उनले नेपाल विश्वको सबैभन्दा पुरानो मानवसभ्यता भएको मुलुक हो भन्दै अनुसन्धान गरे यसका प्रशस्त दृष्टान्त भेटिने दाबी गरे । प्रसिद्ध ग्रन्थ महाभारत तनहुँमा लेखिएको तथ्य पेस गर्दै रामायण लेख्ने वाल्मीकि र अठार पुराणका व्याख्याता व्यासदेखि लिएर कैयन् ऋषिका आश्रम नै नेपालमा रहनु, राजा जनक र सीताको पौराणिकता एवं नेपालको कालीगण्डकी क्षेत्रमा मात्र पाइने शालग्रामको पुरातात्विक र धार्मिक महत्व यसका केही प्रमाणहरु हुन् भने।
सो कार्यक्रममा सुरक्षाविद् थापाले भारतको अर्थतन्त्र र सुरक्षा दुवै क्षेत्रमा नेपालको ठूलो योगदान रहेको पनि उल्लेख गरे । भारतीय सेनामा गोर्खा रेजिमेन्टअन्तर्गत ४० हजार र अन्य सुरक्षा सेवामा ५० हजार नेपाली कार्यरत रहेको उल्लेख गर्दै थापाले प्रशासनिक सेवामा पनि ३० हजार नेपाली कार्यरत रहेको बताए ।
‘भारतमा सबैभन्दा बढी रेमिट्यान्स भित्रने मुलुकमा नेपाल सातौँ स्थानमा पर्छ’, उनले भने, ‘व्यापारका हकमा नेपाल भारतका लागि १०औँ ठूलो बजार भएकाले भारतको अर्थतन्त्र र सुरक्षा क्षेत्रमा नेपालको योगदान छ ।’ उनले नेपालमा हजाम, सिकर्मी, डकर्मी, इँटाभट्टा, तरकारी र फलफूल बिक्रीलगायत क्षेत्रमा ठूलो सङ्ख्यामा भारतीय श्रमिक काम गरिरहेको उल्लेख गर्दै उनले भारतको अर्थतन्त्रमा नेपालको विशेष योगदान रहेको बताए ।
सो अवसरमा उनले नेपाल र भारतको सम्बन्ध ऐतिहासिक र महत्वपूर्ण रहेको भन्दै नीतिनिर्माण गर्दा आपसी सम्बन्ध र यसको महत्वलाई ध्यान दिन सुझाव दिए । उनले दुई देशबीचको आपसी सम्बन्ध सदियौँदेखि रही आएको भन्दै सम्बन्ध बलियो बनाउँदै जानुपर्नेमा जोड दिए ।
भारतीय उपराष्ट्रपति जगदीप धनखरले उद्घाटन गरेको सो कार्यक्रममा विश्वका विभिन्न देशका सैनिकका उच्च अधिकारीको सहभागिता थियो । सो कार्यक्रममा एसिया तथा अन्य देशका सुरक्षा, कूटनीतिक सम्बन्ध तथा सुरक्षासम्बन्धका विविध विषयमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।