काठमाडौं । कुनै बेला जनशक्ति नपाउने अवस्थाबाट गुज्रिरहेको नेपाली बैंकिङ क्षेत्र अहिले अनुभवी बैंकर उत्पादन गरेर विदेशमा समेत पठाउने अवस्थामा पुगेको छ । पछिल्लो समय एकपछि अर्को नेपाली बैंकर विदेशका विभिन्न बैंकमा काम गर्ने अवसर मात्रै पाउने होइन महत्वपूर्ण जिम्मेवारी पाउन थालेका छन् ।
यो सँगै नेपाली बैंकर सनि महर्जनले पनि म्यानमारको म्यानमार सिटिजन्स बैंकमा काम गर्ने अवसर पाएका छन् । उनलाई बैंकले हेड अफ अपरेसनका रुपमान जिम्मेवारी दिएको छ । नेपाली बैंकिङ क्षेत्रमा १८ वर्ष बढी अनुभव भएका उनी यसअघि एनआइसी एशिया बैंकमा कार्यरत थिए । उनी एनआइसी एशिया बैंकमा डेपुटी चिफका रुपमा कार्यरत थिए ।
म्यानम्यार सिटिजन्स बैंकको नेतृत्व पनि नेपाली बैंकरले नै गरिरहेका छन् । भेषराज खतिवडा म्यानमार सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा कार्यरत छन् । सो बैंकमा रोमन प्रधानंग पनि सूचना प्रविधि विभागको प्रमुखका रुपमा कार्यरत छन् ।
पछिल्लो समय विदेशका विभिन्न बैंकमा नेपाली बैंकरले महत्वपूर्ण अवसर पाउने गरेका छन् । तत्कालीन सिभिल बैंकका सीईओ सुनिल पोखरेल पनि विदेशी बैंकको सीईओका रुपमा काम गरिरहेका छन् । उनी पपुवा न्यूगिनीको टिसा बैंक लिमिटेडको नेतृत्व गरिरहेका छन् ।
पोखरेलसँगै सोही बैंकको चिफ रिस्क अफिसरमा पनि नेपाली बैंकर सचिनजंग रायमाझी कार्यरत छन् । यसअघि रायमाझी हिमालयन बैंकको असिस्टेन्ट चिफ एक्जिक्यूटिभ अफिसरका रुपमा काम गर्थे । उनी केही दिनअघि देखि मात्रै विदेशी बैंकमा काम गर्न थालेका हुन् ।