विकासन्युज

मर्स्याङ्दी जलविद्युतको मर्मत सम्भार धमाधम, फागुन २२ गतेदेखि सुचारु गर्ने

काठमाडौं । तनहुँको आँबुखैरेनीमा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँध, सुरुङ, पावरहाउस लगायतका संरचना मर्मत सम्भार कार्य धमाधम भइरहेको छ ।  ६९ मेगावाट क्षमताको सो जलविद्युत केन्द्रबाट अहिले विद्युत् उत्पादन ठप्प भएको सो केन्द्रले जनाएको छ । गत फागुन २ गतेदेखि २२ दिनसम्मका लागि विद्युत् उत्पादन बन्द गरी मर्मत कार्य अघि बढाइएको केन्द्रका कर्मचारी शैलेन्द्र भट्टले जानकारी दिए ।  कालीगण्डकी लगायतका विभिन्न आयोजनाबाट मिस्त्री, मजदुर झिकाएर मर्मत कार्य थालिएको हो । उनले भने, ‘बाँधमा बालुवा थुप्रिएका कारण सफा गर्न र गेट भत्किने अवस्थामा पुगिसकेकाले निर्माण कार्य थालिएको हो ।’ सुरुङ र अन्य संरचनाहरूको मर्मत सम्भार गर्नुपर्ने भएको थियो । उनले भने, ‘कार्यालयबाट पूर्व सूचना दिएर आउँदो २२ गतेसम्म उत्पादन बन्द गरिएको हो ।’  फागुन २२ गतेदेखि सो आयोजनाको विद्युत् उत्पादन सुचारु गर्ने योजना रहेको सो केन्द्रले जनाएको छ । वि.सं २०४२ देखि सञ्चालन गरिएको मर्स्याङ्दी जलविद्युत आयोजनाको तीन टर्वाइनबाट ६९ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

कालिन्चोक हाइड्रोको आईपीओ आजदेखि बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज फागुन १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका १३ लाख ७५ हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । आयोजना प्रभावितलाई छुट्याएको सेयरमा दोलखाको बिगु नगरपालिका-८, कालिन्चोक गाउँपालिका-१ र २ का स्थानीयले आवेदन दिन सक्नेछन् । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८२ हजार ५०० कित्ता सेयर श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा चैत १३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा फागुन १७ गते र ढिलोमा फागुन फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै कालिन्चोक हाइड्रोपावर, बिगु गाउँपालिका–८, नेपाल बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सिङगटी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

आ बाट आमाको कमाइ ११ करोड २४ लाख रूपैयाँ, कुन चलचित्रको कमाइ कति ?

काठमाडौं । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको ‘सिनेपा एटदरेट बक्सअफिस’ ले प्रदर्शनरत नेपाली चलचित्रको गएको फागुन ९ गतेसम्मको कारोबारसम्बन्धी विवरण सोमबार सार्वजनिक गरेको हो । गत माघ १६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘आ बाट आमा’ ले ११ करोड २४ लाख ६ हजार ९६९ रुपैयाँ कमाइ गरेको छ । मनोरञ्जनसँगै देश परिवर्तनको विषयलाई उठान गरेको उक्त चलचित्रका लागि कूल ४ लाख २३ हजार १११ टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा अभिनेता पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायत कलाकारले अभिनय गरेका छन् । चन्द्र पन्तले निर्देशन गरेको उक्त चलचित्रमा अभिमन्यू निरवीले संवाद लेखन, गम्भीर विष्टले नृत्य निर्देशन र कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले सङ्गीत सिर्जना गरेका छन् । गत माघ २३ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘कुमारी’ ले ६३ लाख २४ हजार ७१ रुपैयाँ कमाइ गरेको छ । दिनेश राउतको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कूल १९ हजार ३७९ टिकट बिक्री भएका छन् । अविशेक खड्का र आकृतीराज भण्डारी लगायतको अभिनय रहेको चलचित्रले अपेक्षाकृत व्यापार गर्न सकेन । जेनजीको प्रेम कथा भनिएको चलचित्रले दर्शक समीक्षा राम्रो पाउन नसक्दा त्यसको असर व्यापारमा परेको देखिएको छ । गत माघ २३ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘रमिताको पिरती’ ले २५ लाख ५५ हजार ८३ रुपैयाँ कमाइ गरेको छ । नवनिर्देशक सुदीप्ता अधिकारीको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कूल ७ हजार ८०३ टिकट बिक्री भएका छन् । आना शर्मा, धीरज मगर, विनय श्रेष्ठ, समीर श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको उक्त चलचित्रले दर्शक समीक्षा राम्रो प्राप्त गरेता पनि व्यापार भने राम्रो गर्न सकेको छैन । माघ २३ मा प्रदर्शन भएका दुवै चलचित्रको व्यापार निकै न्यून भएको छ । गत फागुन १ गतेदेखि प्रदर्शन भएका तीन चलचित्र ‘श्री बुकुरो’, ‘शिवांशः च्याप्टर १’ र ‘बिगुल’ ले अपेक्षाकृत व्यापार गर्न नसकेपछि प्रदर्शन स्थगित गरिसकेका छन् । सुदीप भूपाल सिंहले निर्देशन गरेको चलचित्र ‘श्री बुकुरो’ ले २ लाख ७२ हजार ९३० रुपैयाँ कमाइ गरेको छ । यसले पहिलो सातामा गरेको यो निकै न्यून व्यापार हो । अभिनेत्री लक्ष्मी गिरी, आशिर्वाद क्षेत्री, निकिता आचार्य, राजन इशान, उत्तम केसी, रोशनी कार्कीलगायतका कलाकारले अभिनय गर्नुभएको उक्त चलचित्रका लागि कूल ८०५ टिकट बिक्री भएका छन् । फागुन १ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘शिवांश’ ले २ लाख ६१ हजार ७५० रुपैयाँ कमाइ गरेको छ । सन्तोषकुमार आत्रेयले निर्देशन गरेको उक्त चलचित्रका लागि कूल ७८७ टिकट बिक्री भएका छन् । चलचित्र अभिनेता प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू, रुषा न्यौपाने, विकास जोशी, प्रदीपकुमार चौधरी, सविर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय छ । अञ्जान केसीले कथा लेखेको चलचित्रको पटकथा बारत लिम्बूको रहेको छ । फागुन १ गतेदेखि नै प्रदर्शन भएको चलचित्र ‘विगुलले’ ले ८ लाख ९७ हजार ४१० रुपैयाँ कमाइ गरेको छ । रमेश कोइरालाको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कूल २ हजार ६०९ टिकट बिक्री भएका छन् । चलचित्र बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, सरोज खनाल लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण सार्वजनिक हरेक सोमबार गर्दै आएको छ ।

भारतसँग जोडिएका कञ्चनपुर र बैतडीका सबै सीमा नाका बन्द हुने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका कञ्चनपुर र बैतडीका सबै सीमा नाका बन्द गरिने भएका छन् । सम्बन्धित जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचनलाई लक्षित गर्दै फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीवार राति १२ बजेसम्म भारतसँग सीमा जोडिएका सम्पूर्ण सीमा नाका बन्द रहने छन् । फागुन २० गते राति १२ बजेदेखि एम्बुलेन्स, ट्राफिक, दमकल, दूरसञ्चार, शव वाहन, अस्पताल सेवा, विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा तथा नम्बर प्लेटमा सिडी उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन र अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा मतदान कार्य नसकिएसम्मका लागि रोक लगाइनेछ ।  निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन उक्त निर्णय गरिएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले बताए ।    बैतडीको ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका (बिओपी)मार्फत सुरक्षा निगरानी बढाएको बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए । जिल्लाको तल्लोसोराड क्षेत्रमा महाकाली नदीका विभिन्न घाटहरुमा डुङ्गामार्फत वारपार गर्ने गरिएकाले चुनावका बेला ती सबै घाटहरूबाट आवतजावत बन्द गरिने थापाकाे भनाइ छ । 

मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै, जम्मा ३९ जना मतदाता

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ-डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ । हिमपातका कारण गत कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध उक्त सडकमा सवारी सञ्चालनका लागि हिउँ पन्छ्याउन सुरु गरिएको वारागुङ मुक्तिक्षेत्र-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले बताए । मुस्ताङ सदरमुकाम जोमसोमदेखि उत्तर/पश्चिमतर्फ समुद्री सतहको ४ हजार ५०० मिटरको उचाइमा अवस्थित साङ्ता गाउँ मुस्ताङको सबै भन्दापछि पत्ता लागेको गाउँ हो । साङ्ता गाउँमा ३९ जना मतदाता छन् । यही गाउँमा अवस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रको दुरी जोमसोमबाट करिब ४० किलोमिटर टाढा छ । भौगोलिक रुपले विकट स्थानमा रहेको मुस्ताङको साङ्ता गाउँका नागरिक अहिले गाउँभन्दा बाहिर छन् । मुस्ताङ र डोल्पाको सिमाना नजिक रहेको साङ्ता गाउँका नागरिकहरू मङ्सिर अगावै जाडो छल्न गाउँ छोडेर मुस्ताङको जोमसोम आसपासका गाउँहरूमा आफन्तहरूको घरमा बसेका छन् । केही भने हिउँद यामको छेकोमा जाडो छल्न पोखरा-काठमाडौं झरेका छन् । गाउँमा केही पशु चौपाया हेर्ने गोठालाहरू बाहेक पूरै गाउँका घरहरूमा ताल्चा मारिएको छ । लाग्छ स्थानीय सबै गाउँ छोडेर गएपछि साङ्ता गाउँ पूरै गुमनाम जस्तै छ । साङ्तास्थित गाउँमा जम्मा १३ घरधुरी मात्रै छन् । हिउँद यामको जाडो छल्न पारिलो स्थानमा लागेका यहाँका नागरिकहरु चैत/वैशाख महिनामा मात्रै गाउँ फर्कन्छन् । तर, यसपालिका फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान गर्न २१ फागुन अगावै गाउँ पुग्नुपर्ने बाध्यता छ । केही दिन अघि साङ्तास्थित साङ्ता गाउँको हिमाली मतदान केन्द्रको अवलोकन गर्न पुगेको जिल्ला सुरक्षा समितिको टोली साङ्ता गाउँ जाने सडकको आधा बाटोमा पुगेर फर्किएको थियो । मुस्ताङका अधिकांश मतदान केन्द्रहरूको जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन गरेपछि यहाँका साङ्ता गाउँस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्र हिमपातले सडक अवरुद्ध हुँदा अनुगमन हुन सकेको छैन ।

बागमती र गण्डकीमा वर्षा र हिमपात हुँदै, यस्तो छ आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ । देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भागमा मौसम सफा रहको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भाग तथा अन्य प्रदेशको हिमाली भागमा साधारणतया बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति तराई भू-भागका केही स्थानमा तुवाँलो लाग्नेछ । गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भाग तथा अन्य प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र  हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।  महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ । 

चेकमार्फत हुने कारोबार घटाउने, ब्याजदर करिडोर र बैंकदर यथावत

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक उपकरणहरू यथावत् राख्ने निर्णय गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्थाहरूमा कुनै परिवर्तन नगरी यथावत् कायम राखेको हो । राष्ट्र बैंकले डाटा सेन्टर, क्लाउड कम्प्युटिङ, रोबोटिक्स ल्याब तथा आर्टिफिसियल इन्टेलिजेन्स लगायतका उच्च प्रविधियुक्त पूर्वाधार निर्माणमा हुने विदेशी लगानीलाई सहजीकरण गर्ने घोषणा गरेको छ । यस्ता परियोजनामा बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणमार्फत कर्जा प्रवाहलाई समेत प्रोत्साहन गरिने जनाइएको छ । यसले सूचना प्रविधि क्षेत्रको विस्तार र डिजिटल अर्थतन्त्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । यसैगरी, विद्युतीय भुक्तानी कारोबारलाई थप प्रवर्द्धन गर्न चेकमार्फत हुने कारोबार क्रमशः घटाउँदै लैजाने रणनीति अवलम्बन गरिने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले ३० प्रतिशत पुर्यायो नन-डेलिभरेबल फरवार्ड कारोबारमा प्राथमिक पुँजीको सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नन-डेलिभरेबल फरवार्ड कारोबारमा प्राथमिक पुँजीको सीमा बढाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले गर्ने नन-डेलिभरेबल फरवार्ड कारोबारमा कायम प्राथमिक पुँजीको सीमा ३० प्रतिशत पुर्याउने घोषणा गरेको हो ।  राष्ट्र बैंकका अनुसार हाल कायम रहेको प्राथमिक पुँजीको २५ प्रतिशतको सीमालाई बढाएर ३० प्रतिशत पुर्याइनेछ ।