विकासन्युज

जेनजी प्रदशर्नले क्षतिग्रस्त बैंकका शाखा अवलोकन गर्न पुगे गभर्नर पौडेल, यस्तो छ अवस्था {तस्बिर}

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले क्षतिग्रस्त बैंकका शाखाको अवलोकन गरेका छन् । जेनजी आन्दोलनकर्ताहरुले क्षति गरेका बैंकका शाखामा पुगेर गभर्नर पौडेलले स्थलगत अवलोकन गरेका हुन् ।  जेनजी आन्दोलनकर्ताहरुले भदौ २४ गते राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा तोडफोड र आगजनी गरेका थिए । बैंकमा तोडफोड र आगजनीसँगै नगद रकम समेत लुटपाट गरेको बैंकले जनाएको छ ।  आइतबार गभर्नर पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले अवलोकन गरेको राष्ट्र बैंकले जनाएको छ । नयाँ बानेश्वर शाखाको अवलोकन गरी त्यहाँ भएको क्षतिको अवस्थाबारे जानकारी लिएको राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्रिय वाणिज्य बैंकका सूचना अधिकारी तथा उप-कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार बानेश्वर शाखामा नगद पनि चोरी भएको छ । कति रकम चोरी भएको छ त्यो संकलन भइरहेको उनले बताए । 

लगानी अनुकूल नीति तथा वातावरण बनाउन सरकारलाई सिबिफिनको आग्रह

काठमाडौं । जेनजीको नेतृत्वमा भएको आन्दोलन अन्तरिम सरकार गठनसँगै शान्तिपूर्ण अवतरणमा पुगेकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले स्वागत गरेको छ। परिसंघले विज्ञप्ति जारी गरी देश इतिहासकै कठिन घडीलाई पार गरेर सामान्यतर्फ उन्मुख हुन थालेको जनाएकाे छ । साथै आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरू र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । त्यसैगरी, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सिबिफिनले आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा भएको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गरेकाे छ । परिसंघले आन्दोलनलाई 'सुशासनयुक्त नवनेपाल निर्माणको प्रस्थान विन्दु'का रूपमा व्याख्या गर्दै नवगठित सरकारसँग सहकार्य गरी शान्त, सुशासित र समुन्नत राष्ट्र निर्माणमा हातेमालो गर्ने प्रतिबद्धता जनाएको छ। त्यस्तै, आक्रमण र क्षतिबाट प्रभावित निजी क्षेत्रमा आशा, ऊर्जा र उत्साह थप्ने गरी लगानी अनुकूल नीति तथा वातावरण बनाउन सरकारलाई आग्रह गरिएको छ। सिबिफिनले बैंक तथा वित्तीय क्षेत्रमा क्षति पुर्‍याउने तत्वहरूप्रति सचेत रहँदै बैंकिङ सेवाहरूलाई सहज सञ्चालन गर्न सबै पक्षसँग सहयोग मागेको विज्ञप्तिमा उल्लेख छ ।

सिंहदरबार फर्किए कर्मचारी, कामको अन्यौलता कायमै

काठमाडौं । सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किए पनि के काम, कहाँ बसेर गर्ने भन्ने अन्यौलता देखिएको छ । कार्यालय समयमा कर्मचारीको उपस्थिति देखिए पनि अहिलेको अवस्थामा कसरी अघि बढ्ने भनेर माथिल्लो निकायको स्पष्ट निर्देशन आइनसकेको अवस्थामा अन्यौलता देखिएको हो । प्रष्ट कार्ययोजना र तत्कालीन प्राथमिकता तय नहुँदा केही कर्मचारीहरू हाजिर गरेर घर फर्किएका छन् भने केही मन्त्रालय परिसरबाहिर समूह बनाएर गफ गरिरहेका भेटिन्छन् । कम क्षति भएका मन्त्रालय तथा निकायका कर्मचारी तत्काल सेवामा खटिनसक्ने अवस्था भए पनि नेतृत्व र निर्देशन अभावमा काम रोकिएको हो । जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट प्रभावित गृह, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइलगायत मन्त्रालयका कर्मचारीहरूले आज अस्थायी रूपमा रजिस्टर वा हाजिरी कापीमार्फत उपस्थिति जनाएका छन् । आज मध्याह्न करिब १२ः०० बजेतिर ऊर्जा सचिव सरिता दवाडीको कार्यकक्षमा अब कसरी अघि बढ्ने भनेर माथिल्लो तहका कर्मचारीको अनौपचारिक बैठक बसिरहेको थियो । आगजनी र तोडफोडबाट क्षतिग्रस्त अन्य केही कोठामा पनि कर्मचारीको उपस्थिति देखिन्थ्यो तर कागजात र महत्त्वपूर्ण सामग्रीको सुरक्षामा भने मन्त्रालयको चासो देखिएन । ऊर्जा मन्त्रालयमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएका छन् । मन्त्रालयका सूचना अधिकारी राजु महर्जनका अनुसार अहिले क्षतिको विवरण सङ्कलन, मुचुल्का तयार पार्ने र अभिलेख राख्ने प्रारम्भिक तयारी भइरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तुलनात्मक रूपमा कम क्षति देखिए पनि अहिलेको अवस्थामा के काम गर्ने र कसरी अघि बढ्ने भन्नेबारे कर्मचारीलाई स्पष्ट निर्देशन छैन । 'हाल क्षतिको विवरण सङ्कलन र त्यसको अभिलेख बनाउने काम भइरहेको छ । त्यसबाहेक अन्य काम मन्त्री वा सरकारको प्रष्ट निर्देशनपछि मात्र अघि बढ्छ', मन्त्रालयका सहसचिव डा हरिबहादुर केसीले भने । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिवस्तरीय बैठक बसेर सार्वजनिक यातायात सञ्चालनबारे छलफल भए पनि अन्य नियमित सेवा प्रवाहमा गतिशीलता देखिएन । अब कसरी अघि बढ्नेबारे अर्थ मन्त्रालयको भने तुलनात्मक रूपमा सक्रियता देखिएको छ । बजेट महाशाखाभित्रको एउटा शाखा प्रभावित भए पनि मन्त्रालयको काम सञ्चालनमा आइसकेको प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए । उनका अनुसार अहिले अर्थ मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठक बस्ने तयारी भइरहेको छ । 'अब पुनर्निर्माण र आगामी निर्वाचनका लागि आवश्यक खर्च व्यवस्थापनमा बढी जोड गर्नुपर्छ भनेर आन्तरिक छलफल तथा तयारी सुरु भइसकेका छन् । यसका लागि अहिलेको बजेटमा के व्यवस्था गर्न सकिन्छ, सोको छलफल र विश्लेषण भइरहेको छ । राजस्व स्रोत व्यवस्थापन गर्ने र खर्च कटौतीबारे छलफल भइरहेको छ', पाण्डेयले भने । जेनजी प्रदर्शनका क्रममा देशभर भएको क्षतिको विवरण यकीन गर्ने र त्यसको लागत तयार पार्ने विषयमा राष्ट्रिय योजना आयोगले पनि आन्तरिक तयारी थालेको छ । आयोगका सहप्रवक्ता डा दिवाकर लुइँटेलका अनुसार आयोगले ‘पोस्ट डिजास्टर निड एसिसमेन्ट’ का लागि आन्तरिक छलफल थालेको हो । जलेर नष्ट भएका भग्नावशेषको अगाडि उभिएर हेरिरहेका भेटिए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कर्मचारी । भवन जलेपछि कामको अन्यौलतामा रहेका कर्मचारीहरू अहिले हातले हाजिरी गरिरहेका छन् । केही कर्मचारी क्षतिको विवरण सङ्कलनमा खटिएका थिए । पूर्ण रूपमा क्षति भएको स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनबाट काम थाल्ने तयारी गरिरहेको स्वास्थ्य सचिव डा विकास देवकोटाले जानकारी दिए । यसरी मन्त्रालयका संरचना क्षतिग्रस्त, विद्युत् तथा इन्टरनेट जस्ता आधारभूत सुविधा विच्छेद र प्रष्ट निर्देशन नहुँदा नियमित काम अघि बढ्न सकेका छैनन् । उच्च तहबाट अबको नीति र त्यसको कार्यान्वयनका लागि स्पष्ट निर्देशन आउन ढिलाइ हुँदा कर्मचारीमा के काम गर्ने भन्ने अन्यौलता बढेको हो । सिंहदरबारभित्रको यो अवस्था केबल आगजनी र तोडफोडको क्षति मात्र होइन, समग्र प्रशासनिक संयन्त्रको कमजोर तयारी र सङ्कट व्यवस्थापन क्षमताको पनि सूचक हो । स्थायी सरकार मानिने प्रशासनिक संरचनामा देखिएको यस्तो अन्यौलतले सङ्कट व्यवस्थापन क्षमतामाथिसमेत प्रश्न उठाउँछ । क्षतिको पूर्ण मूल्याङ्कन र पुनर्निर्माण कति छिटो सम्भव हुन्छ ?, सामान्य नागरिकलाई प्रभाव पार्ने प्रशासनिक सेवा कति दिन ठप्प रहन्छ ?, आगामी निर्वाचनका लागि आवश्यक पूर्वाधार र बजेट समयमै जुट्छ ? लगायत प्रश्नको जवाफ अझै स्पष्ट छैन । राज्य सञ्चालनलाई पुनःगतिमा ल्याउन तत्काल उच्च तहको निर्णय, स्पष्ट प्राथमिकता र प्रभावकारी सङ्कट व्यवस्थापन रणनीति अपरिहार्य देखिन्छ । तर क्षतिग्रस्त कोठाहरूमा कुनै सुरक्षा व्यवस्था नहुँदा बाह्य व्यक्तिलेसमेत सजिलै प्रवेश गर्नसक्ने अवस्था देखिनु प्रशासनिक संवेदनशीलता र सुरक्षात्मक कमजोरीको सङ्केत हो । रासस

कुलमान भन्छन्- मन्त्री बन्ने चर्चा देखिरहेको छु, मलाई कुनै वास्ता छैन

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा विभिन्न व्यक्तिको नाम चर्चामा छ । जेनजी आन्दोलन पश्चात् प्रधानमन्त्री बनेकी कार्की मन्त्रिपरिषद गठनको तयारीमा छिन् । मन्त्रिपरिषद गठनको तयारीमा रहेका बेला सामाजिक अभियन्तादेखि विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरू मन्त्री बन्ने चर्चा चलिरहेको छ । प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषदमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङ पनि मन्त्री बन्ने चर्चा छ । लोडसेडिङ अन्त्य गरेर वाहवाही पाएका घिसिङ जनताले रुचाएका व्यक्ति पनि हुन् । त्यसैले उनलाई मन्त्री बनाउनुपर्ने माग एकथरीको छ । तर, घिसिङले भने आफूलाई मन्त्री बन्न कुनै प्रस्ताव नआएको बताए । मन्त्री बन्ने चर्चा सञ्चारमाध्यमबाट देखेको भएपनि आफूलाई वास्ता नभएको उनको भनाइ छ । ‘मन्त्री बन्ने चर्चा मिडियामा देखिरहेको छु । तर, मलाई कुनै प्रस्ताव पनि आएको छैन । मलाई वास्ता पनि छैन,’ उनले विकासन्युजसँग भने । 

अष्ट्रेलियाले आणविक पनडुब्बी पूर्वाधार विस्तारमा ८ अर्ब डलर लगानी गर्ने

काठमाडौं । अष्ट्रेलियाले आफ्नो भावी आणविक ऊर्जाबाट सञ्चालित पनडुब्बीको निर्माण र मर्मत सम्भारका लागि पश्चिमी अष्ट्रेलियाको पर्थमा रहेको जलयान निर्माणस्थलमा प्रारम्भिक रूपमा १२ अर्ब अष्ट्रेलियन डलर (झण्डै ८ अर्ब अमेरिकी डलर) लगानी गर्ने भएको छ । यो लगानी आगामी दश वर्षभित्र गरिनेछ, जसअन्तर्गत पर्थस्थित ‘हेंडरसन सुरक्षा’ क्षेत्रलाई एक अत्याधुनिक जलयान निर्माण तथा मर्मत केन्द्रमा रूपान्तरण गरिने अष्ट्रेलियाका रक्षा मन्त्री रिचार्ड मार्लेसले जानकारी दिए । उक्त परियोजना सन् २०२१ मा बेलायत र संयुक्त राज्य अमेरिकासँग गरिएको त्रिपक्षीय सुरक्षा समझदारी ‘एयुक्यूएस’ अन्तर्गत अघि बढाइएको हो, जसको उद्देश्य अष्ट्रेलियाली नौसेनालाई आणविक पनडुब्बीबाट सुसज्जित गर्नु हो । रक्षा मन्त्री मार्लेसका अनुसार,'हेंडरसन एक महत्वपूर्ण एयुक्यूएस परियोजना हो । यहीँबाट हामीले भविष्यका पनडुब्बीहरूको मर्मत र सञ्चालनको काम गर्नेछौँ ।' उनले थप भने,'यो निर्णय अष्ट्रेलियाको वर्तमान सुरक्षा परिस्थिति तथा भविष्यमा आवश्यक पर्ने सुरक्षा संरचनाको मूल्याङ्कनका आधारमा गरिएको हो ।' आणविक पनडुब्बी मर्मतका लागि पूर्वाधार तयार हाल अष्ट्रेलियासँग आणविक पनडुब्बीको मर्मत सम्भार गर्न आवश्यक पूर्वाधार उपलब्ध छैन । त्यसैले सरकारले आगामी १५ वर्षभित्र तीनवटा भर्जिनिया–श्रेणीका पनडुब्बीहरू अमेरिका बाट ल्याउने लक्ष्य राखेको र भविष्यमा आफ्नै देशमा उत्पादन गर्ने योजना समेत बनाएको छ । संयुक्त राज्य अमेरिका आफैले पनि भविष्यमा आफ्ना आणविक पनडुब्बीहरूको मर्मत हेंडरसनमै गर्ने सम्भावना रहेको जनाइएको छ । कुल लागत अष्ट्रेलियाली डलर २५ अर्बसम्म पुग्न सक्ने अनुमान गरिएको छ । रक्षा क्षेत्रमा लगातार बढ्दो लगानी यो जलयान निर्माणस्थल विस्तार योजना अष्ट्रेलियाले हालै अघि सारेका विभिन्न रक्षा प्रविधि सुदृढीकरण कार्यक्रमहरूमध्ये एक हो । गत महिना, अष्ट्रेलियाले जापानको मित्सुबिशी हेभी इन्डस्ट्रिजबाट ११ वटा मोगामी–श्रेणीका युद्धपोत खरिद गर्ने घोषणा गरिसकेको छ । सो योजनाको लागत आगामी दस वर्षमा करिब १० अर्ब अष्ट्रेलियाली डलर रहनेछ । पहिलो तीन युद्धपोत जापानमै बनाइने भए तापनि बाँकी अष्ट्रेलियामै उत्पादन गर्ने योजना बनाइएको छ । त्यस्तै, अघिल्लो साता अष्ट्रेलियाले ‘गोष्ट शार्क’ नामक पानीमुनि सञ्चालन हुने आक्रमण यन्त्रको निर्माणमा १।७ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो, जसको पहिलो एकाइ सन् २०२६ को सुरूवातमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । आणविक सम्झौताको भविष्यमा आशावादी सरकार केही विश्लेषकहरूले अमेरिकी नौसेनाले अष्ट्रेलियाका लागि आवश्यक पनडुब्बीहरू समयमै आपूर्ति गर्न सक्दैन भन्ने शङ्का व्यक्त गरेका छन् । तर, अष्ट्रेलियाको सरकार यस सम्झौताप्रति आशावादी देखिएको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले दुई हप्ताअघि रक्षा मन्त्री मार्लेसलाई व्यक्तिगत रूपमा सम्झौता अगाडि बढ्ने आश्वासन दिएको वासिङ्टन पोस्टले जनाएको छ । मन्त्री मार्लेसले भने यसबारे खुलस्त टिप्पणी गर्न चाहेनन् । तर उनले अष्ट्रेलियाको सार्वजनिक प्रसारण संस्थासँगको कुराकानीमा भने, 'ट्रम्प प्रशासनसँग भएका सबै छलफलमा ‘एयुक्यूएस’ सम्झौताले संयुक्त राज्य अमेरिकाको हितमा महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट सकारात्मक भावना पाइयो ।' अष्ट्रेलियाली सरकारले सन् २०२२ को मे महिनादेखि हालसम्म कूल ७० अर्ब अष्ट्रेलियाली डलर बराबरको थप रक्षा लगानी प्रतिबद्धता जनाइसकेको छ, जसमा यो जलयान निर्माणस्थल विस्तार योजना पनि समावेश छ । रासस  

स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने

काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।  मन्त्रालयका सचिव डा विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए । उनले भने, 'सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।' भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् । उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ ।  

छोटो समयका लागि विश्वकै धनी व्यक्ति बने एलिसन

काठमाडौं । एलन मस्कले विश्वकै धनी व्यक्तिको उपाधि केही समयका लागि ओरेकलका सह(संस्थापक तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी लारी एलिसनलाई गुमाए । ब्लुमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार गत बुधबार बिहान एलिसनको कुल सम्पत्ति ३९३ अर्ब अमेरिकी डलर (२९० अर्ब यूरो) पुगेको थियो, जुन मस्कको ३८५ अर्ब डलर (२८४ अर्ब यूरो) भन्दा बढी हो । एलिसनको सम्पत्ति बढ्नुको कारण ओरेकल कम्पनीका सेयर मूल्यमा आएको ४० प्रतिशतभन्दा बढीको वृद्धि हो । यो वृद्धि ओरेकलको क्लाउड इन्फ्रास्ट्रक्चर व्यवसाय र कृत्रिम बौद्धिकता (एआई) सम्झौतामा आएको आश्चर्यजनक सकारात्मक पूर्वानुमानपछि आएको हो। तर दिनको अन्त्यतिर ओरेकलको सेयर मूल्य केही घटेपछि मस्क फेरि विश्वकै धनी व्यक्तिको स्थानमा फर्किए । मस्क यसअघि करिब एक वर्षदेखि लगातार यो उपाधिमा थिए । मस्कको विद्युतीय सवारी कम्पनी टेस्लाका सेयरहरू यस वर्ष घटेका छन् । लगानीकर्ताहरूले ट्रम्प प्रशासनले विद्युतीय सवारी प्रोत्साहन कार्यक्रमहरू खारेज गरेको र मस्कको राजनीतिक संलग्नताप्रतिको उपभोक्ता प्रतिकृयाका कारण चिन्ता व्यक्त गरेका छन् । यसैबीच, ओरेकलको व्यवसाय तीव्र गतिमा बढिरहेको छ । कम्पनीले हालै सार्वजनिक गरेको त्रैमासिक आय प्रतिवेदनमा आफ्नो क्लाउड व्यवसायबाटको आम्दानी यस वर्ष ७७ प्रतिशतले बढेर १८ अर्ब डलर पुग्ने अनुमान गरेको छ ।  एआई कम्पनीहरूबीच डेटा सेन्टरको माग बढेपछि ओरेकलको सेयर मूल्य अझै माथि गएको हो । कम्पनीले पछिल्लो त्रैमासिकमा बहुअर्ब डलरका चार ठूला सम्झौता गरेको र आगामी महिनामा अझ सम्झौता हुने अपेक्षा गरिएको छ । ट्रम्पसँगको सम्बन्ध र मिडिया महत्वाकांक्षा ८१ वर्षीय एलिसनले १९७७ मा ओरेकल स्थापना गरेका थिए र १९९० को दशकमा भव्य जीवनशैलीका कारण पनि चर्चामा थिए । उनी २०१४ सम्म ओरेकलका प्रमुख कार्यकारी अधिकारी रहे र अहिले अध्यक्ष तथा प्रमुख प्राविधिक अधिकारी छन् । एलिसन राष्ट्रपति ट्रम्पका निकट सहयोगी मानिन्छन् । ट्रम्प जनवरीमा ह्वाइट हाउस फर्किंदा उनले ओपनएआईका स्याम आल्टम्यान र सफ्टबैंकका मासायोसी सोनसँगै अमेरिकाभित्र एआई पूर्वाधार निर्माण गर्ने ‘स्टारगेट’ परियोजनाको घोषणा गरेका थिए। ओरेकल चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक खरिद गर्न इच्छुक सम्भावित कम्पनीका रूपमा पनि देखिएको छ । जनवरीमा जब मस्कले टिकटक खरिद गर्न सक्नेबारे प्रश्न सोध्दा ट्रम्पले भनेका थिए, ‘म लारीलाई पनि यो किनोस् भन्ने चाहन्छु ।’ एलिसनका मिडिया महत्त्वाकांक्षा टिकटकमा मात्र सीमित छैनन् । उनले आफ्ना छोराद्वारा नेतृत्व गरिएको ८ अर्ब डलरको प्यारा­माउन्ट (सीबीएस र एमटीभीको मालिक कम्पनी) खरिद प्रयासको मुख्य लगानी गरेका थिए । प्यारा­माउन्ट र उनका छोरा डेविडको नियन्त्रणमा रहेको स्काइडान्सबीचको यो सम्झौता गत महिनामा सम्पन्न भएको हो ।

सेयरधनीको लगानी सुरक्षित गर्न मौलाकाली केबलकार छिट्टै पुनः सञ्चालनमा आउने

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीका कारण मौलाकाली केबलकारमा ठूलो क्षति पुगेको छ । सार्वजनिक कम्पनीका रूपमा सञ्चालन हुँदै आएको यो केबलकार गण्डकी प्रदेशको साझा गौरव, स्थानीय पहिचान र राष्ट्रिय सम्पत्तिको प्रतीक मानिँदै आएको थियो । कम्पनीले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएका दुःखद घटनामा परी ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । विज्ञप्तिमा भनिएको छ, 'मौलाकाली केबलकार कुनै व्यक्तिगत सम्पत्ति होइन, यो हजारौँ स्थानीय सेयरधनीहरूको संयुक्त लगानी र मेहनतको जगमा बनेको हो । यसले पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि, स्थानीय रोजगारी र उत्पादनको बजार विस्तारमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।' केबलकारमा भएको क्षतिले केवल साना लगानीकर्तामात्र होइन, गैँडाकोट र चितवनका स्थानीय बासिन्दा, कर्मचारी, परिवार तथा सम्पूर्ण पर्यटन क्षेत्रलाई गहिरो पीडा दिएको कम्पनीले जनाएको छ । आगजनी नियन्त्रण र क्षति न्यूनिकरणका क्रममा सक्रिय सहयोग पुर्‍याउने सुरक्षाकर्मी, स्थानीय समुदाय र कर्मचारीहरूप्रति आभार प्रकट गर्दै कम्पनीले भनेको छ, 'यति ठूलो क्षति भए पनि हाम्रो सपना र अठोट भाँचिएका छैनन् । हामी छिट्टै सेवा सुचारु गर्दै अझ गुणस्तरीय सेवासहित नेपालको पर्यटन प्रवर्द्धनमा योगदान दिनेछौँ ।' कम्पनीले स्थानीय समुदायसँग निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्दै सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छ ।