष शेर्पाले बताए । हिमाल संरक्षण र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा साझा अभ्यासबारे पनि छलफल हुनेछ । सोही कार्यक्रममा एनएमएले हरेक वर्ष प्रदान गर्दै आइरहेको कुमार खड्ग विक्रम शाह प्रतिभा पुरस्कार, दावानर्बु शेर्पा पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार र डा हर्क गुरुङ पर्वतीय पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो त्यस्तै सङ्घले यसैवर्षदेखि स्थापना गरेको पासाङल्हामु शेर्पा महिला साहसिक पर्वतारोही पुरस्कार आठ हजार मिटरभन्दा माथिका विश्वका १४ मध्ये १० वटा हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल महिला आरोही पासाङल्हामु शेर्पा ‘अकिता’ लाई प्रदान गर्ने निर्णय गरिएको सङ्घले जनाएको छ । दिवसका अवसरमा जलवायु परिवर्तनले पार्ने अवसरबारे विश्वलाई सन्देश दिने उद्देश्यले सगरमाथाको आधार शिविर नजिक कालापत्थरमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ । सगरमाथाको सबैभन्दा छिटो आरोहण गरेर कीर्तिमान कायम गर्ने काजी शेर्पाले लुम्बिनीबाट शान्तिको दीप प्रज्वलन गरी काठमाडौँ हुँदै कालापत्थर पु¥याउनाका साथै राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको सङ्घले जनाएको छ ।