विकासन्युज

नेपालको शान्ति प्रक्रियामा सघाउन पाउँदा राष्ट्रसङ्घ गौरव गर्दछ : महासचिव गुटेरेस

काठमाडौंं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताएका छन् । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै महासचिव गुटेरेसले भने, ‘नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्र सङ्घ गौरव व्यक्त गर्दछ, यस क्षणमा म नेपालका शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्र सङ्घका तर्फबाट सम्मान व्यक्त गर्दछु ।’ नेपालले शान्ति प्रक्रियाअन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पु¥याउन लागेकामा शुभेच्छा व्यक्त गर्दै उनले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुङ्गोमा पु¥याउन आग्रह गरे। महासचिव गुटेरेसले विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लैङ्गिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय भएको बताए ।

तनहुँमा अझै नियन्त्रणमा आएन डेङ्गु, अस्पतालमा बिरामीको भीडभाड

तनहुँ । तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको छ । करिब दुई महिनाअघि देखि फैलिएको डेङ्गु अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लामा हाल छ हजार चार सय ८४ डेङ्गु सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । डेङ्गु सङ्क्रमितका कारण निजी क्लिनिक र अस्पतालमा दैनिक भीडभाड हुने गरेको छ । व्यास नगरपालिकामा मात्रै पाँच हजार चार सय १५ डेङ्गु सङ्क्रमित रहेका छन् । व्यासको सबैभन्दा बढी व्यास–१ मा एक हजार चार सय ३०, वडा नं २ मा एक हजार तीन सय ४९, वडा नं ३ छ सय ३१, वडा नं ४ मा नौ सय ५४, वडा नं ५ मा दुई सय ५९, वडा नं ६ मा ९२ र वडा नं ७ मा ७४ जना रहेका छन् । त्यसैगरी, वडा नं ८ मा १४, वडा नं ९ मा ७५, वडा नं १० मा एक सय ८२, वडा नं ११ मा एक सय ६३, वडा नं १२ मा ७०, वडा नं १३ मा ८४ र वडा नं १४ मा ३४ जना सङ्क्रमित रहेका छन् । सङ्क्रमित हुनेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको व्यास नगर स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले जानकारी दिए। उनका अनुसार ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष सङ्क्रमित भएका छन् । कूल सङ्क्रमितको ८४ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको तथ्याङ्कमा उल्लेख छ । जिल्लाको अन्य पालिकामा शुक्लागण्डकी नगरपालिकामा चार सय, ऋषिङ गाउँपालिकामा एक सय ८९, भिमाद नगरपालिकामा एक सय ८०, म्याग्दे गाउँपालिकामा एक सय तीन, भानु नगरपालिकामा ८३, बन्दीपुर गाउँपालिकामा ४६, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा १४ र घिरिङ गाउँपालिकामा नौजना सङ्क्रमित भएका छन् । वयस्क एडिज जातको लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएकाले घर वरिपरि पानी जम्न नदिने, सुत्दा झूल प्रयोग गर्ने, पूरा बाउला भएका कपडा लगाउनेजस्ता कुरामा सतर्कता अपनाउनुपर्ने दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताए । डेङ्गु सङ्क्रमित भइसकेको अवस्थामा चिकित्सकको परामर्शअनुरुप औषधि सेवन गर्ने, झोलिलो खानेकुरा प्रशस्त पिउने, फलफूल खाना र आराम गर्न उनले सुझाव दिए । रासस

परराष्ट्रमन्त्रीसँगै अमेरिका भ्रमणमा रहेका एमच्यामका अध्यक्षले भेटवार्ता गर्ने

काठमाडौं । अमेरिका भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री एनपी साउद सहितको नेपाली टोलीमा अमेरिकी लगानीमा नेपालमा संचालित ब्यवसायहरूको छाता सँस्था ‘अमेरिकन च्याम्बर्स अफ कमर्स नेपाल (एमच्याम)’का अध्यक्ष अजित शाह समेत सहभागी भएका छन् । शाहले विभिन्न भेटघाट, कार्यक्रम तथा अन्तर्क्रियाहरूमा सहभागी हुने र आफ्नो प्रस्तुति राख्ने कार्यसूची छ । साथै विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूबीच छलफल हुने बताइएको छ । भ्रमणको अवधिमा अमेरिका(नेपाल बीचको व्यापार, एमच्यामको विश्वव्यापीकरण, एमच्याम नेपाल लगायतबारे वृहत छलफल हुनेछ । युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस (युएसआईपी) मा वार्ता कार्यक्रम, नेपाली–अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली संघका प्रतिनिधि र नेपाल–अमेरिका व्यवसायीसँगको अन्तर्क्रियामा अध्यक्ष शाहको सहभागीता रहनेछ । आइतबार अमेरिका गएको साउद नेतृत्वको प्रतिनिधिमण्डलमा एमच्यामका अध्यक्ष शाह, अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारी लगायतको अमेरिका भ्रमणमा रहेका छन् ।

नेपालको लगातार दोस्रो जित, मलेसियालाई ६ विकेटले हराएर सेमिफाइनलमा

काठमाडौं । आइसिसी टी–२० विश्वकप छनोट खेलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले मलेसियालाई ६ विकेटले हराउँदै दोस्रो जित निकालेको हो । मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा पुरा गर्दै १६६ रन बनाएको हो । नेपालले ६ विकेटले खेल जितेको हो । सोमबार नेपालले सिंगापुरलाई हराएको थियो । दाेस्राे जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेकाे छ । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरे । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाए । नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टीम ओमान बनेको छ । बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।

मर्यादाक्रममा समेटिएन निजी क्षेत्र, चन्द्र ढकालको मुख्य अजेण्डा ओझेलमा

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सोमबार राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयक २०७९ को प्रतिवेदन पारित गरेको छ । सरकारले विधेयक दर्ता गरेको ८ महिनापछि विधेयकको दफाबार छलफल भएर समितिले विधेयकको प्रतिवेदन परिमार्जनसहित पारित गरेको हो । समितिले पारित गरेको प्रतिवेदनमा राष्ट्रपति देखि शिक्षकसम्मको मर्यादाक्रम छुट्याइएको छ । मर्यादाक्रममा राष्ट्रपतिदेखि शिक्षकसम्म अटाउँदा देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेका निजी क्षेत्रको संस्थागत नेतृत्व गरेका र स्वतन्त्र हिसाबले राज्यमा योगदान पुर्याइरहेका व्यक्तित्वहरु भने सो मर्यादाक्रममा अट्न सकेका छैनन् । निजी क्षेत्रले आफुहरुलाई मर्यादाक्रममा समेट्नु पर्ने आवाज उठाउन थालेको लामो समय भइसकेको छ । तर, निजी क्षेत्रमा यसमा समेट्न सरकारले तदारुकता देखाएको छैन ।  निजी क्षेत्रका नेताहरूले लामाे समयदेखि यसका लागि लविङ गरिरहेकाे भएपनि त्यसले सफलता पाउन सकेकाे छैन । यस पटक निजी क्षेत्र पनि आफुहरुलाई सरकारले मर्यादाक्रममा समेट्छ भन्ने अपेक्षामा थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केही कार्यक्रममा सरकारले निजी क्षेत्रलाई मर्यादाक्रममा समेट्ने तयारी गरिरहेको धारणा पनि दिएका थिए । तर, अन्ततः सरकारले निजी क्षेत्रलाई समेटेन । यसअघि एउटा सार्वजनिक कार्यक्रममा अध्यक्ष ढकालले व्यवसायीको पनि मर्यादाक्रम निर्धारणका लागि आफूहरुले पहल गरेको र यसमा सरकार सकारात्मक रहेको बताएका थिए। महासंघकाे अध्यक्ष भएपछि सार्वजनिक गरेका प्रमुख अजेण्डाहरू मध्ये व्यवसायिक नेताहरूको मर्यादाक्रम पनि हुनु पर्ने बताएका थिए । मर्यादाक्रममा निजी क्षेत्रलाई नसमेटिएको विषयमा नेपाल अफ चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पनि असन्तुष्टि व्यक्त गरेका छन् । उनले समाजमा योगदान पुर्याएका अन्य क्षेत्रका व्यक्तिहरुलाई पनि मर्यादाक्रममा समेटेको भए राम्रो हुने तर्क गरे । सरकारले ल्याएको मर्यादाक्रमलाई सामन्ती सोचको उपजको रुपमा केही व्यक्तिहरुले आलोचना पनि गरेका छन् । नागरिक अगुवा तथा लेखक खगेन्द्र संग्रौलाले मर्यादाक्रमप्रति कटाक्ष गर्दै आफ्नो टोलको कुकुरलाई मर्यादाक्रममा छुटाएको भन्दै एक्समा स्टाटस लेखेका छन् । सरकारले वर्षेनी रुपमा राज्य वा समाजमा विभिन्न क्षेत्रबाट विशिष्ट योगदान पुर्याउनेहरुलाई विभुषण प्रदान गर्दै आएको जसमा निजी क्षेत्र र अन्य क्षेत्रका व्यक्तिहरु पनि समेटिने गरेका छन् । तर, सरकारले राज्यको औपचारिक निकायमा रहेर भन्दा धेरै योगदान पुर्याएका निजी क्षेत्र वा स्वतन्त्र विशिष्ट व्यक्तिहरुलाई मर्यादाक्रममा भने समेट्ने काम गरेन । उसो प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले पनि विभिन्न सार्वजनिक कार्यक्रममा निजी क्षेत्रलाई मर्यादाक्रममा समेट्ने आश्वासन दिँदै आएका छन् ।  गत चैतमा भएको महासंघको वार्षिक साधारणसभामा पनि उनले सो विषय बोलेका थिए । तर, उनले प्रतिवद्धता गरेअनुसार काम हुन सकेको छैन ।

शासक वर्गका कारण नेपाल विकसित हुन सकेन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र वाह्य शक्तिका कारण नेपाल विकसित हुन नुसकेको बताएका छन् । मंगलबार काठमाडौंका आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९ औं एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल विकास हुन नसक्नुको कारण शासक वर्ग र वाह्य शक्ति रहेको बताए । नेपालीहरु लामो समयसम्म हातमुख जोड्न नै लागि परेको र साहित्य, संस्कृति र कला सिक्ने र हेर्ने अवसर नै प्रदान नगरिएको जानकारी दिए । विभिन्न कालमा शासन गर्नेहरुले जनतालाई अवसरबाट वञ्चित गर्दा नेपाल पछि परेको उनको भनाइ थियो । उनले भने, ‘लामो समयसम्म त हामी हातमुख जोड्ने समस्यामा नै लाग्यौँ । हामीलाई त्यस प्रकारका अवसरहरु लिनै दिइएन । राण शासन र त्यो भन्दा अगाडि हामीले अरु कुनै शासनलाई पनि जोगाइरहनु हुँदैन । राणा गए, अब अरु शासन चाहीँ राम्रा थिए भनेर जोगाउनुपर्ने केही छैन । त्यस भन्दा अघि दुनियाँ विकसित हुँदा हाम्रोमा केही विकास नहुने कसले गर्दा हो ? जनताले गर्दा त होइन । शासकहरुको कारणले हो । जे होस् हामी पछि प¥यौँ । पछाडि पारिएको हुनाले पछि प¥यौँ । वाह्य शक्तिले हामीलाई पछि पारे, शासकको स्वार्थका कारणले आन्तरिक शासक वर्गले पनि हामीलाई पछाडि पारे । कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जन सिमित भयो । आम जनताको र देशको विषय बनेन । तर अब हामी अघि बढ्छौँ ।’ अध्यक्ष ओलीले कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जनमा सिमित भएकाले यसको विकास हुन नसकेको बताए ।

नेप्सेमा १४.२९ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजारमा १४.२९ अंकको गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ३.०४ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार १४.२९ अंकले घटेर १८६४.४० अंकमा पुगेर बन्द भएको हाे । मंगलबार कुल ५७ करोड १४ लाख ८३ हजार रुपैयाँबराबर कारोबार भएको छ। मंगलबार कारोबार भएकामध्ये १९३ कम्पनीको सेयर मूल्य घटेको भने ३८ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य स्थीर छ। आज माहुली लघुवित्त संस्थाको सेयर मूल्य सर्वाधिक ६.०५ प्रतिशतले बढेको छ। यस्तै, आज तेस्रो दिन पनि सोनापुर मिनरल्स एन्ड वेल लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। सोनापुर कम्पनीको सेयर मूल्यमा मंगलबार ९.९८ प्रतिशत गिरावट आएको हाे ।

राष्ट्रियसभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने

काठमाडौं । राष्ट्रियसभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने भएको छ । विधायन व्यवस्थापन समितिको सोमबारको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको थियो । गैरसरकारी विधेयकका रुपमा प्रस्तुत गरिने विधेयकमा मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअनुरुप राष्ट्रिय मर्यादा क्रमसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । विधेयकमा अतिविशिष्ट र विशिष्ट व्यक्तिलाई ‘सम्माननीय वा माननीय’ के भनेर सम्बोधन गर्ने भन्ने विषय उल्लेख गरिएको छ । यसमा अति विशिष्ट व्यक्ति राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष रहने गरी मर्यादाक्रम मिलाउन प्रस्ताव गरिएको छ । पूर्वराष्ट्रपति, पूर्वउपपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायाधीशको मर्यादा क्रमशः कायम गरिएको छ । त्यसैगरी, संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाको पूर्वसभामुख, व्यवस्थापिका संसद्को पूर्वसभामुख, राष्ट्रियसभाको पूर्वअध्यक्ष र प्रतिनिधिसभाको विपक्षी दलको नेतालाई मर्यादाको सातौँ नम्बरमा रहने गरी मर्यादा क्रम कायम गर्न प्रस्ताव गरिएको छ । त्यसै, उपप्रधामन्त्री र प्रदेश प्रमुखको मर्यादा आठौँ नम्बरमा कायम गर्न प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयकमा नेपाल सरकारकामन्त्री, प्रतिनिधिसभाको उपसभामुख, राष्ट्रियसभाको उपाध्यक्ष, राष्ट्रियसभाका सत्तापक्ष दलको नेता, राष्ट्रियसभाको विपक्षी दलको नेता, सत्तापक्ष संसदीय दलको उपनेता, विपक्षी दलको संसदीय दलको उपनेता, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलका नेता, राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने अन्य दलका नेता, पूर्वउपप्रधानमन्त्री, पूर्वप्रदेश प्रमुख, संविधानसभाको उपाध्यक्ष, पूर्वउपसभामुख र राष्ट्रियसभाको पूर्वउपाध्यक्षको मर्यादा क्रम नवौँ नम्बरमा छ । सङ्घीय संसद्को विषयगत समितिको सभापति, प्रतिनिधिसभाको मुख्य सचेतक, राष्ट्रियसभाको मुख्य सचेतक, प्रतिनिधिसभाको विपक्षी दलका प्रमुख सचेतक, राष्ट्रियसभाको विपक्षी दलको प्रमुख सचेतक, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलका प्रमुख सचेतक, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको सचेतक, प्रदेशसभाको सभामुखलाई मर्यादा क्रमको दशौँ नम्बरमा राख्न सिफारिस गरिएको छ । प्रस्तावित विधेयकमा नेपाल सरकारको राज्यमन्त्री, सर्वोच्च अदालतको न्यायाधीश, नेपाल सरकारको सहायकमन्त्री, सङ्घीय संसद्को सदस्य, न्यायपरिषद्को सदस्य, संवैधानिक निकायको प्रमुख, नेपालरत्न पाउने महानुभाव, महान्यायाधिवक्ता, सवैधानिक निकायको सदस्य, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, उच्च अदालतको मुख्य न्यायाधीश, नेपाल सरकारको पूर्वमन्त्री, पूर्वमुख्यमन्त्री, सङ्घीय संसद्का पूर्वपदाधिकारी ९नेता, सभापति, संचेतक०लाई मर्यादा क्रमको एघारौँ नम्बरमा राख्न सिफारिस गरिएको छ । त्यस्तै, प्रदेश सरकारको मन्त्री, प्रदेशसभाको उपसभामुख, नेपाल सरकारको पूर्वराज्यमन्त्री, नेपाल सरकारको पूर्वसहायकमन्त्री, प्रदेशसभाका पूर्वसभामुख, संविधानसभाको सदस्य, पूर्वसांसदलाई मर्यादा क्रमको बाह्रौँ नम्बर प्रस्तावित विधेयकमा व्यवस्था गरिएको छ । नेपाल सरकारको मुख्य सचिव, सङ्घीय संसद्को महासचिव, सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार, प्रधानसेनापतिलाई मर्यादा क्रमको तेह्राँै नम्बरमा राखिएको छ । प्रदेशसभाको विपक्षी दलको नेता, प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलको नेता, प्रदेशसभाको विषयगत समितिको सभापति, प्रदेशसभाको मुख्य सचेतक, प्रदेशसभाको विपक्षी दलको प्रमुख सचेतक, प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलको प्रमुख सचेतक, प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलको प्रमुख सचेतक, प्रदेशसभाको प्रतिनिधित्व गर्ने अन्य दलको सचेतक, प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको सचेतक, नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको सदस्य, नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपति, विश्वविद्यालयका कूलपति र सह कुलपति ९प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने विश्वविद्यालय बाहेक० विश्वविद्यालयको उपकुलपतिलाई उक्त विधेयकको चौध नम्बर मर्यादा क्रममा राख्न सिफारिस गरिएको छ । प्रस्तावित विधेयकमा प्रदेश सरकारको राज्यमन्त्री, प्रदेश सरकारको सहायकमन्त्री, प्रदेशसभा सदस्य, प्रदेश लोकसेवा आयोगको अध्यक्ष, प्रदेश सरकारको पूर्वमन्त्री, प्रदेशसभाको पूर्वउपसभामुखलाई मर्यादा क्रमको पन्ध्रौँ नम्बरमा राख्न सिफारिस गरिएको छ । नेपाल सरकारको सचिव एवं राजपत्राङ्कित विशिष्ट श्रेणी वा सोसरहको अधिकृत प्रतिनिधिसभाको सचिव, राष्ट्रियसभाको सचिव, प्रदेश सरकारको प्रमुख सचिव, प्रदेशसभाको सचिव, राष्ट्र गौरव पाउने महानुभाव, नेपाली राजदूत, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक, प्रदेश लोकसेवा आयोगको सदस्य, रथी, प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकलाई मर्यादा क्रमको सोह्रौँ नम्बरमा राख्न सिफारिस गरिएको छ । उच्च अदालतका न्यायाधीश, मुख्य न्यायाधिवक्ता, प्रदेश योजना आयोगको उपाध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख, महानगरपालिका प्रमुखका प्रमुख, नेपाल प्रज्ञाप्रतिष्ठानको उपकुलपति, विश्वविद्यालयका प्राध्यापक, उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी– अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक, प्रदेश योजना आयोगको सदस्य, प्रदेश सरकारको पूर्व राज्यमन्त्री, प्रदेश सरकारको पूर्व सहायकमन्त्री, प्रदेशसभाको पूर्वसदस्यलाई मर्यादा क्रममको सत्रौँ नम्बरमा राखिएको छ । प्रस्तावित विधेयकमा जिल्ला समन्वय समितिको उपप्रमुख, जिल्ला समन्वय समितिको सदस्य, उपमहानगरपालिका प्रमुख, महानगरपालिका उपप्रमुख, नगरपालिका प्रमुख, उपमहानगरपालिका उपप्रमुखलाई मर्यादा क्रमको अठारौँ नम्बरमा राख्न सिफारिस गरिएको छ । सहायकरथी, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान निर्देशक, गाउँपालिका अध्यक्ष, नगरपालिका उपप्रमुख, नेपाल सरकारको सहसचिव एवं राजपत्राङ्ति प्रथम श्रेणी वा सो सरहको अधिकृत, प्रदेश सरकारको सचिव, जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी ९राजपत्राङ्कित प्रथम श्रेणी०, नेपालस्थित विदेशी कन्सुल जनरल, विश्वविद्यालयका सहप्राध्यापक, महासेनानी, प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक, प्रदेश सरकार तथा स्थानीय तहबाट नियुक्त राजपत्राङ्ति प्रथम श्रेणीको तहमा कार्यरत अधिकृत, माध्यमिक तह प्रथम श्रेणीका शिक्षक, सार्वजनिक संस्थानका प्रमुख कार्यकारीलाई मर्यादा क्रममा उन्नाईस नम्बरमा राख्न भनिएको छ । गाउँपालिका उपाध्यक्ष, नेपाल सरकारको उपसचिव एवं राजपत्राङ्ति द्वितीय श्रेणी वा सो सरहको अधिकृत, प्रमुख सेनानी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको उपअनुसन्धान निर्देशक, विश्वविद्यालयका उपप्राध्यापक, सेनानी, प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अनुसन्धान अधिकृत, प्रदेश सरकार तथा स्थानीय तहले नियुक्त गरेको राजपत्राङ्ति द्वितीय श्रेणी वा सो सरहको तहमा कार्यरत अधिकृत, माध्यामिक तह द्वितीय श्रेणीको शिक्षकलाई प्रस्तावित विधेयकमा मर्यादा क्रमको बीसौँ नम्बरमा राख्न प्रस्ताव गरिएको छ । नेपाल सरकारको शाखा अधिकृत एवं राजपत्राङित तृतीय श्रेणी वा सो सरहको अधिकृत, सहसेनानी, प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, उपसेनानी, राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत, वडाध्यक्ष, प्रदेश सरकार वा स्थानीय तहले नियुक्त गरेको राजपत्राङित तृतीय श्रेणी वा सोसरहको तहमा कार्यरत अधिकृत, माध्यमिक तह तृतीय श्रेणीको शिक्षक, सहायक सेनानीलाई मर्यादा क्रमको २१औँ नम्बरमा राख्न सिफारिस गरिएको छ ।