विकासन्युज

इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट : रिपोर्ट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट रहेको अमेरिकी मिडियाले रिपोर्ट गरेका छन् । प्रस्तावले होर्मुज  खोल्ने र इरानको बन्दरगाहहरूमा अमेरिकी सैन्य नाकाबन्दी अन्ये गर्ने प्रयासलाई प्राथमिकतामा राखी आणविक विषयलाई समावेश नगरेको ह्वाइट हाउस अधिकारीलाई उद्धृत मिडियाले रिपोर्ट गरेका छन् ।  राष्ट्रपति ट्रम्पले सोमबार ह्वाइट हाउसमा भएको बैठकमा आफ्ना शीर्ष अधिकारीहरूसँग इरानको प्रस्तावबारे छलफल गरेको जनाइएको छ ।  ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्ने सम्भावना नरहेको बैठकका सहभागीहरुलाई उदृत गर्दै सिएनएनले जनाएको छ । अधिकारीलाई उदृत गर्दै द न्यूयोर्क टाइम्सले इरानी प्रस्ताव जस्ताको तेस्तै स्वीकार गर्दा ट्रम्पले बारम्बार भन्दै आएको इरानले आणविक हतियार राख्न नहुने विषय ओझेलमा पर्ने जनाएको छ ।  फक्स न्यूजसँगको अन्तर्वार्तामा, अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानको नयाँ प्रस्ताव समग्रमा राम्रै रहेता पनि तेहरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने कुरामा जोड दिएका छन् ।  यस अघि ट्रम्पले इरानसँगको कुनै पनि शान्ति सम्झौता तोकिएको समयमा हुने कुरामा जोड दिँदै इरानसँगको युद्ध समाप्त गर्न युद्धविराम वा वार्तामा कुनै किसिमको दबाब नरहेको बताएका थिए ।    

देउवा समूहको बैठक धुम्बाराहीमा सुरु

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको बैठक धुम्बाराहीमा सुरु भएको छ । बैठकमा चौधौं महाधिवेशनका केन्द्रीय सदस्य, प्रदेश सभापति र जिल्ला सभापतिहरू उपस्थित रहेको बताइएको छ । एक जिल्ला सभापतिका अनुसार बैठकमा १५५ जना नेताहरू सहभागी रहेका छन् । पछिल्लो समय देउवा समूहको नेतृत्व पूर्व कार्यवाहक अध्यक्ष पूर्णबहादुर खड्काले गरेका छन् ।  

विलासिताका वस्तुमा लाग्दै आएको कर घटाए राजस्व बढ्छ : उपाध्यक्ष मल्होत्रा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले विलासिताका वस्तुमा लाग्दै आएको कर घटाउनुपर्ने बताएका छन् । हाल विलाशिताको वस्तु र सेवामा लगाइँदै आएको करको दर उच्च  रहेको बताउँदै उनले त्यस्तो कर घटाउनुपर्ने बताएका हुन् ।  आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटबारे ‘अर्थको अर्थ’ द्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष मल्होत्राले त्यस्ता वस्तुमा लाग्दै आएको कर सरकारले घटाएर राजस्व वृद्धि हुनुका साथै अनौपचारिक अर्थतन्त्र औपचारिक दायरामा आउने समेत बताए ।   उपाध्यक्ष मल्होत्राले भने–‘अहिले नयाँ सरकार गठन भएको छ र सरकारले महत्वकांक्षी योजना अघि सारेको छ । योजना अनुसार अर्थतन्त्रको आकारलाइ १०० बिलियन आगामी ७ वर्ष भित्रमा कुल गार्हस्थ्य उत्पादन बढाउने र प्रतिव्यक्ती आयलाई ३ हजार डलर पुर्याउने छ, त्यो सफल हुनसक्छ । त्यसको लागि हामी पनि सरकारलाई साथ दिन तयार छौँ ।’ सरकारले राखेको आगामी ७ वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र र ३ हजार डलर प्रतिव्यक्ति आय पु¥याउने लक्ष्य महत्वाकांक्षी भएपनि पूरा गर्न सम्भव रहेको बताए । त्यसका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर हिड्नुपर्ने उनको भनाइ छ ।  मल्होत्राले हरेक वर्ष बजेटको आकार बढ्ने तर लक्ष्यअनुसार नउठ्ने गरेको बताउँदै आगामी बर्षको बजेट यर्थाथपरक हुनुपर्नेमा जोड दिए ।

बैंकहरूको एनपीएल ८.७७ प्रतिशत बढ्यो, ३ बैंकको ८ प्रतिशत नाघ्दा १० ले घटाए

काठमाडौं । वाणिज्य बैंकहरूको खराब औसत खराब कर्जा (एनपीएल) ५ प्रतिशत नाघेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा २० वाणिज्य बैंकको खराब कर्जा औसत ८.७७ प्रतिशत बढेर ५.२५ प्रतिशत विन्दुमा पुगेको हो । गत वर्षको चैतमा बैंकहरुको खराब कर्जा औसत ४.८३ प्रतिशत विन्दुमा थियो ।  औसत एनपीएल ५.२५ पुग्नु प्रणालीगत जोखिम बढ्दै गएको संकेत गरेको बैंकरहरु बताउँछन् । यसले अर्थतन्त्रमा ऋणीहरू (व्यवसाय र व्यक्तिहरू) कर्जा तिर्न सक्ने क्षमतामा दबाब परिरहेको स्पष्ट देखाउको उनीहरुको भनाइ छ । समीक्षा अवधिमा सबैभन्दा बढी खराब कर्जा प्रभु बैंकको बढेको छ । बैंकको एनपीएल ७३.६७ प्रतिशतले बढेर ८.८४ प्रतिशत विन्दुमा पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको एनपीएल ५.०९ प्रतिशत विन्दु थियो ।  यस्तै, एनआईसी एशिया बैंकको एनपीएल ५३.९१ प्रतिशतले बढेर ८.८५ प्रतिशत विन्दुमा पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको एनपीएल ५.७५ प्रतिशत विन्दु थियो । सार्वजनिक विवरण अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकको २५.६९ प्रतिशत बढेर १.८१ प्रतिशत विन्दु, सिटिजन्स बैंकको १९.४३ प्रतिशत बढेर ६.८२ प्रतिशत विन्दु, सानिमा बैंकको १६.६६ प्रतिशत बढेर ३.९९ प्रतिशत विन्दु, प्राइम बैंकको १३.०९ प्रतिशत बढेर ६.३९ प्रतिशत विन्दुमा खराब कर्जा पुगेको छ ।  यस्तै, एनएमबि बैंकको १०.७३ प्रतिशत बढेर ४.९५ प्रतिशत विन्दु, हिमालयन बैंकको ३.९० प्रतिशत बढेर ७.९८ प्रतिशत विन्दु, कृषि विकास बैंकको १.६० प्रतिशत बढेर ५.०६ प्रतिशत विन्दुमा खराब कर्जा छ ।  चालु आवको चैत मसान्तसम्ममा विभिन्न १० वटा बैंकको खराब कर्जा घटेको छ । जसमा सबैभन्दा धेरै नेपाल एसबिआई बैंकले घटाएको देखिन्छ । बैंकको ३७.६८ प्रतिशत घटेर २.५३ प्रतिशत विन्दुमा खराब कर्जा झारेको छ । जबकि गत वर्षको चैतसम्ममा ४.०६ प्रतिशत विन्दु खराब कर्जा रहेको थियो । यस्तै, माछापुच्छ्रे बैंकको १२.६३ प्रतिशत घटेर ४.०१ प्रतिशत विन्दु, नबिल बैंकको ११.८९ प्रतिशत घटेर ४.३७ प्रतिशत विन्दु, लक्ष्मी सनराइज बैंकको ९.७२ प्रतिशत घटेर ५.२९ प्रतिशत विन्दु, नेपाल बैंक    को ८.८९ प्रतिशत घटेर ४.९६ प्रतिशत विन्दु, सिद्धार्थ बैंकको ८.१६ प्रतिशत घटेर ३.७१ प्रतिशत विन्दुमा खराब कर्जा झारेका छन् ।  यस्तै, एभरेष्ट बैंकको ४.६८ प्रतिशत घटेर ०.६१ प्रतिशत विन्दु, राष्ट्रिय वाणिज्य बैंकको ४.४७ प्रतिशत घटेर ४.४८ प्रतिशत विन्दु, कुमारी बैंकको ०.५७ प्रतिशत घटेर ६.९४ प्रतिशत विन्दु, ग्लोबल आइएमई बैंकको ०.२० प्रतिशत घटेर ४.९७ प्रतिशत विन्दुमा खराब कर्जा झारेका छन् । 

नेकपामा कार्यविभाजन टुंग्याउने तयारी, आज बस्ने बैठकले अन्तिम रूप दिने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेताहरूको कार्यविभाजन टुंग्याउने तयारी गरेको छ । यसका लागि केन्द्रीय संयोजन समितिको बैठक बसिरहेको कार्यालय सचिव गणेशमान पुनले जानकारी दिए । सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक कार्यविभाजनलाई लिएर देखिएको विवादका कारण स्थगित गरिएको थियो । केही शीर्ष नेताहरूबीच विभागीय जिम्मेवारीमा असहमति देखिएपछि थप गृहकार्य गरेर पुनः बैठकमा प्रस्ताव पेस गर्ने निर्णय गरिएको एक नेताले जानकारी दिए । यसैबीच, बैठकले पार्टीको एकता महाधिवेशन आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने कार्यतालिका पनि अनुमोदन गरिसकेको छ । यस्तो छ प्रस्तावित कार्यविभाजन पार्टीभित्र सहमति जुटाउने प्रयासस्वरूप नेताहरूको कार्यविभाजनको प्रस्ताव तयार पारिएको बैठकमा सहभागि एक नेताले जानकारी दिए । बैठकमा प्रस्तुत गरीएको प्रतावमा पुष्पकमल दाहाललाई संयोजकसहित सम्पूर्ण पार्टी कार्यको समन्वय गर्ने जिम्मा दिइएको बताइएको छ। माधवकुमार नेपालले सहसंयोजक जिम्मेवारी पाउदा झलनाथ खनालले नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मा पाएका छन् । खनाल उक्त जिम्मेवारीप्रति सन्तुष्ट नभएको बैठकमा रहेका एक नेताले जानकारी दिए । खनालले संगठन या विदेश विभागको अपेक्षा गरेका थिए । संगठन विभागको जिम्मेवारीको अपेक्षा अर्का नेता वामदेव गौतमले पनि गरेका थिए । तर  जिम्मा वर्षमान पुनलाई दिएर गौतमलाई उत्पादन तथा रोजगारी विभागको जिम्मा दिने तयारी भइरहेको छ । पाँचौं वरीयताका नेता नारायणकाजी श्रेष्ठलाई अनुगमन तथा मूल्यांकन विभागको प्रस्ताव गरीएको छ । अग्नि सापकोटा, गंगानारायण श्रेष्ठलाई क्रमश स्थानिय तह र सास्कृतिक विभागको जिम्मेवारी दिने तयारी गरिएको ती नेताले जानकारी दिए ।  पछिल्लो समय भेपमा सुन तस्करीको आरोपमा मुद्दा खेपिरहेका कृष्णबहादुर महरालाई राष्ट्रिय सुरक्षा विभागको जिम्मा दिने तयारी रहेको छ । डा. गंगालाल तुलाधारले बागमती प्रदेशको इन्चार्जको जिम्मा पाउने प्रस्ताव हुँदा गिरिराजमणि पोखरेललाई शिक्षा विभाग र गोपाल किरातीलाई नीति अनुसन्धान प्रतिष्ठानको उपप्रमुख भएर रहनेछन् । आजको बैठकमा ४५ जना वरिष्ठ नेताहरूको  कार्य विभाजन टुंगो लगाउने गरी छलफल भइरहेको छ ।

९ महिनामा विकास बैंकहरूको नाफा साढे ५ अर्ब रुपैयाँ, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्ममा राष्ट्रिय स्तरका विकास बैंकहरूको नाफामा उल्लेखनीय सुधार देखिएको छ । तेस्रो त्रैमाससम्ममा सञ्चालनमा रहेका राष्ट्रियस्तरका ८ विकास बैंकहरूले ५ अर्ब ५० करोड ३० लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४९.०४ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्मको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकहरूले ३ अर्ब ६९ करोड २७ लाख १२ हजार रुपैयाँ नाफा कमाएका थिए। चैत्र मसान्तसम्ममा सबैभन्दा धेरै नाफा गरिमा विकास बैंकले गरेको छ । उक्त बैंकले तेस्रो त्रैमाससम्ममा एक अर्ब ४ करोड ८२ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवको तुलनामा कम्पनीको नाफा ४२.९१ प्रतिशतले बढेको छ । दोस्रो धेरै नाफा आर्जन गर्ने कम्पनी मुक्तिनाथ विकास बैंकले  ९४ करोड २६ लाख एक हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३०.०४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ नाफा कमाएका थिए ।  तेस्रो धेरै नाफा कमाउने विकास बैकमा शाइन रेसुङ्गा रहेको छ । उक्त बैंकले चालु आवको ९ महिनामा ७८ करोड ८४ लाख ४ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ५१ करोड ४ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आवको तुलनामा कम्पनीको नाफा ५३.३८ प्रतिशतले बढेको छ । त्यस्तै, कामना सेवा विकास बैंकले ५८ करोड ८६ लाख, ज्योति विकास बैंकले ६२ करोड ९४ लाख, महालक्ष्मी विकास बैंकले ४५ करोड ९९ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ४८ करोड ४५ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले ५६ करोड १६ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आवको तुलनामा सबैभन्दा बढी नाफा ग्रोथ गर्नेमा लुम्बिनी विकास बैंक रहेको छ । बैंकको नाफा १०२८.२६ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ज्योति विकास बैंकको १०५.३० प्रतिशतले नाफा बढेको छ । कामना सेवा विकास बैंकको १९.३७, सांग्रिला विकास बैंकको ११.५९ र महालक्ष्मी विकास बैंकको नाफा ५.२४ प्रतिशतले बढेको छ । 

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या, दैनिक हजारौँ पर्यटक प्रभावित

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे पनि पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको छ । सरकारले मुलुकको आर्थिक मेरुदण्डका रूपमा पर्यटन क्षेत्रलाई लिए पनि सङ्घीय राजधानीबाट मुलुकका विभिन्न पर्यटकीयस्थलका लागि छुट्ने सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकले सास्ती व्यहोर्दै आएका छन् । काठमाडौंमा व्यवस्थित बसपार्क नहुँदा दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक सोह्रखुट्टे सडकबाट ओहोरदोहोर गर्न बाध्य भएका छन् । करिब तीन दशकदेखि कान्तिपथ सडकबाट गुड्दै आएका पर्यटक बस २०७५ सालदेखि सोह्रखुट्टे सडकमै पार्किङ गरी सञ्चालन हुँदै आएका छन् । टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान)का भीष्म न्यौपाने पर्यटक बस पार्किङ तथा सञ्चालनका लागि टिवानले लामो समयदेखि आवाज उठाउँदै आए पनि अहिलेसम्म सुनुवाइ हुन नसकेको बताउँछन् । 'पर्यटक बसपार्क निर्माणका लागि विभिन्न सरोकारवाला निकायलाई सम्भावित स्थानबारे जानकारी गराइसकेका छौँ तर उहाँहरुले चासो नदिँदा पर्यटक बसपार्कले मूर्तरुप पाउन सकेको छैन', उनी भन्छन् । पर्यटकका लागि प्रभावकारी बस टर्मिनल अभावकै कारण पर्यटक सवारीसाधनलाई सहरका विभिन्न स्थानमा जथाभावी पार्किङ र रोकिनुपर्ने परिस्थितिले पर्यटकले समेत नकारात्मक अनुभव बटुल्न बाध्य भएका छन् । त्यसैगरी पोखरामा सञ्चालित पर्यटक बसपार्कसमेत अव्यवस्थित हुँदा पर्यटकलाई समस्या परेको अध्यक्ष न्यौपाने बताउँछन् । पर्यटक सवारीसाधनको स्पष्ट पहिचान र कार्य वर्गीकरण नहुँदा थप चुनौती थपिएको उनको भनाइ छ । हाल प्रचलित यातायात ऐन तथा पर्यटनसम्बन्धी ऐनबीच आवश्यक समन्वय र स्पष्टता नहुँदा पर्यटक सवारीसाधन सञ्चालनमा नीतिगत अन्योलता देखिएको छ । नेपालको पर्यटन उद्योगलाई टिकाउ, व्यवस्थित र प्रतिस्पर्धी बनाउन सक्षम, सुरक्षित, सुविधासम्पन्न र पहिचानयुक्त पर्यटन यातायात पूर्वाधार आवश्यक रहेको टिवानले जनाएको छ । काठमाडौं महानगरपालिकाले पछिल्लो समय काठमाडौंभित्र अव्यवस्थित रूपमा पार्किङ भई सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधनलाई नयाँबसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरको निर्णयसँगै गत हप्तादेखि माछापोखरी, बालाजु क्षेत्रबाट अवैध रूपमा सञ्चालन हुँदै नुवाकोट, रसुवा र धादिङ चल्ने सवारीसाधन नयाँबसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन् । टिवानका अध्यक्ष न्यौपाने पर्यटक बसपार्क निर्माणका लागि राज्यले कुनै चासो नदिएको बताउँछिन् । पर्यटक बसपार्क लागि छुट्टै ‘पिक एन्ड ड्रप’ नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको उनको भनाइ छ । सरकारले पर्यटनमार्फत अर्थतन्त्रलाई सबल बनाउन खोजे पनि यसका लागि पूर्वाधार निर्माणमा ध्यान नदिएको अध्यक्ष न्यौपाने बताउँछिन् । नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले नाट्टाले लामो समयदेखि आधुनिक र सुविधासम्पन्न पर्यटक बसपार्कको आवाज उठाउँदै आए पनि उक्त कुराको सुनुवाइ हुन नसकेको बताए । हाल काठमाडौंबाट पोखरा र चितवनको सौराह, लुम्बिनी र जनकपुरका लागि मात्रै दैनिक झन्डै एक सय पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक तीन हजारदेखि चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकले पर्यटक बसमा यात्रा गर्ने गरेका छन् । व्यवसायीले हाल बिहान ५ः०० देखि ७ः०० बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिरेर पार्किङ गर्दै आएका छन् ।     

नेपाल व्यवस्थापन संघद्वारा बजेटपूर्व छलफल, सरकारलाई सुझाव बुझाइने

काठमाडौं । नेपाल व्यवस्थापन संघद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि बजेटपूर्व छलफल कार्यक्रम आयोजना गरिएको छ । 'बजेटपूर्व छलफलः समृद्धिको मार्ग' नाम दिइएको उक्त कार्यक्रम संघका अध्यक्ष हेमा कुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल व्यवस्थापन संघका पूर्वअध्यक्ष तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रमेशचन्द्र पौडेल तथा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुदर्शनराज पाण्डेले अर्थतन्त्रका विभिन्न विषय समेट्दै आगामी बजेटका लागि महत्वपूर्ण सुझाव दिएका थिए । कार्यक्रममा नेपाल व्यवस्थापन संघका उपाध्यक्ष कृष्ण आचार्यले सहजीकरण गरेका थिए । आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि विभिन्न क्षेत्रबाट सुझाव संकलन गरिएको थियो । प्रमुख अतिथि डा. सञ्जय आचार्यले पनि बजेट निर्माणका लागि आवश्यक विविध सुझाव प्रस्तुत गरेका थिए । अध्यक्ष हेमा कुमारी अधिकारीले प्रमुख अतिथि, अन्य अतिथिहरू तथा सहभागीहरूबाट प्राप्त सुझावहरूलाई समेटेर आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि सरकारलाई औपचारिक रूपमा बुझाइने जानकारी दिइन् । नेपाल व्यवस्थापन संघले सरकारले बजेट निर्माण गर्नु अघि हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ । सबै सरोकारवालाहरूको सल्लाह, सुझाव सरकारसम्म पुर्‍याई प्रभावकारी र समावेशी बजेट निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको संघले जनाएको छ ।