सुमना श्रेष्ठले रास्वपा त्याग्दै लेखिन् -'मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला, मैले पार्टी छोडें'
काठमाडौं । केही महिना पहिले व्यापक असन्तुष्टि जनाउँदै सहमहामन्त्री पदबाट राजीनामा दिएकी सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अर्को झट्का दिएकी छन् । उनले पार्टीका केन्द्रीय सदस्यहरूको म्यासेन्जर ग्रुपमा केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दै पार्टीलाइ सरप्राइज दिएकी हुन् । उक्त सरप्रराइजपछि आफ्नो फेसबुकमा समेत स्टाटस लेख्दै सुमनाले पार्टीबाट राजीनामा दिएको उनले उल्लेख गरेकी छन् । श्रेष्ठले भनिन्, ‘कहिलै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने ।’ ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्र्याल हुन थाल्यो । यो स्विकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । मैले पार्टी छोडें,’ उनले थपिन् ।
आगजनी भएका व्यवसायमा सस्तो ब्याजमा ऋण दिएर सहयोग गर्छौं : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गर्दै अब अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताएकी छन् । आइतबार पदभार ग्रहणपछि सचिवहरुसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न सरकार तयार हुने बताइन् । उनले क्षतिका बाबजुत निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा प्रशंसा समेत व्यक्त गरिन् । उनले २४ गते आतंक फैलाएको र त्यसको छानविन समेत हुने बताइन् । ‘व्यक्तिका घर, सम्पती, सुरक्षा निकायदेखि सिंहदरबार, संसद, अदालत जलाउने काम भयो । व्यक्तिको सम्पतीदेखि उद्योगी व्यापारी, इन्टरप्रेनरको सम्पति जलाउने काम भयो । उनीहरुलाई कसरी उठाउने भन्नेमा हामी सोच्छौं,' उनले भनिन्, 'कुन सहयोग दिने भन्नेमा हामी सोच्छौं । बैंकको सफ्ट लोन दिने की अथवा केही अन्य सहयोग गरेर हुन्छ की हामी सहयोग गर्छौं । आज मैले समाचार पनि पढेँ, धेरै ब्यापरीहरुले धेरै नोक्शानी भएको छ, हामी उठ्ने कोशिस गर्दैछौं भन्नुभएछ । हामी हार्दैनौं भन्नुभएको छ ।’ उनले निजी क्षेत्रले क्षति हुँदाहुँदै पनि आफ्नो भित्रको आन्तरिक बल देखाएकोमा धन्यवाद दिइन् । साना व्यापारीहरूलाई समेत राज्यले सहयोग गर्ने उनको भनाइ छ ।
युवा पुस्ताको सोच बमोजिम काम गर्नेछु : प्रधानमन्त्री कार्की
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच अनुसार आफूले काम गर्ने बताएकी छन् । जेनजी आन्दोलनका क्रममा युवा पुस्ताहरुले २७ घण्टाको आन्दोलनबाट विश्वमा नै नभएको कायापलट नेपालमा गरेको उल्लेख गर्दै उनले उनीहरुको सोचअनुसार आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् । प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताका कुराहरु नै जेनजी आन्दोलनको मुख्य माग रहेकाले त्यो पूरा गर्ने अठोटका साथ अघि बढ्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारिन् । उनले आन्दोलनका क्रममा भएका क्षतिहरुको मूल्यांकन गर्दै सरकार अघि बढ्ने कार्ययोजना तय गरिएको पनि बताइन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘आगामी दिनहरुमा युवा पुस्ताको सोच बमोजिम काम गर्नुपर्ने भएको छ । मलाई एकदम विचित्र लागेको छ–यो मुलुकमा यो जुन मुभमेन्ट आयो, यो वल्डमा कहीँ पनि भएको छैन । २७ घण्टाको आन्दोलनमा कायापलट गरेको मलाई थाहा छैन । त्यसैले यो समूहले मागेको कुरा के हो भने भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताका कुराका मागहरु गरेको हुनाले त्यो पूरा गर्नलाई हामीले अठोट गर्नुपर्ने अवस्था छ । र, यी क्षतिहरुको पनि मूल्यांकन गरेर आगामी कार्ययोजनाहरु तय गरिएको छ ।’ प्रधानमन्त्री कार्कीले आफूले सो आन्दोलनको क्रममा ज्यान गुमाएका परिवारहरुसँग पनि भेटेको उल्लेख गर्दै उनीहरुको पीडालाई सम्बोधन गर्ने पनि बताइन् ।
तस्बिरमा हेर्नुहोस् प्रधानमन्त्रीको पदभार ग्रहण
काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । उनले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् । उनले पदभार ग्रहण गर्दै जेनजी आन्दोलनमा मृत्यु भएका सबैलाई शहीद घोषणा गर्ने निर्णय गरेकी छन् भने शहीदका परिवारलाई १० लाख राहत दिने निर्णय गरेकी छन् । पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री कार्कीले आफू रहरले प्रधानमन्त्री नभएको भन्दै परिस्थितिले बाध्य बनाएको धारणा राखेकी छन् । ‘रहरले म आएको होइन, सडक र जताततैबाट जिम्मा लेऊ भनेर सुझाव आयो । म विवश हुनुप¥यो । सत्ताको रसास्वादन गर्न आएको होइन,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्कीलाई पाकिस्तानले दियो बधाई
काठमाडौं । पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हालेकोमा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री कार्कीलाई पठाएको शुभकामना सन्देशमा नेपाली जनताको शान्ति र प्रगतिको कामना पनि गरेका छन् ।
तोलामा ७ सयले घट्यो सुनको मोल
काठमाडौं । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मोल रु दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मोल दुई हजार ५७० रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक तोला सुन दुई लाख १५ हजार ८०० रुपैयाँमा किनबेच भएको थियोभने सोही परिमाणको चाँदी दुई हजार ५६५ रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन तीन हजार छ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रधानमन्त्री कार्कीलाई चीनले दियो बधाई, सहकार्यको प्रतिबद्धता
काठमाडौं । चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ । साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालको अन्तरिम प्रधानमन्त्रीका रूपमा उनले शुक्रबार शपथ लिएको सन्दर्भमा विदेश मन्त्रालयका प्रवक्तासँग पत्रकारले गरेको प्रश्नको जवाफमा चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिएको हो । चीन र नेपालबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै विदेश मन्त्रालयका प्रवक्ताले सदा झै चीनले नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने बताएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ । 'हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन नेपालसँग काम गर्न तयार छौँ,' उनले भनेको दूतावासको कथन छ ।
जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्ने निर्णय, परिवारलाई १० लाख सहयोग
काठमाडौं । जेनजीको आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सरकारले शहीद घोषणा गर्ने भएको छ । आइतबार पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी हुन् । सरकारले प्रत्येक शहीदका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । मुख्यसचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।