सलिकोले आयोजना गर्यो बीमा सचेतना कार्यक्रम
काठमाडौं । सलिकोले बीमा सचेतना कार्यक्रम आयोजना गरेको छ । सलिकोले सोमबार खोटाङ्ग जिल्लाको दिक्तेल स्थित जिल्ला पशुसेवा कार्यालय रुपाकोट मजुवागडि न.पा. १ मा स्थानीय स्तरमा बीमाको पहुँच विस्तार गर्न तथा बीमाको औचित्य सम्बन्धमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ बीमा सचेतना कार्यक्रम संचालन गरेको थियो । उक्त कार्यक्रममा यस कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतम, दिक्तेल शाखा प्रमुख बाबुराम आचार्य, गाईघाट शाखा प्रमुख डि.बि. कटवाल लगायत जिल्लाका पशु प्राबिधिक, भेटनरी, स्थानीय जनप्रतिनिधि, कृषक तथा स्थानीय भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो भने यस कार्यक्रमले आगामी दिनहरुमा स्थानीय जनताहरुले बीमाको आवश्यकता र महत्वलाई महसुश गर्दै बीमामा सहभागि हुने अपेक्षा गरिएको छ । साथै, कार्यक्रममा सहभागिहरुले बीमा सचेतना कार्यक्रम संचालन गरेकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
लघुवित्त संस्थालाई पुँजीको २५% हकप्रद सेयरको अनुमति दिन सुझाव, पुँजी कोष १५% हुनु पर्ने
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुका समस्या समाधान समितिले लघुवित्त संस्थाहरुका सुधारका लागि विभिन्न सुझावहरु दिएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठको संयोजकत्वमा बनेको समितिले विभिन्न सुझावहरु पेश गरेको हो । समितिले पुँजीकोष अनुपात चरणबद्ध रुपमा बढाई १५ प्रतिशत पु¥याउनु पर्ने मध्यकालीन सुझाव दिएको छ । लघुवित्त क्षेत्रलाई बिस्तारै समायोजनको लागि समय दिन यसप्रकारको पुँजीकोष वृद्धि गर्न आगामी ३ देखि ५ वर्षको समय सीमा दिनु पर्ने, २०८२ असारमा १० प्रतिशत, २०८३ असारमा १२ प्रतिशत, २०८४ असारसम्म १३ प्रतिशत र २०८५ असारसम्म १५ प्रतिशत पु¥याउनु पर्ने सुझाव समितिको छ । यस्तै, पँुजी वृद्धिका लागि संस्थाहरूलाई मर्जर गर्न प्रोत्साहन गर्ने र निश्चित समयावधि पछि प्रमोटर शेयरमा परिणत हुने गरी अग्राधिकार शेयर आफ्ना ग्राहकलाई बिक्री गर्ने गरी निष्काशन गर्न दिनु पर्ने सुझाव समितिको छ । समितिले अन्य उपायबाट पुँजीकोष वृद्धि गर्न नसकेको अवस्थामा विद्यमान चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न दिन सकिने, कर्जा नोक्सानी व्यवस्थालाई चरणबद्धरुपमा थप कसिलो बनाउने। २०८३ असारसम्ममा असल कर्जा (१ महिनासम्म) लाई २ प्रतिशत, सूक्ष्म निगरानी (१ देखि ३ महिनासम्म) लाई ५ प्रतिशत, कमसल (३ देखि ६ महिनासम्म) २५ प्रतिशत, शंकास्पद (६ देखि ९ महिनासम्म) ५० प्रतिशत, र खराब (९ महिनाभन्दा बढी) लाई १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था लागू गर्नु पर्ने सुझाव दिएको छ । यस्तै, लघुकर्जाको कर्जा तथा निक्षेप सुरक्षण कोषमा सुरक्षण गरे बापत राख्नुपर्ने कर्जा नोक्सानी व्यवस्था पुनरावलोकन गर्नु पर्ने, नष्क्रिय कर्जा अनुपात ५ प्रतिशत भन्दा बढी नभएको अवस्थामा मात्र लघुवित्त वित्तीय संस्थाले नयाँ शाखा खोल्न पाउने व्यवस्था रहेको र सोही आधारमा वाणिज्य बैंकहरूले कर्जा दिदाँ समेत ५ प्रतिशतको निष्क्रिय कर्जा अनुपातलाई मापदण्डकोरुपमा प्रयोग गर्ने गरेकाकारण यो प्रावधानलाई परिमार्जन गरी निष्क्रिय कर्जा अनुपात १० प्रतिशतसम्म पनि कर्जा लिन सकिने बनाउनु पर्ने सुझाव पनि समितिको छ ।
साढे ६ वर्षमा पनि बनेन हुलाकी सडक
कञ्चनपुर । तीस महिनाभित्र कालोपत्र सक्ने गरी कञ्चनपुरमा ६४ किलोमिटर हुलाकी सडक निर्माण थालिएको साढे छ वर्षमा पनि पूरा हुन सकेको छैन । २०७३ फागुनमा निर्माण सम्झौता भई कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने एकमात्र सडक तोकिएको समयभन्दा दोब्बर समय बितिसक्दा पनि कालोपत्र हुन नसकेपछि स्थानीयस्तरमा विरोधका कार्यक्रम अघि बढ्न थालेका छन् । धनगढीस्थित हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर दीपक सुनारले कञ्चनपुरको तीनवटा प्याकेजमध्ये हुलाकी सडकको दुईवटा खण्डको ५० प्रतिशतभन्दा बढी काम बाँकी रहेको बताए । ‘पाँचौं पटक थपिएको म्याद गत असारमा सकिएपछि निर्माण कम्पनीलाई काम गर्ने समय थप गरिएको छैन’, उनले भने, ‘अहिले आएर बल्ल ठेकेदारहरुले काम गर्ने तयारी गरिरहेको देखिन्छ ।’ कञ्चनपुरमा डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटरको पहिलो प्याकेज पाँचौँ पटकको म्याद थपमा सकिएको थियो । यहाँ बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडक मात्रै कालोपत्र भएको छ भने बाँकी कालोपत्र गर्न निर्माण कम्पनीले सुरसार गरिरहेको कार्यालयको भनाइ छ । उक्त कामको जिम्मा ४१ करोड ४१ लाखमा बाबा हंस-सिद्धिसाई जेभीले पाएको थियो । सो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न गरेको अवरोध कायम छ । त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी-दैजी) २२ किलोमिटरमध्ये साढे आठ किलोमिटर सडक मात्रै कालोपत्र भएको इन्जिनियर सुनारले बताए । सो प्याकेजमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने भूभाग कालोपत्र हुन सकेको छैन । समयमा सडक बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबारदेखि सो हुलाकी सडकमा पैदल यात्रा गर्ने अभियान सञ्चालन गर्दैछ । उक्त पार्टीका नेता जनक धामीले दोब्बर समय सकिँदा पनि सडक नबनेपछि आफूहरु रचनात्क रुपमा दबाद दिन ६४ किलोमिटर नै पैदल यात्रा गर्न लागेको बताए । ‘समयमा सडक नबन्दा दुईजनाले सो सडकमा ज्यान गुमाउनाका साथै दक्षिण क्षेत्रको उत्पादन बजारसम्म सहजरुपमा पुर्याउन सकिएको छैन’, उनले भने, ‘सडकको धुलोधुवाँले स्वास्थ्यमा असर पार्नाका साथै खाल्डाखुल्डी सडकले सिकिस्त खालका बिरामीलाई अस्पताल पु¥याउन पनि गाह्रो छ ।’ सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक निर्माणाधीन छ । कैलालीमा ७३ किलोमिटर सडक विभिन्न प्याकेजमा निर्माणाधीन रहेको हुलाकी सडक आयोजना कार्यालयले जनाएको छ । हुलाकी राजमार्ग योजना कार्याला इन्जिनियर दीपक सुनारले कञ्चनपुरमा ०७३ फागुन र कैलालीमा २०७७ असारदेखि सडक निर्माण थालिएको जानकारी दिए । कैलालीको लम्कीदेखि टीकापुरसम्मको २९ किलोमिटर सडकमा आठ किलोमिटर कालोपत्र भएको छ भने बाँकी खण्डमा निर्माण जारी छ । रासस
भूकम्प पीडितलाई ‘बिग कर्पोरेट हाउस’को करोड सहयोग, आइएमई, सूर्य नेपाल र भाटभटेनी अग्रस्थानमा
काठमाडौं । बिग कर्पोरेट हाउस भूकम्प पीडितलाई राहत कार्यक्रममा जुटेका छन् । गत शनिबार राति जाजरकोट केन्द्र भएर गएको भूकम्पले पुर्याएको क्षतिमा उद्दार तथा राहतका लागि नेपालका बिग कर्पोरेट हाउनसहरु लागेका हुन् । हालसम्म धेरै उद्योगी व्यवसायी तथा संघ संस्थाले करोडौं सहयोग गरिसकेका छन् । संघीय सरकारले भूकम्प पीडितको खोज, उद्दार, राहत र व्यवस्थापन सम्बन्धी विभिन्न निर्णयहरु गरिसकेको छ । हालसम्म ठूलो कर्पोरेट हाउसहरुमा आइएमई ग्रुप, सूर्य नेपाल, भाटभटेनी लगायतका व्यवसायिक संघ संस्थाहरुले करोड बढी सहयोग गरिरहेका छन् । मंगलबार मात्रै सूर्य नेपालले भूकम्प पिडितलाई १ करोड ४० लाख रुपैयाँ सहयोग गरेको छ । सूर्य नेपालले आफ्नो व्यवसायिक सामाजिक दायित्व अन्तर्गत भूकम्पका कारण जाजरकोट, रुकुम लगायतका जिल्लाहरुमा जनधनको व्यापक क्षति भएकोमा तत्काल उद्दार, राहात तथा पिडितहरुको पुनस्थापनामा मद्दत पुर्याउन १ करोड ४० लाख रुपैयाँ सहयोग गरेको बताएको छ । सूर्य नेपालले १ करोड रुपैयाँ प्रधानमन्त्री दैबी प्रकोप राहात कोषमा जम्मा हुने गरी आजै कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसी, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रवन्धक प्रेम अर्यालको टोलीले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेको गरेको छ । कम्पनीले थप ३५ लाख रुपैयाँ बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्याङ्गकेटहरु जाजरकोट पठाइसकेको छ र साथै ५ लाख रुपैयाँ बराबरको औषधी वीर अस्पतालको प्रभावित क्षेत्र तर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको सूर्य नेपालले आधिकारीक जानकारी दिएको छ । यस्तै, आइएमई समूहले पनि १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १ करोड ५० लाखको चेक हस्तान्तरण गरेका हुन् । यस्तै, भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले पनि जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट क्षति भएकाको उद्धार र राहतका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उक्त चेक हस्तान्तरण गरेका हुन् । ठूला कर्पोरेट हाउससँगै विभिन्न बैंकहरुले पनि आर्थिक सहयोग गरिरहेका छन् । हालसम्म राष्ट्रिय वाणिज्य बैंकले एक करोड, सिटिजन्स बैंकले २५ लाख, नबिलले एक करोड, एनआइसी एशिया बैंकले ५१ लाख, सानिमाले २५ लाख, प्राइम कमर्सियल बैंकले २५ लाख ५१ हजार, सिटी एक्सप्रेस ग्रुपले २५ लाख र आइएमई लाइफ इन्स्योरेन्सले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा २० प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई दराज ११ः११मा २० प्रतिशत छुट हुने भएको छ । बैंकका ग्राहकहरुले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको हो । नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाइनेछन् । बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा २,००० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा २,५०० रुपैयाँ सम्म छुट पाउनेछन् । बैंकका कार्ड बाहक ग्राहकहरुले छुट पाउनका लागि दराज एयापबाट ग्लोबल आइएमई बैंकको कार्डको छुट भौचर सङ्कलन गर्नुपर्नेछ । यी भाउचरहरू चेकआउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागू हुनेछन् । ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सहज, निरन्तर तथा इनामदायी किनमेल अनुभव सुनिश्चित गर्दै आएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितको लागि गर्यो एक करोड सहयोग
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितको सहायतालागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको हो । बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई मङ्गलबार एक करोड रुपैंयाको चेक रकम हस्तान्तरण गरेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा बैंकको तर्फबाट एक करोड रुपैंया मङ्गलबार ट्रान्सफर गरेको छ । भूकम्पका कारण मृत्यु हुने नागरिकहरु प्रति बैंक हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै, बैंक घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछ ।
सूर्य नेपालले दियो भूकम्प पिडितलाई १ करोड ४० लाख रुपैयाँ
काठमाडौं । सूर्य नेपालले भूकम्प पिडितलाई १ करोड ४० लाख रुपैयाँ दिएको छ । सूर्य नेपालले आफ्नो व्यवसायिक सामाजिक दायित्व अन्तर्गत भूकम्पका कारण जाजरकोट, रुकुम लगायतका जिल्लाहरुमा जनधनको व्यापक क्षति भएकोमा तत्काल उद्दार, राहात तथा पिडितहरुको पुनस्थापनामा मद्दत पुर्याउन १ करोड ४० लाख रुपैयाँ सहयोग गरेको छ । १ करोड रुपैयाँ प्रधानमन्त्री दैबी प्रकोप राहात कोषमा जम्मा हुने गरी आजै कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसि, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रवन्धक प्रेम अर्यालको टोलिले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेको छ । कम्पनीले थप ३५ लाख रुपैयाँ बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्याङ्गकेटहरु जाजरकोट पठाइसकेको छ र साथै ५ लाख रुपैयाँ बराबरको औषधी वीर अस्पतालको प्रभावित क्षेत्र तर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको सूर्य नेपालले आधिकारीक जानकारी गराएको छ ।
कोरला नाका कात्तिक २७ गतेदेखि सञ्चालन हुने
मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने भएको छ । गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले चिनियाँ पक्षबाट कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएसँगै स्थानीयवासीमा खुसियाली छाएको बताए । ‘सरकार, जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुको तहबाट कोरला नाका सञ्चालन गर्न भएको कूटनीतिक पहल सफल भएको छ,’ उनले भने, ‘लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन् ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असोज पहिलो साता भएको भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनमा ल्याउने तयारी भएको जनाएको थियो । यसैगरी मुस्ताङ र चीनको स्वशासित क्षेत्र ढोङवासेनका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुबीच नाका सञ्चालन र व्यवस्थापनका विषयमा चारपटक वार्ता भएको थियो । कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो । त्यसअघिका वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो । उक्त नाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई ‘नेपाल चीन सीमा क्षेत्रमा प्रस्थानका लागि प्रवेश अनुुमतिपत्र’ वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । ‘प्रवेश पास भएका नागरिकले जुुनसुुकै समयमा पनि चीन जानेआउने सुविधा पाउनेछन्,’ उनले भने, ‘कोरला नाकाको नजिकै रहेको नेचुुङ भन्सार कार्यालयमा नियमित कर्मचारी उपस्थितिका लागि तयारी गरिएको छ ।’ नेचुङ सशस्त्र प्रहरी बल (बीओपी) को भवन निर्माण भएको छ । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन बनाएको छ । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवत जावतमा कडाइ गरिएको थियो । विसं २०५८ सम्म रोकतोक नरहेको सीमामा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ । नाका सञ्चालन भएपछि मुस्ताङका बासिन्दाले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए । रासस