जेनजी आन्दोलनमा लुटिएको १८ किलो सुन यसरी फिर्ता गर्दैछ राष्ट्रिय वाणिज्य बैंक
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जेनजी आन्दोलनमा लुटिएको ग्राहकको सुन बराबरको पैसा दिने तयारी थालेको छ । दुई महिनाअघि भएको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनसँगैको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट १८ केजी सुन लुटिएको थियो । आन्दोलनका क्रममा बैंकबाट ३८ करोड रुपैयाँभन्दा बढीको नगद र १८ केजी सुनसहितको गरगहना लुटपाट भएकोमा हालसम्म ३२ लाख रुपैयाँ बराबरको मात्र सम्पत्ति बरामद भएको प्रहरीले जानकारी दिएको छ । बैंकबाट कर्जा लिनेहरूले धरौटी स्वरूप राखेका सुनका गरगहना प्रदर्शनका क्रममा लुटिएको थियो । सुरक्षित कोठाभित्र राखिएको भल्ट फोडेर करिब १८ किलो सुनका गरगहना लुटिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले निरीक्षणका लागि बैंकमा पुगेका थिए । प्रहरीका अनुसार उक्त घटनामा संलग्न भएको आशङ्कामा पक्राउ परेका तीन जना व्यक्तिहरूबाट करिब ७०० ग्राम सुन बरामद भएको छ । पक्राउ परेकामध्ये एक जनालाई अदालतले थुनामा पठाएको छ भने अर्का एक जना अनुसन्धानकै क्रममा छन् । बाँकी एक जना नाबालक रहेका कारण तारेखमा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईले बताए । उनका अनुसार प्रदर्शनका क्रममा बैंकका सीसीटीभीसहित नयाँ बानेश्वर क्षेत्रका कैयौं सीसीटीभी क्यामेरामा क्षति पुगेका कारण अनुसन्धानका लागि समय लागेको छ । ग्राहकले यसरी पाउँछन् सम्पत्ति फिर्ता राष्ट्रिय वाणिज्य बैंकका सूचना अधिकारी पवन रेग्मीले ग्राहकले जमानतमा राखेको गरगहना बापतको क्षतिपूर्ति दिने तयारी भइरहेको बताए । ‘ग्राहकहरूले ल्याएर राख्नुभएको सुन चोरी भएको छ । हामीले उहाँहरूलाई सुन नै दिन नसके पनि त्यस बराबरको नगद भए पनि दिनेछौं । त्यसका लागि एउटा समिति पनि बनेको छ, त्यो समितिले छिट्टै निर्णय गरेर क्षतिपुर्ति दिनेछौं,’ उनले भने । सबैभन्दा महत्वपूर्ण विषय गहनासँग व्यक्तिको भावनात्मक सम्बन्ध पनि जोडिएको हुन्छ । ‘यसअघि बैंकहरुले के कसरी फिर्ता गरेका रहेछन्, त्यो पनि हेरिरहेका छौं, केहि दिन मै समितिले निर्णय गर्छ र हामी क्षतिपुर्ति दिन्छौं, यसअघि माओवादी सशस्त्र द्वन्द्वका क्रममा पनि कतिपय बैंकहरु लुटिएका थिए । त्यसबेला पनि बैंकहरुले जिम्मा लिएर राखेका ग्राहकका गरगहना र नगदको क्षतिपूर्ति दिएका थिए,’ उनले विगतको अभ्यास सुनाउँदै भने । एउटै शाखाबाट ठूलो परिमाणको रकम लुटपाट भए पनि यो रकम बैंक आफुले नै क्षतिपुर्ति तिर्नु पर्दैन । बैंकले आफना्े भल्ट तथा लकरमा राखेका गहनाको बीमा गरेको हुन्छ । राष्ट्रिय वाणिज्य बैंकले पनि सबै गहनाको पूर्ण बीमा गरेको थियो । जसअनुसार बैंकले बीमा दाबी गरिसकेको छ । बीमाबाट रकम आउने हुँदा बैंक आफैले रकम हाल्नु नपर्ने रेग्मीको भनाइ छ । सेयरधनीले पनि लुटिएको रकमबाट धेरै गुमाउनु पर्ने अवस्था नभएको उनले जानकारी दिए ।
सिटिजन्स बैंक र केल्मी शोरूमबीच सहकार्य, बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट
काठमाडौं । सिटिजन्स बैंक र ललितपुरको जावलाखेलस्थित केल्मी शोरूमबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार बैंकका डेबिट र क्रेडिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले केल्मी शोरूम, जावलाखेलमा सामान खरिद गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले यस सहकार्यबाट ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने र नगद कारोबारभन्दा डिजिटल कारोबारतर्फ आकर्षित हुने विश्वास व्यक्त गरेको छ । सिटिजन्स बैंकले डिजिटल भुक्तानी प्रोत्साहन गर्ने उद्देश्यका साथ समय–समयमा विभिन्न ग्राहकमैत्री सेवा तथा योजना सञ्चालन गर्दै आएको छ । डिजिटल माध्यम हुँदै गरिने खरिदबापत उपलब्ध छुट तथा अन्य विवरण सिटिजन्स बैंकको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स ‘बीबीबी पल्स’ रेटिङमा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘बीबीबी प्लस (BBB+)’ रेटिङ प्राप्त गरेको छ । कम्पनीले वित्तीय सुदृढता, दायित्व पूरा गर्ने क्षमता र समग्र संस्थागत व्यवस्थापनमा सुधार गर्दै यो रेटिङ हासिल गरेको हो । यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम, सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियो झल्काउँछ । ‘बीबीबी प्लस’ श्रेणीका कम्पनीहरूलाई आफ्नो दायित्व समयमै पूरा गर्न सक्षम र अपेक्षाकृत स्थिर वित्तीय स्थिति भएको मानिन्छ । कम्पनीले ग्राहक, अभिकर्ता र सेयरधनीहरूको निरन्तर विश्वासका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ जिम्मेवारीपूर्ण र सुदृढ बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । हाल कम्पनीले देशभरका १४८ शाखा तथा उपशाखामार्फत सेवा सञ्चालन गरिरहेको छ ।
दोलखामा हिमपहिरोमा परी ३ जनाको मृत्यु, ८ जना बेपत्ता
काठमाडाैं । दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । सोमबार बिहान १०:३० बजे गएको हिमपहिरोमा परी तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, दोलखाका डीएसपी जानकुमार महतोका अनुसार ८ जना हराइरहेका छन् । १५ जनाको टोली नेपाली गाइडसहित नाँ गाउँबाट हिमाल आरोहण गर्न भनी निस्किएको थियो । हिँडेको डेढ घन्टापछि पहिरो गएको महतोले जानकारी दिए । उनका अनुसार उद्दारका लागि हेलिकप्टर तयार रहेको तर मौसमका कारण जान सकिरहेको छैन । उनले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी तयारी अवस्थामा रहेको जानकारी दिए । टोलीमा नेपाली विदेशी दुवै रहेका थिए । मृतक र हराएका दुवैको पहिचान हुन सकेको छैन ।
लक्ष्य, चुनौती र आगामी योजना समेटेर एनआईसी एशिया लघुवित्तको प्रदेश समीक्षा गोष्ठी सम्पन्न
काठमाडौं । एनआईसी एशिया लघुवित्तले प्रथम त्रैमासको प्रदेशस्तरीय बजेट समिक्षा गोष्ठी सफलतापूर्वक सम्पन्न गरेको छ । कार्तिक १२ देखि १४ गतेसम्म बाँकेको कोहलपुरमा सम्पन्न गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका शाखा कार्यालयहरूबाट १२१ जना प्रतिनिधिहरूको सहभागिता थियो । गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले उत्कृष्ट प्रदर्शन गर्न सफल कर्मचारीहरूको प्रशंसा गर्दै आगामी दिनमा अझ उच्च मनोबलका साथ कार्य गर्न प्रेरित गरेका थिए । सो अवसरमा नायब प्रमुख कार्यकारी अधिकृत मेषबहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने लगायतले लक्ष्य प्राप्तिका लागि कार्यगत एकता, प्रतिबद्धता र दक्षताको आवश्यकता औंल्याउँदै अगाडि बढ्नुपर्ने बताएका थिए । विभागीय प्रमुखहरू राकेश श्रेष्ठ, विमल चौधरी, आशिष गौतम र मुक्तिनाथ लौडारीले पहिलो त्रैमासिक अवधिमा आफ्ना विभागहरूले हासिल गरेका उपलब्धि प्रस्तुत गर्दै चालु त्रैमासका लागि कार्ययोजना सार्वजनिक गरेका थिए । गोष्ठीमा पहिली त्रैमासिक उपलब्धि, देखिएका चुनौती, सुधारका सम्भावित क्षेत्रहरूबारे विस्तृत समीक्षा गरिएको थियो । साथै, दोस्रो त्रैमासका लागि बजेट तर्जुमा, आगामी कार्ययोजना निर्माण, सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका रणनीतिहरूमा गहन छलफल गरिएको संस्थाले जनाएको छ । गोष्ठीले कर्मचारीहरूलाई थप उत्प्रेरणा, उत्साह र जिम्मेवारीका साथ काम गर्न प्रोत्साहित गर्ने र शाखा सञ्चालन सुधार तथा सेवा गुणस्तर वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास संस्थाले व्यक्त गरेको छ ।
राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष निर्मल ढकालले लिए शपथ
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा नियुक्त भएका निर्मल ढकालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले सोमबार कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा ढकाललाई शपथ गराएका हुन् । नेपाल सरकारले कात्तिक १४ गतेको निर्णयअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहेका ढकाललाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको हो । शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा, राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठसहित पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।
प्रधानमन्त्रीको निर्देशनः खर्चमा मितव्ययिता, काममा नतिजामुखी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू र सबै सरकारी कर्मचारीहरूलाई सम्बोधन गर्दै तत्कालीन प्राथमिकता र सुधारका कार्ययोजनाबारे कडा निर्देशन दिएकी छन् । प्रधानमन्त्रीले भाद्र २३ र २४ गतेको आन्दोलनको मर्म आत्मसात गर्दै सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहमा केन्द्रित गर्नुपर्ने बताइन् । बैठकमा विषयगत मन्त्रालयका सचिवहरूले प्रस्तुत गरेका सुधार योजनाहरू प्रशंसनीय भएको उल्लेख गर्दै प्रधानमन्त्रीले ती योजनाले आम नागरिकलाई प्रत्यक्षरूपमा छुनेगरी परिमार्जन गर्न निर्देशन दिइन् । भ्रष्टाचार नियन्त्रण र सुशासनमा प्रत्यक्ष सुधार नागरिकले महसुस गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गर्ने निर्देशनमा भनिएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले दिएको जानकारीअनुसार सार्वजनिक खर्चमा मितव्ययिता र नतिजामुखी उपयोग सुनिश्चित गर्न अर्थ मन्त्रालयको परिपत्र कडाइका साथ पालन गर्न प्रधानमन्त्रीले दिएको निर्देशनमा उल्लेख गरिएको छ । निजी क्षेत्रको मनोबल वृद्धि र औद्योगिक वातावरण सुधारका लागि संवाद र सहकार्य बढाउनेबारे पनि निर्देशन दिएको रावलले जानकारी दिए । यस्तै, सरकारप्रतिको नागरिक भरोसा र कर्मचारीहरूको मनोबल बढाउने प्रभावकारी उपाय अवलम्बन गर्न पनि मुख्यसचिव र सचिवहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएकी छन् । कर्मचारी सरुवा–बढुवा प्रणालीलाई पारदर्शी र न्यायोचित बनाउने संरचनात्मक सुधार गर्न समेत प्रधानमन्त्रीले चासो राखेको रावलले जानकारी दिए । रावलका अनुसार आन्दोलनमा क्षतिग्रस्त संरचनाको क्षति मूल्यांकन गरी तत्काल पुनर्निर्माण नीति र कार्ययोजना बनाउनसमेत कार्कीले अग्रसर हुन निर्देशन दिएकी छन् । आसन्न निर्वाचनको तयारीमा सबै निकायले चुस्तरूपमा जिम्मेवारी निर्वाह गर्नका साथै सबै मन्त्रालयले वार्षिक कार्ययोजना पुनरावलोकन गरी नयाँ कार्य मानकहरू स्थापित गर्न समेत प्रधानमन्त्रीले चासो राखेकी छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक नियमित गरी राष्ट्रिय तहमा प्रस्ताव पेश गर्नमा पनि कार्कीको चासो रहेको छ ।
उद्योगीले एक किस्ता तिरेपछि प्राधिकरणले लाइन जोड्नुपर्ने प्रस्ताव, अदालत पनि जाने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसहित उच्च सरकारी अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहभागी रहेको उच्चस्तरीय छलफलमा डेडिकेटेड फिडर र ट्रंकलाइनको शुल्क सम्बन्धी विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव गरिएको छ । त्यसमा विवादित शुल्कमध्ये २८ भागको एक भाग प्राधिकरणालाई बुझाएपछि विद्युत जडान गरी उद्योग पनि खोल्ने, विवाद समाधानका लागि अदालतको ढोका पनि खोल्ने प्रस्ताव गरिएको छ । प्रधानमन्त्री कार्कीको कार्यकक्षमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, विभिन्न सचिवहरू तथा महासंघका अध्यक्ष ढकालबीच सोमबार भएको छलफलबाट डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानका लागि यस्तो प्रस्ताव आएको हो । छलफल अनुसार उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणले यसअघि किस्ता बुझाउँदै आएको सुविधा अन्तर्गत २८ किस्तामध्येको एक किस्ता बराबरको रकमलाई किस्ताको रुपमा नभई विवादित रकम मानिँदै धरौटीका रूपमा बुझाएपछि काटिएको विद्युत् आपूर्ति पुनः जोडिने प्रस्ताव गरिएको छ । धरौटी बुझाएपछि उद्योगीहरूले सो विषय पुनरावलोकन गर्न तथा आवश्यक कानुनी उपचार खोज्न सक्ने व्यवस्था राखिएको छ । सम्बन्धित उद्योगीले प्राधिकरणमा धरौटी बुझाउँदा सोही निवेदनमा आफ्नो असहमति राखी पुनरावलोकन तथा अन्य विवरण उल्लेख गरी पेस गर्न सक्ने भएका छन् । समस्या समाधानका लागि महासंघका अध्यक्ष ढकालले आइतबार पनि प्रधानमन्त्री कार्की, अर्थमन्त्री खनाललगायत उच्च अधिकारीसँग भेट गरी पहल गरेका थिए । त्यसलगत्तै सम्बन्धित उद्योगीहरूलाई महासंघमा आमन्त्रित गरी छलफल गरिएको थियो । उद्योगीहरूले महासंघ अध्यक्षसँगको छलफलमा किस्ता नभई विवादित रकमलाई धरौटीको रूपमा विद्युत् प्राधिकरणले स्वीकार गरी कानुनी उपचारको अवसर प्रदान भए सहमति गर्न सकिने बताएका थिए । हाल करिब दुई दर्जन उद्योगले डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापतको प्रिमियम रकम नबुझाएको भन्दै प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेको छ ।