विकासन्युज

आइएफआरसीद्वारा तत्काल ‘जाजरकोट भूकम्प’बाट पीडितलाई  १० करोड सहयोग

काठमाडौंं । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङघ (आइएफआरसी)ले ‘जाजरकोट भूकम्प’बाट प्रभावितलाई तत्काल १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ । स्वीजरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपत् प्रतिकार्य आपतकालीन कोष (डिआरइएफ)मार्फत् नेपाल रेडक्रस सोसाइटीलाई सो रकम उपलब्ध गराएको हो । आइएफआरसीको महासचिव जगन चापागाईँँले आफ्नो ‘सामाजिक सञ्जाल’ मार्फत भनेका छन् ‘नेपालमा भूकम्प प्रतिकार्यले तीव्रता लिनथालेपछि नेपाल रेडक्रस सोसाइटीको स्थलगत कार्यलाई सहयोग गर्न आइएफआरसीको विपत् प्रतिकार्य आपतकालीन कोषमार्फत् तत्काल आकस्मिक सहयोग उपलब्ध गरायौँ । म रेडक्रसका स्वयंसेवकलाई भूकम्पपीडितका सहयोगमा जुट्न आग्रह गर्दछु ।’ उनले आगामी दिनमा मानवीय सेवाका लागि आइएफआरसीले थप सहयोग उपलब्ध गराउँदै जाने पनि जानकारी दिएका छन् । जाजरकोट र रुकुम पश्चिममा अहिले सोसाइटीका तालिमप्राप्त ९० भन्दा बढी स्वयंसेवक भूकम्पबाट प्रभावितको खोज, उद्धार तथा राहत वितरणमा अनवरत रुपमा जुटिरहेका छन् । गत शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूटको अकल्पनीय भूकम्प गएको थियो । यसपछि तत्काल ‘पहिलो उद्धारक’ रुपमा सो मानवीय संस्थाका स्वयंसेवक उद्धारमा जुटेका थिए । यो कार्य निरन्तर जारी रहेको जनाइएको छ । प्रारम्भिक प्रतिवेदनका अनुसार मुख्यगरी ती दुई जिल्लामा हालसम्म भूकम्पबाट एक सय ५० जना भन्दा बढीको मृत्यु, तीन सय ४५ घाइते, १२ हजार ०६ परिवार विस्थापित, ३८ हजार सात सय पाँच प्रभावित, नौ हजार चार सय ८३ घर क्षति, १९ हजार दुई सय ८६ घरमा आंशिक क्षति पु¥याएको थियो । सोसाइटीले हालसम्म एकहजार सात सय म्याट्रेक्स, एकजार पाँच सय तारपोलियन, सोही सङ्ख्यामा ब्ल्याङ्केट, दुईसय बुकटेस, एकजार रोपेस भूकम्पपीडितलाई वितरण गरिसकेको जनाएको छ । यो कार्य जारी रहेको जनाइएको छ । आवास र गैर खाद्य सामग्री/नगद वितरण (आकस्मिक आवास,तारपोलियन, म्याट्रेक्स, ब्ल्याङ्केट, बुकटेस), स्वास्थ्य (मनोसामाजिक, परामर्श) सरसफाइ जीविकोपार्जन तथा अत्यावश्यक वस्तु उपलब्ध गराउने कार्यलाई एकीकृत रुपमा भूकम्पपीडितलाई उपलब्ध गराउने नीति नेपाल रेडक्रसले लिएको छ । राहत वितरणका साथमा भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने आएफआरसीले जनाएको छ । भूकम्प अतिप्रभावितमध्ये पनि सुत्केरी, गर्भवती, अपाङ्गता तथा अति सङ्कटासन्न परिवारलाई न्यायो कपडासहित नगद सहयोग गर्ने नीति उसले लिएको छ । रासस

नेपालमा आईसीटीको इकोसिस्टम विकास गर्न क्यान महासंघ र यूएसएडबीच सहकार्य

काठमाडौं । नेपालमा आईसीटीको इकोसिस्टम विकास गर्न क्यान महासंघ र यूएसएडबीच सहकार्यको घोषणाको भएको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको इकोसिस्टम विकास गर्न कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) बीच सहकार्यको घोषणा भएको हो । एक समारोहबीच क्यान महासंघका अध्यक्ष रञ्जितकुमार पोद्दार र यूएसएडको ट्रेड एण्ड कम्पिटिटिभनेसकी प्रमुख एग्नेस लुजले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालको आईसीटी इकोसिस्टमलाई प्रवर्द्धन गर्न तथा आर्थिक वृद्धिलाई बढावा दिन यो सहकार्यबाट महत्त्वपूर्ण सहयोग पुग्‍ने बताइएको छ । त्यस्तै सीमान्तकृत समुदाय लगायतका सरोकारवाला पक्षहरूका लागि आईसीटी क्षेत्रमा अवसर सिर्जना गर्ने र आईटी तथा डिजिटल सेवाको प्रतिस्पर्धा बढाउने उद्देश्यले विभिन्न कार्यक्रम संयुक्त रूपमा सञ्चालन हुने विज्ञप्तीमा भनिएको छ । यस साझेदारीपछि नेपालमा आईसीटी प्रतिभाका लागि उपयुक्त तालिमको व्यवस्था तथा इकोसिस्टम निर्माण गर्न आफूहरू प्रतिबद्ध रहेको क्यान महासंघका अध्यक्ष रञ्जित पोद्दारले बताए । त्यस्तै क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले नेपालको आईसीटी क्षेत्रलाई प्रवर्द्धन र सुदृढ गर्न यो सहकार्य महत्त्वपूर्ण हुने प्रतिक्रिया दिए ।

सयपत्री बेचेर ९ लाख आम्दानी गर्दै सिन्धुलीका किसान

कमलामाई । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ ।  राहदानी बनाएर विदेश जान लागेका २२ वर्षीय दर्नाल बाँझो जमिनमा सयपत्री लगाएर आम्दानी गरिरहेका छन्। उनले भने, ‘नजिकिएको तिहारमा मात्रै सयपत्रीको एक हजार माला बेच्ने तयारी छ, यसअघि सयपत्रीको फूल बेचेर रु नौ लाख आम्दानी लिइसकेको छु ।’ परम्परागत विभिन्न बालीनाली लगाउँदा आठ हजार कमाई नहुने आठ रोपनीमा उनले व्यावसायिक सयपत्री खेती गरेकाे एक वर्ष बितिसकेको छ । उनलाई आजभोलि पैसा कमाउन विदेश जाने सोच आउँदैन । सयपत्री फूलको मगमगाउँदो सुगन्धले मनमा आनन्द र राम्रो आम्दानीसमेत आर्जन भएको दर्नालले बताए।  किसान दर्नालले तीन महिनाअघि सयपत्रीको बीउ बेर्ना बनाएर रोपेका थिए ।  बेर्ना रोप्दा, बिरुवाको जलमल तथा आवश्यक रेखदेख गर्दाका दुःख यतिबेला खुसीमा बदलिएका छन् । थप जमिनमा फूलखेती विस्तार गर्ने उनमा उत्साह उब्जिएको छ । वर्षमा तीन पटकसम्म सयपत्रीको फूल र यसको माला बेच्ने गरेको उनले सुनाए । सयपत्री फूल स्वागतदेखि बिदाइसम्म र दैनिक पूजापाठका लागि आवश्यक पर्ने भएकाले वर्षैभरि बिक्री हुन्छ । तिहारमा यसको माग र मूल्य बढी हुन्छ । दर्नाले उत्पादन गरेको फूलमाला सिन्धुलीको सिन्धुलीमाढी, रामेछापको मन्थली र काठमाडौँको पशुपतिनाथ क्षेत्रसम्म पुग्ने गर्दछ ।  सुनकोशीका युवा दर्नालले जसरी ठूलो क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने रहर  कमलामाई नगरपालिका–१ डाँडीगाउँकी रिमा अधिकारीलाई पनि जागेको छ । फूलखेती, यसको बजार, सम्भावना, अवसर र चुनौतीका बारेमा नबुझिकनै व्यावसायिक फूलखेती सुरु गरेको बताउने उनी गर्दै–सिक्दै, सच्याउँदै–सच्चिदै, बुझ्दै–बुझाउँदै अगाडि बढ्ने सोचमा रहेका छन्। अहिले एक कठ्ठामा फूलखेती सुरु गरे पनि विस्तारै बढाउँदै जाने उनको योजना छ ।  अहिले उनको फूलबारीमा सयपत्रीका फक्रिएका फूलैफूल छन् । अहिलेसम्म कसैले माग भने गरेका छैनन् । तैपनि नबिक्ने चिन्ता उनलाई छैन । तिहारसम्ममा घरबारीबाटै फूल बिक्री हुने उनको विश्वास छ ।  यता गोलञ्जोर गाउँपालिका–२ बितिजोर हमालडिहीका यम हमालको तीन रोपनीमा एउटै उचाइमा एकैनास भएर सयपत्री फुलेका छन् । आकर्षक फूलबारीमा फोटो खिच्ने, टिकटक बनाउने र फूलबारी हेर्न आउनेको सङ्ख्या बाक्लिँदो छ । उनका अनुसार सयपत्री फूल फुल्दा जति सुन्दर तथा आकर्षक देखिन्छ, फूललाई फुलाउन त्यत्तिकै मेहनत गर्नुपर्छ । सयपत्री फूलखेती गरेका हमाल भने, ‘राम्रो, सुन्दर फूल फुलाउन बिरुवा स्वस्थ हुनुपर्छ । बिरुवा रोप्दादेखि नै हावापानी र मलजलमा विशेष ध्यान दिनुपर्छ ।’  हमालले एक प्याकेट बीउलाई पाँच हजारमा किनेर बेर्ना तयार गरी रोपेका थिए। उनका अनुसार हाइब्रिड जातको फूलको बीउ तथा बिरुवा महँगो छ । बिरुवा महँगो पर्ने भए पनि यसको फूल चाँडै ओइलाउँदैन । फूलका थुङ्गा एकैनासका आर्कषक हुन्छन् । सयपत्रीको प्रतिबेर्ना रु तीन–पाँचसम्म किन्न पाइने हमालले जानकारी दिए । पहिलोपटक गरिएको व्यावसायिक फूलखेतीले थप विस्तार गर्न उनलाई पनि हौसला बढेको छ । तीन रोपनीमा फुलेको सयपत्रीबाट रु तीन लाख बढी आम्दानी हुने उनको अनुमान छ ।  सयपत्री फूलको व्यावसायिक खेतीमा सामुदायिक विद्यालय पनि जोडिन थालेका छन् । पढ्दै–कमाउँदै  कार्यक्रम अन्तर्गत  कमलामाई नगरपालिका–५ मा अवस्थित जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा अध्ययनरत विद्यार्थीले एक कठ्ठामा गरेको फूलखेतीले आम्दानी दिन थालिसकेको छ ।  अघिल्लो वर्ष १० धुरमा लगाएको फूलखेतीबाट रु ४० हजार आम्दानी लिएका थिए । यस वर्ष एक कठ्ठामा लगाएको फूलखेतीबाट रु १५ हजार कमाइ भइसकेको छ । अझै बोटभरि ढकमक्क फुलेका फूल ग्राहकको प्रतीक्षामा छन् । विद्यालयका प्राधानाध्यापक योगेन्द्रप्रसाद अधिकारीका अनुसार विद्यार्थीले प्रतिकेजी रु चार सयमा फूल बिक्री गर्ने गर्दछन् ।  यतिबेला बारीका पाटा, आली, कान्ला, करेसा, घरआँगन सर्वत्र सयपत्रीमय बनेको छ ।  फूलबारीमा फुलेका आकर्षक सयपत्री फूलले वातावरणमा छुट्टै सुन्दरता थपेको छ । गाउँदेखि सहरसम्म सयपत्रीको बासना छाएको छ । चार वर्षअघि सयपत्रीको व्यावसायिक खेती सुरु गर्ने पहिलो किसान सुनकोशी–३ सुन्दरबस्तीका ज्ञानप्रसाद भट्टराईका अनुसार जिल्लामा फूल व्यवसाय फस्टाउँदै गएको छ । फूल व्यवसायी बढ्दै गएका छन् ।  तिहार तथा अन्य समयमा पनि सयपत्री फूल जिल्लाबाट निर्यात हुन थालेको सम्बन्धित पालिकाका कृषि शाखा तथा कृषि ज्ञान केन्द्रका प्रमुखहरू बताउँछन् । सयपत्री फूलको माग वर्षैभरि हुन्छ । तिहारमा सर्वाधिक खपत हुने भएकाले माग बढी हुने तथा उचित मूल्य पाइने फूल व्यवसायी बताउँछन् । रासस

एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३ जनाले पाए स्कुटर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३ जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ । बम्पर पुरस्कार जित्न सफल ७ जना ग्राहकहरु मध्ये मंगलबार ३ जना ग्राहकलाई छुट्टा छुट्टै कार्यक्रममाझ विराटनगर, धनगढी र हेटौडामा स्कुटर हस्तानतरण गरिएको हो । विराटनगरस्थित एनसेल सेन्टरमा एक कार्यक्रम माझ अभिनेत्री प्रियंका कार्कीले सुनसरीका रोहन शर्मालाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी छन् । त्यस्तै मंगलबारनै धनगढीस्थित एनसेल सेन्टरमा आयोजित कार्यक्रममा अभिनेत्री केकी अधिकारीले गोमा कुमारी खराललाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी हुन् । त्यसैगरी एनसेल सेन्टर हेटौडामा एनसेलका प्रोडक्टस् डाईरेक्टर विशाल नेगीले चितवनकी रिना ढकाललाई पनि बम्पर पुरस्कार हस्तान्तरण गरेका छन् । यो योजना एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाईंकै लागि’ अन्तर्गत संचलान गरिएका पहलहरू मध्ये एक हो । भाद्र ३१ देखि २८ दिनसम्म संचालनमा रहेको यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो र एनसेल सम्बन्धी उत्कृष्ट नारा पठाउने १,००० ग्राहकहरुलाई हरेक हप्ता रु १०० बोनस ब्यालेन्स प्रदान गरिएको थियो । यस योजना अन्तर्गत दैनिक रुपमा ग्राहकहरुलाई प्रदान गरिएको स्योर प्राइजहरुमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरु रहेको कम्पनीले जनाएको छ । साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरुले सर्त अनुसार एनसेलको बारेमा नारा पठाउन पठाएका थिए र यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५,००० भन्दा बढी नाराहरु प्राप्त गरेको थियो । साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरुको मूल्याङ्कन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए । यस योजना अन्तर्गत एनसेलले बम्पर पुरस्कार स्वरूप ७ जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो । बाँकी रहेका ४ जना विजयेताहरुले बम्पर प्राइज कार्तिक २२ र २३ गते प्राप्त गर्ने कम्पनीले जनाएको छ । एनसेलले मंगलबार दिउँसो धनगढी र धरानस्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको थियो । यस कार्यक्रममा अभिनेत्री केकी अधिकारीेले धनगढी एनसेल सेन्टरमा र नायिका प्रियंका कार्कीले धरानको एनसेल सेन्टरमा आएका ग्राहकहरुसँग अन्तरक्रिया गर्नुका साथै मंगलबार १०० रुपैयाँ भन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरुलाई एनसेलका विभिन्न उपहारहरु प्रदान गरेकी थिइन् ।

डिजेल/पेट्रोलियम गाडीको विकल्प हाइड्रोजन गाडी हो : प्रा.डा. बिराजसिंह थापा

काठमाडौं विश्वविद्यालयले लामो समयदेखि हाइड्रोजन इन्धनको उत्पादन, भण्डारण, प्रयोग, हाइड्रोजन इन्जिन र नीतिगत पक्षमा अनुसन्धान तथा काम गर्दै आएको छ । पछिल्लो समय विश्वमै पेट्रोलियम इन्जिनलाई प्रतिस्थापन गर्ने खोजमा विद्युतीय र हाइड्रोजन इन्जिन विकल्पको रुपमा देखिएको छ । विशेषगरी पानी र बिजुलीको प्रयोगबाट उत्पादन गर्न सकिने हाइड्रोजनको नेपालमा राम्रो व्यवसायिक सम्भावना समेत देखिएको छ । नेपालमा पनि हाइड्रोजन इन्धनबाट सञ्चालन हुने पहिलो विद्युतीय कार भित्रिएको छ । काठमाडौं विश्वविद्यालयले शनिबार हुन्डाई कम्पनीद्वारा निर्मित नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी नेपाल भित्र्याएको हो । यही विषयमा काठमाडौं विश्वविद्यालय हाइड्रोजन ल्याबका प्रमुख प्रा.डा बिराजसिंह थापासँग विकासन्युजका लागि नारायण अर्यालले कुराकानी गरेका छौं । हाइड्रोजन इन्जिनयुक्त गाडी भनेको के हो ? हाइड्रोजन इन्जिनयुक्त गाडी भनेको एक प्रकारको इलेक्ट्रिक गाडी जस्तै हो । एक प्रकारले सफा टेम्पो जस्तै सफा टेम्पोकै प्रिन्सिपलमा चल्छ । यसमा समानता भनेको मोटरले घुमाउने हो, मोटरले जसरी सफा टेम्पोलाई चलाउने काम गर्छ हाइड्रोजन गाडी पनि त्यसरी नै मोटरले सञ्चालन गर्ने हो । मोटर घुमाउन बिजुली चाहिन्छ, विद्युतीय गाडीमा बिजुली ब्याट्रीबाट दिइन्छ । ब्याट्रीको बिजुली भण्डारण क्षमता थोरै हुन्छ र ब्याट्रीको आफ्नै भार पनि हुन्छ । हलुका र छोटो दुरीका सवारी साधन जस्तै : ट्याक्सी, कार, मोटरसाइल र मिनिबस सम्मका सवारी साधन विद्युतीय इन्जिनबाट सञ्चालन गर्न सकिन्छ । तर, भारी सामानको ओसारपसार गर्ने डिजेलले सञ्चालन हुने सवारी साधन जसले निकै प्रदुषण पनि गर्छ र अत्याधिक धेरै उर्जा पनि खपत गर्छ । पेट्रोलियम गाडीलाई ब्याट्रीले विस्थापित गर्न सकिँदैन, निकै चुनौतीपूर्ण छ भन्ने देखिइसकेपछि विश्वभरी नै यसको विकल्पको रुपमा अध्ययन गर्दा हाइड्रोजन इन्जिनको विकास हुन पुगेको हो । यो विशेषगरी पेट्रोलियम गाडीको विकल्पको रुपमा विकास भएको हो । यो ब्याट्रीको विकल्प होइन, डिजेलको विकल्पको रुपमा हो । डिजेल इन्धनबाट सञ्चालन हुने पानीजहाज, हवाइजहाज र भारी सवारी साधन सञ्चालन गर्नको लागि डिजेल इन्धनको सट्टामा हाइड्रोजन इन्जिन हो । अहिले भर्खरै विश्वविद्यालयले दक्षिण कोरियाबाट एउटा हाइड्रोजन कार खरिद गरेर ल्याएको छ । सो गाडी खरिद गर्नुको उद्देश्य चाहिँ के हो ? हामीले यो गाडी विशुद्ध अनुसन्धानको लागि ल्याएका हौं । नेपालमा भएको उर्जा भनेको हाइड्रोपावर हो र नेपालमा भएको उर्जाले नभएको उर्जालाई कसरी प्रतिस्थापन गर्न सकिन्छ भन्ने अनुसन्धानमा हाइड्रोजन देखियो । नेपाल आयल निगमले कहिलेसम्म इन्धन आयात गर्ने र इन्धन बिक्री गर्ने संस्थाको रुपमा बस्ने, कुनैदिन यो पेट्रोलियम इन्धन पनि रहँदैन र इन्धन आयात गर्ने र वितरण गर्ने भूमिका पनि नेपाल आयल निगमको नहुन सक्छ । निगम बरु हाइड्रोजन इन्धन उत्पादन गर्ने र बिक्री तथा निर्यात गर्ने संस्थाको रूपमा विकास हुन सक्छ । हामी त्यसको लागि अनुसन्धानकाे काम गछौं । के–के गर्न सकिन्छ ? भनेपछि निगमले पनि हाम्रो भविष्य हाइड्रोजन हुन सक्छ भनेर निगमले विश्वविद्यालयलाई सहयोग गर्यो । सोही आधारमा हामीले हाइड्रोजन ल्याबको स्थापना गरेर विद्यार्थीहरुलाई कोरियामा बसेर अध्ययन गर्न लगाएर नेपाल ल्याएको हो । विश्वविद्यालयले हाइड्रोजन इन्जिनको विषयमा अहिलेसम्म गरेको अनुसन्धानमा कस्तो प्रगति गरेको छ ? नेपालको परिप्रेक्ष्यमा काँचुली फेरेको पनि भन्न सकिन्छ । हामीले हाइड्रोजनको उपयोग यातायात संसाधनमा मात्रै होइन अन्य क्षेत्रमा पनि कहाँ हुन सक्छ भन्ने अध्ययन गरिरहेका छौं । नेपालमा वार्षिक रुपमा ४० अर्ब बराबरको कोइला बाल्छौं । हाइड्रोपावरले मागको चार प्रतिशत मात्रै उर्जा उपलब्ध गराएको छ भने कोइलाले ९ देखि १० प्रतिशत पूर्ति गर्ने अवस्थामा देश पुगिसक्यो । हाइड्रोपावरको खपत घट्दै जाने र कोइलाबाट उत्पादित उर्जा बढ्दै जाने हो भने हामीले उत्पादन गरेको बिजुली सबै खेर जाने र सस्तोमा बेच्नु पर्ने दिन आउँछ । त्यसैले, हामीले हाइड्रोपावरबाट निस्केको बिजुलीलाई हाइड्रोजन र वैकल्पिक इन्धन बनाएर इट्टाभट्टी र उद्योगहरुमा प्रयोग हुने कोइला र डिजेल लगायत जिवास्म इन्धनलाई विस्थापन गर्न हामीले धेरै ठूलो अनुसन्धान गर्यौं । अहिले हामीसँग हाइड्रोजनको नेपालमा उपयोग कसरी गर्न सकिन्छ भनेर अध्ययनरत पाँच जना पिएचडी गरेका हुनुहुन्छ । ६ जनाले मास्टरमा रिसर्च गरिरहनु भएको छ र ६ जना अन्य अनुसन्धानकर्मी हुनुहुन्छ । विभिन्न मुलुकहरुका विश्वविद्यालयहरुसँग हामीले सहकार्य गरेका छौं । नेपालमा राजनीतिक, कर्मचारी, व्यवसाय, पत्रकारिता र साधारण जनसमुदायमा पनि हाइड्रोजन के हो र यसले देशलाई कसरी समृद्धितर्फ लैजान सक्छ भनेर एउटा चर्चाको विषय बनेको छ । यो पनि एउटा सफलता हो भनेर भन्नुपर्छ । के डिजेल, पेट्रोल र विद्युतीय उर्जाको तुलनामा हाइड्रोजन इन्जिन निर्माण गर्ने काम जटिल हुन्छ ? प्राविधिक रुपमा हाइड्रोजन पेट्रोल डिजेल भन्दा सुरक्षित हुन्छ । यो विषय वैज्ञानिक अनुसन्धानले देखाएको छ । पेट्रोल कार पल्टियो, पेट्रोल लिक भयो भने ३/४ घण्टासम्म त्यहीँ बस्छ, कतै आगोको झिल्का पायो भने आगो लाग्ने सम्भावना बढी हुन्छ । तर, हाइड्रोजन कारहरु पल्टियो वा बिग्रियो भने हाइड्रोजन ग्यासको स्वरुपमा हुन्छ, जसले गर्दा गाडी पल्टेको केही मिनेटमा नै उडेर हावामा पुग्छ । आगलागीको सम्भावना धेरै कम हुन्छ । हाइड्रोजन इन्जिन निर्माण गर्ने विषय पेट्रोलियम र विद्युतीय इन्जिनको तुलनामा सस्तो वा महँगो कस्तो हुन्छ ? सस्तो र महँगोको विषय भनेको उत्पादनमा आधारित हुन्छ । ठूलो मात्रामा उत्पादन गर्दा सस्तो पर्न जान्छ । त्यसकारण हामीले त्यो कसरी बनाउँछौं, कहाँ बनाउँछौं र कति मात्रामा बनाउँछौं भन्ने विषयसँग सम्बन्धित हुन्छ । जुनसुकै इन्जिन बनाउन प्रयोग हुने कच्चा पदार्थ उस्तै प्रकारका हुन्छन् । प्रविधिको विकासले हाइड्रोजन इन्जिन बनाउने लागत पनि घट्दै गएको छ । बजारमा हाइड्रोजन सवारी साधनको माग बढ्यो भने लागत पनि स्वभाविक रुपमा घट्न जान्छ । पछिल्लो समय हाइड्रोजन गाडीको मूल्य महँगो हुनेभन्दा पनि सस्तो हुँदै गएको छ । केही समय अगाडि मात्रै भारतले ५५ लाख भारतीय रूपैयाँमा १५ टनको हाइड्रोजन ट्रक ल्याएको छ । हाइड्रोजन सवारी साधन सञ्चालनमा आउँदा अहिलेका इन्धन स्टेशनको संरचना पनि बदल्नु पर्छ नी ? आजको अवस्थामा अरबियन मुलुकमा उत्पादन भएर कयाैं स्टेशन हुँदै नेपालसम्म पेट्रोलियम पदार्थ आइपुग्छ । तर, हाइड्रोजन बनाउने एउटा उपकरण हुन्छ । जसलाई काठमाडौं विश्वविद्यालयले बनाइसकेको छ । त्यसलाई एउटा स्टेशनमा लगेर पानी र बिजुली जोडिदिएपछि त्यसले हाइड्रोजन बनाएर ट्यांकमा कम्प्रेस गरेर राख्छ र आवश्यकतामा नोजलबाट हाल्ने हो । त्यसकारण अहिलेका चार्जिङ स्टेशनमा जसरी गाडीलाई राखेर चार्ज गरिन्छ त्यसैगरी नै हाइड्रोजन भर्ने हो । अहिले जहाँ–जहाँ डिजेल पेट्रोल र विद्युतीय चार्जिङ स्टेशन छन् त्यहीँ नै हाइड्रोजन भर्ने व्यवस्था गर्ने हो । एउटै स्टेशनमा सबै इन्धनको व्यवस्था पनि हुनसक्छ । बिजुली खेर जाने अवस्थामा रातभरी हाइड्रोजन निकालेर दिनभरी बेच्न पनि सकिन्छ । साथै सोलार प्यानल राखेर त्यसबाट निस्केको बिजुलीबाट हाइड्रोजन बनाएर पनि बेच्न सकिन्छ । यो विषयमा धेरै मोडेलहरु छन्, कुन ढंगले व्यवसाय गर्दा राम्रो हुन्छ सो तरिकाले गर्ने हो । पानीबाट कती हाइड्रोजन उत्पादन गर्न सकिन्छ र कति हाइड्रोजनले गाडी कति  दुरी हिँड्न सक्छ ? एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न ९ किलोग्राम पानी चाहिन्छ । एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न ४० देखि ५० युनिट बिजुली खर्च हुन्छ । अहिलेको बिजुलीको मूल्यमा अर्थात् १० रुपैयाँ प्रतियुनिट मूल्य राख्दा ५ सय रुपैयाँम एक केजी हाइड्रोजन उत्पादन गर्न सकिन्छ । अहिलेको अवस्थामा औसत हाइड्रोजन कार एक केजी हाइड्रोजनको सहायताले २ सय किलोमिटरसम्म गुड्न सक्छ । ५ सय रुपैयाँको बिजुलीले खेर जाने बिजुलीलाई प्रयोग गरेर कार्बनडाइअक्साइड उत्पादन नगरीकन र डलरमा इन्धन खरिद नगरिकन गाडीलाई २ सय किलोमिटर गुडाउन सकिन्छ । विश्वविद्यालयले अध्ययन गर्दै आएको छ, तर यसलाई कार्यान्वयन गर्ने काम मुख्य हो, यसका निमित्त के कस्तो पहल गर्नु भएको छ ? हामीले यसको लागि धेरै पहल गरेका छौं । अहिलेसम्म सरकारको तीनवटा मन्त्रीस्तरीय निर्णय भएका छन् । नेपालको लागि हाइड्रोजन कस्तो हुनु पर्छ भन्ने नीति बनाउन कमिटि बन्यो । हामीले नै मस्यौदा बनाउने काम पायौं । अहिले त्यो मस्यौदा क्याबिनेटमा छ । नीति पास भएपछि नेपालमा पनि हाइड्रोजन सम्बन्धी नीति हुनेछ । आजको अवस्थामा हाइड्रोजन कार नेपालको कानूनले चिन्दैन । कानूनअनुसार हाइड्रोजन कारको लागि नम्बर प्लेट लिने अवस्था छैन । हाइड्रोजनलाई इन्धनको रुपमा प्रयोग गर्नसक्ने र उत्पादन गरेर भण्डार गर्न सक्ने कानूनी व्यवस्था छैन । साथै हाइड्रोजन कारको व्यवसाय र आयात गर्ने सम्बन्धी भन्सार सम्बन्धी कुनै कानूनी व्यवस्था छैन । विश्वमा हाइड्रोजन सम्बन्धी ठूलो विकास भैसक्दा पनि नेपालको कानूनले हाइड्रोजनलाई चिन्न सकेको छैन । यसलाई चिनाउन हामीले निकै ठूला कोसिस गरिरहेका छौं । धेरै रिपोर्ट बनाएर सरकारका विभिन्न तहलाई बुझाएका छौं । तपाईंहरुले हाइड्रोजन इन्धन र इन्जिनको विषयमा अध्ययन गरिरहँदा के यो विषयमा निजी क्षेत्रका लगानीकर्ताहरुले व्यवसायिक हिसाबले चासो राख्ने गरेका छन् ? राख्नुभएको छ । कानूनी र नीतिगत अभावको अवस्था छ । लगानी गर्नको लागि नीति र कानूनी व्यवस्था तयार हुनुपर्यो । प्रविधि तयार हुनुपर्यो, बजार तयार हुनुपर्यो । सबै कुरा तयार हुँदै गरेको छ र त्यसको लागि उहाँहरु पनि लाग्नुभएको छ । हामीले नेपालमा हाइड्रोजन सम्बन्धी व्यवसाय गर्नको लागि कुन–कुन परियोजना ठिक हुन सक्छ, कति लगानी लाग्न सक्छ, भन्ने कुराको अध्ययन गरेर रिपोर्ट तयार गरेर व्यवसायीको घरमा लगेर पनि हामीले दिएका छौं । हाम्रो ल्याबको वेबपेजमा नेपालको हाइड्रोजन सम्बन्धी १५ वटा परियोजना बनाएर यसरी लगानी गर्न सकिन्छ भनेर राखेका पनि छौं ।

सपोर्ट लघुवित्तको लाभांश घोषणा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक २१ गते बसेको बैठकले १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद गरी कूल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल कायम चुक्ता पूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

होमस्टेमा बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्

गलकोट । यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका हुन् । बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन् । यतिबेला घरबास सञ्चालकलाई बाली थन्क्याउने चटारो छ । तर भेगनमा आबद्ध पर्यटक भने घरबास सञ्चालकलाई काममा सघाउँछन् । काम गर्न तथा कामबारे जान्नसमेत मन पराउने भएकाले घरबास सञ्चालकसँगै कतिपयले कोदो टिप्छन भने कतिले साग केलाउने गरेका अतिथि सत्कार घरबासका सञ्चालक याम थापाले बताए । भेगनमात्रै होइन, बाह्य पर्यटकसमेत खेतबारीमा पुगेर काममा सघाउँछन् । हालै कोरियाबाट एउटा समूह घरबास पुगेर फर्किसकेको छ । घरबासमा बढीजसो अमेरिका, क्यानडा, दक्षिण कोरिया, चीनलगायत मुलुकबाट बढी पर्यटक आउने गरेका छन् । बाह्य पर्यटकले घरबासमा अग्र्यानिक खानाका परिकारको स्वाद लिने, पर्यटकीयस्थलको भ्रमण गर्ने र घरबास सञ्चालकलाई काममा सघाउने गरेका थापा बताउँछन् । ‘यतिबेला भकुण्डेमा कोदो भित्र्याउने चटारोमा पुगेका बाह्य पर्यटकले कोदो ठटाउने र केलाउने गरेका छन्, घरबास सञ्चालकसमेत दिउँसो कोदो काट्न पुग्छन् तर भेगनमा आबद्ध पर्यटक रमाइलो गर्न काम गर्छन्’, थापाले भने, ‘बाह्य पर्यटकले कोदोको बाला टिप्ने, साग टिपेर केलाउने गर्नुहुन्छ, उनीहरु यसमै रमाउने गरेका छन् ।’ नेपालको खेतीपाती र कला–संस्कृतिका विषयमा बाह्य पर्यटकलाई चासो हुने भएकाले उनीहरूले परीक्षण गर्ने र खेतीपातीको विषयमा जानकारी दिनसमेत कोदोबारीमा पुगेको आफूले अनुभव गरेको घरबास सञ्चालिका इन्द्रा थापाले बताए । पाँचौं समूहअन्तर्गत अमेरिकाका चार, क्यानडा र जर्मनकीका एक–एक पर्यटक तीन दिन अतिथि घरबासमा रमाएका पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिए । बाह्य पर्यटकले त्यहाँका स्थानीयले गर्दै आएका हरेक क्रियाकलापमा सहभागी हुने गरेको उनले बताए । मासु तथा मासुजन्य पदार्थ उपभोग नगर्ने भेगनमा आबद्ध विदेशी पर्यटकले त्यहाँको हरेक काममा आफैं अग्रसर भएर सहयोग गर्दै आफूलाई त्यही काममा रमाइलो मान्ने गरेको उनको भनाइ छ । ‘अहिलेको बाह्य पर्यटकको समूहसँगै भकुण्डेमा पाँच समूह आइसकेको छु, उनीहरू पदमार्ग हुँदै भकुण्डे पुग्छन्’, शर्माले भने, ‘बाह्य पर्यटक हिमाल, दृश्यावलोकन, कला–संस्कृतिसँगै आफैं काम गरेर रमाउँछन् ।’ भकुण्डेबाट बौडैचौर हुँदै बौरसम्मको दुईदिने पदयात्रा मार्ग आफ्नै पहलमा रेखाङ्कन गरिएको शर्माको भनाइ छ । पर्यटनमैत्री पूर्वाधारको खाँचो रहेको उनी बताउँछन् । पुराना पदमार्गमा ढुङ्गा छापेरै जीवन्त दिनुपर्ने शर्माले बताए । जिल्लाकै पहिलो अतिथि सत्कार घरबासमा मगर समुदायका १५ घर समावेश गरिएका छन् । घरबास सञ्चालनमा आएसँगै भुकण्डेले मुहारै फेरेको छ । भुकण्डेको शिरमा रहेको मुलाबारी भ्यूटावर, मध्यभागमा रहेको बराह ताल पर्यटक लोभ्याउने माध्यम बनेका छन् । घरबासमा एक रातमा ८० जना बस्न मिल्ने सञ्चालक प्रेम थापाले बताए । घरबासमा पर्यटकको बसाइ लम्ब्याउन उद्यानसमेत निर्माण गरिएको छ । घरबासमा हेलिकोप्टरमार्फत विदेशी पर्यटक आउने गरेका छन् । बागलुङ बजारबाट तीन घण्टाको पैदल र डेढ घण्टाको यातयात साधनमा पुग्न सकिनछ । घरबास २०७३ सालमा सञ्चालनमा आएको हो । घरबास सञ्चालकले गाउँमै उत्पादित आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको परिकार पाहुनाको रोजाइअनुसार खुवाउने गरेका छन् । रासस

सुरु भयो सेरेस थ्रीको डेलिभरी

काठमाडौं । सेरेसले नेपालमा सेरेस थ्रीको औपचारिक डेलिभरी सुरु गरेको छ । नाडा अटो शोमा उत्कृष्ट शुभारम्भ र प्रदर्शनपश्चात् सेरेस थ्रीले नेपाली बजारबाट उत्साहजनक प्रतिक्रियाहरू प्राप्त गर्दै पहिलो छनोटको ईभीको रूपमा आफ्नो स्थिति बलियो बनाएको छ। आफ्नो पर्यावरणमैत्री डिजाइन, बलियो निर्माण गुणस्तर र प्रभावशाली दायराको साथ सेरेस थ्रीले दिगो यातायातको क्षेत्रमा महत्त्वपूर्ण छलाङ प्रदान गरेको छ। सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत गतिमा विकसित अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ। यसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता समेत देखाएको छ। हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रति सेरेसको समर्पणलाई थप प्रकाश पार्दछ।