विकासन्युज

कुकुरको माग बढ्यो

काठमाडौं । पश्चिम बागलुङको व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि माथितिर लागियो भने अधिकांश घरमा कुकुर भेटिन्छन् । ती कुकुर साना आँखा, लामा–लामा रौँ र मोटाघाटा देखिन्छन् । स्थानीयवासीले घर हेरालुका रुपमा प्रयोग गर्ने कुकुर पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेका हुन् । केही वर्ष पहिलेसम्म बागलुङमा आउने पर्यटकले यहाँ उत्पादन हुने भाँगो, आलु, भटमास, बुट्टेनली र चोयाबाट बनेका सामग्री कोसेलीका रुपमा लैजाने गर्थे भने अहिले भोटे कुकुर लैजान थालेका छन् । खास गरी ढोरपाटनमा आउने पर्यटकले माउ र बच्चा कुकुर किनेर लैजाने गरेका छन् । आगन्तुकले घरमा पालेको कुकुर किनेर लैजान थालेपछि स्थानीयवासीको आम्दानी पनि बढ्न थालेको छ । निसीखोला, ढोरपाटन र तमानखोलाको माथिल्लो क्षेत्रबाट हरेक वर्ष सयौँ माउ तथा बच्चा कुकुर बिक्री हुने गरेको छ । विशेषगरी बुटवल, पोखरा, काठमाडाँै, बागलुङ, धरानलगायत मुख्य सहरमा यहाँबाट कुकुर लैजाने गरेको पाइन्छ । ढोरपाटन क्षेत्रमा पाइने कुकुर अन्य ठाउँको भन्दा बलियो र टाठो हुने हुँदा धेरैले मन पराउने गरेको ढोरपाटन नगरपालिका–९ पाखाथरका ज्ञानबहादुर विकले बताए । कुकुरले एकै पटकमा पाँच वटाभन्दा बढी बच्चा जन्माउने र दुई÷तीन महिना नहुँदै किनेर लैजाने गरेको उनको भनाइ थियो । ढोरपाटन क्षेत्रबाट हरेक महिना कुकुर बिक्री भइरहेको छ । पछिल्लो समय भोटे कुकुरको माग निकै बढेको उल्लेख गर्दै स्थानीयवासी विकले एउटै माउ भोटे कुकुरका लागि ५५ हजारदेखि ६० हजार रुपैयाँसम्म पर्ने गरेको र तीनका बच्चा १ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए । बजारका कुकुरले भन्दा भोटे कुकुरले जङ्गलीजन्तुसँग प्रतिकार गर्नाका साथै घर गोठको सुरक्षा गर्ने भएकाले आफूले पनि यसवर्ष आफूले चार वटा बच्चा बेचेकोे उनको भनाइ छ । “पहिले गाउँमा कुकुर फालाफाल हुन्थे, एउटै घरमा चार/पाँच वटासम्म कुकुर पनि पालिन्थ्यो तर अहिले गाउँ घरमा कुकुर पाल्ने चलन कम भए पनि बजारमा भने पाल्नेको सङ्ख्या बढी छ, ५ वर्ष अगाडिसम्म कुकुर बिक्री हुन्छभन्दा अचम्म लाग्थ्यो, अहिले घरबाटै कुकुर बिक्री हुन्छन्,” विकले भने, “गाउँका केही मान्छेले एउटै कुकुरको मूल्य ६० हजार रुपैयाँसम्म लिए यहाँका कुकुर बजारका जस्तो हुँदैन्, लेकमा बसेका, लेकाली हावापानीमा हुर्केको हुँदा बलिया र घरको सुरक्षा गर्न सक्ने भएकाले बजार क्षेत्रबाट आउने धेरैजसोले स्याउ र आलुभन्दा कुकुर किनेर लाग्छन् ।” निसी, ढोरपाटन र तमान क्षेत्रका धेरैजसो बासिन्दा पशुपालनमा आवद्ध छन् । उनीहरु लेकबेँसी गरेर पशुचौपाया पाल्ने गर्छन् । गोठ सार्दा कुकुर पनि सँगै लैजाने गर्छन् । गोठको छेउमै बाँधिएका कुकुरले पशुचौयापालाई वन्यतन्तुबाट बचाउने स्थानीयवासी वीरबहादुर रसाइलीले बताए । कुकुर ज्ञानी र घर गोठको रक्षक भएकाले आफूले पनि विगत पचासवर्षदेखि अहिलेसम्म करिब दस वटा कुकुर पालिसकेको उनले सुनाए । पछिल्लो समय घुम्न आउने पर्यटकले गोठमै आएर कुकुर किन्ने गरेको सिर्पालीको भनाइ थियो । पहिले–पहिले कुकुर पाल्न रहर हुनेले निःशुल्क नै लैजाने गरे पनि अहिले बिक्री हुन थालेकाले अघिल्लो वर्ष सात वटा र यसवर्ष तीन वटा कुकुर बेचेको उनले बताए । भोटे कुकुर अन्य जातभन्दा ठूलो, साहसिलो हुने र घरपालुवा जनावरसँगै गोठमा बस्ने भएकाले धेरैले मन पराउने गरेको सिर्पालीको भनाइ थियो । विकले भने, “बजारमा पाइने, बेलायती जात भन्छन्, अरु केके जातका थुप्रै कुकुर हुँदा रैछन्, तर ती कुकुरभन्दा भोटे कुकुरको आयु पनि धेरै हुन्छ, जहाँ पनि बस्नसक्ने गुण भएकाले अहिले त बजारबाट आएका मान्छेहरु मेरो गोठमै आएर कुकुर लग्छन्, कोहीले त अर्को पटक ब्यायो भने मलाई राखिदिनु है भनेर पहिले नै माग गर्ने भएकाले अहिले त कुकुर पु¥याउनै गाह्रो पर्छ ।” एकान्त घर, धेरै पशुचौपाया, फार्मजस्ता स्थानमा भोटे कुकुर राख्ने गरिए पनि पछिल्लो समय सोखका लागि भन्दै सहर बजारमा समेत लैजाने गरिएको छ । निसीखोलाको भल्कोट, सीप, पातीहाल्ने, ढोरपाटनको पाखाथर, छेन्तुङ, बोबाङ र अधिकारीचौर क्षेत्रमा बढी कुकुर पाल्ने गरिन्छ ।रासस

तिहारको अवसरमा लक्ष्मी सनराइजले ल्यायो ‘लक्ष्मी सनराइज उत्सव’

काठमाडौं । नेपालीहरुको महान चाड तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभियान ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ । नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाइ अझ व्यापक बनाउन लक्ष्मी सनराइज बैंकले यो क्याम्पेन सार्वजनिक गरेको हो । अझै पनि कतिपय परिवारमा छोरा र छोरीबीच विभेद राख्ने सोचमा परिवर्तन ल्याउन यस अभियानमार्फत टेवा पुर्याउने बैंकको लक्ष्य रहेको छ । यस अभियान अन्तर्गत बैंकले छोरीलाई घरकी लक्ष्मी मानेर सम्मान गर्न प्रोत्साहन गर्दै आम नागरिकहरुले कसरी आफ्नो परिवारमा महिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियो मार्फत उजागर गर्न आग्रह गरेको छ । यसरी भिडियो बनाएर सामाजिक संजालमा राख्नु हुने सहभागीहरुमध्ये उत्कृष्ट तिन (३) भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ । सहभागीहरुले भिडियो पोस्ट गर्दा बैंकलाई ट्याग गरी ह्यास्ट्याग लक्ष्मीसनराइजउत्सव पनि प्रयोग गर्नुपर्ने छ ।

जीप दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ । बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

रोयल इनफिल्डको ‘हन्टर राइड द लाइट २०२३’ आयोजना

काठमाडौं । निरन्तर उत्पादनमा सबै भन्दा पुरानो मोटरसाइकल ब्रान्ड, ‘रोयल इनफिल्ड’ को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले दिपावली को अबसर पारेर ‘रोयल इनफिल्ड ‘हन्टर राइड द लाइट २०२३’ कार्यक्रम आयोजन गरिएको हो । यस राइडमा ३७ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए । यस कार्यक्रमको मुख्य उद्देश्य रोड सेफ्टी अवारनेस, प्रोमोटिङ सिस्टमेटिक राइड र हाम्रा परम्परा संस्कृति र चाडहरु संरक्षण एवम् प्रवद्र्धन गर्नु रहेको छ । कार्तिक २५ गते साँझ ५ बजे रोयल इनफिल्डको शोरूम कोटेश्वर बाट सुरु भएको यो राइड कोटेश्वर बानेश्वर भद्रकाली न्युरोड जमल, दरबारमार्ग, सहिद गेट, त्रिपुरेश्वर, कुपोण्डोल, पुलचोक, झम्सीखेल, लगनखेल, महालक्ष्मी स्थान, ताल्चीखेल, नन्खु, सानेपा, बल्खु, चोभार, टौदह र बोसन डाडा सम्मको रहेको थियो ।

पर्यटक बढ्न थालेसँगै होटलहरूको नाफा बढ्यो, कुन होटलको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा होटलको नाफामा सुधार देखिएको छ । पछिल्लो समय पर्यटन क्षेत्रमा उत्साह छाएसँगै होटलहरुको नाफा पनि बढेको हो । पर्यटकीय क्षेत्र चलायमान र पर्यटक आगमन बढेका कारण नाफा बढ्न पुगेको होटल व्यवसायीहरुले बताएका छन् । साथै, अन्तर्राष्ट्रिय पर्यटक आवागमनमा क्रमशः सुधार हुँदै गएको उनीहरुको भनाइ छ । हालसम्म सोल्टी होटल, ओरियण्टेल होटल्स, चन्द्रागिरी हिल्स र सिटी होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । तारागाँउ रिजेन्सी र कालिञ्चोक दर्शनले भने सार्वजनिक गर्न बाँकी छ । वित्तीय विवरण सार्वजनिक गरेका होटल कम्पनीहरुमध्ये ओरियण्टेल होटल्स र चन्द्रागिरी हिल्सको नाफा बढेको छ भने सोल्टीको सामान्य घटेको छ । सिटी होटलको नाफा ऋणात्मक रहेतापनि नोक्सानी रकम भने गत वर्षकोभन्दा घटाएको छ । चन्द्रागिरी हिल्सले असोज मसान्तसम्म २ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले ६३.०७ प्रतिशत बढी नाफा गरेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १०.५९ प्रतिशत बढेर २० करोड ६१ लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ६४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । साथै, कम्पनीको कुल आम्दानी १०.१९ प्रतिशत बढेर १७ करोड ९९ लाख रुपैयाँ गरेको छ भने खर्च ५१.५९ प्रतिशत बढेर ७ करोड ३५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ३२ लाख रुपैयाँ कूल आम्दानी गर्दा ४ करोड ८५ लाख रुपैयाँ खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी २.१६ रुपैयाँ बढेर ५.५७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८६.११ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १९१.१३ गुणा रहेको छ । यस्तै, सोल्टी होटलको खुद नाफा ८.६२ प्रतिशत घटेर १० करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २० लाख रुपैयाँ नाफा गरेको थियो । असोज मसान्तसम्म कम्पनीको कूल खर्च २ प्रतिशत घटेर २८ करोड १ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ६३ लाख रुपैयाँ कूल खर्च गरेको थियो । साथै, कम्पनीको कूल आम्दानी ३.२८ प्रतिशत घटेर ३९ करोड ९६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड ३२ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ३२ करोड ४० लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३९.७४ गुणा रहेको छ । यस्तै, सिटी होटलले पहलो त्रैमासमा ६ करोड ३ लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ७५ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी २७.४७ प्रतिशत बढेर ११ करोड ५९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । होटलको कूल आम्दानी ३२.०८ प्रतिशत बढेर १३ करोड २७ लाख रुपैयाँ गरेको छ भने कुल खर्च १४.५९ प्रतिशत बढेर ८ करोड ६२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड रुपैयाँ कूल आम्दानी गर्दा ७ करोड ५२ लाख रुपैयाँ खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ७० लाख रुपैयाँ छ भने अन्य इक्विटीमा २ लाख ८५ हजार रुपैयाँ सञ्चित छ । होटलको प्रतिसेयर आम्दानी १४.६५ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १००.२ रुपैयाँ रहेको छ । यस्तै, ओरियण्टल होटल्सले असोजसम्म १४ प्रतिशत नाफा बढाएर १२ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड १९ लाख रुपैयाँ खुद नाफा व्यहोरेको थियो । समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी ७.३५ प्रतिशत बढेर २१ करोड १४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ६९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । होटलको कूल आम्दानी ८.७५ प्रतिशत बढेर २२ करोड ५६ लाख रुपैयाँ गरेको छ भने कुल खर्च ८.८७ प्रतिशत बढेर १९ करोड ७८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २० करोड ७४ लाख रुपैयाँ कूल आम्दानी गर्दा १८ करोड १७ लाख रुपैयाँ खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ छ भने जगेडा कोष २ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ सञ्चित छ । होटलको प्रतिसेयर आम्दानी १.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३३८.९६ रुपैयाँ रहेको छ ।

विश्व : पश्चिम डार्फरमा सशस्त्र समूहद्वारा आठ सयभन्दा धेरै सुडानी मारिए

एजेन्सी । सुडानको पश्चिमी डार्फरको आर्दमतामा सशस्त्र विद्रोहमा पछिल्लो छ महिनामा आठ सयभन्दा बढी मानिस मारिएको र ४८ लाखभन्दा धेरै विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले जनाएको छ । सुडानको डार्फर क्षेत्रमा बढ्दो हिंसाले दुई दशकअघि गरिएको अत्याचार दोहोरिनसक्ने आशङ्का गरिएको राष्ट्रसङ्घको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । आर्दमतामा आन्तरिकरूपमा विस्थापित मानिसहरूका लागि एउटा शिविर पनि थियो । विज्ञप्तिमा करिब एक सय आश्रयस्थललाई नष्ट गरिएको र युएनएचसिआरको राहत सामग्रीसहित व्यापक लुटपाट भएको पनि उल्लेख छ । दुई दशकअघि डार्फरमा हजारौँ मानिस मारिएका भएका थिए । राष्ट्रसङ्घका अनुसार जान्जिवाद नामक सहयोगी मिलिसियाद्वारा समर्थित सुडानी सरकारी सेना र राष्ट्रपति उमर अल–बशिरको निरङ्कुश शासनको विरोध गर्ने विद्रोही समूहरूबीचको सङ्घर्षमा लाखौँ मानिस विस्थापित भएका थिए । राष्ट्रपति अल–बशिरलाई अपदस्थ गरिएको थियो । नरसंहारको रोकथामका लागि गत जुनमा राष्ट्रसङ्घका विशेष सल्लाहकार एलिस वाइरिमु नदेरितुले पश्चिम डार्फरमा जातीयताका आधारमा सङ्घर्ष भइरहे यो युद्ध अपराध र मानवताका विरुद्ध अपराध हुनसक्ने चेतावनी दिएका थिए । युएनएचसिआरले निरन्तररूपमा यौन हिंसा, यातना, स्वेच्छाचारी हत्या, सर्वसाधारणसँग जबर्जस्ती असुली र विशिष्ट जातीय समूहहरूलाई निशाना बनाइएको रिपोर्टप्रति चिन्ता व्यक्त गरेको छ । ‘बीस वर्षअघि डार्फरमा भयानक अत्याचार र मानवअधिकारको उल्लङ्घनबाट विश्व स्तब्ध थियो, यस्तै प्रकारको गतिशीलता विकास हुनसक्छ भन्ने हामीलाई चिन्ता छ’, युएनएचसिआरका उच्चायुक्त फिलिप्पो ग्रान्डीले भन्नुभयो, “अर्को विपत्बाट बच्नका लागि तत्काल सङ्घर्ष अन्त्य गर्न र सबै पक्षले नागरिकको निःशर्त सम्मान गर्नु महत्त्वपूर्ण छ ।’ मध्य अप्रिलमा सेना र र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) नामक अर्धसैनिक समूहबीच सङ्घर्ष सुरु भएपछि सुडानभित्र ४८ लाखभन्दा धेरै सर्वसाधारण विस्थापित भएका छन् । यसका साथै १२ लाख मानिस छिमेकी देशमा शरण लिएका छन् । युएनएचसिआरका अनुसार पछिल्लो एक सातामा मात्र आठ हजारभन्दा बढी मानिस चाडतिर भागेका छन् ।

चार करोडमा बिक्यो माइकल ज्याक्सनको चर्चित ज्याकेट

एजेन्सी । दिवङ्गत भइसकेका गायक माइकल ज्याक्सनले लगाएको ज्याकेट चार करोड रुपैयाँमा बिक्री भएको छ । सन् १९८० को दशकमा माइकलले लगाएका कारण धेरैमाझ परिचित एउटा छालाको ज्याकेट तीन लाख अमेरिकी डलर अर्थात् करिब चार करोड नेपाली रुपैयाँमा बिक्री भएको हो । उनको निधनको कैयौँ वर्षपछि उक्त ज्याकेट लिलामीमा राखिएको थियो । शुक्रवार लन्डनमा लिलामीमा राखिएका २०० भन्दा बढी साङ्गीतिक क्षेत्रका यादगार वस्तुहरूमध्येमा यो ज्याकेट पनि थियो । माइकल ज्याक्सन सहित गायक डेभिड बोवी, ओएसिस एन्ड द बिटल्स लगायतका साङ्गीतिक समूहसँग सम्बन्धित सामग्रीहरू पनि लिलामीमा राखिएको थियो । कालो र सेतो रङ्गको देखिने उक्त ज्याकेट लगाएर हाल दिवङ्गत भइसकेका गायक पेप्सीको विज्ञापनमा देखिएका थिए ।

‘जाजरकोट भूकम्प’ प्रतिकार्यका लागि आइएफआरसीद्वारा आपत्कालीन अपिल जारी

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले ‘जाजरकोट भूकम्प’ पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासलाई अभिवृद्धि गर्न आपत्कालीन अपिल जारी गरेको छ । उसले आफ्ना कार्यादेशअनुसार विपद् पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि सहयोग उपलब्ध गराउन यस्तो अपिल जारी गर्ने गर्दछ । आइएफआरसीले ‘जाजरकोट भूकम्प’ पीडितका लागि स्वीस फ्रयाङ्क ५० लाख बराबरको आपत्कालीन सहयोग अपिल जारी गरेको हो । आइएफआरसीले विसं २०७२ वैशाखको विनाशकारी भूकम्पपीडितका लागि पनि आपत्कालीन अपिल जारी गर्दै मानवीय सेवा उपलब्ध गराएको थियो । आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीमार्फत हाल जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आवास र गैरखाद्य सामग्री–नगद वितरण (आकस्मिक आवास, तारपोलियन, म्याट्रेक्स, ब्ल्याङ्केट, बुकटेस), स्वास्थ्य (मनोसामाजिक, परामर्श) सरसफाइ,जीविकोपार्जन तथा अत्यावश्यक वस्तु उपलब्ध गराउने कार्यलाई एकीकृतरूपमा उपलब्ध गराइराखेको छ । राहत वितरणका साथमा भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने यहाँस्थित आएफआरसी कार्यालयले जनाएको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते राति छ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा अकल्पनीय जनधनको क्षति हुन पुगेको थियो । भूकम्पमा एक सय पचासभन्दा बढीले अकालमा ज्यान गुमाउनुपरेको छ । भूकम्पबाट प्रारम्भिक तथ्याङ्कानुसार ३० हजार घर पूर्णरूपमा अथवा आंशिकरूपमा क्षति भएको र ३८ हजार परिवार प्रभावित भएको जनाइएको छ । आइएफआरसीले विज्ञप्तिमा भनेको छ, ‘जाजरकोटमा भूकम्प गएलगत्तै आइएफआरसी तथा आफ्ना साझेदार एवं नेपाल रेडक्रस सहित सम्बन्धित पक्षसँग मिलेर तत्काल मानवीय सेवाका काम गरिराखेको छ । रेडक्रसका दक्ष स्वयंसेवकमार्फत प्रभावितको खोजी, उद्धार तथा राहतका काम द्रुत सञ्चालनमा सहयोग गरिरहेको छ । स्वास्थ्य सेवा प्राथमिक उपचार, मनोसामाजिक सहयोग, रक्त सञ्चार तथा एम्बुलेन्स सेवा, गैरखाद्य सामग्री, वितरणजस्ता तत्कालीन सहयोग उपलब्ध गराइरहेको छ ।’ दश करोड सहयोग आइएफआरसीले ‘जाजरकोट भूकम्प’बाट प्रभावितलाई तत्काल १० करोड सहयोग उपलब्ध गराएको थियो । स्वीट्जरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपद् प्रतिकार्य आपत्कालीन कोषमार्फत नेपाल रेडक्रसलाई सो रकम उपलब्ध गराएको हो । आइएफआरसीका महासचिव जगन चापागाईँले जाजरकोट भूकम्पपश्चात तत्काल सो रकम उपलब्ध गराउने जानकारी दिँदै नेपालमा मानवीय सेवाका थप सहयोग उपलब्ध गराउने बताएका थिए । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आइएफआरसीले ‘जाजरकोट भूकम्प’ पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासलाई अभिवृद्धि गर्न आपत्कालीन अपिल जारी गरेको छ । हामी पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि थप सहयोग उपलब्ध गराउँछौँ ।’ आइएफआरसीका काठमाडौंस्थित कार्यक्रम संयोजक तथा प्रवक्ता हर्भे गजेउले नेपाल रेडक्रसले पहिलो दिनदेखि नै भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेको जानकारी दिएका छन् । उनले भने, भने, ‘आइएफआरसी तथा यसका साझेदारको सहयोगमा प्रभावित जिल्लामा महत्त्वपूर्ण आपत्कालीन सेवा तथा राहत सहयोग प्रदान गरिरहेको छ । पहाडी क्षेत्रमा रहेका यी जिल्ला पहुँचका दृष्टिबाट तुलनात्मकरूपमा कठिन छन् । अतिसङ्कटासन्न व्यक्तिसम्म पुग्नुपर्ने उद्देश्यका साथ हामी काम गरिरहेका छौँ र समय घर्किरहेको छ । यस्तो परिस्थितिमा अझ विशेषरूपमा जाडो याम आउन लागेको समयलाई ध्यानमा राखी भूकम्पबाट प्रभावित परिवारलाई नेपालमा सहयोग गर्नका लागि अन्तर्राष्ट्रिय महासङ्घले अपिल जारी गरिरहेको छ । अन्तर्राष्ट्रिय महासङ्घ तथा यसका साझेदारहरू नेपाल रेडक्रसले यस क्षेत्रमा प्रभावित परिवारलाई सहयोग उपलब्ध गराउन काम गरिरहेको समयमा यस प्रक्रियामा यस सोसाइटीलाई सहयोग गर्नका लागि निरन्तर सहयोग गर्ने वचनबद्धता व्यक्त गर्दछन् ।