काठमाडौं । बिग कर्पोरेट हाउस भूकम्प पीडितलाई राहत कार्यक्रममा जुटेका छन् । गत शनिबार राति जाजरकोट केन्द्र भएर गएको भूकम्पले पुर्याएको क्षतिमा उद्दार तथा राहतका लागि नेपालका बिग कर्पोरेट हाउनसहरु लागेका हुन् ।
हालसम्म धेरै उद्योगी व्यवसायी तथा संघ संस्थाले करोडौं सहयोग गरिसकेका छन् । संघीय सरकारले भूकम्प पीडितको खोज, उद्दार, राहत र व्यवस्थापन सम्बन्धी विभिन्न निर्णयहरु गरिसकेको छ ।
हालसम्म ठूलो कर्पोरेट हाउसहरुमा आइएमई ग्रुप, सूर्य नेपाल, भाटभटेनी लगायतका व्यवसायिक संघ संस्थाहरुले करोड बढी सहयोग गरिरहेका छन् ।
मंगलबार मात्रै सूर्य नेपालले भूकम्प पिडितलाई १ करोड ४० लाख रुपैयाँ सहयोग गरेको छ । सूर्य नेपालले आफ्नो व्यवसायिक सामाजिक दायित्व अन्तर्गत भूकम्पका कारण जाजरकोट, रुकुम लगायतका जिल्लाहरुमा जनधनको व्यापक क्षति भएकोमा तत्काल उद्दार, राहात तथा पिडितहरुको पुनस्थापनामा मद्दत पुर्याउन १ करोड ४० लाख रुपैयाँ सहयोग गरेको बताएको छ ।
सूर्य नेपालले १ करोड रुपैयाँ प्रधानमन्त्री दैबी प्रकोप राहात कोषमा जम्मा हुने गरी आजै कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसी, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रवन्धक प्रेम अर्यालको टोलीले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेको गरेको छ ।
कम्पनीले थप ३५ लाख रुपैयाँ बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्याङ्गकेटहरु जाजरकोट पठाइसकेको छ र साथै ५ लाख रुपैयाँ बराबरको औषधी वीर अस्पतालको प्रभावित क्षेत्र तर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको सूर्य नेपालले आधिकारीक जानकारी दिएको छ ।
यस्तै, आइएमई समूहले पनि १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १ करोड ५० लाखको चेक हस्तान्तरण गरेका हुन् ।
यस्तै, भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले पनि जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट क्षति भएकाको उद्धार र राहतका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।
ठूला कर्पोरेट हाउससँगै विभिन्न बैंकहरुले पनि आर्थिक सहयोग गरिरहेका छन् । हालसम्म राष्ट्रिय वाणिज्य बैंकले एक करोड, सिटिजन्स बैंकले २५ लाख, नबिलले एक करोड, एनआइसी एशिया बैंकले ५१ लाख, सानिमाले २५ लाख, प्राइम कमर्सियल बैंकले २५ लाख ५१ हजार, सिटी एक्सप्रेस ग्रुपले २५ लाख र आइएमई लाइफ इन्स्योरेन्सले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।