नेपाललाई मलेसियाले दियो १६६ रनको लक्ष्य, नेपालले कति ओभरमा समेट्ला ?
काठमाडौं । मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ । आइसिसी टी-२० विश्वकप छनोट एसिया क्षेत्रका मंगलबारको खेलमा पहिला ब्याटिङ गरेको मलेसियाले नेपाललाई २० ओभरमा १६६ रनको लक्ष्य दिएको हो । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो ।
नयाँ मर्यादाक्रम : निजी क्षेत्रको वर्षौंदेखिको माग सम्बोधन भएन, कसको मर्यादाक्रम कति ?
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले नयाँ मर्यादाक्रम तयार गरेको छ । नयाँ मर्यादाक्रममा सरकारी तथा सार्वजनिक संस्थानका पदाधिकारी तथा अधिकारीहरु समेटिएपनि निजी क्षेत्रको वर्षौंदेखिका माग भने पुुरा भएन । निजी क्षेत्रका संघ संस्थाहरुले लामो समयदेखि आफुहरुको मर्यादाक्रम तोकिनु पर्ने माग राख्दै आएका छन् तर सरकारले आश्वासन दिएपनि माग कार्यान्वयन भने गर्न सकेको छैन । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयकको प्रतिवेदन तया गरेर पारित गरिसकेको छ । संसद्को चालु अधिवेशनमै विधेयकको प्रतिवेदन सभामा पेश गर्ने तयारी अनुसार समितिले पारित गरेको हो । दर्ताको आठ महिनापछि विधेयकको दफाबार छलफल टुङ्गो लागेको हो। परिमार्जनसहित विधेयकको प्रतिवेदन समितिले पारित गरेको हो । यस्तो छ नयाँ मर्यादाक्रम १. राष्ट्रपति २. उपराष्ट्रपति ३. प्रधानमन्त्री ४. प्रधानन्यायाधीश ५. सभामुख, राष्ट्रिय सभा अध्यक्ष ६. पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायाधीश । ७. संविधानसभा अध्यक्ष, पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता । ८. उपप्रधानमन्त्री, प्रदेश प्रमुख । ९. संघीय मन्त्री, मुख्यमन्त्री, उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष, राष्ट्रिय सभा सत्तापक्ष दलको नेता, राष्ट्रिय सभा विपक्षी दलका नेता, सत्तापक्ष संसदीय दलका उपनेता, विपक्षी संसदीय दलका उपनेता, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलका नेता, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने अन्य दलका नेता, पूर्वउपप्रधानमन्त्री, पूर्वप्रदेश प्रमुख, संविधानसभा उपाध्यक्ष, पूर्वउपसभामुख, राष्ट्रिय सभाका पूर्वउपाध्यक्ष । १०. संघीय संसद्का विषयगत समितिका सभापति, प्रतिनिधिसभाका मुख्य सचेतक, राष्ट्रिय सभाका मुख्य सचेतक, प्रतिनिधिसभाका विपक्षी दलका प्रमुख सचेतक, राष्ट्रिय सभामा विपक्षी दलका प्रमुख सचेतक, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलका प्रमुख सचेतक, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका सचेतक, प्रदेश सभाका सभामुख । ११. संघीय राज्यमन्त्री, सर्वोच्चका न्यायाधीश, संघीय सहायक मन्त्री, संघीय सांसद, न्यायपरिषद् सदस्य, संवैधानिक निकायका प्रमुख, नेपाल रत्न पाउने महानुभाव, महान्यायाधिवक्ता, संवैधानिक निकायका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, संघीय पूर्वमन्त्री, पूर्वमुख्यमन्त्री, संघीय संसद्का पूर्वपदाधिकारी (नेता, सभापति, सचेतक) । १२. उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेश मन्त्री, प्रदेश सभाका उपसभामुख, संघीय पूर्वराज्यमन्त्री, पूर्वसहायक मन्त्री, प्रदेश सभाका पूर्वसभामुख, संविधान सभाका सदस्य, पूर्वसांसद । १३. नेपाल सरकारका मुख्य सचिव, संघीय संसद्को महासचिव, सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार, प्रधानसेनापति । १४. प्रदेश सभाको विपक्षी दलको नेता, प्रदेश सभाको सत्तापक्ष दलको उपनेता, प्रदेश सभाको विपक्षी दलको उपनेता, प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दलको नेता, प्रदेश सभाको विषयगत समितिको सभापति, प्रदेश सभाको मुख्य सचेतक, प्रदेश सभाको विपक्षी दलको प्रमुख सचेतक, प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दलको प्रमुख सचेतक, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलको सचेतक, नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति, केन्द्रीय विश्वविद्यालयका कुलपति र सहकुलपति (प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने विश्वविद्यालयबाहेक), विश्वविद्यालयको उपकुलपति । १५. प्रदेश सरकारको राज्यमन्त्री, प्रदेश सरकारको सहायक मन्त्री, प्रदेश सभा सदस्य, प्रदेश लोकसेवा आयोगको अध्यक्ष, प्रदेश सरकारको पूर्वमन्त्री, प्रदेश सभाको पूर्वउपसभामुख । १६. नेपाल सरकारको सचिव एवं राजपत्रांकित विशिष्ट श्रेणी वा सोसरहको अधिकृत, प्रतिनिधिसभाको सचिव, राष्ट्रिय सभाको सचिव, प्रदेश सरकारको प्रमुख सचिव, प्रदेश सभाको सचिव, राष्ट्र गौरव पाउने महानुभाव, नेपाली राजदूत, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक, प्रदेश लोकसेवा आयोगको सदस्य, रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक । १७. उच्च अदालतको न्यायाधीश, मुख्य न्यायाधिवक्ता, प्रदेश योजना आयोगको उपाध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख, महानगरपालिका प्रमुख, नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति, विश्वविद्यालयको प्राध्यापक, उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक, प्रदेश योजना आयोगको सदस्य, प्रदेश सरकारको पूर्वराज्यमन्त्री, प्रदेश सरकारको पूर्वसहायक मन्त्री, प्रदेश सभाको पूर्वसदस्य । १८. जिल्ला समन्वय समितिको उपप्रमुख, जिल्ला समन्वय समितिको सदस्य, उपमहानगरपालिका प्रमुख, महानगरपालिका उपप्रमुख, नगरपालिका प्रमुख, उपमहानगरपालिका उपप्रमुख । १९. सहायक रथी, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान निर्देशक, गाउँपालिका अध्यक्ष, नगरपालिका उपप्रमुख, नेपाल सरकारको सहसचिव एवं राजपत्रांकित प्रथम श्रेणी वा सोसरहको अधिकृत, प्रदेश सरकारको सचिव, जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी (राजपत्रांकित प्रथम श्रेणी), नेपालस्थित विदेशी कन्सुलर जनरल, विश्वविद्यालयका सहप्राध्यापक, महासेनानी, प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक, प्रदेश सरकार तथा स्थानीय तहबाट नियुक्त राजपत्रांकित प्रथम श्रेणीको तहमा कार्यरत अधिकृत, माध्यमिक तह प्रथम श्रेणीका शिक्षक, सार्वजनिक संस्थानका प्रमुख कार्यकारी । २०. गाउँपालिका उपाध्यक्ष, नेपाल सरकारको उपसचिव एवं राजपत्रांकित द्वितीय श्रेणी वा सोसरहको अधिकृत, प्रमुख सेनानी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको उपअनुसन्धान निर्देशक, विश्वविद्यालयका उपप्राध्यापक, सेनानी, प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अनुसन्धान अधिकृत, प्रदेश सरकार तथा स्थानीय तहले नियुक्त गरेको राजपत्रांकित द्वितीय श्रेणी वा सोसरहको तहमा कार्यरत अधिकृत, माध्यमिक तह द्वितीय श्रेणीको शिक्षक । २१. नेपाल सरकारको शाखा अधिकृत एवं राजपत्रांकित तृतीय श्रेणी वा सोसरहको अधिकृत, सहसेनानी, विश्वविद्यालयका सहायक प्राध्यापक, प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, उपसेनानी, राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत, वडाध्यक्ष, प्रदेश सरकार वा स्थानीय तहले नियुक्त गरेको राजपत्रांकित तृतीय श्रेणी वा सोसरहको तहमा कार्यरत अधिकृत, माध्यमिक तह तृतीय श्रेणीको शिक्षक, सहायक सेनानी ।
गुटेरेसको भ्रमण : कोप-२८ मा हिमालको मुद्दाले पाउला प्राथमिकता !
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको औपचारिक भ्रमणका क्रममा जलवायु परिवर्तनको विषयमा प्राथमिकताका साथ चासो व्यक्त गरेका छन् । चारदिने भ्रमणका क्रममा आइतबार यहाँ आइपुगेका उनले सबै भेटवार्तामा नेपालमा जलवायु परिवर्तनले पारेको असरबारेमा छलफल गरेका छन् । विश्व तापमान वृद्धिका कारण संसारको अग्लो शिखर सगरमाथालगायत उच्च हिमाल पग्लदै गएको सम्बन्धमा महासचिव गुटेरेसले विशेष चासो व्यक्त गरेका हुन् । उनले सोमबार सगरमाथा क्षेत्रको भ्रमण गरी सो क्षेत्रमा जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका स्थानीय समुदायसँग कुराकानीसमेत गरेका छन् । महासचिव गुटेरेसले खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग आगामी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा स्थानीयका समस्या र सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने उल्लेख गरेका थिए । उनले विश्वको प्रदूषण वृद्धिमा धनी देशहरुको भूमिका रहेको तर खुम्बु पासाङल्यामु गाउँपालिका जस्ता दुर्गम स्थानमा नकारात्मक असर पर्नु दुःखद् भएको बताएका थिए । यसैगरी महासचिव गुटेरेसले आज अन्नपूर्ण आधारशिविर पुगेर नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले विकसित तथा औद्योगिक राष्ट्रका कारण जलवायु परिवर्तन भइरहेको बताउँदै विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली शृङ्खलाको हिउँ दिनप्रतिदिन घटिरहेको उल्लेख गरे । धनी तथा औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी प्रविधि तथा उपाय अपनाउन आह्वान गर्दै उनले नेपालमा परिरहेको जलवायु परिवर्तनको असर न्यूनिकरणमा सहयोग गर्न आग्रहसमेत गरे । जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप) मा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले तुलनात्मक रुपमा बढी असर पारेको मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएको छ । कोप–२८ आगामी मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुँदैछ । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले महासचिव गुटेरेसले भ्रमण क्रममा जलवायु परिवर्तनको विषयलाई प्राथमिकता दिनुभएकाले कोप–२८ मा नेपाललाई आफ्ना मुद्दा उजागर गर्न सहज हुने बताए। मन्त्री महतोले भने, ‘महासचिव गुटेरेसले हिमालको महत्व दर्शाउँदै हिमाल पग्लिने क्रम बढेकामा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले हिमालको मुद्दालाई विश्वको ध्यानाकर्षण गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यो हाम्रो लागि सकारात्मक पक्ष हो ।’ कोप–२८ मा नेपालले हिमाल र पर्वतीय मुद्दाका साथै जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानि नोक्सानीका लागि कोषको व्यवस्थापन, उत्सर्जन कटौती र समावेशीतालगायत सवाल प्राथमिकताका साथ उठाउने तयारी गरेको मन्त्री डा महतोले जानकारी दिए । वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले नेपालको संवेदनशील भू–वनोटका कारण जलवायु परिवर्तनको जोखिम पनि बढ्दो रहेको बताए । उनका अनुसार विश्व तापमानमा एक डिग्री सेल्सियस वृद्धि हुँदा नेपालको हिमाली क्षेत्रमा त्यसको असर एक दशमलव आठ डिग्री तापक्रमसम्म बढेको पछिल्लो अध्ययनले देखाएको छ । ‘यस्तो अवस्थामा महासचिव गुटेरेसको नेपाल भ्रमण हुनु र उहाँले सबै छलफलमा जलवायु परिवर्तनको विषयलाई प्राथमिकता दिनु हाम्रा लागि सकारात्मक कुरा हो । यसले कोप–२८ मा हामीलाई हिमालमा जलवायुले पारेको असरका मुद्दा उठाउन पक्कै सहज हुनेछ’ सहसचिव पौडेलले भने । विगतका तीन/चार दशकको तथ्याङ्क हेर्दा हिमालमा प्रतिदशक शून्य दशमलव शून्य पाँच डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इमिमोड) का वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा अरुणभक्त श्रेष्ठले बताए । उनले भने, ‘यसको असरले खासगरी हिमनदी पग्लिने क्रम तीब्र बढिरहेको छ । यो निकै संवेदनशील विषय हो ।’ विश्व तापमान वृद्धिले सन् १९८० देखि २०१० सम्मको अवधिमा करिब २५ प्रतिशत हिमनदीको क्षेत्रफल घटेको देखिएको छ । वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा श्रेष्ठले पेरिस सम्झौताअनुसार विश्व तापमान वृद्धि एक दशमलव पाँच डिग्री सेल्सियमा सीमित गर्न सफल भए पनि यो शताब्दीको अन्त्यसम्ममा नेपालको एक तिहाइ हिमनदीको आयतन घट्ने बताए। ‘जलवायु परिवर्तनले उच्च पहाडी र हिमाली क्षेत्रमा अति वृष्टिको क्रम बढेको छ । कहिले पानी नपर्ने स्थानमा पनि पानी पर्न थालेको छ’, उनले भने, ‘हिन्दूकुश क्षेत्रको हिमालमा पर्ने जलवायुको असरले प्रत्यक्ष र अप्रत्यक्ष गरी विश्वको एक चौथाइ जनसङ्ख्या प्रभावित हुनेछ ।’ हाल नेपालमा सम्भावित जोखिमा रहेका तालको सङ्ख्या २१ छ । चीनको तिब्बतमा रहेका २५ र भारतको एक हिमताल फुट्दा पनि त्यसको जोखिम नेपालमा पर्ने देखिन्छ । नेपालमा हिमतालको सङ्ख्या दुई हजार ७० छ । जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संस्था साथसाथैका अध्यक्ष प्रजिता कार्कीले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरले समग्र हिमाली अर्थतन्त्रमा प्रभाव पारेको बताए । उनले सो क्षेत्रको पारिस्थितिकीय प्रणालीका साथै तल्लो तटीय क्षेत्रका पारिस्थितिकीय प्रणालीमासमेत प्रभाव परेकाले यो विषयमा सबै मिलेर विश्वको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए । अध्यक्ष कार्कीले भने, ‘हामीले पनि स्थापनाकालदेखि नै जलवायु न्यायका पक्षमा वकालत गर्दै आएका छौँ, जलवायुको असर महिला, बालबालिका र स्थानीय समुदायमा बढी परेको विदितै छ । हामीले यसको क्षतिपूर्तिका लागि विश्वको ध्यानाकर्षण गराउनुपर्छ । महासचिव गुटेरेसको नेपाल भ्रमणले यो विषय आगामी जलवायु सम्मेलनमा उजागर गर्न सहज हुने विश्वास सकिन्छ ।’ रासस
लाइभ कन्सर्टबाट उठेको रकम परोपकारी काममा खर्च गर्छौं : अध्यक्ष बस्नेत
काठमाडौं । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिन चार्टर्डले यही कात्तिक १८ गते ‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ आयोजना गर्दैछ । नेपाली सांगीतिक क्षेत्रमा योगदान पु¥याउने र सामाजिक सेवाका लागि आर्थिक संकलनका लागि आयोजना गर्न लागिएको कार्यक्रमलाई भव्य रूपमा सफल बनाउने तयारीमा आयोजक जुटेको छ । गायक यम बरालको प्रस्तुति रहने उक्त लाइभ कन्सर्टले नेपाली संगीत र संस्कृतिलाई उजागर गर्न क्लबको यो प्रयासले महत्वपूर्ण भूमिका खेल्ने क्लबकी अध्यक्ष कल्पना बस्नेत बताउँछिन् । लायन्स क्लब स्थापना उद्देश्य, कार्यक्रमको उद्देश्यलगायत विषयमा केन्द्रित रहेर विकासन्युजले अध्यक्ष बस्नेतसँग गरेको कुराकानी : लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिन भर्खरै स्थापना भएको छ । क्लब र तपाईं दुवै नयाँ हुुनुहुन्छ । दुवैलाई कसरी चिनाउनुहुन्छ ? लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिन सन् २०२३ सेप्टेम्बर पहिलो साता स्थापना भएको हो । यस संस्थामा आबद्ध हुनुअघि म भ्वाइस अफ चिल्ड्रेनमा पछिल्लो १६ वर्षदेखि म्यानेजरका रूपमा काम गर्दै आइरहेकी थिएँ । सन् २०१४ देखि ब्रिलियन्ट एजुकेसन एन्ड करियर सर्भिसेस प्रालि सञ्चालनमा ल्याई त्यसको डाइरेक्टर भएर काम गर्दै आइरहेकी छु । त्यसलगायत अन्य सामाजिक संस्थामा आबद्ध भएर काम गरिरहेकी छु । मलाई समाजका लागि केही गरौं भन्ने हुटहुटी छ । दुई–चार जनालाई सहयोग गरेर उनीहरूको अनुहारमा खुसी ल्याउन सकुँ भन्ने लागिरहन्छ, त्यसैले म सामाजिक कार्यमा पनि सक्रिय छु । समाजका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले मैले यो क्लबलाई रोजेकी हुँ । भाग्य भन्नुपर्छ म यो क्लबको चार्टर प्रेसिडेन्ट छु । यो क्लबको आफ्नै लक्ष्य र उद्देश्य छ । लायन्स क्लब एउटा वृहत अन्तराष्ट्रिय संस्था हो । यो मेलभिन जोन्सद्वारा अमेरिकाको सिकागो इलिनोइसमा सन् १९१७ मा स्थापित अन्तर्राष्ट्रिय संगठन हो । टेक्सासमा मुख्यालय रहेको यस क्लब १४ लाख सदस्य (युवा विङ लियोसहित) २ सयभन्दा बढी देशमा फैलिएको छ । यो क्लब ३२५ आईअन्तर्गत यही सेप्टेम्बरमा काठमाडौंमा दर्ता भएको छ । विशुद्ध सामाजिक कार्य गर्ने मनसायले यो संस्था दर्ता गरिएको हो । यो संस्थामा हामी २८ जना महिलाहरु आबद्ध छौं । उद्योग, व्यवसाय, सञ्चारमाध्यम, शिक्षा, प्रहरी सेवालगायत कार्यक्षेत्रमा आबद्ध रहनुभएका महिला साथीलाई हामीले समेटेका छौं । संस्था स्थापना भएदेखि हामीले विभिन्न सामाजिक काम गर्दै आइरहेका छौं । यो संस्थाले विशुद्ध सामाजिक कार्य नै गर्छ । तपाईं लायन्स क्लबको नेतृत्वमा हुनुहुन्छ । यसबाट तपाईंले कस्तो योगदान गर्न खोज्दै हुनुहुन्छ ? पक्कै पनि नेतृत्वदायी भूमिकामा रहँदा जिम्मेवारी बोध बढी नै हुन्छ । संस्थाको आफ्नै उद्देश्य र कार्यशैली छ । यो एक समुदायमा आधारित संस्था भएकाले यसले नेपाली कला, संस्कृति संरक्षणलाई प्राथमिकता दिँदै आएको छ । यसै सन्दर्भमा क्लबले कात्तिक १८ गते ‘यम बराल ः हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ आयोजना गर्दैछ । गायक यम बरालको प्रस्तुति रहने कन्सर्टले नेपाली संगीत र संस्कृतिलाई उजागर गर्न क्लबको यो प्रयासले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ । यो कार्यक्रम पनि सामाजिक सेवा गर्नकै लागि आयोजना गर्न लागिएको हो । यस कार्यक्रमबाट भएको सहयोग हामीले धादिङ गजुरी गाउँपालिका–५ पिडास्थित डोल भञ्ज्याङ माविमा सहयोग गर्ने उद्देश्य राखेका छौं । उक्त विद्यालयमा चेपाङ समुदायका १ सय ९६, तामाङ समुदायका २ सयसहित ५ सय ४१ विद्यार्थी अध्ययन गर्छन् । विद्यालय पृथ्वीराजमार्गको आदमघाटबाट दक्षिणतर्फ २० किलोमिटर टाढा दुर्गममा छ । कार्यक्रमबाट संकलन रकम सोही विद्यालयको भौतिक संरचना मर्मत गर्न हस्तान्तरण गर्ने योजना छ । साथै, केही रकम लामो समयदेखि क्यान्सरबाट पीडित गायिका बिमला राई र तुलसादेवी फाउन्डेसन ललितपुरबाट सञ्चालित अनाथालयलाई सहयोग गर्ने योजना छ । भूकम्प, कोरोना महामारीलगायत अन्य कारण अहिलेको अवस्थामा धेरै लाइभ कन्सर्ट हुन सकेका छैनन् । मानिसहरू मनोरञ्जनात्मक कार्यका लागि सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र टिकटक बढी रोज्छन् । तपाईंले फिजिकल नै किन रोज्नुभयो ? हाम्रो संस्थाको आफ्नै भिजन छ । सामाजिक, सांस्कृतिक परिवर्तन र सहयोगका लागि हामीले कार्यक्रम आयोजना गर्न लागेका हौं । अहिले आर्थिक मन्दी र मानिसमा तनावको स्थिति सिर्जना भएको छ । अधिकांशले मनोरञ्जनका लागि डिजिटल प्लेटर्फम प्रयोग गर्ने गरेका छन् । अहिले मानिसहरू तनाव भुलाउन विभिन्न ठाउँहरू भांैतारिरहेको देख्न सकिन्छ । तर, यो लाइभ कन्सर्ट त्यसका लागि पनि उपयोगी माध्यम बन्न सक्छ । हामीले यसरी लाइभ कन्सर्ट आयोजना गर्दै गर्दा सामाजिक सञ्जालमा समय बिताउनेकोे त्यस दिनको दुई घन्टा समय परिवारसँग बितोस् भन्ने चाहना हो । र, त्यहाँ आउनुभएका सहयोगी हातहरूका कारण सामाजिक सेवा पनि गर्न पाइयोस् भन्ने अपेक्षा हाम्रो छ । कार्यक्रमका लागि खर्चको जोहो कसरी गर्नुहुन्छ ? २५ वर्षपछि ‘यम बराल ः हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ आयोजना हुँदैछ । यस्तो कार्यक्रमका लागि खर्च ठूलो नै हुन्छ । खर्चका हिसाबले कुरा गर्नुपर्दा एकदमै महँगो कार्यक्रम हो यो । यो कार्यक्रम सफल बनाउनका लागि हामीले विभिन्न व्यावसायिक संघसंस्थाहरूसँग सहयोग मागेका छौं । उहाँहरूले हाम्रो भिजन र मिसन मन पराएर सहयोगको हात अगाडि बढाउनुभएको छ । उहाँहरूको साथ र सहयोगले यो कार्यक्रम सफल हुन्छ भन्नेमा हामी विश्वस्त छौं । हामीले एउटा टिकटको १ हजार रुपैयाँ तोकेका छौं । तर, तपाईंले तिरेको त्यो हजार रुपैयाँले परिवारका साथमा मनोरञ्जन प्राप्त गर्न सकिन्छ र विशुद्ध समाजसेवा पनि गर्न सकिन्छ भने त्यो हामी सबैलाई लाभदायी विषय नै हो । मन्दीको समयमा मनोरञ्जनात्मक कार्यक्रमका लागि खर्च जुटाउन सजिलो भयो कि गाह्रो ? यो मनोरञ्जनात्मक कार्यक्रम भए पनि हाम्रो उद्देश्य समाज सेवामा केन्द्रित भएको हुँदा धेरैले हामीलाई सकारात्मक प्रतिक्रिया दिनुभयो । सहयोगका साथसाथै उत्साह र हौसला पनि दिनुभयो । त्यसैले गर्दा धेरै गाह्रो भयो जस्तो लागेन । म यहीँबाट पनि सबैलाई कार्यक्रममा उपस्थित भएर हौसला बढाइदिन अनुरोध गर्छु । नेपालमा अरू पनि धेरै चर्चित गायक–गायिका हुनुहुन्छ । क्लबले यम बराल नै किन रोज्यो ? संगीतको आधुनिक क्षेत्रमा स्वरसम्राट नारायण गोपालपछि यम बराललाई हेर्ने गरिन्छ । उहाँको गायन क्षमता पनि उत्कृष्ट छ । पाश्र्वगायक उहाँले नेपाली सांगीतिक क्षेत्रमा २ हजार बढी गीत गाइ सक्नुभएको छ । उहाँका गीतहरू साँच्चिकै सान्दर्भिक छन्, अहिलेका युवापुस्तादेखि वृद्धसम्म उहाँलाई सुन्न रुचाउनुहुन्छ । यस समयमा उहाँ उचित पात्र पनि हो भन्ने लाग्छ ।
ह्वावे क्लाउडले मोडल र एप्लिकेसनको विशाल दायरा प्रस्तुत गर्दै
काठमाडौं । ह्वावे कनेक्ट २०२३ मा, ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले कसरी ‘साझेदारीले नयाँमूल्यको लागिमार्ग प्रशस्त गर्छ’भन्ने बारेमा चर्चा गरेका छन् । काङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउदै भरपर्दो, स्केलेबल एआई कम्प्युटिङ पावरको लागि एससेन्ड एआइ क्लाउड सेवाको घोषणा गरे । एससेन्ड मोडल समुदाय र डेभलपर संस्थामा सामेल हुनासाथ साझेदार र विकासकर्ताहरूलाई सशक्तिकरण गर्न र इकोसिस्टमको थप वृद्धि गर्न प्रभावकारी हुने छ । ‘ह्वावे क्लाउडले सबै प्रकारका आधारभूतमोडलहरू अँगाल्न साथै विश्वव्यापी साझेदारहरू र डेभलपरहरूलाई संलग्न गराउन पूर्ण इकोसिस्टम निर्माण गरेको छ’ उनले भने । पंगु मोडलहरूमा नयाँआविष्कार गरौं र एआईको प्रयोग गर्दै उद्योगहरूलाई पुनःआकार दिऔं । ५ लाख डेभलपर र ४२ हजार साझेदारहरू ह्वावे क्लाउड इकोसिस्टममा सामेल भएका छन् भने १० हजारभन्दा बढी एप्लिकेसनहरू ह्वावेको क्लाउड मार्केटप्लेस कूग्यालरीमा जारी गरिएका छन् । त्यस्तै २१ हजारभन्दा बढी ग्राहकहरूले पंगु पिओसी परीक्षणको लागिआवेदन दिएका छन् । एससेन्ड एआइ क्लाउड सेवाले ठोस कम्प्युटिङ आधारशीला बनाउछ । यसले बहुमुखीपूर्वाधार, असाधारण प्रदर्शन र विविध स्रोतहरूसहित साझेदारहरू र डिभलपरहरूलाई मोडल माइग्रेसन र प्रशिक्षणमा सशक्त बनाउछ । विशेष गरी यसमा मुख्य धारा काएआई इन्जिनहरू (जस्तै माइन्डस्पोर, ह्वावेको गहिरो सिकाइ तालिम र अनुमान ढाँचा) सामेल गरिएको छ त्यसैले डेभलपरहरूले आफ्नाअत्याधुनिक स्टेट अफ द आर्ट (यसओटिए) मोडेलहरू वाअन्यमोडलहरूलाई एससेन्डमा ट्रिलियन प्यारामिटका साथ प्रशिक्षित मोडेलहरू सहित स्थानान्तरण गर्न सक्छन् । ह्वावे क्लाउडले डेभलपरहरूमाध्यान केन्द्रित गरी खुलाग्लोबल इकोसिस्टम निर्माण गर्ने लक्ष्य राखेको छ र ह्वावे क्लाउड मोडल कम्युनिटी यसको प्रमाण हो । यसमा डेभलपरहरूले गुणस्तर डेटासेटहरू, परिष्कृत स्टेट अफ द आर्ट मोडेलहरू, एआई क्षमताहरू, डेभलपर किटहरू, पाठ्यक्रम र प्राविधिक सहयोगमापहुँच पाउँछन् । ह्वावे क्लाउडले डेभलपरहरूलाई पनिउच्चदक्षताको यात्रामा लैजान्छ । फाउन्डेशनमामोडल र क्लाउड नेटिभ पाठ्यक्रमहरू ह्यान्ड–अन अनुभवका साथ प्रमाणित र मान्यता प्राप्त गर्ने मौकाको बनाइएका छन् । एक सम्पन्नइकोसिस्टम सिर्जना गर्न ग्राहकहरू र साझेदारहरूको संयुक्तप्रयास पनिआवश्यक छ । ह्वावे क्लाउडले १५० भन्दा बढी साझेदारहरू र २०० भन्दा बढी ग्राहकहरूसँग पंगु एलओ फाउन्डेसन मोडेलहरूमा २० भन्दा बढी उद्योग मोडेलहरू र चार सयभन्दा बढी एआई एप्लिकेसनको विकास गरेको छ । यीउपलब्धिहरूले सबै उद्योगहरूमाथप सम्भावनाको सङ्केत गरिरहेका छन् ।
नियम उल्लङ्घन गर्नेले सक्कल लाइसेन्स नै बुझाउनुपर्ने
फाइल फाेटाे काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिंक रहे पनि नियम उल्लङ्घनपछि कारबाहीका क्रममा सक्कल लाइसेन्स नै बुझाउनुपर्ने स्पष्ट पारेको छ । कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कुनै चालकले नागरिक एपमा लिङ्क रहेको सवारी चालक अनुमतिपत्र देखाउँदा पहिचान मात्रै हुने भएकाले नियम उल्लङ्घन गर्नेलाई कारबाहीका लागि सक्कल लाइसेन्स नै चाहिने बताएका हुन् । नागरिक एपमा जोडिएपछि अब चालकले लाइसेन्स बोक्नु नपर्ने सन्देश जानेगरी समाचार सार्वजनिक भएपछि यस विषयमा कार्यालयले सूचना जारी गरी स्पष्ट पारेको उनले उल्लेख गरे । कार्यालयले जारी गरेको सूचनामा भनिएकोे छ, ‘हाललाई कुनै चालकले नागरिक एपमा लिङ्क रहेको सवारी चालक अनुमतिपत्र देखाउँदा उक्त चालक लाईसेन्स प्राप्त गरेको व्यक्ति हो वा होइन भन्ने कुराको जानकारीका लागि मात्र मान्य हुन्छ तर ट्राफिक नियम उल्लङ्घन र कारबाही प्रक्रियाको क्रममा भौतिकरुपमा सक्कलै लाइसेन्स आवश्यक पर्ने व्यहोरा जानकारी गराईन्छ ।’ ट्राफिक नियम उल्लङ्घन नगरेको अवस्थामा मात्रै नागरिक एपमा जोडिएको लाइसेन्सले काम गर्ने जनाइएको छ । नियम उल्लङ्घनपछि भने यसअघि झैँ सामान्य अबस्थामै जसरी सक्कल लाइसेन्सको आधारमा कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
सडक सञ्जाल सुधारका लागि एडिबीसँग १३ अर्ब बराबरको ऋण सम्झौता
काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब १३ अर्ब (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकका नेपालका लागि देशीय निर्देशक आर्नोड काओसिसले सम्झौतापत्रमा हस्ताक्षर गरे । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका लागि यो एडिबीबाट भएको अतिरिक्त वित्तीय लगानी हो । कूल तीन सय २४ किलोमिटर सडक सञ्जाल सुधार तथा विस्तारका लागि यो रकम खर्च गरिनेछ । प्रदेश सरकारले कार्यान्वयन गर्ने यो परियोजनाले समावेशी विकासको अवधारणा र संघीयता कार्यान्वयनलाई सघाउने अर्थसचिव पुष्करले विश्वास व्यक्त गरे । ‘ग्रामीण क्षेत्रमा समावेशी विकास र आर्थिक सवलीकरणसँगै यो परियोजनाले संघीयता कार्यान्वयनमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ’, अर्थसचिव पुष्करले भने, ‘बाढीपहिरोलगायतका समस्याबाट सडक सञ्जालसँगै ग्रामीण जनजीवन पनि बिग्रिएको छ। यो परियोजनाले उक्त समस्या समाधानमा भूमिका खेल्नेछ।’ एडिबीका देशीय निर्देशक आर्नोड काओसिसले विभिन्न पाँच प्रदेशमा गुणस्तरीय र पर्यावरणमैत्री सडक पूर्वाधार निर्माणका लागि यो ऋण सम्झौता भएको बताए । सडक मर्मतसम्भारसँगै पुल निर्माण, सडक सुरक्षा तथा व्यवस्थापनलगायतका काम यो आयोजनामार्फत् गरिनेछन् ।
मोरङ र सुनसरीको औद्योगिक करिडोरमा विद्युत् आपूर्ति दिन प्राधिकरणको प्रयास
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेको छ । प्राधिकरणले त्यस क्षेत्रका औद्योगिक र अन्य ग्राहकहरुलाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरणतर्फका चालू लाइनहरुको सुधार गर्ने, नयाँ लाइन बनाउने, सबस्टेसनहरुको क्षमता स्तारोन्नति गर्ने र नयाँ सबस्टेसन निर्माणलाई योजनावद्ध रुपमा अगाडि बढाएको छ । मोरङ र सुनसरीका उद्योगीहरुले मुख्य रुपमा गर्मीयाममा उद्योगहरुमा पटकपटक लाइन जाने र आउने (ट्रिपिङ) हुने गरेको गुनासो गर्दै आएका छन् । यसलाई सम्बोधन गर्न प्राधिकरणले मोरङ र सुनसरी औद्योगिक करिडोरमा विद्युत् आपूर्तिका लागि सुनसरीको दुहवीस्थित १३२ केभी ग्रिड सबस्टेसनको भार (लोड) घटाउन पुरानो लाइनहरुको सुधार र थप लाइन तथा सबस्टेसन निर्माण गरिरहेको छ । केहीअघि सञ्चालनमा आएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित ४०० केभी क्षमताको इनरुवा सबस्टेसनबाट विद्युत् आपूर्ति दिनका लागि प्रसारण तथा वितरणतर्फका लाइन र सबस्टेसन निर्माणाधीन छन् । इनरुवा ४००, २२०, १३२ र ३३ केभी प्रणालीमा आधारित सबस्टेसन भएकाले त्यहाँबाट स्थानीय रुपमा विद्युत् आपूर्ति गर्न सकिने छ । यसले गर्दा दुहबी सबस्टेसनमा हाल रहेको विद्युत आपूर्तिको भार घट्ने छ । अरुण तथा तमोर नदी र तिनीहरुका सहायक खोलानालामा निर्माण गरिएका/हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । ताप्लेजुङ, पाँचथर, इलाम जिल्लास्थित खोलाहरुमा उत्पादित विद्युत् काबेली करिडोर प्रसारण लाइन हुँदै झापाको दमकमा आउने छ । यसले गर्दा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोतको अभाव छैन । सुनसरी र मोरङको विद्युत् आपूर्ति सुधार र १३२ केभीको दुहवी तथा विराटनगर क्षेत्रमा रहेका ३३/११ केभी रानी र टङ्किसिनुवारी सबस्टेसनहरुको भार घटाउन १३२ विराटनगर सबस्टेसन निर्माणाधीन छ । सुनसरीको बर्जु गाउँपालिकामा निर्माणाधीन सबस्टेसनसम्म विद्युत् पुर्याउनका लागि इनरुवा सबस्टेसनबाट १३२ केभी प्रसारण लाइन निर्माण भइरहेको छ । ठेकेदार कम्पनी सानडोङ ताइकाई इन्जिनियरिङ र मुडभरी एण्ड जोशी कन्ट्रक्सनको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसन निर्माणमा ढिलाइ भइरहेको छ । सबस्टेसनमा रहने उपकरणहरु राख्नका लागि अधिकांश सिभिल संरचनाहरु निर्माण भइसकेका छन् । सबस्टेसनका अधिकांश उपकरणहरु पनि निर्माणस्थलमा आपूर्ति भइसकेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केहीअघि निर्माणस्थलको अनुगमन गरी आगामी फागुनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिए । आगामी फागुनभित्र निर्माण सम्पन्न गर्न नसकिएमा विद्युत् उपलब्ध भएर पनि आपूर्ति दिन नसकी वाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्था आउसक्ने भन्दै यस्तो संवेदनशील आयोजनाको काम उक्त अवधिमा नसकिएमा ठेक्का सम्झौताबमोजिम कारबाही गर्ने चेतावनी ठेकेदारलाई दिए । त्यस क्षेत्रका ओद्योगिक करिडोरमा रहेको विद्युत् आपूर्तिका समस्या समाधन गर्न भइरहेका कामको जानकारी दिन उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानालाईसमेत टोलीमा सहभागी गराइएको थियो । ‘यस वर्ष सुनसरी र मोरङमा सञ्चालित उद्योगहरुलाई विश्वसनीय र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेका छौं, विकल्पहरु धेरै छन्, सञ्चालित योजनाहरु गर्मी सुरुहुनुभन्दा पहिलेनै सक्नु वाध्यकारी अवस्थामा छौं’, कार्यकारी निर्देशक घिसिङले भने। ‘यसका लागि जनशक्ति थप्नुहोस्, स्थानीय रुपमा भइरहेका अवरोध हटाउन स्थानीय तहका जनप्रतिनिधि, प्रशासन,उद्योगी व्यसायीहरुलगायतका साथ र सहयोग आवश्यक छ ।’ इनरुवा–विराटनगर २३ किलोमिटर १३२ केभी प्रसारण लाइनमा पर्ने ८० वटा टावरमध्ये ७३ वटाको जग हालिएको छ । ७२ वटा खडा गरिएको छ । प्रसारण लाइनको तार आपूर्ति भइसकेको छ । स्थानीयको अवरोधका कारण दुई वटा र प्राविधिक समस्याले ५ वटा टावर निर्माण सुरु हुन सकेको छैन । इनरुवा सबस्टेसनबाट खनारसम्म ३३ केभी डबल सर्किट लाइन निर्माण अन्तिम चरणमा छ । यो लाइन सञ्चालनमा आएपछि दुहवी सबस्टेसनको करिब ४० मेगावाट भार घटाउन सकिने छ । इनरुवाबाट पुरानो इनरुवा सबस्टेसम्म हाल रहेको ३३ केभी सर्किटको लाइनमा अर्को सर्किट निर्माणाधीन छ । यसले पनि दुहवी सबस्टेसनको भार घटाउने छ । इनरुवा–दुहवी १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार फेरेर क्षमता बृद्धिको प्रक्रिया अगाडि बढाइएको छ । झापा, मोरङ र सुनसरीको विद्युत्को माग धान्नका लागि दमकबाट विराटनगर सबस्टेसनसम्म १३२ केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । करिब ६५ किलोमिटर उक्त लाइन दमकबाट मोरङको कानेपोखरी गाउँपालिकास्थित केरौन, सुनसरीको दुहवी हुँदै विराटनगर सबस्टेसनमा जोडिने छ । उक्त लाइन निर्माण सम्पन्न भएपछि झापा, मोरङ र सुनसरीमा विद्युत् आपूर्तिका लागि १३२ केभीको रिङ बन्ने छ । जसले विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउने छ ।