एकदिन अघिनै म्ह पूजा र भाइटीका मनाउन नगरपालिकाको निर्देशन
भक्तपुर । भक्तपुरका नेवार समुदायले यस वर्ष पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि म्ह पूजा र भाइटीका मनाउने भएका छन् । नगरपालिकाले सार्वजनिक सूचनानै जारी गरेर २७ गते म्ह पूजा र २८ गते भाइटीका मनाउन निर्देशनात्मक रुपमा आह्वान गरेको छ । यसवर्षको तिहार (स्वन्ती) मनाउने विषयमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा ज्योतिष डा वीरेन्द्रप्रसाद कायष्थ एवं ज्योतिष केदारप्रसाद दैवज्ञ, तलेजुका पुजारी प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्यसहितको छलफलपछि यस्तो निर्णय गर्दै आफ्ना नागरिकका लागि सार्वजनिक सूचना जारी गरेको नगर प्रमुख प्रजापतिले बताए । पञ्चाङ्ग निर्णयक समिति यसवर्ष कात्तिक २५ गते काग तिहार, २६ गते लक्ष्मीपूजा, २७ गते गाई तिहार, २८ गते गोबद्र्धन तथा म्ह पूजा र २९ गते भाइटीका एवं किजा पूजा गर्ने निर्णय गरेको थियो । तर भक्तपुर नगरपालिकाले भने २६ गते अपरान्ह २ बजेर १४ मिनेटपछि औंसी तिथि लाग्ने हुँदा उक्त दिन साँझ लक्ष्मीपूजा गर्ने, कात्तिक २७ गते अपरान्ह २ बजेर ४१ मिनेटपछि परेवा प्रतिपदा तिथि सुरु हुने भएकोले त्यसदिन साँझ म्हः पूजा गर्ने र कात्तिक २८ गते अपरान्ह २ बजेर ३८ मिनेटमा द्वितीया तिथि लाग्ने भएकोले सो दिन किजा पूजा अर्थात भाइटीका गरेर तिहार सम्पन्न गर्न आह्वान गरेको छ ।
सेवा विस्तारमा आक्रामक बन्यो नेपाल माइक्रो इन्स्योरेन्स, ३ दिनमै ४ शाखा सञ्चालन
काठमाडौं । हालै सञ्चालनमा आएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी शाखा विस्तारमा आक्रामक बनेको छ । कम्पनीले तीन दिनको अवधिमा ४ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । आफ्नो व्यवसाय विस्तार गर्न कम्पनीले शाखा विस्तारमा जोड दिँदै आएको हो । कम्पनीले तीन दिनको अवधिमा काभ्रेको बनेपा, सुनसरीको इटहरी, पर्साको वीरगन्ज र मकवानपुरको हेटौंडामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ । माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र रिमाल र नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) अनिल राज गिरीले नयाँ शाखा कार्यालयको उद्घटान गरेका हुन् । शाखा विस्तार गर्दै सीईओ रिमालले लघुबीमाको रणनीतिक उद्देश्य प्राप्ति र सर्वसाधारणको पहुँचमा बीमा कम्पनी पुर्याउन लघुबीमा देशभरि पुर्याउने बताए । शाखा विस्तारले बीमा क्षेत्रको दायरा बढ्ने र स्थानीय व्यवसाय सुरक्षित हुने अपेक्षा गरेको उनको भनाइ छ । साथै, कम्पनीले सञ्चालनमा ल्याएको शाखाबाट उच्च स्तरको लघुबीमा सेवाहरू प्रदान गर्ने उनले बताए । जोखिममा परेका समुदायहरूलाई आर्थिक सुरक्षा प्रदान गर्ने लक्ष्य पूरा गरिरहेको उनको भनाइ छ । कम्पनीको केन्द्रिय कार्यालय चितवनमा रहेको छ ।
बिवाइडीका सिल र डल्फिनले पाए पाँचतारे स्तरको ‘एनक्याप सुरक्षा रेटिङ’
काठमाडौं । चीनको अग्रणीमध्ये एक विद्युतीय सवारीसाधन निर्माता कम्पनी बिवाइडीका दुई मोडेल ‘बिवाइडी सिल’ र ‘बिवाइडी डल्फिन’ ले अष्ट्रेलियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एनक्याप) बाट पाँचतारे स्तरको ‘एनक्याप सुरक्षा रेटिङ’ प्राप्त गरेका छन् । बिवाइडीका दुवै मोडेलले पछिल्लो एनक्याप परीक्षण मापदण्डअन्तर्गत पाँचतारे स्तरको सुरक्षा रेटिङ प्राप्त गरेका हुन् । सवारीसाधन सुरक्षाका लागि एनक्याप अष्ट्रेलिया र न्यूजील्यान्डको स्वतन्त्र आवाज हो । यसले सन् २०२३ मा परीक्षण मापदण्ड थप विस्तार गरेको छ । पाँचतारे स्तरको सुरक्षा रेटिङ प्राप्त गर्न सवारीसाधनले सबै परीक्षणमा उच्च मापदण्ड प्राप्त गर्नुपर्छ र उन्नत सुरक्षा सहायता प्रविधिहरू समावेश गर्नुपर्छ । एनक्यापको रिपोर्ट अनुसार बिवाइडी सिलले खम्बा (पोल) परीक्षणमा चालक र बालबालिका यात्रुहरूलाई ‘साइड इम्प्याक्ट टेस्ट’ मा सुरक्षा गर्नेतर्फ पूर्णअंक प्राप्त गरेको छ । यसले वयस्क यात्रुका लागि ८९ प्रतिशत, बालबालिकाको सुरक्षाका लागि ८७ प्रतिशत, जोखिमपूर्ण सडक प्रयोगकर्ता सुरक्षाका लागि ८२ प्रतिशत र सुरक्षा सहायताका लागि ७५ प्रतिशत अंक प्राप्त गरेको छ। यी नतिजाले सुरक्षाप्रति बिवाइडीको दृढ प्रतिबद्धता देखाउँछन् । त्यसैगरी बिवाइडी डल्फिनले बालबालिकाको सुरक्षाका लागि फ्रन्ट (अगाडि) र साइड इफेक्ट दुवै परीक्षणमा सुरक्षाको उच्च अंक प्राप्त गरेको छ । त्यसबाहेक डल्फिनले जोखिमपूर्ण सडक प्रयोगकर्ताको सुरक्षाका लागि ८५ प्रतिशत अंक हासिल गरेको छ । यो २०२३ मा परीक्षण गरिएका सबै मोडेलले पाएका अंकभन्दा धेरै बढी हो । बिवाइडीका यी दुवै मोडेलको ‘एईबी हेडअन सिस्टम’ ले पर्याप्त क्षमता प्रस्तुत गरेका छन् । त्यस्तै दुवै मोडेलमा ढोका खोल्न यस्तो फिचर छ जसले गाडी पानीमा पस्यो भने दुई मिनेटसम्म ढोका स्वचालितरूपमा खुला रहने गर्छ । यो फिचरलाई एनक्यापको पछिल्लो मापदण्डमा समावेश गरिएको छ । एनक्यापकी प्रमुख कार्यकारी अधिकृत कार्ला हूरवेगले बिवाइडी मोेडेलको प्रदर्शन क्षमताबाट आफू सन्तुष्ट रहेको बताइन् । ‘हाम्रो २०२३ को परीक्षण र रेटिङ मापदण्डले उच्चस्तरको संरचनात्मक सुरक्षासँगै सक्रिय सुरक्षा प्रणालीको क्षेत्रमा सवारीसाधन निर्माताका लागि नयाँ चुनौती पेस गरेको छ,’ उनले भनिन्, ‘खुसीको कुरा के छ भने यो वर्ष हालसम्म परीक्षण गरिएका तीन मोडेल सबैले पाँचतारे स्तरको सुरक्षा रेटिङ प्राप्त गरेका छन् ।’ यसअघि बिवाइडी सिल र बिवाइडी डल्फिनले ‘यूरो एनक्याप’ सुरक्षा रेटिङमा पनि पाँचतारे स्तर प्राप्त गरेका थिए । बिवाइडीले आगामी दिनमा पनि विश्वभरिका आफ्ना ग्राहकको सुरक्षित यात्राका लागि ‘ई–प्लेटफर्म’ ३.० र एड्भान्स ड्राइभर एसिस्टेन्ट प्रणालीजस्तो अत्याधुनिक प्रविधिमा थप जोड दिने प्रतिबद्धता जनाएको छ ।
नेपाल विश्वकै ठूलो सुरक्षाप्रदायक राष्ट्र हो : सुरक्षाविद् थापा
काठमाडौं । सुरक्षाविद् चिरनजङ्ग थापाले नेपाल विश्वकै एक ठूलो सुरक्षा प्रदायक देश रहेको बताएका छन् । उनले विश्वका ठूला आणविक हतियार सम्पन्नसहित अधिकांश मुलुकका लागि नै नेपाल एक ठूलो सुरक्षा प्रदायक देशका रुपमा भूमिका निर्वाह गरिरहेको बताए । भारतको राजधानी नयाँ दिल्लीमा हालै आयोजित सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम ‘चाणक्य डायलग’ मा मुख्यवक्ता (कि नोट स्पिकर) का रुपमा सहभागी थापाले विश्वका प्रमुख पाँच आणविक हतियारसम्पन्न मुलुकमा सुरक्षाका क्षेत्रमा विशेष योगदान दिइरहेको दाबी गरे । ‘भारत, बेलायत, फ्रान्स, अमेरिका, रसियालगायत विभिन्न मुलुकमा नेपाली सेनालगायत विभिन्न सुरक्षा अङ्ग तथा संयन्त्रमा सेवारत छन्’, उनले भने, ‘त्यसका साथै विश्वका ६८ भन्दा बढी मुलुकमा सुरक्षागार्डका रुपमा काम गर्ने सङ्ख्या हेर्दा नेपाल विश्वका अधिकांश मुलुकका लागि सुरक्षा प्रदायक मुलुकका रुपमा काम गरिरहेको छ ।’ उनले नेपाल संयुक्त राष्ट्रसङ्घमार्फत शान्ति सेनाका रुपमा विश्वका विभिन्न देशमा काम गरिरहेकामध्ये दोस्रो ठूलो मुलुक भएको समेत उल्लेख गरे । भारतले हालै जी–२० सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिँदै थापाले सो सम्मेलनमा छिमेकी मुलुक बङ्गलादेशलाई निमन्त्रणा गर्दा नेपाललाई नगरेकामा पनि प्रश्न गरे। थापाले भारतले हालै चन्द्रमामा सफलतापूर्वक ‘चन्द्रयान’ अवतरण गराएको खुसी नेपालीले पनि मनाएको उल्लेख गर्दै भारत सदियौँदेखि विश्वको केन्द्र रहेको बताए । थापाले शक्ति कहिल्यै पनि स्थायी नहुने भन्दै आजका दिनमा शक्तिशाली मुलुक भोलि अर्थात् सधैँ शक्तिसम्पन्न भएर रहन नसक्ने दलिल पनि पेस गरे । उनले शक्तिको परिभाषा दिँदै कुनै पनि व्यक्ति, समाज या देश शक्तिशाली ठहरिने आधारहरु समय समयमा परिवर्तनशील भइरहने उदाहरण पनि प्रस्तुत गरे । उनले नेपाल विश्वको सबैभन्दा पुरानो मानवसभ्यता भएको मुलुक हो भन्दै अनुसन्धान गरे यसका प्रशस्त दृष्टान्त भेटिने दाबी गरे । प्रसिद्ध ग्रन्थ महाभारत तनहुँमा लेखिएको तथ्य पेस गर्दै रामायण लेख्ने वाल्मीकि र अठार पुराणका व्याख्याता व्यासदेखि लिएर कैयन् ऋषिका आश्रम नै नेपालमा रहनु, राजा जनक र सीताको पौराणिकता एवं नेपालको कालीगण्डकी क्षेत्रमा मात्र पाइने शालग्रामको पुरातात्विक र धार्मिक महत्व यसका केही प्रमाणहरु हुन् भने। सो कार्यक्रममा सुरक्षाविद् थापाले भारतको अर्थतन्त्र र सुरक्षा दुवै क्षेत्रमा नेपालको ठूलो योगदान रहेको पनि उल्लेख गरे । भारतीय सेनामा गोर्खा रेजिमेन्टअन्तर्गत ४० हजार र अन्य सुरक्षा सेवामा ५० हजार नेपाली कार्यरत रहेको उल्लेख गर्दै थापाले प्रशासनिक सेवामा पनि ३० हजार नेपाली कार्यरत रहेको बताए । ‘भारतमा सबैभन्दा बढी रेमिट्यान्स भित्रने मुलुकमा नेपाल सातौँ स्थानमा पर्छ’, उनले भने, ‘व्यापारका हकमा नेपाल भारतका लागि १०औँ ठूलो बजार भएकाले भारतको अर्थतन्त्र र सुरक्षा क्षेत्रमा नेपालको योगदान छ ।’ उनले नेपालमा हजाम, सिकर्मी, डकर्मी, इँटाभट्टा, तरकारी र फलफूल बिक्रीलगायत क्षेत्रमा ठूलो सङ्ख्यामा भारतीय श्रमिक काम गरिरहेको उल्लेख गर्दै उनले भारतको अर्थतन्त्रमा नेपालको विशेष योगदान रहेको बताए । सो अवसरमा उनले नेपाल र भारतको सम्बन्ध ऐतिहासिक र महत्वपूर्ण रहेको भन्दै नीतिनिर्माण गर्दा आपसी सम्बन्ध र यसको महत्वलाई ध्यान दिन सुझाव दिए । उनले दुई देशबीचको आपसी सम्बन्ध सदियौँदेखि रही आएको भन्दै सम्बन्ध बलियो बनाउँदै जानुपर्नेमा जोड दिए । भारतीय उपराष्ट्रपति जगदीप धनखरले उद्घाटन गरेको सो कार्यक्रममा विश्वका विभिन्न देशका सैनिकका उच्च अधिकारीको सहभागिता थियो । सो कार्यक्रममा एसिया तथा अन्य देशका सुरक्षा, कूटनीतिक सम्बन्ध तथा सुरक्षासम्बन्धका विविध विषयमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।
कामना सेवा बैंकद्वारा प्रहरी कन्ट्रोल रूमको सवलीकरण
काठमाडौं। कामना सेवा बैंकले काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रहरी कन्ट्रोल रूमको सवलीकरण कार्यक्रम सम्पन्न गरेको छ । कामना सेवा विकास बैङ्कले आफ्नो स्थापनाको १६ औँ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा रहेको प्रहरी कन्ट्रोल रुमको सबलीकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कन्ट्रोल रुमको सबलीकरण सम्पन्न गरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापालाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्तान्तरण रेका हुन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रहरी कन्ट्रोल रुमको सबलीकरण गरिदिएकोमा धन्यवाद ज्ञापन गर्नुका साथै प्रहरी कन्ट्रोल रुमको सेवा समेत छिटो र छरितो हुन थालेको बताए । बैङ्कले आफ्नो स्थापनाको १७ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ । बैङ्कले गत शुक्रवार देखी विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेको छ । आगामी बिहीबार सम्म बैङ्कले विभिन्न कार्यक्रमहरू गर्ने जनाएको छ ।
आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण
काठमाडौं । आइएमई ग्रुपले प्रधानमन्त्री पुष्पकमल दाहाललाई १ करोड ५० लाखको चेक हस्तान्तरण गरेको छ । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका भूकम्पप्रभावितका लागि घोषणा गरिएको सहयोग रकम १ करोड ५० लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन् । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसनमार्फत घोषणा गरिएको सहयोग रकमको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र मुख्य सचिव डा. बैकुण्ठ अर्यालसमेत उपस्थित थिए । यसैगरी, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललगायतको पनि उपस्थिति थियो । सहयोग रकम हस्तान्तरणसँगै आइएमई ग्रुपले भूकम्पका कारण मृत्यु भएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, भूकम्पप्रभावित क्षेत्रमा आइएमई ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोगसमेत उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ ।
सीआईटीबाट बाहिरिए रमण नेपाल, नयाँ कार्यकारी निर्देशक खोजिँदै
काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालको कार्यकाल सकिएपछि बाहिरिएका छन् । वि.सं. २०७५ कात्तिक २५ गते कोषको कार्यकारी निर्देशकमा नियुक्त भएका नेपाल ५ वर्षे कार्यकाल सकिएपछि कोषबाट बाहिरिएका हुन् । नेपालको कार्यकाल सकिएपछि कोषले खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट कार्यकारी निर्देशक नियुक्त गर्ने भएको छ । कोषले मंगलबार एक सूचना जारी गर्दै रिक्त कार्यकारी निर्देशक पदका लागि विज्ञापन आह्वान गरेको छ । कोषको कार्यकारी निर्देशक बन्न नागरिक लागानी कोष ऐन, २०४७ को दफा ४२ (१) र नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यता तथा अनुभव भएको हुनु पर्नेछ । त्यस्तै अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ३ बमोजिम नियुक्तिका लागि योग्यता भएको र सोही मापदण्डको दफा ४ बमोजिम अयोग्य नरहेको हुनु पर्ने सूचनामा उल्लेख छ । उक्त मापदण्ड अनुसार योग्यदा पुगेका आवेदकहरुले निवेदन पेश गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, वैयक्तिक विवरण र २प्रति पासपोर्ट साइजको फोटो तथा उपर्युक्त कार्यविधिको दफा ६ बमोजिमको व्यावसायिक कार्ययोजना खामबन्दी गरी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेश गर्नु पर्नेछ । प्राप्त आवेदन मध्ये बढीमा ५ जनाको नाम सर्टलिस्ट गरिने र सर्टलिस्टमा छनौट भएका उम्मेदवारले आफ्नो कार्ययोजनाको प्रस्तुतीकरण समेत गर्नु पर्ने छनौट समितिले जनाएको छ । दोस्रो चरणमा अन्तिम ३ जनाको नाम अर्थ मन्त्रालय समक्ष सिफारिस गरिने सूचनामा उल्लेख छ । इच्छुक नेपाली नागरिकहरुले २१ दिन अर्थात् मंसिर ११ गतेसम्म आवेदन पेश गर्न कोषले आग्रह गरेको छ ।
सयपत्री फूलको व्यावसायिक खेती, मनग्य आम्दानी
धनुषा । लहरै रोपिएका सयपत्री फूलका बिरुवा । कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा व्यस्त देखिन् फूल व्यवसायी रामप्रवोध पण्डित । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका रामप्रवोध पण्डित व्यावसायिक सयपत्री फूल खेती गरेका छन् । पण्डितले चार वर्षअघि कोरोनाको समयमा बन्दाबन्दी हुँदा कामविहीन भएपछि सुबधिमाई फूल भण्डार तथा उत्पादन शाखा सञ्चालन गरेर व्यावसायिक फूल खेती सुरुवात गरेका थिए । हरैयामा १० कट्ठा जमिन भाडामा लिएर उनले व्यावसायिक फूल खेती सुरु गरेका थिए । सुरुमा फूल खेतीसम्बन्धी अनुभव नहुँदा र लगातार दुई वर्षको बन्दाबन्दीमा खासै आम्दानी गर्न नसके पनि व्यवसायलाई उनले निरन्तरता दिए । गत वर्ष पाँच जातको सयपत्री फूल खेती गरेका उनले यसपालि ‘मेग्रा’, ‘चिनाचेरी’, ‘कर्मा त्रिपल फाइभ ओरेन्ज’, सेतो हजारी, कलकत्ते ओरेन्जलगायत जातका सयपत्रीका बिरुवा लगाएका छन् । उनले गत वर्ष तिहारको समयमा फूल मात्रै रु १० लाखको बिक्री गरेका थिए । यसपटक पनि तिहारको समयमा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य रहेको पण्डितले बताए । आफूले फूल खेतीबाट मनग्य आम्दानी गर्न सकिने देखेपछि गाउँका युवालाई वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने सल्लाह उनी दिन्छन् । फूल खेतीबाट आम्दानी राम्रो हुन थालेपछि आफूलाई काम खोज्दै विदेश पनि जान नपरेको उनको भनाइ छ । आफूहरु श्रीमान्, श्रीमती र दुई बुहारीसहित फूल खेतीमा लागिरहेको बताउँदै पण्डितकी श्रीमती फुलोदेवी फुलोले भने, ‘जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके आयआर्जनको बलियो आधार हुने अवस्था रहेको छ ।’ फूल उत्पादनका लागि यहाँको माटो उपयुक्त रहेको फुलाको भनाइ छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको छ । रामप्रवोधले यसपालि फूल खेतीको क्षेत्र विस्तार गरेर एक बिघा पुर्याएको हुँदा उपभोक्ताले केही सस्तो मूल्यमा फूल किन्न पाउने धारणा व्यक्त गरे । फूलमा क्षीरेश्वरनाथ नगरपालिका र आसपासका गाउँ नगरलाई आत्मनिर्भर गराउने उद्देश्यले फूल खेतीको क्षेत्र विस्तारको योजना रहेका पण्डितले बताए । ‘फूल खेतीबाट हुने आम्दानी राम्रो छ, याममा लाखौँको फूल बिक्री भइरहेको छ’, उनले भने । उनले स्थानीय एभरेष्ट पेपर मिल्सको जागिर छोडेर फूल खेतीमा लागेका हुन् । उनले मासिक २५ हजारको जागिर छाडेका थिए । उनको परिवारलाई घाम उदाएदेखि अस्ताएसम्म फूलबारीमा काम गर्न भ्याइनभ्याइ हुन्छ । फुलोदेवी भन्छन्, ‘फूलको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै फूलमा पानी हाल्यो, गोडमेल गर्यो समय बितेको पत्तै हुँदैन ।’ व्यावसायिकरुपमा सयपत्री फूल खेती गरेका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । तिहारको बेलामा मात्र नभई अन्य समयमा पनि फूलको माग हुने गर्दछ । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउने गरेको पण्डित बताउँछन् । ‘यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्प व्यवसायमा अझ उत्साहित बनाएको छ ।’ पण्डितले विवाह, पूजा, विभिन्न सङ्घसंस्थाको औपचारिक तथा अनौपचारिक कार्यक्रममा उत्पादन गरेको सयपत्री फूलको माला खपत हुने गरेको बताए । ‘सार्वजनिक कार्यक्रममा अतिथि सत्कारका लागि खादाभन्दा मालाको माग बढ्दो छ,’ पण्डितले भने, ‘उत्पादनले बजार नपाउने चिन्ता छैन, मागअनुसार पु¥याउनै सकेको छैन ।’ कृत्रिम फूलका प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको क्षीरेश्वरनाथ नगरपालिकाका कृषि अधिकृत गङ्गा यादवले बताए । प्रतिमाला २५ देखि ३० रुपैयाँले बिक्री हुने गरेकामा तिहारको अवधिभर २५ हजार फूलको माला बिक्री हुने उनको विश्वास छ । यसबाट रु सात लाखभन्दा माथि आम्दानी हुने उनको भनाइ छ । पुष्प खेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि पण्डित एक उदाहरण बनेका छन् । ‘फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन । एक बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पु¥याउन सकेको छैन, बजार छैन भन्न मिल्दै’, उनले भने । बजारमा मालाको अभाव देखिनु नेपाली किसानले व्यावसायिकरुपमा पुष्प खेती नगर्नुको उपज भएको पण्डितको भनाइ छ । ‘कहिलेकाहीँ काम धेरै भएका बेला ज्यालामा पनि खेताला लगाउने गरेको छ’, उनले भने, ‘एक्लै भए पनि काम गर्न आनन्द लाग्छ, ढकमक्क फुलेका फूलको सुगन्धले एक्लोपनको आभास नै गराउँदैन ।’ कम लगानीमा छिटो र उत्पादन राम्रो हुनाका साथै आम्दानी मनग्य भएपछि पण्डित पुष्प व्यवसायमा आकर्षित भएका थिए । ‘विभिन्न कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग बढ्न थालेपछि व्यावसायिक रुपमा गर्दा आम्दानी हुन्छ भन्ने लागेपछि यसतर्फ लागेका हौँ,’ उनले भने, ‘फूल आयातको सट्टामा निर्यात हुन्छ, जिल्लामै फूलको खपत पनि हुने भएपछि यसमा लागेका हौँ, तिहारमा यो फूल अझ बढी खपत हुन्छ, यसले हामीलाई उत्साह थपेको छ ।’ सुरुवात गर्दा आफ्नै चार/पाँच कट्ठा जमिनमा तीन रुपैयाँ गोटाको दरले फूलको बिरुवा किनेर करिब एक हजार पाँच सय जति रोपेर सुरुआत गरेको फूल खेती अहिले एक बिघामा विस्तार गरेको पण्डितको गुनासो राज्यसँग छ । उनले आफूहरु जस्तो किसानलाई राज्यले कुनै किसिमको सहयोग नगरेको गुनासो गरे ।