‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘ फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर ल्याएको छ । बैंकले एनसीएचएल संगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘ फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको हो । सो अफर अन्तर्गत हरेक तीनजना भाग्यशाली मोबाइल बैकिङ्ग प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका एनआइएमबी कनेक्ट आइपीएस नोट गरी फण्ड ट्रान्सफर गर्दा १–१ थान स्मार्टफोन जित्न सक्ने बैंकले जनाएको छ । सो अफर मंसिर १० गते देखि पुष ९ गतेसम्म लागु हुनेछ । एनआइएमबी स्मार्टमा उपलब्ध कनेक्ट आइपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने तीनजना प्रयोगकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ । सोको जानकारी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ । फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो एनआइएमबी स्माटएपमा लग–इन गरी फण्ड ट्रान्सफरमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएसलाई छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङ्गबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएस एक न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम हो । भुक्तानी तथा ट्रान्सफरका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास गरिएको छ । कनेक्ट आइपीएस को फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । एनआइएमबी स्माटमा रहेकाे कनेक्ट आइपीएस मार्फत प्रति दिन प्रति कारोबार २ लाख रुपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।
आयुश केडिया उदयमान युवा उद्यमशील पुरस्कारबाट सम्मानित
काठमाडौं । युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित भएका छन् । काठमाडौंमा आयोजित पर्सा मिलन केन्द्रले आयोजना गरेको २३ औँ पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रममा सम्माननीय उपराष्ट्रपति राम सहाय यादव र माननिय उद्योग वाणिज्य एवं आपूर्ति मन्त्रि रमेश रिजाल लगायत पर्सा जिल्लाका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । डिएभी प्लस टु कलेजका डाइरेक्टर सुमन बस्नेतले आयुश केडियाको प्रतिनिधित्व गर्दै उक्त सम्मानपत्र ग्रहण गरे । सोही अवसरमा उद्योगपति ताराचन्द केडियाले उद्योग क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो । उक्त कार्यक्रममा पर्सा जिल्लाका सामाजिक, आर्थिक, प्राज्ञिक एवं राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सम्मान गरिएको थियो ।
सरकारलाई गभर्नरको सुझाव : आफ्नो नीतिबाट पछि हट्नु भएन, एक मिनेट पनि खेर नफालि काम गर्नुपर्छ
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारलाई आफ्नो नीतिबाट पछि नहट्न सुझाव दिएका छन् । आइतबार अर्थमन्त्रालयमा लगानी सम्मेलनका लागि गठित निर्देशक समितिको बैठकपछि भएको पत्रकार सम्मेलनमा उनले सरकारले विभिन्न समयमा लिएका नीतिको कार्यान्वयनका लागि पछि हट्न नहुने बताएका हुन् । यस्तै, उनले आगामी बैशाख ९ र १० गते हुने लगानी सम्मेलनको विषयमा बोल्दै यो समय पनि तयारीका हिसाबले कम नै भएको धारणा राखे । ‘विगतको हाम्रो अनुभवलाई हेर्दा यो समय निकै कम हो, अब हामीले तीव्र किसिमले काम गर्नु पर्छ, मिनेट पनि खेर नफालेर काम गर्नु पर्छ,’ उनले भने । यस्तै, उनले ऊर्जा क्षेत्रमा अध्ययन भएका प्रोजेक्टको विषयमा पनि सरकारले चासो दिनु पर्ने बताए । सरकारले सातवटै प्रदेशमा लगानी सम्मेलन गर्नका लागि अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।
हिमालयन एभरेष्टले पायो दुईवटा अवार्ड
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्शले विभिन्न दुई वटा अवार्डबाट सम्मान गरेको छ । उत्कृष्ठ लघु बीमक (बेस्ट माइक्रो इन्स्योरर-नेपाल) र अति प्रभावकारी प्रविधि अनुकुलन (मस्ट इफेक्टिभ एडप्सन अफ टेक्नोलोजी–नेपाल)अवार्डबाट हिमालयन एभरेष्ट इन्स्योरेन्स सम्मानित भएको हो । भारतीय चेम्बर अफ कमर्शले मुम्बईमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)बिजयबहादुर शाहलाई उक्त अवार्ड प्रदान गरेको हो । इण्डियन चेम्बर अफ कमर्शले नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पुर्याएका एशियाली देशका बीमा कम्पनीहरुमध्येबाट उत्कृष्ट कम्पनीलाई विगत ४ वर्ष देखि सम्मान गर्दै आएको छ । एशियामा उदियमान बीमा कम्पनीहरुको कार्य सम्पादन, व्यवसाय विस्तार, प्रविधिको प्रयोग आदि विधाहरुमा विश्व प्रतिष्ठित परामर्शदाता पीडब्लुसीले स्वतन्त्र मूल्याङ्कन गर्छ । सोही आधारमा कम्पनीले लघुबीमा क्षेत्रमा गरेको सेवा प्रवाह र प्रभावकारीता र प्रविधिको प्रयोगले बीमा सेवामा सहजता उपलब्ध गराएको र पहुँच अभिवृद्धिमा जोड दिएकोमा कम्पनीलाई उक्त पुरस्कार प्राप्त गरिएको सीईओ शाहले बताए । हिमालयन एभरेस्टले पछिल्लो समय प्रत्येक वर्ष कुनै न कुनै अन्तर्राष्ट्रिय अवार्डहरू जित्दै आएको छ । यसअघि गत वर्ष सिंगापुरमा इन्स्योरेन्स एसियाले हिमालयन एभरेस्टलाई इन्स्योरेन्स इन्क्लुजन इनिसियटिभ अफ द येअर नेपाल अवार्ड र न्यू इन्स्योरेन्स प्रडक्ट अफ द एअर नेपाल अवार्ड प्रदान गरेको थियो । कम्पनीले विगत ३० वर्षदेखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
पोड वे सम्बन्धी नीति, कानून र मापदण्ड सम्बन्धी कामको प्रकृया अगाडि बढ्यो
काठमाडौं । राज्यको कानून तथा नीतिको दायरामा नसमेटिएको यातायात सम्बन्धी नयाँ प्रविधि पोड वेको नीति, कानून र मापदण्डको कामलाई सरकारले अगाडि बढाउने भएको छ । सरकारले ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४’ लाई संशोधन गर्दै पोड वे सम्बन्धी नीति, कानून र मापदण्ड बनाउने कार्यक्षेत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भएको निर्णय गरेको छ । सरकारले मंसिर ७ गते ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४’ को अनुसूची २ को क्रमसंख्या १० को १६ नम्बर बुँदामा संशोधन गरेर ‘पोड वे, स्काई रेल, स्काई ट्रलीबस, जलमार्ग लगायत वैकल्पिक यातायात सम्बन्धी नवीन प्रविधिको पहिचान, अध्ययन, नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन’ राखिएको छ । सरकारले पोड वे सम्बन्धी नीति र कानून निर्माण प्रकृयालाई अगाडि बढाएसँग सो प्रविधिको नेपालमा विकास गर्ने मार्ग खुलेको छ । नेपालमा पोड वे प्रविधिको यातायात साधन भित्र्याउनको लागि लामो समयदेखि काठमाडौं पोड वे कम्पनीले पहल गर्दै आएको छ ।
तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति छ । उक्त निर्देशक समितिको पहिलो बैठक आज बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिए । ‘लगानी सम्मेलनका लागि तयारी थालिएको छ । यो लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने हो । लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन गरिनेछ’, अर्थमन्त्री डा महतले भने । लगानी सम्मेलन आयोजना गर्नका लागि मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्त मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति छ । तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाइएको छ । लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने छ । लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’मा लैजाने भन्नेबारे पनि तयारी गर्न पनि अर्थमन्त्री डा महतले निर्देशन दिए।
आजदेखि सूर्यविनायक–रत्नपार्कमा पुनः द्रुत बस सेवा
काठमाडौं । सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चलन भएको छ । आजदेखि प्रत्यक दिन बिहान ८ः३० बजेदेखि तीनरतीन मिनेटको फरकमा सूर्यविनायक–रत्नपार्कका लागि बस छुट्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए। ‘रत्नपार्क–सूर्यविनायक रुटमा ३६ बस सञ्चालन हुनेछन्’, उनले भने, ‘आज बिहान साँढे ८ बजेदेखि बस नियमित सञ्चालन गरिएको छ ।’ यसअघि उक्त रुटको दुवैतर्फ गरी २५ बस सञ्चालन गरिएको थियो । आजदेखि पुनः सुरु भएको उक्त सेवा तीनरतीन मिनेटको फरकमा सूर्यविनायकबाट रत्नपार्क बस प्रस्थान गरेका छन् । बस सेवा बिहान १०ः३० बजेसम्म र दिउँसो ३ः३० बजेदेखि ५ः३० बजेसम्म सञ्चालनका लागि तालिका बनाइएको महानिर्देशक रिजालले जानकारी दिए । उनका अनुसार द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बस थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको छ । यात्रुलाई छिटो गन्तव्य पुग्न सहज होस् भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसर पारेर गत असोज ३ गतेदेखि उक्त बस सेवा सुरु गरेको थियो । सेवा प्रभावकारी नभएपछि एक महिनामै स्थगित गरिएको थियो । अन्य सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टा लाग्ने गरेकामा द्रुत बसलाई ४५ मिनेट लाग्ने रिजालले दाबी गरे । माइतीघर, कोटेश्वर, जडीबुटीलगायत ट्राफिक जाम बढी हुने चोकमा पनि द्रुत सेवाका बस रोकिन नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्ने उनको भनाइ छ । रत्नपार्क–सूर्यविनायक रुटमा अरु सार्वजनिक बसले जति भाडा लिन्छन् द्रुत बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभाग मीनभवनले जनाएको छ ।
सेयर बजारमा उछाल, २ अर्बमाथिको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उछाल आएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्जको मूल्य परिसूचक नेप्से ४७.७५ अंकले वृद्धि भएको हो । योसँगै नेप्से परिसूचक १९०७.९५ बिन्दुमा पुगेर बन्द भएको छ । आइतबार ६५ लाख ३० हजार ६ सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १ करोड १७ लाख रुपैयाँबराबरको कारोबार भएको छ । आज २१४ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको सेयर मूल्य भने घटेको छ । ३ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । आज सबैभन्दा बढी छ्यांदी हाइड्रोपावर र भगवती हाइडेपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै विजय लघुवित्त र स्वरोजगार लघुवित्तको सेयर मूल्य ९ प्रतिशतले बढेको छ । त्यसैगरी इन्फिनिटी लघुवित्त र एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को सेयर साढे दुई प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ११ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।